विक्रम पवन परियार

गएको साताभर मिडिया, सामाजिक सञ्जाल, व्यक्तिगत कुराकानीमा बलिउड अभिनेता सुशान्त राजपुतको चर्चा चुलिइरह्यो। उनी नातावाद र परिवारवादको शिकार भएका टिप्पणी यत्रतत्र भइरहे। यस्तो बेलामा मलाई भने नेपाली साहित्य क्षेत्रमा कयौँ सुशान्त राजपुतको सम्झना भइरह्यो, जो साहित्य क्षेत्रको संघर्षमा लेखकीय आत्महत्या गर्न बाध्य भइरहेका छन्। जसलाई न समाउने हाँगो छ, न त धाप र धैर्यका लागि थम्थम्याउने हात!

नेपाली साहित्यमा केही आत्महत्या निकै विरक्तलाग्दा छन्। खासगरी हास्यव्यंग्यका अप्रतिम उचाइका भैरव अर्याल, प्रतिभाशाली नकुल सिलवाल तथा स्तम्भकार भरत भुर्तेलको आत्महत्याले साहित्य क्षेत्रलाई सधैँ झस्काइरहन्छ। यी नाम कुनै संघर्षशील नवप्रतिभा थिएनन् तर उपेक्षा, संवेदनाहीनता र गुटबन्दीको शिकार अवस्य भएका थिए।

यसबाट भन्न सकिन्छ, गुटबन्दी, नातावाद-कृपावादले भर्भराउँदा लेखकको ज्यान त जान्छ नै त्योभन्दा बढी कयौँ सिर्जनाको त्यसले ज्यान लिन्छ। अहिले पनि कयौँ नयाँ पुस्ता यसैको शिकार भइरहेका छन् तर कोही पनि यसबारे बोल्न तयार छैनन्। कयौँ नयाँ पुस्ता उपेक्षा र संवेदनाहीनताको शिकार भएकाले खुलेर लेख्न सकिरहेका छैनन्। एउटा स्वस्थ छलफल, संवाद र वादविवादको वातावरण सिर्जना हुन सकेको छैन।

त्यसैले त कुनै अखबार, साहित्यिक पत्रपत्रिका तथा प्रकाशन गृहमा नयाँ पुस्ताले सहज प्रवेश पाउन सकेको छैन, उसका सिर्जनाले बिनापूर्वाग्रही टिप्पणी र धारणा पाउन सकेको छैन। तर यसबारे कोही बोल्न तयार छैनन्। हामीलाई काेही रिसाइदेला र नस्वीकार्ला भन्ने चिन्ता छ ।

नेपालजस्तो देशमा नातावाद र परिवारवाद अत्यधिक छ। त्यो भन्दा खतरनाक छ, कोटरीवाद। यो कुरा त नेपालमा वितरण गरिने पुरस्कार अझ बढी देखिन्छ। यसै कारण पनि राम्रा साहित्य नेपालमा जन्मिएका छैनन्। आफ्नो दौराको फेर समाउनेले जस्तोसुकै झ्याँस लेखे पनि ‘वाह, दामी, म त हुरूक्कै भएँ’ भनी सस्तो विश्लेषण गरिदिन्छन्। यस्तो प्रवृत्तिले नेपाली साहित्यको स्तर चुलिन्छ?

फेरि केही अग्रजहरू यस्ता छन्, जाे नेपाली साहित्यकाे विरासत आफू नै हुँ भन्ने ठान्छन्। आफूले लेखेकाे कविता, कथा, गीत, गजल, मुक्तक नै मानक हो भन्दै खोक्दै हिँड्छन्। तिनको अहंको चुली हेर्दा पनि उदेकै लाग्छ।

यस्ताे भनिरहँदा अनुजका कमजाेरी छैनन् भनेकाे हैन । अनुजहरूकाे कमजाेरी त छन्, तर तिनका कमजोरी वस्तुगत आधारमा हुँदैन, सम्बन्धका आधारमा हुन्छ। अनुजहरू पनि कसैको फेरो समातेर हिँड्न पाए सगरमाथाकाे आराेहण नै पाे गरिहाल्छु कि भन्ने भ्रम पनि छ। जति नै राम्राे लेखे पनि स्थान पाउन गाह्राे छ नेपाली साहित्यमा । भनसुन गर्नुपर्ने, सोर्सफाेर्स लगाउनु पर्ने, चाप्लुसी गर्नु पर्ने अवस्था नै छ।

