
नेपालमा यतिबेला राष्ट्रवादको बहस उत्कर्षमा पुगेको छ । विश्वविद्यालयदेखि लिएर सामन्य चिया पसलसम्म यसै विषयमा छलफल हुन्छ । कहिले कालापानी नक्साको राष्ट्रवाद त कहिले MCC को बारेमा पक्ष विपक्षका कुरा गर्दै जनता, कार्यकर्ता, नेता तथा मन्त्रीहरूले पनि आफूलाई ठूलो राष्ट्रवादी दाबी गरेको माहोल छ । वास्तवमा राष्ट्रियता र राष्ट्रवाद के हो ? के राष्ट्रवादी बन्न छिमेकी देश भारत, चिनलाई गाली गर्न पर्छ ? के राष्ट्रियता र राष्ट्रवाद जोगाउनको लागि छिमेकी देशसँग असमानसन्धि सम्झौता गर्नु साथै देशको आन्तरिक समस्या सुल्झाउन ,विकास गर्न उनीहरूको अनुमति र सहयोग चाहिएकै हो ? के नेताहरूको कुरामा परेर बिरोध गर्नु मात्र राष्ट्रियता र राष्ट्रवाद हो ? आखिर के हो त ?
राष्ट्रियता र राष्ट्रवाद पर्यायवाची शब्द जस्तो लागे पनि यी दुई शब्दको अर्थ फरक हुन्। राष्ट्रियताको सन्दर्भमा वीपी कोइरालाले सुन्दर परिभाषा दिनु भएको छ, “निश्चित क्षेत्रमा बस्ने मानिसहरूका बीचमा उपस्थित समस्या समाधान गर्न प्रयत्न गर्दा उत्पन्न हुने सामूहिक भावना नै राष्ट्रियता हो ।” यही भावनाले त्यस क्षेत्र अर्थात् देशभित्रका मानिसलाई एक आपसमा जोड्दछ । राष्ट्रियता कुनै व्यक्तिको देशसँगको नाता साथै परिचय हो ।
राष्ट्रवाद मानिसहरूलार्इ साझा इतिहास , परम्परा, भाषा, जातीयता या जातिवाद र संस्कृतिको आधारमा एकजुट बनाउने आस्था हो। राष्ट्रवाद एउटा विचारधारा हो जसले प्रत्येक देश स्वतन्त्र, सार्वभौम र स्वशासित हुन पाउनु पर्दछ भन्ने मान्यता राख्दछ । भूगोल र नागरिक मिलेपछि मात्रै राष्ट्र बन्छ र भूगोल आँफैमा राष्ट्र होइन। भूगोलमा नागरिक अस्तित्व र उपस्थितिले मात्र राष्ट्रवाद खडा हुन्छ । एउटा निश्चित भूगोलप्रति नागरिकको निष्ठा र बफादारी नै राष्ट्रवाद हो।

दिलीप अधिकारी
सकरात्मक राष्ट्रवादले विभिन्न जातीय, भाषिक, सांस्कृतिक र धार्मिक समुदायलाई एकताको सुत्रमा बाँध्छ भने नकरात्मक वा उग्र राष्ट्रवाद दमन, उत्पीडन र हिंसाको कारण बन्दछ । एउटा भूगोलभित्र बसोबास गर्ने नागरिकहरूको बाँच्न पाउने अधिकार र जीवन चलाउने व्यवस्था सिर्जना गर्ने काम राज्यको हो। यस्तो कुरामा राज्यले उदासीनता देखाउन थाल्यो भने त्यहाँ बलियो राष्ट्रवादको कल्पना नगरे पनि हुन्छ। सधैँभरि भोको पेट र नाङ्गो आङले राष्ट्रवादको गीत गाउन नागरिक तयार हुँदैन । उसले आफूमाथि राज्यको दुर्व्यवहार ठान्छ र कहिलेकाहीँ विद्रोह उत्पन्न हुन्छ । यो स्वाभाविक प्रक्रिया हो । आफ्ना नागरिकको सन्तुष्टि नझल्काउने राष्ट्रवादको भविष्य पनि लामो हुँदैन । गरिबी, जातीय विभेद र असमान आर्थिक वितरण प्रणाली कायमै राखेर अगाडि बढेको राष्ट्र कहिल्यै लोककल्याणकारी हुन सक्तैन । हाम्रो देशमा सरकार धेरै फेरिए तर जनताको सामान्य माग गास, बास र कपासको समेत उचित सम्बोधन हुन सकेनन् । जति सरकार आए पनि यहाँ राष्ट्रवादभन्दा पार्टीवाद र सत्तामोह बढी देखियो ।
