विज्ञान भन्छ, जबसम्म मस्तिष्कको न्युरोन मर्दैन तबसम्म कसैलाई मृत घोषित गर्न पाइँदैन तर म यहाँ शारीरिक रूपमा कसरी मरिन्छ, कहिले मरिन्छ भनिरहेको छैन तर बाँच्नु के हो ? प्रश्न गरिरहेको छु आफैँलाई र खोज्दै छु उत्तर । जबसम्म तपाईँ जीवित रहेको प्रमाण दिनु हुन्न तपाईँ मरिरहेको हुनुहुन्छ । अब मनमा एउटा प्रश्न पक्कै आइसक्यो होला कि त्यसो भए कसरी जीवित रहेको प्रमाण दिने त ? यहाँ मरेकालाई छिटा हानेर ब्युँझाउन खोज्दै छु ।

बिहान झुल्किँदो सूर्य हेरेर प्रकृतिलाई धन्यवाद भन्नुभयो ?

तपाईँ जीवित हुनुहुन्छ भनेर पहिलो प्रमाण तपाईँको प्रकृतिलाई दिनुहोस् । बिहान झुल्किँदो सूर्यलाई स्वागत गर्नुहोस् । सूर्य हाम्रो पृथ्वी र हाम्रो अस्तित्व हो, यो बुझ्न कुनै धार्मिक संस्थामा जानु पर्दैन । न त यति बुझ्न आस्तिक हुनुपर्छ न नास्तिक नै । जब तपाईँ प्रकृतिलाई हरदिन धन्यवाद भन्नुहुन्छ तब तपाईँ जीवित रहेको प्रमाण प्रकृतिले पाउँछ । पृथ्वीमा बिहान खुट्टा राख्नुपूर्व उसमै तपाईँको अस्तित्व सुरुवात भएको, उसबाटै यो अवस्थासम्म आएको र पछि उसमै हराउने हो यो विचार गरी कृतज्ञता व्यक्त गर्नुहोस् । जन्मँदा हामी सबै २-३ केजीका जन्मिएका हौँ र यही पृथ्वीको माटो नै हाम्रो अहिलेको परिचय हो र हाम्रो जीवनको आधार हो । त्यसैले पहिलो तपाईँ जीवित रहेको प्रमाण तपाईँको प्रकृतिलाई दिनुहोस् ।

साजन काेइराला

बिहान शरीरलाई चलाएर आफू बाँचेको प्रमाण दिनुभयो ?

तपाईँले प्रकृतिलाई तपाईँ जीवित रहेको प्रमाण दिएपछि दोस्रो प्रमाण तपाईँको शरीरलाई दिनुपर्छ । तपाईँलाई थाहा नहुन सक्छ तपाईँको शरीरले एक सेकेन्डमा ९ करोड काम गरिसकेको हुन्छ । हामीलाई थाहा छैन हाम्रो शरिरका बारेमा जीवविज्ञान र चिकित्साशास्त्रले पनि पूरा अध्ययन गरिसकेको छैन । तपाईँले आफू ठान्ने भनेको तपाईँले बोकेको विचारको, अनुभव र त्यसको स्मृति हो । त्यसैले भनिन्छ नि हाम्रो शरीर एउटा ब्रह्माण्ड नै हो भनेर त्यही भएर आफू जीवित छु भनेर थाहा दिन शरीरलाई चलायमान राख्नुपर्छ । यानि कि दैनिक व्यायाम, योग, ध्यानलाई जोडेर आफू जीवित रहेको प्रमाण तपाईँको शरीरलाई दिनुहोस् ।

साथी, परिवारसँग आफूलाई जोड्नुभयो ?

तपाईँ जीवित रहेको अर्को प्रमाण भनेको तपाईँ जन्मिएपछि कमाएको सम्पत्ति, परिवार र आफूले जोडेको सम्पत्ति साथै साथीहरूसँग समय बिताउनु पनि हो । आज कम्युनिकेसनको युग छ, समय बिताउन नसके विभिन्न सामाजिक सञ्जालबाट जोडिएर भावना पोख्न सकिन्छ । यसरी भावना साटासाट गर्नु पनि आफू जीवित छु भनेर प्रमाण दिनु हो ।

आफ्नो पेसाअनुरूप, लक्ष्यअनुरूप काम गर्नुभयो ?

