एक बारको छोटो जीवन । यो छोटो जीवनमा, हामीसँग जोडिएका हुन्छन् हाम्रो घर-परिवार । आमा-बुबा, छोराछोरी र आफन्त । अनि हाम्रो समाज, परिवेश, आफ्नोपन र मुटुभन्दा प्यारो देश ।

आफ्नो घर,परिवार,आफन्त र देशै छोडेर सात समुन्द्र पारिको विरानो देशमा दुःखको काम गर्न, जाने रहर कसलाई होला र ? वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पुगेका नेपालीहरूलाई सोध्ने हो भने कसैले पनि रहर अनि रमाइलोको लागि वैदेशिक रोजगारीमा गएको भन्दैनन् ।

वैदेशिक रोजगारीमा पुगेकाहरू सबैको एकै स्वर हुन्छ-बाध्यता । आफ्नै देशमा मिहिनेत, मजदुरी र सानोतिनो ब्यापार-व्यवसाय गरेर बाँच्न अनि परिवार पाल्न सकिने अवस्था भएको भए हामी वैदेशिक रोजगारीमा आउँने थिएनौँ ।

आफ्नै देशमा केही गर्छु । आफ्नै घर-परिवारसँग रमाएर बस्छु भनेर थुप्रै दुःख-कष्ट सहेर संघर्ष गर्दागर्दा पनि बिहान-बेलुका दुई छाक खान नपुग्ने बालबच्चालाई पढाउन र बेथा बिमार लाग्दा औषधी उपचार गर्न नसकिने अवस्थामा पुगेपछिको निर्णय हुन्छ वैदेशिक रोजगारी । विरानो मुलुकमा दुःखको काम गर्न जान पनि कहाँ सजिलो छ र ? पासपोर्ट बनाउनेदेखि विदेश पठाउने एजेन्ट खोज्न,चर्को ब्याजदरमा ऋण भेटिन लामै चक्कर काट्न पर्छ ।

राम ढुङ्गाना

वैदेशिक रोजगारीमा जाने सबै प्रक्रिया त पूरा भयो । घरमा वृद्ध त्यसमाथि बिरामी बाबुआमा छन् । नियती यस्तो निर्मम भइदिन्छ जन्म दिने बाबुआमालाई यो जुनीमा देख्नु यति नै हो भनेर जान्दाजान्दै पनि झोला बोकेर घर छोड्नै पर्ने बाध्यता हुन्छ।

बिहे पश्चात बाबुआमाको घर छोडेर पराई पुरुषलाई आफ्नो सर्वस्व सम्झेर आफूसँग आएकी नवदुलहीलाई छोडेर वैदेशिक रोजगारीमा हिड्ने मन कुन युवालाई होला र ? कतिले त गर्भवती श्रीमतीलाई छोडेर हिँडेका हुन्छन् । केही वर्ष उसको स्वदेश फर्किने नसिप पनि हुँदैन । श्रीमतीको गर्भमा रहेको सन्तान जन्मे हुर्केर स्कुल जाने बेला भइसक्छ। त्यो बाबु जसलाई आफ्नो सन्तान काँधमा बोकेर स्कुल पुर्याउँन ,उसले बोल्न सिक्दैगर्दा उसको मुखबाट निस्कने ‘बाबा’ शब्द सुन्न उसले बोल्ने त्यो हरेक बोलीमा हाँस्न र रमाउन कति रहर होला ?

