एक्काइसौँ शताब्दीको श्रम बजार मार्क्सले देखेको श्रम बजारभन्दा फरक छ । आज बढी शिक्षित समाज छ । आज मजदुरहरू संस्थाको पर्खालभित्र कुर्चीमा दिमाग खियाइरहेका छन् । मजदुरहरू शिक्षित छन् तर उनीहरूले पाएको शिक्षाको अवस्था के छ त ? उनीहरूले पाएको शिक्षाको अवस्था हामीलाई थाहा छ । कमसेकम आफ्नो देशको शिक्षाको अवस्था हामीले बुझेका छौँ । हामीलाई जागिरे शिक्षा दिइएको छ । आज राम्रो पढ्नुपर्छ किनभने भोलि राम्रो जागिर पाइन्छ । सरकारी जागिरे उत्कृष्ट । छोरी दिँदा – सरकारी जागिरे । राम्रो प्रतिष्ठा छ – सरकारी जागिरे । समाजमा हालीमुहाली – सरकारी जागिरे । तीस हजार खाने सरकारी जागिरे तीन लाख खाने प्राइभेटको जागिरेलाई या स्वयं संस्थालाई थर्काउन सक्ने हैसियत राख्छ । सरकारी जागिर भलै निश्चित समयका लागि होस् । ऊ बहालवाला हुँदा उसको शान र प्रतिष्ठाको अर्कै रबाफ हुन्छ । जागिर गएको भोलिपल्ट ऊ अर्को जागिर खोज्दै हिँड्नबाहेक अर्को केही गर्न सक्दैन । सेवाको क्षेत्रले प्रत्यक्ष उत्पादनमूलक काम गर्न सक्दैन । उत्पादन उत्पादनशिल संस्थाले गर्ने हो ।

एक्काइसौँ शताब्दीको द्वन्द्व के त ? सामन्ती को ? मजदुर को ? एकातर्फ जागिर दिनेहरू छन् अर्कातर्फ जागिर खानेहरू छन् । यसको द्वन्द्वमा आजको समाज चलेको छ । द्वन्द्व सधैँ नाकारात्मक हुन्छ भन्ने छैन । जसले पनि आफ्नै बारेमा सोच्ने हो । यसमा न द्विविधा छ न कुनै गल्ती । जो कोही सकभर कम दिऊँ भन्ने सोच्छ । लिने सधैँ सकभर धेरै लिऊँ भन्ने सोच्छ । काठमाडौँमा कोठा भाडा डेरावाललाई सधै महँगो लाग्छ । धरबेटी सधैँ थोरै भाडा लिइराखेको छु भन्ने सोच्छ । संस्थाको पनि उही मान्यता न हो ।

एउदै शरीरभित्र रहेको अङ्गहरू त सङ्कटको वेलामा अर्को अङ्गलाई कम रगत दिएर आफू धेरै लिने गर्छन् । हो कुनै अङ्गमा सङ्कट परेको छ भने नशाहरूको संयन्त्रले अर्को चोर बाटो बनाएर सङ्कटमा परेको अङ्गलाई सेवा दिने गर्छ । मानिस सेवाले ओतप्रोत भएको व्यक्तित्व हो तर सेवा एक सानो अंशमात्र हो जो हामीमध्ये धेरैलाई लाग्छ सबै कुरा हो । कमसेकम हामीलाई बुझाइएको छ यो भनेर कि यहीनै प्रगतिको मूलमन्त्र हो । उमेर बढ्दै गएपछि असन्तुष्टि बढ्दै जान्छ । बुझ्दै गइन्छ । आफूले विद्यालयमा पाएको कतिपय शिक्षा सही रहेनछ । नबुझ्नेहरू र समयमै बुझेको कुरा कार्यान्वयन गर्न नसक्नेहरू सधैँ तनावमा रहन्छन् ।

डा. विनोद ढकाल (विधा)

