नैतिक शिक्षा विश्वका मानवको जन जीवनका लागि अति आवश्यक हुन्छ । जसले आफ्नो परिचय दिलाउने काम गर्छ, मानव जाति सम्बोधन गर्ने, सही कर्म गर्ने कर्तव्य पालना गराउने, संस्कृति सम्पदाको संरक्षण गर्ने, राष्ट्रप्रति उसको उत्तरदायित्व बोध गराउने,आफ्नो अधिकारलाई सही रूपले पालना गराउने, व्यावहारिक तथा आत्माज्ञानमय जीवन निर्वाह गर्ने शिक्षा नै नैतिक शिक्षा हो । जो बिना मानव पनि दानवको जीवन ज्युन बाध्य हुन्छन् । जसको असरले समाज र राष्ट्रलाई नै अमानवीय बनाउँछ । यदि नैतिक रूपमा हामी सचेत रहेनौँ आफ्नो मानवीय धर्म र कर्म छाड्यौँ, लोभलालचमा पर्यौं , फस्यौँ र अस्तित्वभन्दा बाहिर गयौँ भने हामी सर्वश्रेष्ठ प्राणी र चेतनशील हुँ भन्नु गलत सावित हुनेछ । आज नेपालमा जे भइरहेको छ त्यो नैतिक शिक्षाको कमीले नै भएको हो ।

रूपेश कार्की

हिजोका मानवमा नैतिकता थियो, सही कर्म गर्ने र कर्तव्य पालना गर्ने गर्दथे , त्यसैले विश्वमा नेपालीको नाम वीर गोर्खाली भएको हो । जति बेला हाम्रो मान, इज्जत र इमान थियो र पो विश्वले सम्मान गरेको हो तर विडम्बना त्यो हाम्रो अस्तित्व हामी कहाँ र कहिले गुमायौँ ? अहिलेका अचेतनशील नेपालीलाई थाहा नै छैन । नेपालका विभिन्न खालका राजनैतिक परिर्वतनसँगै मानवता पनि दानवतातिर परिणत भएको पाइन्छ ।

मानवीयता भन्ने शब्दमा मात्र छ व्यवहारमा त दानवीयपन मात्र पाइन्छ । नेपालका विभिन्न कथाकथित राजनैतिक परिर्वतन र २०६२ /२०६३ को कथाकथित क्रान्तिपछि त विद्यालयको शैक्षिक पाठ्यक्रमबाटै नैतिक शिक्षानीतिलाई विदेशीको इशारामा हटाइयो । यदि सम्पूर्ण आमजनमानसमा नैतिकता हुनु भनेको एकले अर्कोलाई सम्मान गर्नु, आदर गर्नु, राष्ट्रको निम्ति कर्तव्यबोध हुनु, कर्म गर्नु, धर्म संस्कृतिमा ख्याल गर्नु, सबै मानवहरू नियम र उपनियममा बाँधिनु ।

विश्वमा सही मानवको पहिचान गरिनु र मानवजीवनलाई परिपूरक बनाउने, मानवताको बोध गराउनु नै नैतिक शिक्षाका विषेशता हुन् । जसको व्यावहारिक रूपमा नहुँदा आज यो समाजमा बोलीमा शिष्टचार आदर , सम्मान, सत्कार,राष्ट्रप्रतिको दायित्व र कर्तव्य , भावना,जनताप्रति बफादारी नहुदाँ यहाँ कसैप्रति कसैको मूल्य मान्यता छैन भने कसैको मूल्याङ्कन हुँदैन।

सामाजिक सञ्जालमा अनेक प्रकारका अभद्र व्यवहार, असैर्य लेख रचना, अनैतिक क्रियाकलाप भरिएको पाइन्छ । अर्कोतिर राष्ट्रका सेवक र राष्ट्रका कर्मचारीमा राष्ट्रप्रति बफादार नहुँदा र कर्मचारीहरु कुनै न कुनै पार्टी सदस्य र कार्यकता भइदिँदा भ्रष्टाचारले चरम सिमा नाघेको छ । त्यति मात्र हैन राष्ट्रप्रमुखमा पनि राष्ट्रप्रतिको राष्ट्रभावना, जनभावना,देशप्रतिको सचेतना नभई उच्छृङ्खल व्यवहार, नारा र भाषणमै सिमित भइदिनाले पनि मलाई नेपालमा नैतिकताको कमी भएको अनुभूति भएको छ ।

