गत १३ र १४ नोभेम्बर, २०२१ का दिन चितवनको सौराहामा दुई दिनव्यापि भारत नेपाल साहित्य महोत्सव बडो हर्षोल्लास र सफलतासँग सम्पन्न भयो । कार्यक्रमको आयोजक कविडाँडा साहित्य समाज रहेको थियो । अझ विशेष गरी यसका अध्यक्ष एल. बी. छेत्रीको नै सम्पूर्ण आर्थिक भार रहेको थियो । यस समारोहका निम्ति भारतबाट लगभग तीस जनाजति साहित्यकारको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपति गङ्गाप्रसाद उप्रेतीले गरेका थिए भने अधिकांश कार्यक्रमका सभापति श्री एल बी छेत्रीले रहेका थिए । कार्यक्रमको बीज भाषण प्रस्तुत गर्ने महेश पौड्यालले धेरै कुरा समेटेका थिए । कार्यक्रमको उद्देश्य, साहित्यकारको दायित्व, भविष्य भारत नेपालका सहकार्यका सम्भावनाका क्षेत्रहरू, अनुवादको आवश्यकता आदि कुरामा प्रकाश पारेका थिए ।
दुई दिनको कार्यक्रममा उद्घाटन सत्र, पुरस्कार र सम्मान समारोह, तीन चरणमा कार्यपत्र प्रस्तुति, दुई चरणमा पेनल वार्ता, छ चरणमा कवि गोष्ठी, थारू सांस्कृतिक कार्यक्रम आदि यसका मिश्रित कार्यक्रम थियो । पोखराका वरिष्ठ कवि र भाषिक सुधारका अभियन्ता श्री मुकुन्दशरण उपाध्याय, कथाकार इल्या भट्टराई, दार्जीलिङका कवि मनप्रसाद सुब्बा, प्रख्यात आख्यानकार श्रवण मुकारुङ, श्याम शाह आदि पुरस्कृत/सम्मानित भएका थिए ।
भारततिरबाट हामी काँकरभिट्टमा सबै भेला भेर जाँदा बाटामा दीपक सुवेदीको अगुवाइमा साहित्य कला सङ्गम, दमकले हामीलाई स्वागतार्थ चियापान कार्यक्रम राखेको थियो । यस संस्थाका धेरै सदस्य भेला भेका थिए । हामी प्रत्येकलाई गम्छा ओडाउँदै चार पाँचओटा पुस्तकको कोसेली टक्राए, चिया खाजाको खुवाएर बिदा सौराहातिर पठाए ।
पहिलो सत्रको कार्यपत्र प्रस्तुतिको सभापतित्व मनप्रसाद सुब्बाले गरेका थिए भने प्रस्तोताहरूमा डा. गोमादेवी शर्मा (मणिपुर), डा. केशव चालिसे (नेपाल) डा. नवीन पौड्याल (कालिम्पोङ) थिए । यसका टिप्पणीकार डा. एकनारायण पौड्याल थिए । अर्को सत्रमा डा. अशोक थापा र डा. टेकबहादुर छेत्री थिए । यस सत्रलाई डा. सीताराम अधिकारीले सभापतित्व गरेका थिए भने टिप्पणीकर्ताका रूपमा श्री. चेतराज रेग्मी थिए ।
दोस्रो दिनको पहिलो चरणको साहित्यिक आदानप्रदान बजार र विस्तार सन्दर्भ भारत र नेपालका विषयको पेनल वार्तामा सहजकर्ता भूपिन थिए । सहभागीहरूमा भीष्म उप्रेती (काठमाडौँ), शरद् प्रधान (काठमाडौँ) रेमिका थापा, (दार्जीलिङ) युवा बराल अनन्त (सिक्किम), पुस्तक प्रकाशकका रूपमा विनयभूषण दत्त थिए भने अर्को विश्व साहित्यमा नेपाली गोर्खाली आवाज मूल विषयको पेनल डिस्कसनमा राजकुमार बानिया थिए । यसका सहभागी वक्ताहरूमा शरद् प्रधान (काठमाडौँ), डा. सरिता शर्मा (आसाम), नीलम कार्की निहारिका (काठमाडौँ/अमेरिका) राजा पुनियानी, राहुल राई बोगिको (मणिपुर) थिए । दुवै सत्रको वार्ताहरू निकै रोचक र तर्कसङ्गत थिए ।
