जीवनमा चाहेर वा नचाहेर आँसु झर्ने क्रम चलिरहन्छ। यो महत्त्वपूर्ण विषय भने होइन। जसरी मान्छे हाँस्छ, त्यसरी नै ऊ रुन्छ पनि। जसरी मान्छे सुत्छ, त्यसरी नै ब्युँझन्छ पनि। यो स्वाभाविक प्रकिया हो। तर कहिलेकाहीँ मान्छेलाई अनायासै आँसुको बाढी आउँछ। सायद हृदयको भित्री भागमा चोट पुगेर होला। म व्यक्तिगत रूपमा कम रुन कोसिस गर्ने मान्छे।

कहिलेकाहीँ सञ्चारमाध्यममा आउने मानवीय संवेदनशीलता देख्दा कटक्क मुटु काटिन्छ र आँसु झरिहाल्छ। त्यसो हुँदाहुँदै पनि म आजसम्म तीन पटक रोएको छु। एउटा मैले पहिलो पटक ठूलो दु:ख सहेर बनाएको विद्यालय नयाँ नेपाल बनाउने तथा कथित कमरेडहरूले डाङडुङ भत्काइदिएको दिन, अर्को तराईमा नेपालको झन्डा बालिएको दिन र पृथ्वीनारायण शाहको सालिक ढालिएको क्षण। संसारको निमार्णसँगै विभिन्न किंवदन्ती र लोकोक्ति गाँसिएका हुन्छन्। जसलाई इतिहास पनि भनिन्छ।

विश्व मानचित्रमा नेपाल ती दस प्राचीन मुलुकमा पर्छ जो अहिले अस्तित्वमा छन्। हुन त ज्ञानी मान्छे भूत र भविष्यको चिन्ता गर्नु हुँदैन भन्छन्। यो प्रक्रिया खोतल्दा पृथ्वीनारायण शाहको विषयमा प्रवेश गर्न जरुरी छ। संसारमा हाम्रा मान्छे भन्दा क्रिपिणी सायदै अन्त होलान्। जसले युवा अवस्थादेखि लडेर आज हामीलाई हामी नेपाली र हाम्रो नेपाल भन्ने अवसर प्रदान गरे।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, मधेसी, अधिकारकर्मी, बुद्धिजीवी, पत्रकार, डाक्टर, वकिल, इन्जिनियर, पाइलट, व्यापारी बने… तर दुर्भाग्य कोही पनि नेपाली बनेनन्। मात्रै पैसा खाने मिसिन बने। जसको ज्वलन्त उदाहरण पृथ्वीनारायण शाहको सालिक ढालिएको दिन हो। जसले हामीलाई संयुक्त राष्ट्र संघमा सार्वभौम सम्पन्न राष्ट्र भनेर चिनिने मौका दिए। यसो गर्दा उनको के दोष? जीवनको अन्तिम क्षणसम्म पनि देशको आकार बढाउन लडिरहे। कति पैसा भए पुग्छ विदेशीको ? सालिक फुटाउँदैमा इतिहास मेटिँदैन। मान्छेको मनभित्रबाट मेटाउन सक्नुपर्छ।

विभिन्न समयमा जतिपटक दिउँसै रात पार्ने कुतर्क गरे पनि नेपालको निर्माता पृथ्वीनारायण शाह मात्रै हुन्। संसारभर देश निर्माणमा आफ्नो प्राण आहुति गर्ने सबै मान्छेको नाम यहाँ उल्लेख गर्न सकिन्न तर पनि भारतका दुइटा पात्र उल्लेख गर्न जरुरी छ। गान्धी र सम्राट अशोक।

हो, गान्धीले भारत स्वतन्त्र गराउन ठूलो भूमिका निर्वाह गरे तर भारत र पाकिस्तान बनाउन गरेको निर्णय पनि बिर्सनु हुँदैन। त्यसले हिन्दू मुस्लिमबीच खाडल खन्यो। आज त्यो उदीयमान भारतका लागि दुर्भाग्यको कारकका रूपमा व्याख्या गर्न थालिएको छ। हरेक वर्ष हिन्दू मुस्लिमको लडाइँमा भौतिक क्षति अङ्गभङ्ग र सयौंले ज्यान गुमाउँछन्। त्यसको प्रत्यक्ष उदाहरण हालैको मजफरपुर नगरको दं