तपाईंको कोटरीमा नभएकाहरूलाई दुई शब्द मिठो बोलिदिनुस्। तिनलाई बेवास्ता नगरिदिनुस्। तपाईंका बेवास्ताका कारण नयाँ पुस्ताका कयौँ सिर्जनाले आत्महत्या गरेका छन्, कयौँ सम्भावित लेखकले सधैँका लागि यो क्षेत्र नछिर्ने कसम खाएका छन्। तपाईंकाे समूहमा नभएकालाई पनि सम्मान तवरले बाेलिदिनुस्, नतर्कनुस्। तपाईँहरू भन्नुहुन्छ, राम्राे लेखेपछि नाम अगाडि आइहाल्छ नि ! यसरी कमजाेर व्याख्या नगरिदिनु हाेला। मान्छे हाे जसले पनि आश गर्छ। कुनै दिन तपाईँले पनि आश गर्नु भएकाे थियाे। नबिर्सनु कि कुनै दिन तपाईं पनि यही धरातलमा हुनुहुन्थ्यो।

म नेपाली साहित्यलाई राजधानीमा बसेर नियालिरहेकाे छु। जहाँ लेखकले लेखकलाई नै विभेद गरिदिन्छन्। खाेक्राे आदर्श बोकिरहेको पुस्ता देखिरहेको छु, जसको लेखनकाे ताैल अनुज पुस्ताले पनि मज्जाले नापिसकेका छन्। हावामा नेपालकै वरिस्ठे कवि/साहित्यकार नठानिदिनुस्। तपाईं जति नै महान् लेखक भए पनि तपाईंको विचार सडेगलेको छ भने तपाईंलाई साहित्यकार नै मान्न सकिन्न।

तपाईं चाप्लुसी र चम्चे बनेर साहित्यलाई आफ्नाे पेवा कति दिन ठान्नुहुन्छ? के याे साहित्य भन्ने जिनिस तपाईंकाे मात्रै हाे ? तपाईंको आँखाले नयाँ पुस्ताका रचनालाई राम्राे देख्नु हुन्न? यस्तो सोचको गुलामबाट साहित्यकाे विकास हुँदैन। यतिसम्म पढिरहँदा मलाई पनि भन्नु हाेला, यसले कुण्ठा पोख्याे तर कुण्ठा नसम्झिनुहाेला। किनकि याे वास्तविकता हाे, कुण्ठा हैन।

मलाई तपाईंहरूकाे फेर समातेर, हजुरिया गरेर चिनिनु छैन। म आफ्नै लेखनबाट चिनिने छु। तपाईंहरू जति जना याे लेख पढेर बिच्किनु हुन्छ बिच्किनुस्, तपाईंलाई फरक पर्दैन भने मलाई पनि फरक पर्दैन आवश्यक पर्दैन। जहाँजहाँ प्रतियोगिता हुन्छ त्यहाँ त्यहाँ जज हुने यिनै लेखक हुन् जाे आफूलाई महान् लेखक मानिदिन्छन् । हैन हाै तपाईं अग्रजहरू नै नेपाली साहित्यकाे मानक लेखक हाे र भन्या? तपाईंले जज गर्ने बित्तिकै शक्तिशाली साहित्य हुन्छ र भन्या ? यदि तपाईंको जजमेन्टले उत्कृष्ट मानेकाे रचनाले नेपालकाे प्रतिनिधित्व गर्न सक्दैन भने किन निर्णायक भूमिकामा बस्नु हुन्छ ? साहित्यकाे समालाेचक तपाईं हैन, असल पाठक समालाेचक हुन्। केही अग्रज साहित्यकारहरू छन्, जसले यतिबेला नेपाली साहित्यलाई एक्लै हाँकी रहेकाे महसुस गरिरहेका छन् । साहित्यलाई उमेरले भेदभाव गर्दैन तर नेपाली साहित्यमा भइरहेकाे छ। एकले राम्राे लेख्याे भने आरिस गरिहाल्छन्। कसरी पछाराैँ भनेर याेजना बनाइहाल्छन् ।