लीला लुइँटेलको नेपाल र भारतमा नेपाली नारीलेखन विषयको एकल तेस्रो चरणको गोष्ठीको सभापतित्व डा. सावित्री मल्ल कक्षपति थिइन् भने टिप्पणीकर्ता डा. शोभा शर्मा (गान्तोक सिक्किम) थिइन् । भारतीय नेपाली समाजमा नारीको स्थितिअनुकूल रहेको तथ्य प्रकट गर्दै नेपाली कृतिहरूको अनुवाद गरिनुपर्ने राय प्रकट गरिन् । श्रवण मुकारुङको सभापतित्वमा आयोजित कवि गोष्ठीमा नेपाल र भारतका कविहरूको कवितावाचन सुने अवसर मिल्यो । यसमा विशेष गरी दार्जिलिङकी पवित्र लामाको अभिसङ्गी कविता हर्कमायाको अभिनयपूर्वक बडो रोचक र प्रस्तुति रह्यो । कविताभित्रका भावप्रवणसितै दर्शकदीर्घा स्तब्ध भयो । उनले कवितालाई नयाँ आयाम दिइन् । उनको प्रस्तुतिपछि उनलाई बधाइ र स्याबासी दिनेहरूको भिड देखियो । काठमाडौँ भवानी खतिवडाले छन्दमा एउटा क्रान्तिकारी भावको कविता वाचन गरिन् । उनी जुनै छन्दमा नि कविता लेख्न सक्छिन् र कवितामा प्रश्नोत्तर गर्नुपरे जुन छन्दमा प्रश्न गरिन्छ त्यही छन्दमा उत्तर दिन सक्छिन् भन्ने जानियो । भारतका मनप्रसाद सुब्बा, रेमिका थापा, ज्ञानेन्द्र यक्सो, राजा पुनियानी, मणिका शर्मा, दीपा राई, शोभा शर्मा, सरिता शर्मा, अर्जुन यावा, जीविका अश्रु, रोहित लामगादे (दिल्ली), हर्कबहादुर लामगादे (मणिपुर), कृतिका दाहाल आदि थिए । नेपालबाट अशेष मल्ल, भीष्म उप्रेती, प्रतीक ढकाल, महेश पौड्याल, प्रकाश निरौला, सुरेन्द्र अस्तफल, लक्ष्मण वियोगी, मधु पाठक, गोविन्द कँडेल आँसु आदि थिए ।
यस कार्यक्रमा उब्जेका केही कुरा-
- कार्यक्रमका मुख्य प्रायोजक श्री. एल. बी. छेत्री थिए । उनले नेपाल र भारत दुवैतिरका साहित्यकारहरूलाई लाने, ल्याउने, खाने, बस्ने जम्मैको आर्थिक व्यवस्था मिलाएका थिए । यसो विचार गर्दा यस कार्यका निम्ति उनको लाखौँ रुपियाँ खर्च भयो । उनले सरकारी तवरको भन्दा उत्तम तवरको कार्यक्रम प्रस्तुत गरेर देखाइदिए । हाम्रो समाजमा धनकुवेर धेरै छन् तर यस्ता कुरामा खर्च निकाल्दैनन् । संस्थागत र अझ व्यक्तिगत तवरमा भारत नेपालबिचको साहित्योत्सव आयोजना गर्नु सानो कुरा होइन ठुलो मुटु चाहिन्छ । छेत्रीको काम अत्यन्त गरिमामय र इतिहासमा नाम लेखिने खालको भयो । उनको यो सपना पूरा भएपछि अरू सपना पनि यसरी नै पूरा हुँदै जाऊन् भनी कामना गर्दछौँ ।
- कार्यक्रमको डिजाइन, परियोजना मुख्य गरी एलबी छेत्री र महेश पौड्यालको लाग्यो । छेत्रीले कार्यक्रमभरि सभापतित्व मात्र गरेनन्, कार्यक्रमको सही दिशानिर्देश दिइरहे । समय पालना, भारत नेपाल प्रतिनिधित्वमा सन्तुलन, मञ्च व्यवस्थापनमा आफ्नो निपुणता देखाएका छन् । उनी आफैँ हँसिला रसिला, उज्याला, फर्साइला, सकारात्मक विचारका धनी देखिए । उनी आफैँ एक अध्येता, एक कुशल कवि र साहित्य मर्मज्ञ हुन् । यसै गरी यस कार्यक्रमको उद्देश्यप्राप्तिका निम्ति महेश पौड्यालको कार्यक्रम डिजाइन, रूपरेखा, अत्यन्तै सफल भयो । उनी भारत र नेपालबिचका सेतु भएर काम गरे ।
