एउटा सन्तान जन्माएर हुर्काउन कति कठिन हुन्छ । दिनरात भोकप्यास नभनी, स्याहारसुसार शिक्षादिक्षा दिएर एक सक्षम मानिस बनाइसकेपछि अचानक त्यो सन्तानले संसार छोडेर जाँदा आमाबाबुमा कस्तो बज्रपात पर्छ ? त्यो पर्नेले मात्र अनुमान गर्न सक्छ।

विज्ञानका परिभाषामा, बाँच्नका लागि नभई नहुने आधारभूत आवस्यकताकै तहमा राखिएको छ यौनलाई । मानवले
जन्मैदेखि विभिन्न उमेरका आधारमा यौनसन्तुष्टि लिने विभिन्न प्रकृयाका बारेमा सिग्मन्ड फ्रायडले व्याख्या गरेका छन् ।

किशोरावस्थापछि सामान्यतः विपरित लिङ्गी व्यक्तिसँग शरीर एवं प्रजनन अङ्गहरुको सामिप्यताद्वारा यौन सन्तुष्टि पूरा गरिन्छ । यो स्वभाविक प्राकृतिक प्रकृया हो । मानिस चेतनशील र विवेकी प्राणी भएकोले यौन सन्तुष्टि लिने पार्टनर छनौट र प्राप्तिको स्थायित्वका लागि “विवाह” गर्ने नियममा बाँधिएको हो ।

यदि विवाह समयमा भएन वा हुँदै भएन भने पनि, मानवले स्वस्थ्य रहन यौन आवश्यकता परिपूर्ति गर्ने अरु विकल्प रोज्नैपर्ने हुन्छ, अन्यथा उसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

शोभा लामिछाने

आधुनिक समाजमा प्रेम हुनु, विवाहपूर्व नै यौनसम्पर्क हुनु नकारात्मक लिनुहुँदैन । जहाँसम्म विवाहको सवाल छ, आजभोलि शैक्षिक र आर्थिक रुपले सक्षम नभई बिहे नगर्ने प्रचलन आउँदै छ ।

सामान्यतया किशोर अवस्थामै विभिन्न हर्मोनहरु उत्पादन हुने हुनाले यौन आवश्यकता त्यतिबेलादेखि नै परिपूर्ति हुनु जरुरी हुन्छ । यद्यपि प्रजनन स्वास्थ्यलाई ख्यालमा राखी, राम्रोसँग प्रजनन अङ्गको विकास होस् भन्ने हेतुले “बिहेबारी बीस वर्षपारि” भन्ने अभियान चलाइएको हो ।

लगभग तीस वर्षसम्म बिहे नगर्ने व्यक्तिले करिब एक दशकसम्म आफ्नो यौनचहानामा जबर्जस्ती नियन्त्रण राख्नुपर्यो, या विवाहपूर्व नै यौनसम्बन्ध राख्नुपर्यो । यो भन्दा अर्को विकल्प नै छैन ।

भर्खरै प्रेम सम्बन्धपछि इन्गेजमेन्ट र यौन सम्बन्धसम्म पुगेका एक जोडी बिहे नगर्ने निर्णयमा पुग्छन् । उमेर पुगेका केटा र केटी एकअर्काप्रति आकर्षित भए, प्रेम भयो, शारीरिक निकटता भयो । अब समाजले राखेको नियमभित्र रहेर सम्बन्धको स्थायित्वका लागि बिहे गर्ने निर्णय भयो । केही कारणवश बिहे नगर्ने निर्णयमा केटापक्ष पुग्यो, र बिहे नहुने निश्चित भयो ।

त्यसपछि के हुन्छ ?

