जीवनमा आइपर्ने परिस्थितिहरू सधैँ आफूअनुकूल हुँदैनन् । यस्तो हुन सम्भव नै छैन । अनुकूल परिस्थितिभन्दा प्रतिकूल परिस्थितिहरूको सामना बढी गर्नुपर्ने हुन्छ । तिनै प्रतिकूल परिस्थिति झेल्न गाह्रो भएका कारण या नसकेका कारण तनाव हुने गर्छ ।
भन्न सकिन्छ, खुसी हुने बहाना थोरै हुन्छन् तर तनाव निम्त्याउने अनेकौँ बहाना छन् ।
बच्चा बेलादेखि नै प्रायः हरेक मान्छेमा तनावको बिउ रोपिइसकेको हुन्छ । आफ्नो प्रतिभा, क्षमता एकातिर र घोकन्ते पढाइ अर्कातिर । अरूको भन्दा राम्रो अङ्क ल्याउनुपर्ने, अरूभन्दा राम्रो हुनुपर्ने, क्षमतावान् हुनुपर्ने, आफूलाई इच्छा लागेको गर्न नपाइनेजस्ता विविध कारणले बच्चा बेलादेखि नै मानिसलाई भविष्यमा योग्य बनाउनेभन्दा बढी तनाव झेल्नुपर्ने वातावरण सिर्जना भइरहेको हुन्छ । जब-जब बुझ्ने भइँदै गइन्छ, आफ्नो योग्यता एकातिर हुन्छ र सर्टिफिकेट अर्कातिर । आफूले चाहेको जीवन बाँच्नै सकिँदैन ।
आफूले चाहेजस्तो बन्न नसकेको तनाव त छँदै छ, देशको परिस्थिति पनि त्यस्तै नै देखिन्छ । देशको राजनीति, आर्थिक, शैक्षिक अवस्थाजस्ता कुराहरूमा जब कुनै युवाको ध्यान जान थाल्छ, ऊ पक्कै पनि तनावमा जान्छ । यतिसम्म पनि उसले सम्हाल्न सक्यो रे, तर मान्छेको दैनिक जीवनशैली नै यति अस्तव्यस्त छ, तनाव लिने ठाउँहरू प्रशस्त भेटिन्छन् । ट्राफिक जाम, धुवाँधुलो, बाटामा देखिने अनुशासनहीन मान्छेहरू, अनावश्यक सडकमा माग्दै हिँड्ने माग्नेहरू – यस्ता कुराहरूले पनि दैनिक जीवनलाई धेरै नै असर पारिरहेका हुन्छन् । यति मात्रै पनि छैन तनाव हुने कारणहरू । खानपान स्वस्थ छैन, अधिकांशले दैनिक व्यायाम गर्दैनन्, पारिवारिक माहोल राम्रो हुँदैन, धेरै-धेरै कुराहरू छन् तनाव लिनुपर्ने ।
खुसी त के हो र ? आफूले चाहिरेको कुरा पूरा हुन्छ, अनि केही समय आनन्द लियो, सकियो । खासमा दुःखैदुःखको बिचमा मान्छे अलिकति सुखका लागि दौडिइरहेको हुन्छ भनिदिए फरक नपर्ला ।
कहिलेकाहीँ त लाग्छ अपवादलाई छाडेर तनाव नहुने मान्छे नै छैन । केहीले त्यही तनाव झेल्न नसकेर डिप्रेसनको समस्या झेल्नुपर्छ । तनाव नियन्त्रणको औषधि दिनानुदिन बढिरहेकै छ ।
दैनिक करिब १६-१९ जनाले आत्महत्या गर्छन् मान्छेले नेपालमै । मनोवैज्ञानिकका अनुसार आत्महत्या पनि मानसिक समस्याको जटिल अवस्था हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छ । वार्षिक करिब आठ लाख मानिसले आत्महत्या गर्छन् । आत्महत्या गर्नेहरूमा १५ देखि २९ वर्ष उमेरसमूहमा मानिसहरू बढी छन् । नेपाल धेरै आत्महत्या हुने मुलुकहरूको सूचीमा पर्छ ।
तनाव के हो ?