त्यसैले तपाईं उसकाे अनुहार नहेर्नुस्, रचनालाई माया गर्नुस्। उसकाे क्षमता र प्रतिभालाई स्वीकार गरिदिनुस्। तपाईं अग्रजहरूले त्यति गरिदिनु भयाे भने कसैको रचनाले आत्महत्या कसैले गर्दैन। तपाईंभन्दा सानाे भाइबहिनीले तपाईं भन्दा पनि उत्कृष्ट रचना गरेकाे छ भने उसकाे अनुहारकाे रङ नहेरी रचनाकाे मूल्यांकन गरिदिनुस्। कसैकाे रचना कमसल देख्दादेख्दै कसैकाे सेताे तिघ्रा, उठेकाे छाती र फुकेकाे हिप देख्दैमा ‘वाह कविता, आहा कथा’ नभनी दिनुस्। त्यसले साहित्यकाे विकास हुँदैन।

अग्रजकै रचना उत्कृष्ट हुन्छ भन्ने कसैलाई लाग्छ भने तपाईं भ्रममा हुनुहुन्छ। पहिला आफ्नाे मानसिकतालाई वास गर्नुस् अनि मात्रै अरूकाे रचनालाई मूल्यांकन गर्नुस् तब मात्रै तपाईंकाे मूल्यांकन सही हुन सक्छ। जीवन अाराेह अवराेह धेरै गरियाे तर हरेस खाएकाे छैन र कहिल्यै खाँदिनँ पनि। नेपाली साहित्यमा, राष्ट्रिय पत्रिका देखि जुनसुकै मिडियामा पनि नेपाेटिजम लागू भएकाे छ । याे नेपाेटिजमकाे जरा जबसम्म उखेलेर फालिन्न तबसम्म याे समस्या रहिरहनेछ । काेही मुसुक्कै हाँसिदिएकै भरमा कवि भएका छन्, कथाकार भएका छन् । तर जाेसँग दम छ, ऊ पछाडि परिरहेकाे छ । भनौँ, पछाडि धकेलिएका छन् । यस्ताे प्रवृत्ति अझै कति वर्षसम्म चल्ने हाे हेर्नु छ । तपाईं आयाेजना गर्नुहुन्छ अनि फलानाेलाई पुरस्कार दिनुपर्छ आफैँ भन्नु हुन्छ भने किन निर्णायक राख्नु हुन्छ? एकपटक पुरस्कार पाउना साथ अर्काे वर्ष तिनै व्यक्तिलाई किन निर्णायक बनाउनु हुन्छ? पुरस्कार पाउना साथ जज गर्न सक्ने भैसकेका हुन्छछन् ? लेख्नु, समालोचना गर्नु वा मूल्यांकन गर्नु / पढ्नु वा पढाउनु फरक विषय हुन् भन्ने कुराकाे हेक्का किन नभएकाे आयाेजकलाई ? साहित्य केटाकेटीले खेल्ने भाडाकुँडी खेल हाे र ? कम्तिमा आयाेजकले बुझ्नु पर्दैन ? आयाेजकले भनेकै मान्ने साहित्यकारलाई निर्णायक बनाउने चलन किन हट्दैनन् ? के आयाेजककाे यस्ताे कार्यशैलीले साहित्यले विश्व साहित्यमा प्रतिस्पर्धा गर्न सक्छ ? नेपालमा चिनिएका साहित्यकारहरू नभएका हुन् ? छन् त हाम्रै आँखा अगाडि ! सुरासुन्दरीहरूकाे पछि लाग्ने केही साहित्यकारहरूले साहित्यलाई फाेहाेर गरिरहेका छन् । हामीले नियाली रहेका छन् । रातारात साहित्यकार बनाइदिन केही पत्रकार केही साहित्यकार लागिपरेका छन् । लाग्नुस्, तपाईंको स्वतन्त्रता हाे तर स्वतन्त्रता हाे भन्दैमा साहित्यलाई दुरुपयोग पनि नगर्नुस् । साहित्यलाई माया गर्नेहरू जति हुनुहुन्छ उहाँहरूले नेपाेटिजम प्रयाेग गर्नु हुनेछैन भन्ने पूर्ण आश गरेकाे छु । नेपाली सहित्य र लेखकलाई तपाईंकाे सही समालोचनाकाे खाँचाे छ तर इग्नाेर हैन ।

र, अन्तमा के भन्न चाहन्छु भने लेखनमा ग्रुपिजम गर्नुस् / गराैँ तर नेपाेटिजम नगराैँ । आफ्नै छाेराछाेरीले पनि राम्रो लेख्न सकेनन् भने वाह नभनिदिनुस् । वाह ! दामी भन्नाले यात्रा असहज हुन सक्छ । मिहिनेत गरौँ । मिहिनेतकाे फल मिठाे हुन्छ ।
जय साहित्य !!

 

रामेछाप