राष्ट्रियता र राष्ट्रवादको नाममा विगतमा हाम्रा नेताहरू राष्ट्रघाती भए । असमान सन्धि गरे । नेपाललाई परनिर्भर बनाए । अहिले पनि उही पुरानै चलखेल चलिरहेको नै छ, सत्ता जोगाउन र पाउनको लागि । तर सत्ताधारीहरूलाई नेपाल र नेपालीसँग कुनै मतलब नै छैन । जति सक्यो सत्तामा बस्यो, आफ्ना वरिपरिका मानिसका पेट भर्यो र आफनो जीवनकालसम्म पुग्ने सम्पत्ति थुपार्यो। उनीहरूको यस्तो कर्तुतले आज नेपालको राष्ट्रिय अखण्डता ,अस्तित्व र सार्वभौमसत्ता माथि नै प्रश्न खडा भएको छ ।
यस्तो अवस्थामा पुर्याउने नेता मात्र होइनन् हामी पनि यसको भागिदार छौँ । देशका सबैजसो ठाउँमा राजनीति घुसाउने, आफ्नापाट्टिका मानिस भनेपछि मरिहत्ते गर्ने, आफ्नापाट्टिका नेताले गरेका काम देशको हित विपरीत वा नराम्रै भए पनि अन्धभक्त भएर समर्थन गर्ने, आफू पोस्टमा पुग्न चाकडी गर्ने, देशको ढुकुटी सकी पार्टीमा कार्यकर्ता भर्ती गर्ने प्रणालीमा हामी जनता पनि मरिमेटेर लागेका छौँ ।
पवित्र स्थल विद्यालय,स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक क्षेत्रमा पनि राजनीतिक पार्टीकै वर्चस्व हुँदा हुँदै आजकल त कति विश्वविद्यालयमा फलानो पार्टीको कार्यकर्ता भएमात्र भर्ना पाउने, जागिर खान पनि नेताको चाकडीमा लागे सजिलै पाउने, जता जे गर्नु परे पनि पार्टीवाद र पैसाको चलखेल भएको नै देख्न पाइन्छ । चाकडीमा नजाने र आँखा चिम्लेर नेता र पार्टीको जयजकार नगर्ने व्यक्तिलाई देशभक्त नै नदेख्ने, अयोग्य ठान्ने र त्यसको कामै छैन भन्ने धारणा बनाउने दया लाग्दो मनोवृति नेता, प्रशासकदेखि पार्टीका झोले प्रवृद्ध वर्गसम्म व्यापक छ ।
कुनै देशको विकास र राष्ट्रियता जोगाउनको निम्ति राजनीतिक पार्टीको खाँचो नै नपर्ने होइन तर उनीहरूको सत्तामोह र क्रमागत रूपमा चलिआएका केही बाटो, खानेपानी, सिञ्चाइका काम र निजी क्षेत्रले उत्पादन गरिदिएका विद्युत जस्ता कामलाई मात्र ठूलो प्रगति गरेझैँ प्रचार गर्ने र तिनलाई उपलब्धि नगनेकोमा आलोचना गर्दै सञ्चारमाध्यम र विपक्षीलाई सरकार विरोधी भनी गाली गर्ने प्रवृतिले गर्दा कुनै पनि राजनीतिक पार्टीप्रति विश्वास गर्ने अवस्था नै छैन । कुनै पनि दीर्घकालीन योजनामा स्पष्ट दृष्टीकोण र कार्य सञ्चालनको गति छैन । नारा मात्रै राम्रो लगाउने तर काम एउटा पनि राम्रो नगर्ने प्रवृति हावी छ।