मान्छेले दैनिक हजारौँ विचारहरू गरिरहेको हुन्छ । तिनमा नकारात्मक र सकारात्मक दुवै विचारहरू आइरहेका हुन्छन् । धेरैजस्ता विचार आउँछन् र केही समयमै जान्छन् तर केही विचार यस्ता हुन्छन्, जुन आफ्नो जीवनको प्रतिकूल परिस्थितिका कारण उब्जिएका हुन्छन् र ती दिमागबाट जाँदै जाँदैनन् । कति मान्छेहरूले अन्य काममा लागेर, शारीरिक परिश्रम गरेर, ध्यानयोग गरेर या अन्य कुनै विविध कारण प्रयोग गरेर त्यसलाई हटाउँछन् तर यस्तो क्षमता भएका मानिस धेरै नै कम छन् । बढीजस्तो मान्छेलाई यस्ता विधिहरूका बारेमा थाहै छैन । सिकेकै छैनन् । त्यसैले उनीहरू आफूमा लगातार आएको नकारात्मक विचारलाई झनै मलजल गरिरहन्छन् । अनि त्यो नकारात्मक भाव झनै बढ्दै जान्छ र सोही मात्रामा तनाव पनि बढ्दै जान्छ ।
त्यसैले भन्न सकिन्छ, नकारात्मक सोच आउनु तनाव होइन । त्यसलाई आफूबाट टाढा लान नसक्नु र लामो समयसम्म त्यही विचार चलिरहनु तनाव हो ।
मनोवैज्ञानिकहरू भन्छन्, “कुनै पनि नकारात्मक विचार लगातार एक हप्ताभन्दा बढी आइरह्यो भने त्यही तनाव हो । यदि समयमै ध्यान दिइएन भने त्यो डिप्रेसन हुँदै म्यानिएक डिप्रेसनसम्म पुग्छ र त्यसबाट उम्कन गाह्रो हुन्छ ।”
तनावको कारण
माथि भनेजस्तै तनावका बहाना हजारौँ छन् । त्यसैले यसको कारण व्यक्तिमा भर पर्छ । उसले बाँचेको जीवनशैलीमा भर पर्छ । कुनै मानिसलाई जुन कुराले तनाव दिइरहेको छ, अर्को व्यक्तिलाई त्यही कुराले तनाव नदिन सक्छ ।
कतिलाई आफू असफल हुनु तनावको कारण लाग्न सक्छ । अर्कातिर सफल भनिएका मान्छेहरू पनि तनावमा छन् । कतिले त तनाव झेल्न नसकेर आत्महत्या नै गरेका छन् । डिप्रेसन झेलेका र आत्महत्या गरेका सेलिब्रेटीहरूका बारेमा मात्रै पनि एउटा सिङ्गो पुस्तक नै तयार हुन्छ ।
तर यति चाहिँ हो कि, ‘लास्टै तनाव भइराछ’ भन्ने मान्छेहरू जताततै भेटिन्छन् ।
तनावले के गर्छ ?
नजानिँदो तरिकाले तनावले भित्रभित्रै मानिसलाई खोक्रो बनाउँछ । अनेकन् रोगको स्वागतका लागि बाटो बनाइदिइरहेको हुन्छ । तनावकै कारण दिमाग, पेट, हाडजोर्नीका समस्या, रक्तचाप, चिनीरोगजस्ता समस्या पनि हुन्छन् ।
तनावको कारण व्यक्तिविशेष भए पनि यसले देखाउने केही लक्षण भने साझा हुन्छन् –
शारीरिक लक्षणहरू : टाउको भारी हुन्छ । पेट दुख्छ । मांसपेशीहरू दुख्छन् । मुख सक्छ । चिटचिट पसिना आउँछ । जिउ गल्छ । मुटुको धड्कन बढ्छ । सास फेर्न गाह्रो हुन्छ । महिलाहरूमा महिनावारी गडबड हुन्छ । आदि ।
मनका लक्षणहरू : काममा राम्रोसँग ध्यान दिन कठिन हुन्छ । अन्य मानिसहरूसँग हेलमेल गर्न मन हुँदैन । हेलमेल गरिरहेको मान्छे पनि एक्लै बस्न मन पराउने हुन्छ । रुन मन लाग्छ । चिच्याउन मन लाग्छ । उदास भइन्छ । आफूले गरिरहेका र गर्न खोजेका कुरा बिर्सन थालिन्छ । आदि ।
व्यवहारगत लक्षणहरू : बानी-व्यवहारमा परिवर्तन हुन थाल्छ । जस्तै – रिसाइरहने बानी बढ्छ । जिद्दी भइन्छ । नचाहँदानचाहँदै पनि आक्रामक भइन्छ । सुतिरहिन्छ । निद्रा लाग्दैन । छटपटी बढ्छ । खानपानमा गडबडी हुन्छ । तनाव हटाउने बहानामा रक्सी खान थालिन्छ । चुरोटको मात्रा बढ्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न छाडिन्छ ।
यस्ता शारीरिक र मानसिक लक्षण देखिन थालेपछि स्वाभाविक नै हो, सम्बन्ध त बिग्रने नै भयो । पारिवारिक झगडा, साथीभाइसँग मनमुटाव, आफ्नो नजिकको सम्बन्धमा दरार, उदासीनता आदि तनावका कारण परिवर्तन भएको आफ्नो व्यवहारकै फल हुन् ।
तनाव व्यवस्थापन
यसरी सबै मान्छेलाई तनाव हुनुको आआफ्नै कारण र केही साझा लक्षण देखिन्छन् । व्यवस्थापनका पनि केही साझा तरिका छन् । यदि आफूलाई तनाव भइरह्यो, गएन भने यी उपायहरू अपनाउनुपर्छ ।
तनावमाथिको चिन्तन : कहिलेकाहीँ अनावश्यक रिस उठिदिन्छ । रिस मरेपछि त्यसमा रिसाउनुपर्ने कारण नै थिएन भनेर थाहा हुन्छ । कहिलेकाहीँ त्यत्तिकै पनि टाउको दुखिरहेको हुन्छ, तर कारण थाहै हुँदैन । कहिले जाँगर नै चलिरहेको हुँदैन । यस्ता तनावका कुनै पनि लक्षण देखियो भने त्यसबारेमा केलाउने प्रयास गर्नुपर्छ । तनावको कारण थाहा पाउन सकियो भने त्यसलाई समाधान गर्न सकिन्छ । समाधान नै गर्न सकिँदैन भने पनि व्यवस्थापन र न्यूनीकरण गर्न सकिन्छ ।
तनावको अवस्था बुझ्नु : तनावको कारण थाहा भयो भने त्यो आफ्नो नियन्त्रणमा छ कि छैन भने मनन गर्नुपर्छ । विविध अनुसन्धानहरूका अनुसार हामीले तनाव लिने आधाभन्दा बढी समस्याहरू हाम्रो नियन्त्रणभन्दा बाहिरका हुन्छन् । जस्तै – कोही एक व्यक्तिले तपाईँप्रति ईर्ष्याभाव राख्छ भन्ने कुराले तपाईँलाई साह्रै पिरोलेको छ । एकचोटि सोच्नुस् त ? के त्यो व्यक्तिको सोच तपाईँको नियन्त्रणमा हुन्छ त ? अवश्य पनि हुँदैन । त्यसो भए आफ्नो नियन्त्रणमा नभएका कुराको तनाव लिनुको औचित्य छ र ?