तपाईँले श्वास फेरेर मात्र जीवित छु भन्न सक्नु हुन्न । जबसम्म तपाईँले आफूअनुकुल, आफ्नो पेसाअनुरूप लक्ष्य बनाएर त्यसमा दैनिक काम गर्नु हुँदैन तपाईँ मरिरहेको बुझिन्छ । कर्मफल जे आओस् कर्म निरन्तर चल्नुपर्छ लक्ष्यअनुरूप । हरेकको आफ्नै लक्ष्य हुन्छन्, आफ्नै इच्छाअनुरूपको सबैलाई जोड्न त्यसमै प्रत्येक दिन काम गर्नुपर्छ । अरूले थोपरेको लक्ष्यमा काम गर्दा स्वीकारभाव नभएका कारण प्रत्येक पल मरिरहिनेछ । त्यसैले लक्ष्य तपाईँको हुनुपर्छ ।

बोटबिरुवा र जीवजन्तुसँग जोडिनुभयो ?

हामी र म सधैँ जोडिएको हुन्छ । एकको असर सम्पूर्णमा र सम्पूर्णको असर एकमा सधैँ परिरहेको हुन्छ । तपाईँ बाँच्न तपाईँको नजिकै रहेको बोटबिरुवा र अन्य जीव पनि बाँच्नुपर्छ । यदि प्रत्येक दिन तपाईँको केही समय बोटबिरुवामा र अन्य जीवजन्तुमा छैन भने तपाईँ मरिरहनुभएको छ । तपाईँ आफू बाँचेको प्रमाण बोटबिरुबालाई थाहा दिनुहोस् । यसका लागि प्रत्येक दिन वृक्षारोपण गर्नुहोस् भनेको होइन । आजभोलि घरभित्र राख्न मिल्ने धेरै वनस्पति पाइन्छ । ल्याएर दिनहुँ पानी हालेर आफू बाँचेको प्रमाण छोड्न सक्नुहुन्छ । घरपालुवा जीवजन्तुसँग खेल्नुहोस् र उसको दैनिक ख्याल राख्नुहोस् । यसरी आफू ज्युँदो रहेको प्रमाण दिन सक्नुहुन्छ ।

आफ्ना भावना/सृजना कतै पोख्नुभयो ?

मैले अगाडि पनि भनेँ, तपाईँ भनेको भावना र विचार पनि हो । त्यसैले आफू ज्युँदो छु भन्न आफ्ना भावना र सृजना कतै पोख्नुहोस् । गीत गाउने, नाच्ने, डायरी लेख्ने, चित्र कोर्ने, खेल खेल्ने यस्ता सृजना दैनिक गर्नुहोस् जसले तपाईँ जीवित रहेको प्रमाण दिन्छ ।

जूनतारा हेरेर मुस्कुराउनुभयो ?

तपाईँ आफैँलाई प्रश्न गर्नुहोस् । जन्मिएर आजसम्म यत्रो हुनुभयो, कति पटक आकाशमा तपाईँका लागि उदाएको जूनतारातिर हेरेर मुस्कुराउनुभयो ? हो, तपाईँ आफू जीवित छु भनेर थाहा दिन भए पनि सधैँ राति आकाशमा हेरेर जूनताराका लागि मुस्कुराएर केही महिना हेर्नुहोस् र त्यसपछि लाग्नेछ हरेक दिन ती जूनतारा तपाईँका लागि मुस्कुराएर उदाइरहेका छन् ।

माथि भनिएजसरी वर्षका कति दिन बाँच्नुभयो ? भनिन्छ नि परीक्षा पास हुन पनि चालिस प्रतिशत ल्याउनुपर्छ । हामी त हाम्रो ३६५ दिनमा मरी-मरी ३० दिन पनि बाँचिरहेका छैनौँ । जीवनमा फेल भएका छौँ अनि कसरी खुसी रहन सकिएला । खुसीका लागि बाँच्नुपर्छ । अब भन्नुहोस् तपाईँ ज्युँदो हुनुहुन्छ या मरिसक्नुभयो ?