यतिखेर समाजमा धार्मिक प्रवृत्ति बढेको देखिन्छ । जताततै मन्दिर । जताततै पुराण । जताततै धार्मिक कार्यक्रम । जताततै भजन । सत्सङ्ग । पूजा ।  अनि सत्गुरूसँगै व्यक्तिवादी चिन्तन । हत्या, अपहरण, लुटपाट । द्वन्द्व । प्रवृत्ति सकारात्मक प्रभाव नकारात्मक ? सकारात्मक प्रवृत्तिले सकारात्मक प्रभाव पार्नुपर्ने होइन ? धान रोप्दा धानै फल्छ । प्रकृतिको नियम । तर धार्मिक प्रवृत्ति रोप्दा किन साहचर्य फलेन ? कुरा धेरै छन् । यस लेखमा भजन पक्षको मात्रै चर्चा गरिने छ ।

भजन तत्सम शब्द हो । ‘भज्’ धातुमा ‘अन’ प्रत्यय जोडिएर बनेको यस शब्दको अर्थ हुन्छ भज्नु । ईश्वरको उपासना गर्नु । स्तुति गर्नु । सामान्य अर्थ । भगवान्को नामको कीर्तन । सङ्कीर्तन । व्यापक अर्थमा ईश्वरप्रति समर्पित भई उसैमा लीन हुनु । मीराजस्तै । सूरदासजस्तै । त्यहाँ शब्द होइन, भाव प्रधान हुन्छ । शब्द केवल ‘ईश्वर’ हुन्छ । वाल्मीकिले ‘राम’ शब्दलाई उल्टोबाट जपे ‘मरा’ । उल्टिएर ‘राम’ भयो । मीरा, सूरदास र वाल्मीकिलाई ऊर्जा प्राप्त भयो । तिनले सफलता हासिल गरे । उनीहरू श्रद्धा बने । उदाहरण बने । प्रेरणा बने ।

गङ्गाराम गड्तौला

भजनले नाम सङ्कीर्तनको परिधि नाघेर सङ्गीतमा उक्लियो । ठिकै छ । व्यावसायिक बन्यो । विधागत पहिचान । तर भाव चुहिएन । अनुप जलोटा, भक्तराज आचार्य आदिले भजनको सङ्गीत पक्षलाई आधुनिकीकरण गरे । युगसापेक्ष । नाम कीर्तनमा मात्रै रोकिएन समाज । भाव प्रधानै रह्यो । भजनले मानिसलाई भक्तिभाव प्रदान गरी नै रह्यो ।

तर यति बेला नारायण गोपालका गीतहरू भजन बनेका छन् । चलचित्रका गीत र झ्याउरे गीतहरू भजन बने । हुँदा हुँदा ‘झल्झली आँखैमा’, ‘माथि माथि सैलुङ्गेमा’, ‘कुटुमा कुटु’ पनि भजन बने । भजन मनोरञ्जनमा खुम्चियो । आस्था चाहिएन । श्रद्धा चाहिएन । अनि ऊर्जा कसरी प्राप्त हुन्छ ? धार्मिक क्रियाकलापले व्यक्तिको आचरण सुधार गर्नुपर्छ । भजनले व्यक्तिमा मोक्षातीत भाव उत्पन्न गर्नुपर्छ । कसरत हुनुपर्छ भजन । कसरत भएन । शारीरिक व्यायाम गरेपछि व्यक्तिमा शारीरिक स्वस्थता देखिन्छ । मानसिक व्यायाम गरेपछि मानसिक स्वस्थता देखिनुपर्छ । भेला हुने, मनोरञ्जन गर्ने । अझ भजनमा उपस्थित भएर विकृति सिकेर जाने परिस्थिति उत्पन्न भयो । भजन प्यारोडी बन्यो ।

भारतको हिन्दु बाहुल्य राज्य उत्तर प्रदेशमा पनि अहिले नेपालमा जस्तो प्यारोडी प्रयास भएको थियो । ‘दिदी तेरा देवर दिवाना’ हरू भजन बनेर निस्किए । तर धार्मिक प्रवृत्ति खस्किन पाएन । जतिसुकै राम्रो गीत सङ्गीत भए पनि त्यहाँ प्यारोडीलाई स्विकारिएन । बिस्तारै सेलाएर गयो प्यारोडी प्रवृत्ति । अहिले शून्यप्रायः छ । तर नेपालमा ? बढ्दो छ । धार्मिक अगुवाले आँखा चिम्लिएका छन् । आयोजकहरू आफैँ प्यारोडीमा रमाएका छन् । नियमन निकाय छैन । ‘जसले जे गरे पनि हुने’ अवस्था छ । संस्थागत पहल छैन ।

म भन्छु — राम जानकी मन्दिरमा कृपया प्यारोडी नगाउनुहोला । समितिले भनोस् । लक्ष्मी नारायण मन्दिरमा प्यारोडी निषेध । समिति बोलोस् । पुराणका आयोजकले भनून् — प्यारोडी चाहिँ पाइँदैन है । त्यसपछि साप्ताहिक कीर्तन मण्डलीले आफैँ प्यारोडी ‘डिलिट’ गर्ने छन् । नत्र प्यारोडी भजनमा भाइरस बनेको छ । यसले समाजमा विकृति मात्रै निम्त्याउँछ ।