- पेनल डिस्कसनको क्रममा दार्जीलिङकी रेमिका थापाले नेपालभरि भारतीय प्रकाशन हाउसका हिन्दी र अङ्ग्रेजी पुस्तक बिक्रीमा राखिएको हुन्छ र किन्न पाइन्छ । यद्यपि भारतबाट प्रकाशित नेपाली पुस्तकलाई मात्र भन्सारको समस्या देखाएर नेपालमा पुस्तक पसलमा राख्न मिल्दैन भन्ने गम्भीर विषयमा प्रश्न राखिन् । यो अत्यन्त सटीक प्रश्न थियो । नेपालभरि दुनियाँभरका प्रकाशनका पुस्तक पाइन्छ तर यता दार्जीलिङ सिक्किम आसामतिरका नेपाली पुस्तक लानु किन समस्या ? यो साँच्चै मननयोग्य विषय उठान गरिएको थियो । सिलगडीका नेपाली पुस्तक बिक्रेता कुमार अधिकारीको पनि यही गुनासो सुन्न पाइन्छ । यता भारतका नेपाली किताब नेपाल लान गाह्रो भने नेपालबाट पनि नेपाली पुस्तक भारत ल्याउन झन गाह्रो हुन्छ । काठमाडौँका रत्न पुस्तक भण्डार, मण्डला बुक, ओरिएल्टल बुक हाउस, पाठ्य सामग्री पसल आदिमा संसारभरका पुस्तक हुन्छन् तर भारतका नेपाली पुस्तक पाइन्नन् । त्यहाँ लाने मान्छे नभइदिएको हो कि? कुन व्यवधान छ, बुझ्न सकिएन । यसबारेमा मेरो तितो अनुभव, म आफैँले भोगेको छु । मेरा किताब साहित्य सन्धान, कृति सन्धान आदि पुस्तक बाँड्न र पसलमा नमुनाका लागि भनेर दस-दसप्रति लिएर काठमाडौँ जान खोज्दा नेपालपट्टिको भन्सारमा मेरो ब्याग खोतल्दा किताबहरू देखेर शङ्का व्यक्त गरे । म आफैँ लेखक हुँ, व्यापारी होइन भनी किताबको पछिल्तिरको मेरो फोटो देखाउँदा समेत मेरा दुईओटा पुस्तक कस्टम कर्मचारी महिलाले एकेकप्रति राखिदिइन् । म पढेर यहाँको पुस्तकालयमा दिन्छु भनेर लगिदिइन् । यदि ती पुस्तक पुस्तकालयमा नै पुग्यो भने ठिकै छ नत्र भने ती पुस्तक रचना बेच्नलाई पोक्याउन काम लाग्ला भन्नेछ ।
- नेपालका राम्रा राम्रा पुस्तक पनि भारतका पुस्तक पसलमा पाइन्नन् । भारतको सिलगडीको ज्ञानकला पुस्तक पसलले ल्याएजति मात्र देख्न पाइन्छ, नत्र पाइन्न । सिलगढीको एकता बुक हाउसले मुख्य गरी आफ्नै एकता प्रकाशन र नेपालका केही प्रकाशनका थोरैका मात्रै पुस्तक बेच्न राखेको पाइन्छ ।
- एउटा गोष्ठी कार्यक्रममा लीला लुइँटेलले भारत र नेपालमा नारी लेखकको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरिन् । उनको आशय भने नेपालमा नारीको स्थिति अझै पनि चिन्ताजनक छ । समाजका विभिन्न तह, तप्कामा नारीको स्थिति अझै पनि दयनीय छ भन्ने कुरामा जोड दिइएको थियो । त्यस कार्यक्रमकी सभानेत्री डा. सावित्री मल्ल कक्षपतिले नारी आफैँमा वरदान हुन्, नारीप्रति नकारात्मक विचार राख्नु हुँदैन भनिन् । बरु उनले परिस्थिति व्याख्या (Situational Explanation) गर्नु आवश्यता छ भन्ने कुरा राखिन् । यो महत्त्वपूर्ण र मननयोग्य कुराको चर्चा उठेको थियो ।