नागरिकले भोगिरहेका समस्या, कोरोनाले गर्दा देशको आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थाप्रति कुनै पनि सरकारको चासो देखिएन बरु आफू सत्तामा जाने र ठूलो भाग हसुर्ने प्रवृति बढ्दो छ । यसको उदाहरण पछिल्लो समय नेताहरूले दिएका वक्तव्यहरू हुन् । देशमै रोजगारको व्यवस्था नगर्ने, पढेलेखेका केही सिप, जाँगर भएका युवाहरूलाई विदेश जान बाध्य गराएर उनीहरूले नै पठाएको रेमिट्यान्स र जनताले तिरेको करमा आफू मस्त गर्ने नेताको अन्धभक्त भई पछि लाग्ने गर्छौं हामी । अझै “नेपाली हामी रहुँला कहाँ नेपालै नरहे” भन्दै खोक्रो राष्ट्रवाद देखाउँदै सडकमा ढुङ्गा हानाहान र एकआपसमा जुध्दै फलानो विद्यार्थी सङ्गठन भन्दै आमहड्ताल र नेपाल बन्दको आह्वान गर्छौं अनि भोलिपल्ट हरेक चिया पसलमा छाती फुलाएर नेताले देश बिगारे भन्छौँ ।
अब त सोच्ने मात्र होइन केही गर्ने बेला आएको छ । चुनाब पनि नजिक आउँदैछ, विगतमा एउटा भोटले गरेको गल्ती, पार्ट्टीको झोला बोक्ने प्रवृति हटाई पार्ट्टीमा पनि चाकडी गर्नेलाई होइन देश र जनताको लागि सोच्ने उमेद्वारलाई भोट हाली आफ्नो साँच्चो राष्ट्रवाद देखाउने बेला आएको छ। पार्टीको झण्डाभन्दा महत्त्वपूर्ण नेपालको झण्डा हो भन्ने बुझ्न जरूरी छ ।
कुनै पनि विश्वविधालयमा पढ्न, जागिर खान, बजेट साथै योजना पार्न राजनीतिक पार्ट्टीको कार्यकर्ता भएको भरमा होइन उचित मूल्याङकन गर्ने परिपाटी विकास गर्न जरूरी देखिन्छ। जुनसुकै क्षेत्रमा पनि योग्य र दक्ष जनशक्ति राख्नको लागि राजनीतिक भागवन्डाको अन्त्य हुन जरूरी छ ।
यदि पार्ट्टीमाथि उठ्न सक्ने हो, स्वतन्त्र र अब्बल उमेद्वारलाई भोट हाली, आउने दिनमा एउटा सच्चा राष्ट्रवादीलाई सरकारमा पठाउने हो भने मात्र केही परिवर्तन र देशको विकास हुने आशा राख्न सकिन्छ । होइन भने उही पार्ट्टीवाद र आफ्नो मानिस मात्र हेर्ने प्रवृत्ति र पुरानै गल्ती दोहोर्याउने हो भने, देश बिगार्ने दोष नेतालार्इ मात्र होइन आफैँले लिई देशलाई छिमेकी राष्ट्रको जिम्मा लगाउन अग्रसर भए हुन्छ।
त्यसैले अब आउँदा दिनमा यी नेताहरूले गरेका साथै हामीले नै उनीहरूलाई अवसर दिएर आफ्नो अमूल्य मत खेरा फालेको गल्तीलाई स्वीकार गरेर त्यसलाई सुधार गर्न पहल गर्नुपर्छ । त्यति मात्र होइन थोत्रो राष्ट्रवाद लगाएको मास्क हटाइ, हातमा हात मिलाइ, आत्मसाक्षी राखेर मनले बचनले कर्मले गरौँ, जे भन्छौं त्यही गरौँ मात्र नेपाल र नेपालीको लागि गरौँ । समर्पित हौँ । नेताको लागि होइन नेपालका लागि नेपाली एक जुट भएर लाग्यौँ ।
जय राष्ट्रवाद !!!!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