गा हो। आजकाल भारतीय राजनीतिज्ञ यो मुद्दालाई राजनीतिक पासाको रूपमा उपयोग गर्दै आइरहेका छन्। भारत, पाकिस्तान विभाजनको क्षण हजारौं हिन्दू मुस्लिमले ज्यान गुमाउनुपरेको तितो सत्य विभिन्न कालखण्डमा हिन्दी सिनेमाहरूमा देख्छौं। कश्मिर समस्या पनि त्यसैको उपज हो। तर पनि गान्धीलाई भारतमा सर्वोच्च पदमा विराजमान गराइएको छ। राष्ट्रपिताको दर्जा प्रदान गरिएको छ भने भारतीय नोटमा उनको फोटो देख्न पाइन्छ।

एकजना भारतीय मित्रले मलाई नयाँ दिल्ली विमानस्थलमा परिचय गराउने क्रममा भने ‘ए उत्तम है जानबरौका देश से आया है’ मैले प्रतिवाद गर्न नपाउँदै उसले हाम्रो देशको प्राय: सबै नोट देखाइदियो र भन्यो ‘इस्के देशमे कभी सुख शान्ति नहि आएगा क्युँ कि एह जिस थाली मे खाते है उसिमे…। नही तो इनौने कुछ साल पहिले अप्ने राष्ट्रनिर्माताकी सालिक तोडदिया।’ म झसंग भएँ र सम्राट अशोकलाई सम्झिएँ – जसले हजारौं मान्छे मारे तर पनि भारतमा उनको इज्जत कम छैन। अशोकादी ग्रेट भनिन्छ। त्यही बेला मलाई दिल्लीस्थित अशोकारोड हुँदै होटेल अशोकामै बस्ने व्यवस्था मिलाइएको थियो।

के पृथ्वीनाराण शाहले देश भाग लाए? के लाखौं मान्छे मारे? अझ मर्दाखेरी देशको कुन कुन भाग साथ लिएर गए त..? र उनीमाथि यत्रो अपमान गरियो। कुनै कालखण्डमा एउटाले गल्ती गर्यो भन्दैमा पुस्तौं पुस्ता अगाडिको त्याग र समर्पण मेटाउनु कति तर्कसंगत हो? के त्यसो भए बुद्धको छोरा बुद्ध भएनन् भनेर सबै मिलेर बुद्धको स्तुप भत्काउने? मूर्ति फुटाउने? पृथ्वीनारायण जस्ता व्यक्ति युगमा एक पटक मात्र जन्मछन्।

आज कुनै कमजोर हैसियत भएको पार्टीले पृथ्वी जयन्तीको बिदा पाउनुपर्छ भन्दा लाजले मुख छोप्न मन लाग्छ। बल्ल बुझ्न थालें यो देशलाई किन सतीले सरापेको भनेको रहेछ। त्यसैले जसले जे जे नियतले यो कार्य गरेको भए पनि इतिहास मेट्ने चेस्टा गरेको मात्रै हो। होस आऊ । कक्षा १, २ मा अध्ययन गर्ने बच्चा पनि तयार छैनन्। नेपालको एकीकरण यी अहिले देखिएका पात्रले गरेका हुन् भन्ने मान्न। विद्वानमित्रहरू ! अर्कोको इतिहास मेटेर आफ्नो इतिहास लेखिँदैन। सायद तिमीहरूको र्याल चुहिएको ती चोकचोक र गल्लीगल्लीमा अर्काको सालिक फुटाएर आफ्नो राख्ने अतृप्त इच्छा होला। जसलाई केवल दिवा स्वप्न भनिन्छ। आज हाम्रो हैसियत र नियत सबै जनताले भलिभाँती बुझाइसके, समय छँदै सुध्रियो। नत्र समयको बाढीले हामीलाई पाताल पुर्याइदिनेछ। उखानै छ नि -‘गिभ एन्ड टेक’।

जसले अरूको इज्जत गर्न जान्दछ त्यसैले अरूबाट इज्जत पाउनेछ। अन्त्यमा जसले जीवनभर लडेर कमाएको देश हामी जस्ता बैगुनीलाई छोडेर गए। देश बढाउनु त हामीहरूको भाग्यमा छैन छैन तर भएकै देशको सिमाना जोगाइ राखौं। देशको महत्त्व कति हुन्छ त्यो तिब्बेतियन र प्यालेस्टाइनीलाई सोधे हुन्छ। र तुरुन्तै नोटमा राष्ट्रनिर्माता पृथ्वीनाराण शाहको फोटोअंकित गरी ढिलै भए नि पश्चाताप गरौं र पुस २७ गते धुमधुमका साथ पृथ्वीजयन्ती मनाऔं। नत्र अर्को पटक म फेरि दिल्ली जाँदा मेरा भारतीय मित्रले त्यही परिचय दोहोर्याउने छन्- “ये उत्तम हे जानबरौंका देश से आया है।”