देशको लथालिङ्ग राजनीतिक अवस्थाको शिकार भएकाले नै हामी वैदेशिक रोजगारीमा आउन परेको हो भन्ने देश छोडेका युवाहरूलाई राम्रोसँग थाहा छ । देशमा चरम बेथिति, भ्रष्टचार र नेताहरूको अकर्मण्यताको उपज हो वैदेशिक रोजगार भन्ने पनि बुझेका छन् ।
अनि त्यही युवालाई विदेश पुग्ने बित्तिकै कुनै राजनीतिक दलको सदस्यता लिनैपर्ने । कुनै अमुक पार्टी र नेताको पक्ष-विपक्षमा बोल्नै र लेख्नै पर्ने । अझ आफूले दुःख गरेको पैसाले टिकट समेत काटिदिएर नेपालबाट नेताहरू बोलाएर खादा, माला लगाइदिएर सम्मान गर्दै महङ्गा र सुविधा सम्पन्न होटलमा राख्ने, घुमाइदिने र महङ्गा गिफ्ट दिएर पठाउने छौँ । त्यतिखेर हामी बिर्सिदिन्छौँ, हाम्रो दुःखको कारण बनेका नेतालाई हामीले भगवान् सम्झेर मान दिइरहेका र सम्मान गरिरहेका कुरा ।

वैदेशिक रोजगारीको सिलसिलामा दक्षिणपूर्वी एसियाली देश फिलिपिन्सका फिलिपिनीहरू नपुगेको देश कमै होला । तिनीहरू विदेशमा पुगेपछि नियमित काम बाहेक कसरी अतिरिक्त आम्दानी गर्न सकिन्छ भनेर लाग्छन् । खाली समयममा ओभरटाइम गर्छन् । अन्य विभिन्न पेशा र व्यवसाय गर्छन् । फुर्सदमा सपिङ्ग गर्न ,रेष्टुरेण्टमा गएर खान कन्जुस्याइँ गर्दैनन् । तर,नेपालीले जस्तो राजनीति गर्दै आफ्नो कमाइको पैसाले नेताहरू झिकाएर उनीहरूलाई रमाइलो गराइदिने काम कहिल्यै गर्दैनन् ।

हाम्रै छिमेकी देश भारतको राजनीति पनि त्यति सङ्ग्लो छैन । त्यहाँ पनि राजनीतिक बेथिति छ। भारतीयहरू पनि वैदेशिक रोजगारीको लागि जताततै छन् । तर तिनीहरू पुगेका देशमा, ग्रोसरीका सामान, भारतीय परिकारका रेष्टुरेन्टलगायतका व्यापार व्यवसाय गर्छन् । तिनीहरूलाई पनि राजनीति गर्न र व्यक्ति पिच्छे संघ-संस्था खोल्न चासो हुन्न ।

श्रीलंकन,चिनिया र अफ्रिकालगायतका देशबाट जति पनि वैदेशिक रोजगारीको लागि विदेशमा छन् । हामी नेपाली मात्र यस्ता छौँ जसले विदेश पुग्ने बित्तिकै राजनीति र विभिन्न किसिमका संघ-संस्थामा नरहेर बाँच्नै सक्दैनौँ । विदेशमा समेत नेपाली-नेपालीबीच आपसी एकता छैन । हरेक नेपाली राजनीतिक आस्था र संघ-संस्था अनुसार विभाजित छन् । एक नेपालीले अर्को नेपालीलाई सिर्फ नेपाली भनेर मात्र चिन्दैनन् र चिनाउन खोज्दैनन् । फलानो दलको नेता अनि संस्थाको सदस्य,पदाधिकारी भनेर चिनिने र चिनाउन खोज्छन् ।

नेपालमा पनि त दलको झण्डा नओडी बाँच्न सकिन्न भन्ने मानसिकता रहेछ । एक स्वतन्त्र र आम मानिस भएर पनि त रहन सकिन्छ भन्नेमा कोही ढुक्क छैनन् । पृथ्वीनारायण शाहले त्योबेलाको चेतनामा भौगोलिक एकता त गरिदिए तर अहिलेको २१ औँ शताब्दीको चेतनामा हुर्केका हामी नेपालीहरू विभिन्न दल, संघ-संस्था र आ-आफ्नो स्वार्थअनुसारका समूहमा विभाजित छौँ ।

अन्तिममा, हामी नेपालीको दुःखको मुल कारण नै यही हो । हामी-हामीबीच आन्तरिक एकता छैन । हामी नेताका रिमोर्ट कन्ट्रोलभन्दा माथि छैनौँ । हामी हरेक कुरामा स्खलित भइसकेका छौँ ।