सागर अर्याल
एउटा मान्छे बन्दै गरेको मन्दिर हेर्नका लागि जान्छ । मन्दिर परिसरमा देवताको मूर्ति बनाउँदै गरेको मूर्तिकार भेट्दछ । मूर्ति बनाउँदै गरिरहेको हेरिरहँदा अकस्मात् उसको नजर मूर्तिकारभन्दा केही मिटरमात्र पर रहेको मूर्तिमा पर्दछ, जुन मूर्तिकारले अहिले बनाइरहेको मूर्तिसँग हुबहु मिलेको छ । त्यो देखेर उसले मूर्तिकारलाई सोध्दछ, “के तपाईँलाई एउटै देवताको दुइटा मूर्ति बनाउन भनिएको छ ? किन उस्तै अर्को मूर्ति बनाउँदै हुनुहुन्छ ?”
“छैन । बनाउन भनेको त एउटा मात्रै हो । मैले लिने ज्याला पनि एउटैकै हो ।”, मूर्तिकारले भने, “तर त्यो पहिलो मूर्ति लगभग अन्तिम समयमा आएर बिग्रन गयो । त्यसैले अर्को मूर्ति बनाउन थालेको हुँ ।”
मूर्तिकारको जवाफ सुनेपछि त्यो मान्छेले पहिलो मूर्तिलाई नियालेर हेर्याे । धेरैबेरसम्म नियालपछि पनि उसले उक्त मूर्तिमा बिग्रिएको कुनै संकेत पाएन । र मूर्तिकारलाई सोध्यो, “होइन, यहाँ त केही पनि बिग्रेको देखिदैन नि?”
“मूर्तिको नाकतिर केही कोरिएको छ ।”, मुर्तिकारले जवाफ दियो ।
“तर खै ? मैले त त्यस्तो बिग्रिएको कहीँ पनि देख्दिनँ त । कि यहाँबाट नदेखिएको हो ?”
“हैन ।”
“यो मूर्ति कहाँनेर राख्न गइरहेको छौँ नि ?” मान्छेले मूर्तिकारलाई सोध्यो ।
“यो मूर्तिलाई २० फिट उचाइको खम्बा माथि राखिने छ ।” मूर्तिकारले भन्यो ।
आश्चर्य चकित हुँदै मान्छेले फेरि आफ्नो जिज्ञासा राख्यो, “यो मूर्तिलाई २० फिटको उचाइमा राखिँदै छ भने मूर्तिको नाकमा रहेको त्यस्तो सानो कोरिएकोलाई कोट्याई कस्ले पो देख्नसक्छ र ? यहाँबाट त पटक्कै देखिएको छैन ।”
त्यो मान्छेको जिज्ञासा सुनेपछि मूर्तिकारले उसलाई एकचोटि हेरे, र मुस्कुराउँदै भने, “तपाईँहरूले नदेखे पनि मेरो आँखा त्यही बिग्रेको ठाउँमा जान्छ, र त्यही आँखा रोकिन्छ । भगवान्ले पनि त देख्छन् ! त्यो बिग्रेको ठाउँ भगवान्ले र मैले त सधैं देख्छौं । त्यसैले मेरो मनले नमानेर अर्को मूर्ति बनाउँदै छु । यदि अहिले मैले मेरो गल्तीलाई ढाकछोप गरेँ भने मेरो जीवनभरिलाई पश्चाताप हुन्छ । मूर्ति त्यहाँ रहुञ्जेल त्यो कमजोरी रहिरहन्छ । मैले आत्मसन्तुष्टिका लागि पुनःअर्को मूर्ति बनाउँदै छु ।”
…………………..
वास्तवमा हामीले हाम्रो सामाजिक जीवन होस् वा व्यवसायिक जीवन, जानी जानी वा अन्जानमा गल्तीहरू भएका हुन्छन् । ती गल्तीहरूलाई ढाकछोप गर्छाैँ, नदेखे जसरी छोड्दछौं । यसरी वेवास्ता गरिएका गल्ती र कमजोरीहरूले कालन्तरमा गम्भीर सजाय दिइरहेको हुन्छ ।
हाल विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पनि धेरै जसो असावधानी, हेल्चेक्र्याइँ, वेवास्ता र लापरवाही गरेको कारणले बढिरहेको छ । बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र आफन्तजनमा एकप्रकारको बाध्यता होला ! तर अरू सामान्य र सर्वसाधारणमा संक्रमण फैलिनु भनेको अधिकांश असावधानी नै हो । अब यसको अन्त्य कसरी हुन्छ ? अहिले भन्न सकिने अवस्था छैन ।
अहिलेको विश्व जलवायु परिवर्तनको ठूलो शिकार भएको छ । वातावरण विनास, प्राकृतिक श्रोतको दोहन, दीगो विकासमा नजर अन्दाज, पारिस्थितिक प्रणालीको बिग्रह र क्षणिक स्वार्थ पूर्तिमा मानवजाती रमाइरहेको छ । यसैको परिणामले विभिन्न प्रकारका विनाश, प्राकृतिक विपत्ति र घटनाहरू घटिरहेका छन् ।