सरसर्ती आकलन गर्दा, केटापक्षलाई केही हानी हुँदैन । फेरि अर्को कुनै चाहेको केटीसँग उसको सजिलै बिहे हुन्छ । तर केटी पक्षको घरमा दिनरात सबै सदस्यलाई तनाव हुन्छ । समाजमा के भन्ने ? कसरी मुख देखाउने ? अब बिटुलिएकी छोरीलाई कसरी गतिलो कुलखानदानमा दिन सकिन्छ र ? भन्ने जस्ता प्रश्नहरुले निन्द्रा र भोक हराउँछ। अझ उल्टै सबै परिवार केटीलाई नै गाली गर्न अग्रसर हुन्छन्, “तँलाई किन यौन सम्बन्ध राख्नु परेको ? हाम्रो इज्जत माटोमा मिलाइस् ।” यस्तै आशयका गालीहरु ।

विवाह हुँदैछ भन्ने भरोसामा पो यौनसम्बन्ध राखेको, बिहे नगरेर केटाले धोका दिएको महसुस हुन्छ । त्यसलाई पनि सुखले बाँच्न दिन्न भन्ने बदलाको भावमा केटी गएर केटाको घरअगाडि आत्मदाह गर्छिन् ।

केटीको मृत्यु भयो, तर के यो मृत्यु सहज हो ? के यो सरासर हत्या होइन ? यो समाजले निर्धारित गरेको “केटीको इज्जत” को परिभाषा र मान्यताले होइन हत्या गरेको उसको ?

घाटा के नै लागेको थियो र ? लुगाकपडा गहना दक्षिणा फिर्ता गरिसकेको थियो । बाँकी फिर्ता नगरेको वा लुटिएको त्यही कौमार्य त हो । त्यही कुमारित्व गुमाउनुलाई संसारको सबैभन्दा ठुलो हार मान्ने केटीको सोच कसले निर्माण गरेको हो ? यही समाजले होइन ? यही कौमार्यलाई प्रमुख इज्जत मान्ने र ठान्ने केटा वा केटीका अभिभावक पनि हत्यारा नै होइनन् ? यो पुष्पाको आत्महत्या होइन, सरासर कुमारित्वको चक्कुले रेटेर समाजले गरेको हत्या हो ।

बाँकी रह्यो सहनशीलता, हिम्मत र संकल्पको कुरा ।

इन्गेजमेन्ट टुटेका, बिहे गरेर छुटेका, अझ एकदुई सन्तान साथमा भएर पनि वैवाहिक सम्बन्ध टुटेका कयौं महिलाहरु छन् । सबैले आत्महत्याकै बाटो रोज्दैनन् । उनीहरु पीडा र आक्रोश सहन गर्छन् । हिम्मत गर्छन्, समाजसँग लड्ने र संकल्प गर्छन् बाँच्ने। कैयौंको सफल दोस्रो विवाह पनि हुन्छ । कैयौं एकल र सफल जीवन बिताउँछन् । यिनै महिलाहरुसँग प्रेरणा लिनुपर्दछ हरेक छोरी एवं छोरीका अभिभावकले ।

संकटको बेलामा बिहे टुटेकी छोरीको साथ रहेर हौसला दिनु र तत्कालै एक्लै आवेशमा घरबाहिर जानबाट रोक्नु पनि अभिभावक र परिवारको दायित्व हो । दुईचार दिन बितेपछि त छोरी पनि तनावको व्यवस्थापन गर्न सक्ने हुने थिइन् ।

अन्तमा;

बिहेको लालसा देखाएर यौन सम्बन्ध स्थापित गर्नु धोका र अपराध नै हो । बिहे त आखिर एक जनासँग गर्नु नै छ भने, आपसी मतभेद र भिन्नताहरु सल्लाहले समाधान गर्दै जानुपर्ने थियो, बिहे नै तोड्ने निर्णय लिनु केटापक्षको अहं र संकुचित सोचको नतिजा हो। सकेसम्म सबैको प्रेम सफल विवाहमा परिणत होस् । विवाह नभएमा पनि केही छैन । केही दिन रमाइलो गरियो, यौनचाहाना पूरा गरियो । भोलि अर्को मन मिल्ने व्यक्ति पाइहालिन्छ भनेर सहज स्वीकार गर्न सक्ने मानसिकता आम छोरीहरु र अविभावकमा विकास होस्। कतै आत्महत्या को समाचार सुन्न नपरोस्। हार्दिक श्रद्धाञ्जलि छोरी ” पुष्पा न्यौपाने “।