- वास्तवमा नेपाली साहित्य बृहत् छ । नेपाली विश्वसाहित्यको एउटा अङ्ग हो । अब कुनै क्षेत्रमा नेपाली साहित्य कमजोर छैन । केही कमजोर कुरा छ भने बजार व्यवस्थापनको अभाव मात्र हो । अहिले पनि मान्छे खोजी-खोजी किताब पढ्ने गर्छन् । अब अमेजोन आदि अनलाइन मार्केटिङतिर पनि हाम्रो किताबको बजार हुनुपर्छ भन्ने कुरा उठेको छ ।
- अनुवादबारे पनि निकै कुरा उठे, नेपालीबाट अन्य भाषामा अनुवाद हुनपर्छ । जति मात्रामा नेपाली पुस्तक प्रकाशित हुन्छन्, तिनको अत्यन्त थोरै भाग मात्र अन्य भाषामा अनुवाद हुन्छ भन्ने कुरामा सहमति थियो । कार्यक्रममा उपस्थित भएका महेश पौड्याल, डा. शोभा शर्मा, डा. सरिता शर्मा, भीष्म उप्रेती, शरद् प्रधान आदिजस्ता अनुवादकहरूले आफ्ना मन्तव्यमा जुरमुराएर अघि आउनुपर्ने कुरा आयो ।
- यस पङ्क्तिका लेखकको भारतीय नेपाली समालोचना शताब्दीको यात्रातिर भन्ने कार्यपत्रमा भारतको समालोचनाको चर्चा गरेपछि टिपप्णीकार डा. एकनारायाण पौड्यालले आफूले नेपाली समालोचनामा नै विद्यावारिधि अध्ययन गरेको तर भारतका यति धरै समालोचकहरूको उपस्थिति रहेछ तर आफूले उल्लेख गर्न नसकेको कुरा खोले । हुन पनि यता भारतका ठुला-ठुला लेखकका कृति नेपालबाट समालोचना लेखिएको पाइन्न, भारतका समालोचकहरूबारे उति जानकारी राखिएको हुन्न । यताका पुस्तक उता जाँदैन उताका पुस्तक यता उति आउँदैनन् । झन् समालोचना पुस्तक भने बिक्री शून्यको स्थिति छ । यसबारे दुवैतिरका लेखकहरू, कौटनीतिक क्षेत्रका व्यक्तिहरूले सटीक काम गर्नुपर्ने देखिन्छ ।
- दुई दिने कार्यक्रमको अन्तमा प्रतिवेदन र घोषणापत्र पठनका निम्ति आएका प्रस्तोताले निर्देशित काम गरेनन् । उनले कविताको परिभाषा र वर्गीकरण गरे । दुई दिनमा कार्यक्रमको घोषणापत्र के थियो राम्रो बुझ्न पाइएन, स्पष्ट भएन । कार्यक्रमको सुरुमा महेश पौड्यालले उठान गरेका कुरा समापनसत्रमा सम्बोधित भएनन् । बरु भारतका साहित्यकार जय क्याक्टसले भने आफ्नो अनुभव कथनमा धेरै कुरा प्रस्तुत गरे, भारत र नेपालको नेपाली साहित्यको सम्पर्क र सहकार्यका सम्भावनाहरूबारे रोचक ढङ्गमा व्यक्त गरे ।
- कार्यक्रमभरि पुस्तक बिक्रीमा पनि राखिएका थिए । नीलम कार्की निहारिकाका योगमाया, द्रौपदी अवशेष र ४३ कथाहरू र श्याम शाहको पथेर कथासङ्ग्रहको खोजी खोजी बिक्री भएको देखिए । अन्य आख्यान पुस्तक पनि भाटाभट बिक्री भएको देखियो । यो राम्रो लक्षण हो । मानिसले अहिले पनि राम्रा पुस्तक किनेर पढ्ने गरेको पाइन्छ ।
जे होस्, दुई दिने कार्यक्रम सामान्य उत्सव मात्र थिएन, महोत्सव थियो । यस कार्यक्रमले चितवनका एलबी छेत्रीको जय जयकार गऱ्यो । सबले मुग्धकण्ठले उनको मन र मुटुको सह्राहना गरे । कार्यक्रमको अधिकांश खर्च उनैले बेहोरेर एउटा इतिहास बनाएका छन् । उनले अमर बन्ने काम गरेका छन् । कार्यक्रम अत्यन्त सफल, सार्थक र सुगम थियो भनी घोषणा नै गर्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।