हामी सबैलाई थाह छ, यो गर्नु हुँदैन । यसले वातावरणमा नकारात्मक असर पार्दछ । वातावरण बिग्रेमा हुने परिणाम पनि थाहा छ । तर हामी अझै पनि वेवास्ता गर्दै छौँ । अघि उल्लेख गरिएको मूर्तिकारको जस्तो सोच र विचार हामीले राख्न सकेका छैनौँ । त्यसैले यसको परिणाम पनि हामीले भोग्नु नै पर्दछ । भोग्दैआइरहेका पनि छौँ ।
मानवजातीले आफूलाई जति विकसित गरे पनि, जति सम्पन्नशाली बनाए पनि, प्रकृतिलाई कहिल्यै पनि जित्न सक्दैन । प्रकृतिको सामू मानवजातीले हार्नै पर्दछ । त्यसैले हामीले यो पृथ्वीमा मानवजातीको अस्तित्व रक्षाको लागि वातावरणलाई अहिलेदेखि नै जोगाऊँ, जलवायु परिवर्तनको दुष्परिणाम रोकौँ । यदि वेवास्ता गरिरह्यौं भने, पछि पश्चाताप गरेर केही गर्न सकिने अवस्था रहँदैन ।
प्रायः हामीले आफ्ना सहपाठी वा इष्टमित्रहरूसँग आफूलाई दाँज्छौँ ।
उसले यस्तो प्रगति गर्यो, मैले गर्न सकिनँ । ऊभन्दा म के कुरा मा कमजोर थिए र ?, आफूले आफूलाई सोध्छौँ ।
हामी अहिले जे छौँ, जुन अवस्थामा छौँ, त्यो हामीले विगतमा गरेको सकारात्मक कार्य, गल्ती र कमजोरीहरूको संयुक्त परिणाम हो । विगतमा गरेका गल्तीहरूलाई पुनःस्मरण गर्दै अहिले पछुताउन थाल्यौँ भने त्यही पछुतोले हामीलाई अघि बढ्न दिँदैन । त्यसैले मूर्तिकारले झैं आफ्नो गल्ती आफैँले पत्ता लगाई सुधार गर्न सक्यौँ भने त्यसको परिणाम पनि राम्रो आउँछ । हामी अरू जस्तै प्रतिष्पर्धी बन्न सक्छौँ । आफूलाई सफल बनाउन सक्छौँ, उदाहरणीय बन्न सक्छौँ । जीवनमा पुनः पश्चाताप गर्नु पर्दैन ।
अहिले मानिसहरू विज्ञान र प्रविधिको विकाससँगै विद्युतीय सामाजिक सञ्जालमा बाँधिएका छन् । सायद उनीहरूलाई ती सामाजिक सञ्जालको लतबाट छुटाउन, एउटा कुलतमा फसेको व्यक्तिलाई पुर्नस्थापना केन्द्रमा लगेर राखेजस्तै, कुनै दिन सामाजिक सञ्जाल पुर्नस्थापना केन्द्रमा लगेर राख्नु पर्ने दिन आउन सक्छ । आफ्ना मनका हर्ष होस् वा दुःख, त्यही पोखेको देखिन्छ ।
सञ्जालकै माध्यमबाट एकले अर्कोलाई वाहवाही व्यक्त गरेका हुन्छन् । आफ्नो जीवनको महत्वपूर्ण समयमा विद्युतीय वाहवाहीमा रमाएका वा रोएका छन् मान्छेहरू । वास्तवमा त्यो वाहवाही वा गोहीका आँशुले समय बर्वादबााहेक अरू केही हुँदैन ।
सञ्चारका विभिन्न माध्यमहरू छन् । ती लत नलाग्ने माध्यमहरूको अधिकतम उपयोग गर्न सकिन्छ । यही सामाजिक सञ्जाललाई पनि आफ्नो वशमा राखेर, लतमा नफँसी सकारात्मकता र नयाँ उर्जाको लागि उपयोग गर्न सकिन्छ । तर, धेरैले दुरुपयोग गरेका छ, लतमा फँसेका छन् । यहाँ पनि हामीले नजाँनिदो गरी गल्ती गरिरहेका छौँ । पछिको परिणाममा वेवास्ता गरिरहेका छौँ । त्यसैले, आफूलाई आफ्नो लक्ष्य र भविष्यप्रति चिन्तनशील बनाउँदै, अहिले गरेका गल्ती र कमजोरीहरू सच्याउन जरुरी छ ।
अन्त्यमा,
आफूलाई हेरौं, आफ्ना कार्यहरूलाई नियालौँ, आफ्नो दिनचर्याको पुनरावलोकन गरौँ, र आफ्ना गल्ती पहिल्याऔँ । समयमै आफूलाई सच्याऔँ । यदि आफूलाई जानीजानी गल्तीतर्फ डोर्याएनौं भने हाम्रो गन्तव्य स्वतः सही ठाउँमा पुग्ने छ । सकिन्छ भने, अरूलाई पनि सकारात्मकता र सही बाटोमा डोर्याउने कोशिस गरौँ, खुसी बाँडौँ । यदि सकिँदैन भने, कमसेकम अरूको खुसीचाहिँ नखोसौँ ।
“हेर्ने नजर”ले नदेखे पनि “देख्ने नजर”ले देखेको हरेक कमीकमजोरी र गल्तीहरू सच्याउँदै जाऔँ । मेरो विचारमा सहमति वा विमति हजुरको ईच्छा… !!
(लेखक हाल मुतिmनाथ विकास बैंक, साना तथा लघुबैकिङ्ग डेस्क प्रमुखको रूपमा कार्यरत छन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।