नेपालमा विभिन्न समुदायले मनाउने मात्र होइन, व्यवसायीहरूले पनि मनाउने दिवस हुन्छ । त्यस्तै हामी पुस्तकसित जोडिएका व्यवसायीले पनि आफ्नो व्यावसायिक भावबाट माथि उठेर आफ्नो दिवस मनाउँदै आएका छौँ । पुस्तक दिवस सन् १९९५ देखि युनेस्कोले अप्रिल २३ लाई विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस घोषणा गरेको छ । त्यसैलाई पुस्तक दिवस भनेर आधिकारिक रूपमा २०६६ वैशाख १० गते देखि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंले मनाउन सुरु गरेको छ । प्रत्येक वर्ष फरक र सिर्जनशीलतालाई ख्याल गर्दै मनाउन थालिएको पुस्तक दिवसलाई निरन्तरता दिने क्रममा २०६९ साल वैशाख ११ गते दुई कार्यक्रम गरी मनाइयो । पहिलो प्रभात फेरी र साँझ पुस्तक दिवसको बारेमा विचार गोष्ठी र सम्मान कार्यक्रम संचालन गरियो । उक्त कार्यक्रम काठमाडौं जिल्ला शाखा तत्कालीन जिल्ला अध्यक्ष नवनिधि पन्तको सभापतित्वमा तत्कालीन शिक्षा मन्त्री दीननाथ शर्मा, वरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री मोदनाथ प्रश्रित, वरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री नरहरि आचार्य र प्रदीप ज्ञवाली, अभिभावक संघका प्रमुखहरू, प्याब्सन, एन प्याब्सनका प्रमुख तथा प्रतिनिधि तत्कालीन पाठ्यक्रम विकास केन्द्रका प्रमुख खगराज बराल, आफ्नै महासंघका तत्कालीन केन्द्रीय अध्यक्ष धनराज आचार्यसमेतको ठूलो उपस्थितिमा कमलादीमा कार्यक्रम आयोजना गरिएको थियो ।

पुष्पराज पौडेल

विभिन्न व्यक्तित्वहरूले आफ्नो आफ्नो भनाइ राख्ने क्रममा नरहरि आचार्यले- अब हामीले आफ्नो राष्ट्रिय पुस्तक दिवसको रूपमा छुट्टै पुस्तक दिवस पर्व मनाउनुपर्छ । त्यसका लागि श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन उपयुक्त हुने भनाइ राख्नेपछि हलले तत्कालै उक्त कुरालाई समर्थन जनायो । तत्कालीन शिक्षामन्त्री उक्त कार्यक्रमका प्रमुख अतिथि दीननाथ शर्माले उक्त प्रस्तावलाई समर्थन गरेपछि हामीले श्रीपञ्चमीलाई राष्ट्रिय पुस्तक दिवसको रूपमा मनाउँदै आएका छौँ ।
पुस्तक व्यवसायमा आफ्ना समस्या त छँदै छन् । तर एक दिनमात्र भए पनि सम्पूणर् व्यवसायी साथीहरू र महासंघ अन्तरर्गतका जिल्ला शाखा र प्रदेश शाखाले यस वर्ष पनि प्रभात फेरी, कारागारमा पुस्तक वितरण, ग्रामीण क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री वितरण र आफ्नो पसल व्यावसायिक प्रतिष्ठानबाट ग्राहकलाई आर्कषण गर्न थप कार्यक्रम सञ्चालन जस्ता कार्य गरेका छौँ ।

यस वर्षको राष्ट्रिय पुस्तक दिवसको सबैलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पुस्तक व्यवसायी भन्नलाई गौरव लाग्ने गरी कार्य गर्न सक्नेछौँ भन्दै सबैलाई आफ्नो आफ्नो क्षेत्रबाट पुस्तक दिवस सफल बनाउन अनुरोध गर्दछु ।

पाैडेल नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपाध्यक्ष हुन् ।