
स्पन्दन बिनोद
लामो काव्यिक इतिहास बोकेको हाम्रो नेपाली र संस्कृत छन्दको संरक्षण र विकासमा “छन्द बचाऊँ अभियान -२०५३“ ले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । छन्द बचाऊँ अभियान नै चलाएर छन्दलाई विश्वव्यापी रूपमा फैलाउन र यसको प्रभाव विश्वभरका साहित्यकारहरूमा पार्न सक्रिय रूपमा लागिरहनु भएका आदरणीय अग्रज छन्द अभियन्ता माधव वियोगीज्यू छन्द प्रेरणाका अनुपम दृष्टान्त मान्न सकिन्छ । जुन अभियानका प्रभावले हालसम्म दर्जनौं संस्थाहरूले छन्द अभियान चलाएको पाइन्छ । विशेष गरी युवा वर्गहरूमा छन्दको मोह पुन जागृत भएको महसुस मैले गरेको छु ।
२०५२ सालमा गोरखापत्रमा कविता छापेर आफ्नो काव्य यात्रा शुरू गरेको म सानै उमेरमा परदेश बसाइ सरे पनि नेपाली भाषा र साहित्यमा निरन्तर साधनारत छु । यस छन्द बचाऊ अभियानको प्रभाव नेपालमै रहदाँ २०५६ र ५८ तिरको समयमा गुरुकुलबाटै भएको हो। अनाममण्डलीको बहर गजल स्थापनाकालदेखी सहयात्रा र गुरुकुल अनि बाल्मिकी क्याम्पसमा हुने छन्द कविताका कार्यक्रमले विशेष रूपमा मेरो मनमा छन्दको सुवास छरेको हो । यस “छन्द बचाऊँ अभियान-२०५३” का कारण परदेशमै रहँदा पनि धेरै थोरै छन्द ज्ञान र अग्रजहरूसँग साक्षात्कार गर्ने मौका मिलेको छ। यसको प्रत्यक्ष प्रभाव म जस्ता छन्द साधक र अभियन्तामा पर्ने गरेको छ । यसले नेपाली छन्द भाषा साहित्यलाई विश्वब्यापी गराउन महत्वपूर्ण भूमिका खेलेको छ र यसको श्रेय आदरणीय अग्रज अभियन्ता माधव वियोगीज्यूलाई जान्छ । लामो समयसम्म लण्डन बसाईको क्रममा पनि शास्तृय छन्दका गजल लेख्ने कोही कतै भेटिएन तर कही कतैबाट फेसबुकले छन्द कवितामा कलम चलाईरहेका गोपाल मन्डने दाजुसँग चिनजान गरायो। लामो समय लण्डन बसेर हाल पोर्चुगल बस्दै गर्दा थुप्रै संघ संस्थाहरूसँग हातेमालो गरेर नेपाली भाषा साहित्यलाई विश्व जगतमा जीवितै राख्ने अथक प्रयास भइरहेको छ । छन्दका गजल होस् या छन्दका कविता लेखेर पाठक र श्रोतामाझ सामाजिक संजाल तथा साहित्यिक कार्यक्रममा पुगिरहनुले पनि विश्व जगतमा “छन्द बचाऊँ अभियान-२०५३” अभियानले पारेको प्रभाव प्रष्ट हुन्छ।
बेला बेलामा नेपाली छन्द बहस चलाउने गरेको छु, सामाजिक सन्जालबाट छन्द साहित्यकारहरूको आलेख लिने र सम्पर्क गर्ने पनि गरेको छु ।साथै छन्दमै साधनारत सर्जकहरू बिच समन्वयता कायम गरि निरन्तर यसको विकास र संरक्षणमा एकल रूपमै लागिरहेको छु। तर राज्यमै केही अभियन्ताले अकविलाई कवि भनिनू र गुट र राजनीतिका आधारमा छन्दकवि भनी वाचकलाई धमाधम झूटो इतिहास लेख्न खोज्नुले राष्ट्रिय स्तरमा महान अभियन्ता माधव बियोगीज्यू र परदेशमा रहेका म जस्ता छन्द अभियन्ताको मनमा पीडा र क्रोध उब्जेको छ। नेपालमै वर्षौँदेखि नेपाली छन्द आकासका नक्षत्रहरूको सम्मान गरिनु पर्छ र परदेशका असल छन्द सर्जकको पहिचान गरि आलेख तयार गरिनु पर्छ भन्ने मेरो मान्यता रहेको छ।