संस्था भन्ने गर्छ प्राइभेटले प्रगति गर्छ । सामुदायिकले प्रगति गर्न सक्दैनन् । कमसेकम हाम्रो देशमा यो मान्यता विकसित हुँदै गएको छ । धरानको अस्पतालमा छताछुल्ल भएको विवाद, वीर अस्पतालको स्थिति र विश्वविद्यालयहरूका धेरै कलेजहरूभित्र भइरहेको विवाद केही उदाहरण हुन् । प्रणाली नभएको देशमा गर्ने सधैँ व्यक्तिले नै हो । जस्तै कुलमान एक व्यक्तिको (साथै उनलाई साथ दिने अरू केही व्यक्ति) अठोटले आज हामी उज्यालोमा बाँच्न पाइएको छ । विकसित देश सधैँ एक व्यवस्थित प्रणालीमा हुन्छ । न्युजिलेन्ड, डेनमार्क जस्ता व्यवस्थित देशमा जसले सरकार बनाए पनि, कलिलो उमेरको जो प्रधानमन्त्री बने पनि फरक पर्दैन । हाम्रो जस्तो अव्यवस्थित देशमा संस्थाहरूलाई असहज पर्ने हुन्छ, भइरहेको छ । सरकार चलाउन असहज भइरहेको छ । व्यक्तिहरू मात्र प्रगति गर्न सक्छन् । आज देशलाई पनि एक व्यक्ति चाहिएको छ जसले राम्रो व्यवस्था मिलाउन सकोस् ।

आज बेरोजगार धेरै छन् । माटाको भाँडो बनाउने श्रमिकको छोरो कलेज पढेर आउँछ । उसलाई बाबाले गरेको काम सानो लाग्छ । ऊ बाबाको काम गर्न चाहँदैन । ऊ जागिर खोज्दै हिँड्छ अनि बेरोजगार बन्छ । हाम्रो शिक्षाले उसलाई आफ्नो बाबाको कामलाई कसरी आधुनिकीकरण गरेर त्यस व्यवसायको विस्तार गर्न सकिन्छ भन्ने सिकाएको छैन । न उसलाई पढेर त्यसको विवेक आएको छ । समाजले त्यस कामलाई राम्रो दृष्टिले हेर्ने गरेको छैन । न शिक्षाले समाजको आमूल परिवर्तन गर्न सकेको छ । हो परिवर्तन विस्तार हुन्छ । हेरौँ कहिले हुन्छ ?

संस्था जहिल्यै सोच्छ कर्मचारीले सधैँ सेवासुविधा मात्र खोज्छन् । आफैँले संस्थालाई के दिएको छु सोच्दैनन् । कर्मचारी सोच्छ संस्थाले दिँदै दिएन । मैले आफ्नो क्षमताभन्दा कम पाएको छु । जागिरेहरू कहिल्यै तलबमा सन्तुष्टि हुँदैनन् । उनीहरू सधैँ कम पारिश्रमिकमा हुन्छन् । कमसेकम उनीहरूलाई लाग्छ उनीहरूलाई कम तलब दिइएको छ । संस्था कठोर सञ्चालकको वकालत गर्छ । एक व्यक्ति हास् जसले सबैले सुनून् । धेरै राजा भए कुन राजाले कसलाई मान्ने अर्को समस्या आउँछ । कसले भनेका थिए म एक सिंहको अधीनमा बस्न चाहन्छु सयौँ मुसाको अधीनमा हैन । कर्मचारीलाई बाध्न सकिँदैन । कर्मचारी स्वतन्त्रता पनि खोज्छ । दुःख अरूले गरिदियोस् । अनि प्रतिफलको ठुलो भाग आफूले खान पाइयोस् । कमसेकम संस्थावालाहरू कर्मचारीहरूले यस्तो सोच्छन् भन्ने हुन्छ ।