जताततै अराजकताले शिखर चुमेको छ, आज हाम्रै अस्तित्व गुमेको छ, घटिया राजनितिक खेलले राष्ट्रियता समापन हुँदै छ, कुलङ्घार सन्ततीलाई जन्म दिने जननी र जन्मभूमि धुरूधुरू रुँदैछन् । विदेशीको चलखेल गर्ने मैदान भएको छ नेपाल, हामीलाई यहाँ बाल छैन, टन्न कमाएका छौँ लुटेर, सत्तामा पुगेका छौँ जेलबाट छुटेर, सिमाका चार किल्ला गइसके छुटेर, हामी यहाँ पदीय भागबण्डा अल्मलिरहेका छौँ, भाइभाइ र पार्टी पार्टी फुटेर । तेस्रो शक्ति उता दाउ हेर्दै एकआपसमा जुटेर । यहाँ हाँडी गाउँको जात्रा छ । जनताको भविष्य संकटको यात्रामा छ । नेपालीको भविष्यमा अब आँसुको छाल छ । यो सबै हाम्रो नैतिकता पतन र लिलामीले भएको हो ।

न्यायिक क्षेत्रमा पनि पीडितले न्याय पाउनु पर्ने ठाँउमा पावर पैसा र बल प्रयोग गरेर जनतालाई नै हैरानी दुखित पारिरहेका छन् । हुन त नेपालमा न्यायपालिकालाई कार्यपालिका प्रमुखले चलाएकाे पाइन्छ । विश्वमा जहाँ पनि कार्यपालिकाभन्दा न्यायपालिका माथिल्लो तह वा निकाय हो । नेपालमा भने त्यसको उल्टो सिस्टममा चल्दैछ । अनि कहाँबाट न्याय पाउन जनताले न्यायिक क्षेत्रमा नैतिक शिक्षा नहुँदा र न्याय क्षेत्रमा शक्ति प्रर्दशनको रोगबाट ग्रसित भएको छ । आज देशमा जे जति अमानवीय प्रकृतिका घटना भइरहेका छन् । त्यो नैतिक शिक्षाको कमी र अनैतिक व्यवहारको कारणले भएकाे हाे ।

व्यापार व्यवसायमा लाग्ने व्यवसायीहरु पनि राष्ट्रप्रति उत्तर–दायित्वको भूमिका निर्वाह गरेका छैनन् । सबै नेपालका ठुला करदाताहरू र ठुलो कर तिर्ने कम्पनि पनि कसरी कर छल्ने ? कसरी कर छुट गर्ने ? कर हिनामिनाह गर्ने काममा नेताको पावर र थोरै पैसामा कसरी आय कर छुट गर्न सकिन्छ भन्ने खेलमा लागेको पाइन्छ । आमनागरिकहरुमा पनि देशप्रति अग्रसर जागरूकता भएको पाइँदैन।

जबसम्म नैतिक शिक्षाबाट पाइने नैतिकता र मानवता मानवमा हुँदैन तबसम्म कोही पनि कुशल नेता, महान् राष्ट्रनायक,राष्ट्रलायक बन्न सक्दैन र उसले त्यो राष्ट्रको कहिल्यै पनि शान्ति, विकास, समृद्धि ल्याउन र छाउन सक्दैन ।

यदि हामी चरित्रविहीन नेताबाट समुन्नत राष्ट्र बन्ने कल्पना गर्छौं भने हामी पागल हौँ । त्यसैले पहिले नैतिकतामा सुधार हुनुपर्दछ । अनि मात्र सुखी नेपाली र समृद्ध नेपाल हुनसक्छ । यदि नेपाल साँच्चै विकास गर्ने हो भने सबैभन्दा पहिला नैतिकता सुधारिनु पर्दछ । आगामी पुस्तालाई सुधार्ने हो भने अहिल्यैबाट विद्यालय स्तरमा वा शैक्षिक पाठ्यक्रममा नै नैतिक शिक्षा अनिर्वाय गरिनु आवश्यकता देखिन्छ ।

यदि आजकै जस्तै गतिमा अनैतिकता/अराजकता बढ्दै जाने हो भने राष्ट्रले ठुलो क्षति/संकट भोग्नु पर्नेहुन्छ। नेपाली जनताले भने दुःख,सास्ती र निराशाको जीवन बिताउनुपर्ने हुन्छ ।आगामी पुस्ताले पशुसरहको जीवनयापन गर्नेछ जसले मानव अस्तित्व नै समापनको बिन्दुमा पुग्नेछ । पशु र मान्छेहरूको व्यवहारमा फरक भएन भने केको आधारमा हामी आफूलाई महान् मानव भन्ने हो र ?