छन्द कविता वाचन गर्नेलाई पनि केही अग्रजहरूले प्रखर छन्द कवि भनिदिनु, भाषागत त्रृटी राखेर छन्दका कार्यक्रम गरिनु र अग्रज छन्द अभियन्ताहरूको बेवास्ता गरिनुले केही नकारात्मक प्रवृत्ति मौलाउन खोजेको हो कि भन्ने युवा वर्गको गुनासो छ । अबको युगमा युवाले वाचन मात्र गर्ने वा अरुलाई भाव सम्पादन गराई गद्य कवितालाई पद्य बनाई वाचन गर्ने वाचकलाई छन्द कवि भन्ने गलत प्रवृती रोक्ने छन् र नेपाली छन्द अभियानका अग्रजको सम्मान गर्नु अत्यावश्यक हो भन्ने चेत गराउने छन्। मेरो दुई दसक भन्दा अघि सुरु भएको छन्द साधना निरन्तर रहेको छ र जिवन्त यसको अभियान जारी राख्नेछु। नेपाली भाषा, साहित्यको श्री बृद्धीका लागि छन्द अभियन्ता भै परदेशबाटै गलत प्रवृतीको चिरफार गर्दै अग्रजको सम्मान गर्दै निरन्तर छन्द साहित्य सिर्जनातर्फ सम्पूर्ण नेपालीलाई चेत दिलाई रहनेछु र आफू पनि लागिरहने छु।
आफ्नो चेत मनस्थितिले छन्दको अभियानमा जीवनका पलहरू व्यतित गरी रहेको मैले हालसम्म सयौं छन्द कविता र छन्द गजलका साथमा छन्द गीत र छन्द मुक्तक लेखी सकेको छु । धेरै भन्दा धेरै समाचार पोर्टलमा र पत्रिकामा निरन्तर छापिएका छन् । हाल म महाकाव्य लेखनको तयारीमा साधनारत पनि छु । परदेशमा रहेकाले नेपाली भाषा, व्याकरणको कम ज्ञान हुनु र नेपालमा रहने नेपाली स्रष्टाहरूको परदेशमा बस्ने नेपाली सर्जकप्रति राख्ने हेय दृष्टिकोणले पनि नकारात्मक प्रभाव पर्ने गरेको छ । कुनै पनि परदेशमा रहेका छन्द अभियन्तालाई राष्ट्रले सम्मान वा पुरस्कृत गरेको पाइँदैन । यस्ता धेरै उदारणहरू छन् जसले विश्व बजारमा नेपाली छन्द साहित्यको अभियान लिएर हिड्ने म जस्ता सर्जकलाई ठेस लागिरहेको छ । तर औँलाले गन्न मिल्ने केही छन्द सर्जकहरू निरन्तर रूपमा लागिरहनु भएको छ। जस्तै पोर्चुगलबाट मैले हरेक कार्यक्रममा “छन्द बचाऊँ अभियान-२०५३” बारे बोल्ने र छन्दकै रचना सुनाउने गरेको छु । संस्थागत रगपमा अनेसास पोर्चुगलबाट यो कार्य निरन्तर भैरहेको छ।केही सिक्न चाहने विश्वभरका युवाहरूलाई पनि सामाजिक सन्जाल मार्फत छन्द प्रशिक्षण दिइरहेको छु।
यसरी नेपाली छन्दको प्रभाव विश्वभर सकारात्मक रूपमा अघि बढेको छ भने परदेशमा रहेर निरन्तर छन्दमा कलम चलाउने म जस्ता नेपाली छन्द अभियन्ताहरूको आलेख नराखिनुले छन्द अभियन्ताको भविष्य अन्योलमय देखिन्छ।