जगिरेहरूमा असन्तुष्टि भए पनि उनीहरूको सोच सानो हुन्छ । समयमा तलब आओस् । स्थायित्वको प्रत्याभूति होस् । समयमा बढुवा होस् । आखिर जागिरेको संस्था पनि होइन । आफ्नोपना जागिरमा आउँदैन । संस्थाले जागिरेहरूबाट संस्था आफ्नो हो भन्ने सोच राख्छ भने संस्था निराश हुनुको विकल्प हुँदैन । आखिर सबै राम्रा खेलाडीहरू राम्रा प्रशिक्षक हुन्छन् भन्न सकिन्न । राम्रा प्रशिक्षकहरूले बुझ्न सक्नुपर्छ सबै खेलाडीहरू उनीहरूजत्तिको सक्षम हुँदैनन् । व्यक्तिको असफलता पहिलाएर त्यसका निखार ल्याउनु नै राम्रो व्यवस्थापकको चुनौती हो ।

तलब खानेहरू सन्तुष्ट नहुने भने होइनन् । आफूले पाएको तलबमा सन्तुष्ट हर कोही हुन्छ । द्वन्द्व र असन्तुष्टि तब मात्र आउँछ जब आफ्नो तलब अर्काकोसँग तुलना गर्न थालिन्छ । जब बच्चा बच्चीको स्कुलको फि तिर्नुपर्ने अवस्था आउँछ । बजारमा महँगी बढ्दै जान्छ ।

जागिरे सधैँ सोच्छ म अर्कोभन्दा बढी सक्षम छु तर मेरो तलब किन कम । ऊ आँट गरेर परिवर्तित हुन सक्दैन । रोजगारदाता परिवर्तित भएर, आँट गरेर त्यो स्थानमा पुगेको हुन्छ ।

रोजगारदाता त्यो हो जसले कमसेकम अर्को एकलाई फाइदा हुने काम गरेको छ । उत्पादनमूलक कार्य त्यो हो जसले कमसेकम अर्को एकलाई काम दिएको छ । उत्पादन नै विकासको मेरुदण्ड हो । घर बनाएर जग्गा बेचेर पाइने फाइदा उत्पादनमूलक कार्य हाइनन् । दुर्भाग्य नै भन्नुपर्छ नेपालमा केवल यही व्यवसाय मात्र फस्टाएको छ ।

सामूहिक, सामुदायिक संस्थामा पनि सीमित मान्छे धनी हुने अवस्था आएको छ । संस्थाहरू कमजोर हुँदै जाने अनि संस्थाभित्रका सीमित व्यक्तिहरूले मात्र प्रगति गर्दै जाने प्रवृत्ति अर्को दुर्भाग्य हो । प्रगति केवल पैसामा तुलना हुन्छ । अर्को दुर्भाग्य ।

जागिरे भन्छ करोडौँ कमायो । संस्थापक भन्छ दुःख गरेको छु । मैले गरेको दुःख देख्दैनस् कमाएको मात्र देख्छस् । तँ के गरिरहेको थिइस् जब म सङ्घर्ष गरिरहेको थिएँ । तँ खाने वेला आएर ठुलो भाग खोज्छस् । दुःख गर्ने आँट गर्न नसक्ने, जोखिम मोल्न नसक्नेहरू जागिरे बन्छन् ।

सबैले आफ्नो गच्छेअनुसार गरेकै हुन्छन् । हामी दिनानुदिन हुने कार्यहरूमा आफ्नो फाइदा केमा हुन्छ भन्दै दौडँदै आएका छौँ । म मेरो फाइदाका लागि सोच्छु भने संस्था आफ्नो फाइदाका लागि नसोच्ने कुरै हुँदैन ।

हाम्रो देशको दृष्टिकोण हुने खानेहरू सधैँ नराम्रो हुन्छन्, सामन्ती हुन्छन् भन्ने बनेको छ । बनाइएको छ । दुःख हर कोहीले गरेका हुन्छन् । अपवादको कुरा नगरौँ । सबै सोचमा फरक छ । जागिर दिने कि जागिर लिने ? के मानसिकता बनाउने ?