एउटा गीत बज्दै गर्दा सँगसँगै झमझम गाउने र छमछम नाच्नेहरू त्यसैको वरिपरि झुमिरहेका हुन्छन् । गीत सफल होस् या असफल, संरचना र निर्माणका आधारभूत प्रक्रियाहरू एकै हुन्छन् । देखिने र सुनिने रूपमा गाउनेहरू अग्रभागमा प्रकट भए पनि गौण तथा अदृश्य रूपमा अहं भूमिका खेल्नेहरू थुप्रै हुन्छन् कुनै पनि गीतसङ्गीतमा । समयको माग, जनचाहना र भाग्यवश कुनै गीत हिट हुन्छन् तर संयोजन, सृजना र निर्माणको हिसाबले अब्बल नै भए पनि कुनै गीतले जनस्तरमा आफ्नो फैलावटलाई व्यापक बनाउन सक्दैनन् दुर्भाग्यवश । फलतः स्रष्टाहरू निराशाको गर्तमा भासिन पनि पुग्दछन् । कुनै गीतसङ्गीत निर्माणको प्रथम चरण शब्द हो र यसको पहिलो तथा प्रमुख स्रष्टा पनि शब्दाकार अर्थात् गीतकार हो तर यिनै प्रथम र महत्त्वपूर्ण मानिएका सर्जकहरू किन भित्तामा पुऱ्याइन्छन् ? यहाँ मैले उठाउन खोजेको विषय पनि यही नै हो ।

नेपाली साहित्यको अभिन्न अङ्ग गीतसङ्गीत । यही क्षेत्र यति वेला घरिघरि विवादमा आइरहेको देखिन्छ, सुनिन्छ । किन हुन्छ यस्तो ? लापरबाही कसको हो ? राज्यको कि व्यक्ति स्वयंको ? विषय गहन छ । पछिल्लो समय गीत सुन्ने भन्दा हेर्ने प्रचलन बढेको छ । कारण थुप्रै हुन सक्छन् । पहिलो त प्रविधिको चामत्कारिक विकास नै हुनुपर्छ । रेडियो, एफएम सुन्ने फुर्सद कसैलाई छैन । सबैको हात-हातमा मोबाइल छ, इन्टरनेटको पहुँच छ । युट्युबले सबै सुविधा उपलब्ध गराएकै छ । अनि सुन्नुमा भन्दा हेर्नुमा मज्जा पनि छ । दोस्रो कारण विश्वव्यापी रूपमा फैलिरहेको कोरोना कहर पनि हुन सक्छ । सिनेमाहरू बन्न छोडे । गीतमै कथानक भरेर त्यसैलाई दृष्याङ्कन गरेर चित्त बुझाउनुपर्ने बाध्यात्मक परिस्थिति छ । यति वेला नेपाली गीतको म्युजिक भिडियो बनाउनेहरूको होडबाजी नै चलिरहेको छ । गुणस्तरभन्दा सङ्ख्यामा चलिरहेको प्रतिस्पर्धाले कुनै खास सार्थकता नदिए पनि कतिपयको रोजीरोटी बनिरहेकोमा त्यस्तो गुनासो मान्नु पनि हुँदैन । मैले चर्चा गर्न खोजेको चुरो कुरा : यति धेरै गीतहरू रेकर्ड र निर्माण भइरहँदा यसको मूल स्रष्टा गीतकार चाहिँ किन ओझेलमा भन्ने हो ।

एउटा गीतकारले गीत नलेखी सङ्गीतकारले धुन भर्न सम्भव छ र ? गायकगायिकाहरूले गाउन सक्लान् ? मोडेलहरूले अभिनय गर्न वा नाच्न सजिलो होला ? यो प्रश्नको जबाफ सायद कसैसँग छैन तर पनि नेपाली गीतकारहरूको अवमूल्यन किन यति हदसम्म ? मनमा एउटा सवाल आन्दोलित भइरहन्छ । एउटा गीत सर्वाधिक सफल र लोकप्रिय हुँदै गर्दा समेत उक्त गीतको जन्मदाता गुमनाम हुनु दुर्भाग्य मात्र होइन घोर अन्याय नै हो । हाम्रा गायकगायिका पनि फेरि उस्तै छन्- कन्सर्ट तथा अन्तर्वार्तामा बडो फुर्तूसाथ यो मेरो गीत भन्छन् तर गीतकारको नामै qउच्चारण गर्दैनन् । गीतले सफलता हात पार्दै गर्दा उत्तेजित भएर अवार्ड उचाल्न खप्पिस हाम्रा गायकगायिका प्रस्तुत गीत कसको शब्द हो आफ्नो मानसपटलमा राख्नै चाहँदैनन् । नेपाली मिडियाहरू पनि उस्तै छन् । गीतकार कुन चराको नाम हो, हेक्कै राख्दैनन् । उनीहरूलाई गायकगायिकाकोमात्र गुणगान गाउन पाए भयो ! यो ठुलो विडम्बना छ नेपाली म्युजिक इन्डस्ट्रीमा ।

सिन्धु पौडेल (इजरायल)