“छन्द बचाऊँ अभियान- २०५३” को प्रस्तावमा नेपाल सरकार,पन्चाङ्ग निर्णायक समितिले अभियान आरम्भ भएको दिन वैशाख ८ गतेलाई छन्ददिवसको मान्यता दिएपछि छन्दका पारखी र अन्य सबै देश विदेशमा रहने नेपालीलाई गौरवको अनुभूति भएको छ ।छन्ददिवस र अन्य दिनमा पनि हामीले कम्तीमा यौटा छन्द रचना सामाजिक संजालमा राख्नुले पनि छन्द र छन्द दिवसप्रति मान्छेको चासो अझ बढ्दै गएको महसूस मैले गरेको छु, सबैले गरेका छन् । परदेशमै रहेर नेपाली छन्दसँग हातेमालो गर्दै दुई गजल संग्रह पनि प्रकाशित गरेको छु । युवा पुस्तामा केही गायकर गायिका र सामान्य साहित्य अनुरागीहरूको पनि छन्द वाचन मोहले पनि परदेशमा छन्दको विकास तीब्र गतिमा अगाडि बढेको पाइन्छ । त्यसो त मैले स्वयम् पोर्चुगलका प्राय सामाजिक कार्यक्रममा समेत छन्दका कविता वाचन गर्ने गरेको छु र जनसमुदायले सधै प्रेरक प्रतिकृया दिनुलाई सकारात्मक प्रभावको रूपमा लिएको छु ।
२०१८-२०२० मा अनेसास पोर्चुगलको महासचिव भै रहँदा थुप्रै साहित्यिक कार्यक्रम र बहसमा छन्द समेटेको थिएँ। २०२०-२०२२ सम्मको लागि अनेसास पोर्चुगलको अध्यक्ष निर्वाचित, मैले नेपाली छन्दको अभियान अगाडि बढाई टेवा दिई रहेको छु । हरेक नेपाली अमर अग्रजहरूको जन्मजयन्तीमा गरिने कार्यक्रममा पनि म अनेसाससँग आवद्ध भएदेखि नै निरन्तर छन्दको प्रशिक्षण गर्ने र गराउने क्रम निरन्तर रहेको छ । जसमा “छन्द बचाऊँ अभियान-२०५३” र अग्रज अभियन्ता माधव बियोगी ज्यूले प्रेरक भूमिका खेलेको पाएको छु । केही समय अघि नेपाली छन्द आकाशमा रूमल्लिएको विषादयुक्त बादलको विरूध्द लेखेको थिएँ । कसैले छन्दको नाममा धावा बोल्छ र अग्रजका कामको मूल्याङ्कन नगरी आफ्नै मात्र बखान गर्छ भने त्यस्तो प्रवृत्तिका विरूध्द म बुलन्द आवाज उठाई रहने छु । जसले अहम् हटाई सद्भावको विकास गर्ने विश्वास पनि लिएको छु । केही छन्दकै हिमायती हुँ भन्नेको अहमता र आफन्तवादका कारण थोरै यसको गरिमा खस्किएको महसुस मैले गरेको छु।
छन्द अभियानमा लाग्दा आफूलाई पहिले पहिले भाव आएन वा छन्द सन्द भनेर नउफ्री भन्ने जस्ता बाधा अड्चन थुप्रै आए पनि बिस्तारै निरन्तर सामाजिक संजाल र बिभिन्न संघ संस्थाका कार्यक्रममा बोल्ने क्रममा छन्द कविता बाचन गरे पछि वाह वाही पाउन थालेको छु। यूरोपमा पोर्चुगलबाट म बाहेक अरू छन्द अभियन्ता मैले देखेको छैन र यदि भए पनि छन्दको साधना प्रचुर देखिन्न। पछिल्लो समयमा यहाँका केही संघ संस्थाले साना बालबालिकाहरूलाई नेपाली भाषा प्रशिक्षणमा खेलेको भूमिकालाई पनि सकारात्मक रूपमा लिन सकिन्छ। साथै केही परिचित साहित्यकारहरू जस्तै सुनिल सँगम, वाई वी गुरुंग यस “छन्द बचाऊँ अभियान-२०५३” कै प्रेरणाबाट पिंगल छन्द अभ्यासमा लाग्नु भएको छ। यस अभियानले हामी जस्ता सक्रिय छन्द साधकलाई वाद्गुट्राजनीतिबाट बाहिर राखेर राष्ट्रिय सम्मान दिन सकोस् र छन्द साहित्यको विश्वव्यापिकरणमा हाम्रो योगदानको कदर होस् भन्ने आशा पनि व्यक्त गर्दछु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

