
पूर्वीय परम्परा र खास गरी हिन्दूसंस्कृतिमा छोरीको सानैमा (दुई-तीन वर्षकी हुँदै) नाक-कान छेड्ने तथा गहना लगाउने चलन छ । यस्ता चलनहरू परापूर्वकालदेखि समाजमा चल्दै आइरहेका छन् । समाज क्रमशः यद्यपि निरन्तर रुपमा आइरहेका छन् । संस्कृतिको रुपमा वास्तवमा सोच्ने हो भने त्यस किसिमको रीतिरिवाजले महिलालाई अगाडि बढाउन सक्तैन । किनभने सक्षम र आत्मनिर्भर बनाउने काम लुगा-गहनाले होइन, योग्यताले गर्दछ ।

सीता पाण्डे
हामी देख्छौँ, सुन्छौँ- तराईमा गाडा चलाउनका लागि गोरु वा राँगाहरू नारिन्छ । ती जनावरहरूलाई नाकको कुनै भागमा प्वाल पारेर छेडिने गरिन्छ अनि त्यसमा “रस्सी” वा “धागो” बाँधेर नत्थी लगाई तानेर वा छाडेर आफूलाई मन लागेअनुसार उसलाई गर्न लगाउन बाध्य पारिन्छ । यसो गर्दा जनावर जति नै बलियो र शक्तिशाली भए तापनि मन लागेअनुसार हिँड्न पाउँदैन । मान्छेको आशय तथा इच्छाअनुसार “गर्न” वा “सहन” बाध्य हुन्छ ।
बयलवान (गाडाचालक) जनावरभन्दा कमजोर कम शक्तिशाली भए तापनि नत्थीको माध्यमबाट शक्तिशाली ठहर्दछ र ऊ पशुलाई आफ्नो वशमा राख्न सफल हुन्छ । त्यस्तै कुकुर, बाँदर, भालु, घोडा, हात्ती आदि जनावरहरूलाई पनि सिक्री, फलाम वा धातुका रिङ आदिको माध्यमबाट मान्छेले आफ्नो वशमा राख्छ । सर्कसमा त अझ हामी देख्छौँ, पशुहरू मान्छेको पन्जामा कति ‘निरीह’ र ‘परतन्त्र’ भएर बस्छन् ।
अर्को कुरा, चराचुरुङ्गीलाई घरमा पाल्न शोख राख्ने हिंस्रक सज्जनहरूले सुनको पिँजडा वा खोरमा जनावर वा पशुपंक्षीलाई थुनेर राख्छन् । त्यस्तै विवाहोत्सवहरूमा त्यस्ता जनावरलाई नत्थी लगाएर विभिन्न झल्लर र रङ्गरोगनले सिँगारेर हिँडाएको पनि देख्न पाइन्छ । उपर्युक्त कुराहरूलाई विचार र मनन गरेर हेर्ने हो भने हाम्रो समाजका बहुसङ्ख्यक ग्रामीण महिलाहरूको अवस्थासित दाँजेर हेर्न पनि सकिन्छ । जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका नेपाली नारीहरूमा योग्यता र क्षमता नहुने हो भने शरीरलाई यातना र दुःख दिएर प्वाल पारी गहना लगाइएको स्वरुप केवल पुरुषको वश र नियन्त्रणको लागि मात्र नहोला भन्न सकिँदैन ।
यस प्रसङ्गमा अहिले मलाई एउटा कुराको स्मरण भइरहेछ ।
भन्छन्, महिलाहरूलाई जाँतोजस्तो भारी सुनको गहना लगाइदियो पनि झुन्ड्याउन तयार हुन्छन् । यसको आशय महिलाहरू ‘गहना’ भनेपछि हुरुक्क हुन्छन् । सुन वा चाँदीजस्ता धातुहरूप्रतिको आकर्षण र भौतिक मूल्यसित पनि दाँजेर हेर्न मिल्छ । तर त्यसबाहेक पनि अन्य कम मूल्यका वा मूल्यरहित गहनाहरू लगाउनुलाई नारीको अस्तित्वसित जोडेर हेर्नु आफ्नो नत्थीको रस्सी पुरुषवर्गको हातमा सुम्पिनुजस्तै हो । हुन त जनावरलाई बाँधे झैँ मान्छेको हातमा त्यो रस्सी हुँदैन ।
छोरीको कलिलो उमेरमै नाक, कान छेडेर त्यसमा धातुका गहनाहरू झुन्ड्याइदिनु तथा आदर्श स्वास्नीमान्छेको स्वरुपमा प्रस्तुत एवं प्रशंसा गर्नु पनि एउटा अमूर्त नियन्त्रण हो भन्दा अत्युक्ति नहोला । “अहा ! तिमी कति राम्री देखिन्छ्यौ त्यो गहना लगाउँदा !” पुरुषले महिलाको प्रशंसा गर्छ, रमाइलो लाग्छ । धेरै वर्षदेखि यही र यिनै कुरा सुन्दा-सुन्दा महिलालाई के लाग्न थाल्यो भने राम्रो हुन वा देखिन गहना लगाउनै पर्छ । अझ खास गरी भन्ने हो भने पुरुषवर्गको आँखामा रम्रो देखिनका लागि ऊ हरप्रयास गर्छे । यसरी गहना लगाउन पुरुषवर्गले मनोवैज्ञानिक ढङ्गबाट महिलालाई बाध्य पारेको छ । बाध्यताभित्र नियन्त्रण लुकेको छ ।
जे होस्, नत्थी लगाएर मान्छेले पशुलाई नियन्त्रण र वशमा राख्न सक्तछ भने छोरीमान्छेलाई कलिलो उमेरमै नाक, कान छेडेर गहना लगाइदिनु पनि मनोवैज्ञानिक ढङ्गबाट महिलाहरूलाई नियन्त्रण र वशमा राख्ने एउटा पद्धति हो । तर महिलाहरू पनि शिक्षित, जागरुक तथा चेतनशील हुने हो भने त्यो पद्धति स्वतः निष्क्रिय र कमजोर भएर जान्छ । त्यसका लागि कुनै विशेष पहल गर्नु आवश्यक छैन । यसकारण हामी सबैले यो बुझ्नु पर्दछ, स्वास्नीमान्छेको मात्र होइन, लोग्नेमान्छेको पनि “गहना” भनेको “योग्यता र क्षमता” नै हो । तसर्थ हामी बाहिर शरीरमा देखिने गहना र आभूषण होइन, विचार र व्यक्तित्वसित गाँसिने गहनाको श्रीवृद्धि गरौँ ।
सीता पाण्डेको पुस्तक “यौन र अनुभूति”बाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