नेपाली गीतसङ्गीतका विषयमा यति बोल्न केही ताजा प्रसङ्गहरूले अभिप्रेरित गरेका छन् मलाई । त्यसो त यही कुरा वरिष्ठ गीतकारहरूको मनमा पनि खड्किएकै रहेछ । केही समयअगाडि मात्र साहित्कार गणेश खड्काको फेसबुक वालमा एउटा आक्रामक स्टाटस आयो । उनको भनाइमा गुनासो मात्र थिएन, पीडाबोध पनि थियो । उनको अभिव्यक्ति प्रतीकात्मक थियो तर समस्त गीतकारहरूको साझा व्यथा भएर आएकाले सबैको प्रश्न पनि बन्न पुग्यो त्यो । खास गरी प्रवासमा बसेर साहित्यसाधना गर्ने स्रष्टाहरूको बाध्यता र समस्या मुखरित भएर आएकाले मेरो पनि ध्यान खिच्यो अरू-अरूको जस्तै । राम्रा गीत लेख्छन् गणेश खड्का । रेकर्डिङ र भिडियो निर्माण पनि भएकै देखिन्छ । केही समयअगाडि निर्मित उनको एउटा गीतको म्युजिक भिडियो निर्माणको जिम्मा लिएकी एक नाम चलेकी गायिकाले लागतभन्दा झन्डै तीन डबल बढी पैसा असुलेर आर्थिक रूपमा डसिछन् उनलाई । सूक्ष्म अध्ययनबाट थाहा लाग्यो कि ती गायिकाले उक्त परियोजनाको हिसाबकिताब नै देखाइनछिन् । सम्बन्धित गीतको गायिका समेत रहेकी ती गायिकाको एउटा अन्तर्वार्ता मैले पनि हेर्न भ्याएकी थिएँ, मैले एउटा कुरा नोटिस पनि गरेकी थिएँ । गीत, गायक, गायिका, सङ्गीतकार, एरेन्जर, प्राविधिक, भिडियो परिकल्पनाकार आदि सबैको बारेमा दोहोऱ्याई-तेहेऱ्याई बखान गर्न भ्याएकी उनले त्यहाँ पनि गीतकारको नामोनिसान कतै लिन चाहिनन् अथवा सकिनन् या त भनौँ त्यो विवेक उनमा रहेनछ । मलाई लाग्यो- यी गायिका पनि गीतकारको महत्त्व र महिमा नबुझ्नेहरूकै ड्याङमा पर्दी रहिछन् । कवि गणेश खड्काको जस्तो चित्त सबैको दुखेको छ तर अरू मन बाँधेर बस्न बाध्य छन्, उनले मन खोल्ने साहस गरे । आउनुपर्ने कुरा आयो भनेर शतप्रतिशतले समर्थन गर्नु नै उनले साझा सवाल उठाएछन् भन्ने कुरालाई प्रमाणित गर्दछ । उनको यो बौद्धिक हिम्मतलाई मेरो पनि सलाम !

लेख्ने दौरानमा गीत लेखन मेरो पनि रुचिको विषय बन्दै छ । प्रवासमा बसेर साहित्यसाधना र सृजना गर्नु सजिलो छैन । समयका थुप्रै जन्जिरहरू हुन्छन्, तिनलाई तोडेर लेखिएका रचनाहरू प्रकाशन र रेकर्डिङ नगरे न मन मान्छ न त ति सृजनाको सार्थकता नै हुन्छ । पसिना पोखेर आर्जेको थोरै धनराशिबाट केही सृजना कर्ममा खर्च गर्न चाह्यो, घरादेशमा सहकार्य/संयोजन गर्नेले अस्वाभाविक रूपमा डस्लान् भन्ने डर । विदेशमा त पैसाको बोट नै हुन्छ भन्ठान्छन् घरदेशीहरू तर यथार्थ त्यस्तो छैन । प्रवासीहरूको कथाव्यथा कस्तो छ ? भनिरहनु पर्दैन । घामजस्तै छर्लङ्ग छ । कुरा बुझ्नुपर्नेले नबुझेका हुन्, या बुझी-बुझी पनि बुझ पचाएका हुन् ! कुरा यत्ति हो घरभित्र हुनेलाई भन्दा घरबाहिर हुनेलाई घरको माया बढी लाग्दोरहेछ । जहाँ बसेर पनि आफ्नो भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतप्रतिको मायाँ र चासोले छोइरहँदो रहेछ । त्यो आफैँमा जायज र स्वाभाविक कुरा हो ।