सत्यतथ्य थाहा पाउनु : मानवप्रवृत्ति सत्यतथ्यभन्दा पनि भावनामा बग्ने खालको हुन्छ । कुरै नबुझी छिटै प्रतिक्रिया दिने बानी हुन्छ । यही कारणले प्रायः तनाव निम्त्याएको हुन्छ । अतः प्रतिक्रिया दिइहाल्नुभन्दा व्यावहारिक भएर यथार्थ कुरा पत्ता लगाएर अघि बढ्नुपर्छ । यस्तो गर्दा केही हदसम्म तनाव व्यवस्थापन गर्न सकिन्छ ।
उपयुक्त जीवनशैली : सन्तुलित खानपान, सरसफाइ, व्यायाम (कम्तीमा २०-३०) मिनेट हरेक दिन केही अभ्यास गर्नुपर्छ । निद्रा पूरा लिनुपर्छ । फुर्सदको समय सृजनात्मक कार्यमा लाग्ने, साथीभाइसँग भेट्नेजस्ता कामहरू गर्नुपर्छ ।
बेलाबखत, आफूमा कस्तो सोचाइ आइरहेको छ ? आज मलाई कस्तो छ ? आज म खुसी छु कि ? तनावमा लागुपदार्थतिर पो ढल्केको छु कि ? यस्ता जानकारी पनि लिनुपर्छ । बाहिरी शरीरलाई राम्रो बनाउन हामी जति मेहनत गर्छौँ, त्यति नै मनको पनि हेरचाह गर्नुपर्छ ।
सन्तुलित आहार, आराम र निद्राप्रति सचेत हुनुपर्छ । चुरोट, सुर्ती आदिबाट टाढै रहनु उचित हुन्छ ।
श्वासप्रश्वासको अभ्यास : रिस उठ्दा श्वासको गति कस्तो हुन्छ ? खुसी वा आनन्द हुँदा श्वासको गति कस्तो हुन्छ ? कहिल्यै याद गर्नुभएको छ ?
तनावमा हुँदा हामीले छिटोछिटो श्वास लिने र छाड्ने गरिरहेका हुन्छौँ गरेको हुन्छौँ । यसले गर्दा शरीरमा अक्सिजन राम्रोसँग उपयोग हुन पाउँदैन । लामो र गहिरो श्वास लिने र छोड्ने गर्नाले फोक्सोको तल्लो भागसम्म अक्सिजन पुग्छ र शरीरमा अक्सिजन प्रवाह राम्रो हुन्छ । अनि मन शान्त हुन्छ । तनावको समयमा लामो-लामो श्वास लिने बानीले पनि तनाव व्यवस्थापनमा टेवा पुर्याउन सक्छ ।
सहयोग प्रणालीको पहिचान : कहिलेकाहीँ जीवनमा आइपरेका चुनौती, उदासीनता र चिन्ताले भित्रभित्रै पिरोलिरहेको हुन्छ । तनावसँग एक्लै सङ्घर्ष गर्न गाह्रो भइरहेको हुन्छ । यस्तो अवस्थामा अरूको सहयोग आवश्यक पर्छ । यस्तो बेलामा साथीहरू, घरका सदस्य, शिक्षक, अफिसको कर्मचारी आदिबाट सहयोग लिन सकिन्छ । कहिलेकाहीँ घरपालुवा जनावर, मन पर्ने खेलौना पनि तपाईँका सहयोगी बन्न सक्छन् ।
यति गर्दा पनि तनाव व्यवस्थापन भएन या तनावको कारण पत्तै लगाउन सकिएन र जीवन नै अस्तव्यस्त हुन थाल्यो भने उचित मानसिक चिकित्सककहाँ गएर सम्पर्क राख्नुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।