नेपाली गीत र गीतकारको विद्यमान अवस्थाका बारेमा वरिष्ठ गीतकार राजेन्द्र थापा भन्नुहुन्छ – “विदेशमा बगेको पसिनालाई नाफामूलक भाउमा बिक्रीवितरण गरेर सुन दिने गीतकारलाई कबाडीको मोल दिन्छन् यहाँ ।” यथार्थ पनि यही हो । एउटा स्रष्टाको गीत गाइसकेपछि भिडियो बनाउन गायकगायिका (कोही अपवादबाहेक) मोलमोलाइ गरेर नाफामूलक काम गर्छन् वाहवाही बटुल्छन्, जब उनीहरूको काम सकिन्छ अनि गीतको मूल स्रष्टा चिन्दैनन् । जब कि गीतकारले नै उनीहरूलाई उनीहरूले गाएको मूल्य दिएर किनिसकेका हुन्छन् । गीतकारलाई रेकर्डिङ लगायत भिडियो निर्माणमा समेत आर्थिक लगानी गर्न लगाएर मुर्गा बनाउने बेथिति नेपालमा मात्रै हो कि अन्ततिर पनि छ ? अध्ययनको विषय बनेको छ यति वेला । मलाई लाग्छ- अन्य देशमा गीतकार ( लेखक ) लाई असाध्यै महत्त्व दिन्छन् । शीर्षस्थानमा राखेर “राइटर रेस्पेक्ट” गर्छन् विदेशतिर । त्यहीँ भारतमा हेरौँ न, वरिष्ठ होस् या कनिष्ठ लेखकलाई मूल स्रष्टाका रूपमा आदर गर्छन् । हेय दृष्टि सहनुपर्ने र हेपाहा प्रवृत्ति खेप्नुपर्ने त नेपालमै मात्र हो कि ?

गायक-गायिका र सङ्गीतकारहरूले गीत माग्नुपर्ने वातावरण बन्नु नितान्त जरुरी छ अब । गीतकार स्वयं गीतको सस्तो प्रचार गर्दै मेरो गीत लैजाऊ, गाइदेऊ भनेर जानु नै गीतकारको पनि गल्ती हुन सक्छ । राम्रो पारिश्रमिक, उचित मूल्याङ्कन र गीतकारको नामको सम्बोधन हुनुपर्ने सिस्टम राख्ने र त्यही सर्तमा गीत दिने हो भने गायकगायिकाले अवश्य पनि सबक सिक्छन् ।

सर्जकहरू पक्कै मर्कामा छन् । एउटा किताब निकाल्नुपऱ्यो भने विदेशमा छ पैसा त झरिहाल्छ नि भनेर बेपर्वाह पैसाको माग गर्छन् । अरे बाबा, विदेशमा हुनेले त आफ्नो सृजना छपाउला, बजारमा ल्याउला अनि के नेपालमा भएर कमाउनै नसक्ने सर्जकहरूले चाहिँ आफ्नो सृजना बजारमा ल्याउन के गर्ने ? यस्तो कुरूप संस्कृतिको मारमा आफ्नो रहर पुरा गर्न किड्नी बेच्ने ? विषय भयावह छ !

फेरि पनि प्रसङ्ग साहित्यकार गणेश खड्काको स्टाटसकै, जब त्यो मन छुने अभिव्यक्ति देखेँ त्यसपछि म धुरन्धर भएर नेपाली गायकगायिकाहरूको अन्तर्वार्ता हेर्न थाले । थोरै अपवादबाहेक प्रायः गायकगायिकाहरूले त गीतकारको नाम नै लिँदैनन् । मेरो गीत अनि फलानाको सङ्गीत । एरेन्जर को हो ? गीतकार को हो ? नचिनेरै हो कि नाम बिर्सिएर हो ? म रनभुल्लमा पर्छु । यस्तो संस्कारले उनीहरूभन्दा पछि आउने नयाँ पुस्ताले कस्तो नैतिक शिक्षा र मर्यादा सिक्लान् मनभित्र प्रश्नको आँधी चल्छ ।

यही विषयमा आधारित एउटा अर्को प्रसङ्ग : सगरमाथा साहित्य प्रतिष्ठानको साप्ताहिक कार्यक्रमको ८६ औँ भागको स्रष्टा र सृजना कार्यक्रममा बरिष्ठ कवि/गीतकार दिनेश अधिकारीलाई सुन्दै गर्दा उहाँले भन्नुभएको थियो कि, “लेखन भनेको जीवनको निकास हो । गीतकारले गीत लेखिसकेपछि गायक र सङ्गीतकारले गीत डिमान्ड गर्दैनन् गीतकार आफैँ खोजेर जान्छ ।”

के यो गीतकारहरूको कमजोरी हो त ? यदि कमजोरी नै हो भने गहिरो आत्मसमीक्षा हुन जरुरी छ । नत्र, रहर सबैलाई हुन्छ आफ्नो सृजनाको यथोचित मापन, मूल्याङ्कन र सम्मान । एउटा सम्पूर्ण गीत बन्न धेरै चरणहरू पार गर्नुपर्छ । गीतलेखन, सङ्गीत, संयोजन, वाद्यवादन, गायन, निर्माण, प्रविधि…. सबै । तर यहाँ उठान गर्न खोजेको कुराको चुरो भनेको चाहिँ मूल स्रष्टाको पहिचान र उचित स्थान हो । कमजोरी कहाँबाट भइरहेको छ, खोज्नु अत्यावश्यक छ तर गायकगायिका र मिडियाले मात्र चिनिदिए पनि ठुलो न्याय हुने थियो अनि धेरै राहत मिल्ने थियो गीत र गीतकारलाई ।