साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

समालोचकमा इमानदारी र ज्ञानको अभाव – साहित्यमा त्यसको असर

ratna book ads

कुरा सुरु गरौँ मेरै उपन्यास ‘मोचन’ बाट । फिनिक्स बुक्सले हालसालै बजारमा ल्याएको उपन्यास ‘मोचन’ ले राम्रै प्रतिक्रिया पाइरहँदा, केही सल्लाहसुझाउ पनि आइरहेका छन् जस्तो ‘उपन्यासको प्रमुख पात्र जीवनले आश्माको भावनालाई किन बुझ्ने प्रयास गरे न? अब आश्माको तर्फबाट कहिले अर्को उपन्यास पढ्न पाइन्छ ?’

प्रशंसाको बाढी आइरहँदा एक जना डाक्टर विद्वान् मित्रले मलाई फोन गरेरै भने “तुलसीजी मैले तपाईँलाई फुर्क्याउन भनेको होइन, म प्रायः अङ्ग्रेजी पुस्तक पढ्न मन पराउने मानिस अहिले नेपाल आएका बेला तिन महिनाको बसाइमा जम्मा १२ ओटा पुस्तक पढेछु तर तपाईँको जस्तो गतिलो पुस्तक र ‘हार्ट टचिङ्ग’ मलाई कुनै लागेन ।”

यी त थिए पाठकीय प्रतिक्रिया । तर म लेखक भएको नाताले र आफूलाई अझ सुधार गर्दै लानुपर्ने जिम्मेवारी भएकाले न म प्रशंसामा फुरुक्क पर्नुहुन्छ, न आलोचनामा निराश । पाठकीय प्रतिक्रियाको आफ्नै महत्त्व छ तर अझ बढी महत्त्व समालोचक र उसले गर्ने समालोचनाको हुन्छ । उतरदायी र सक्षम समालोचक भएन भने राम्रो साहित्यको उत्थान हुनुको सट्टा नराम्रो साहित्यको भेल बग्छ । जसको नकारात्मक असर नेपाली साहित्यमा पर्छ ।

मेरै पुस्तक ‘मोचन’ को विमोचनमा पनि केही वक्ता समालोचकहरू जस्तै- महेश पौड्याल तथा ज्ञानु अधिकारीले केही बलिया र केही कमजोर पक्षको विवेचना गर्नुभएको थियो । जसमा म आफैँले पनि केही सुन्ने र बुझ्ने मौका पाएको थिएँ र आफूले नदेखेको वा नहेरेको कोणबाट पनि समालोचकहरूले अर्थ्याइदिँदा एक प्रकारको सन्तुष्टि मिलेको थियो तर सबै समालोचकहरू इमानदार हुन्छन् भन्ने छैन ।

साहित्य जस्तोसुकै भए पनि व्यक्तिगत निकटतामा वा साथी सम्पर्कमा रहेका मानिस छन् भने उनीहरूलाई फुर्क्याउन वा ‘मसँग मेरो साथी नरिसाओस्’ भन्ने हिसाबले समालोचकहरूले आफ्नो साथीको कृतिमाथि दृष्टिकोण राख्दिन्छन् । ‘साथीले मन दुखाउने हो कि’ भने भयले लेखेको समालोचना समयको बरबादी र साहित्यप्रति गरिएको अनादर र अन्याय भन्दा केही होइन । मैले यहाँ पाठकहरूले दिने प्रतिक्रियाको कुरा गरिराखेको छैन । ‘म समालोचक हुँ’ भन्ने बुद्धिजीवीहरूले गर्न सक्ने साहित्यप्रतिको योगदानकोस बारेमा लेखिरहेको छु।

डा. तुलसी आचार्य

‘साथीहरू वैरी हुने हुन् कि ?’ वा ‘यो मान्छे मलाई मन पर्दैन किन राम्रो कुरा लेखौँ यसका बारेमा ?’ वा ‘यो लेखकले मलाई भाउ नै दिँदैन त्यही भएर म यसको पुस्तक नराम्रो छ भनेरै प्रमाणित गरिदिन्छु’ भन्ने पूर्वाग्रही चिन्तन र सोचले निर्देशित समालोचकहरू भए भने उनीहरू समालोचनामा निष्पक्ष हुन सक्तैनन् ।

त्यसै गरी हामी लेखकहरूले पनि हामीले चिनेका, सम्बन्ध राम्रो बनाएका समालोचकहरू भए ठाउँ गएर ‘मेरो कृतिमा समालोचना लेखिदिनुपऱ्यो’ भन्यौँ भने हामीले उनीहरूलाई अझ प्रभावित बनाउन सक्छौँ र गरिएको समालोचना निष्पक्ष नहुन सक्छ । हिमाल खबर पत्रिका २०७७ साल कार्तिक २२ गते प्रकाशित लेख “कहाँ छन् समालोचक ? कहाँ छ समालोचना ?” मा राजेन्द्र पराजुली लेख्छन्, “समालोचना लेख्ने अधिकांश प्राध्यापक मौलिक लेखनमा पनि छन् । तिनले जतिसुकै कमजोर साहित्य लेखे पनि अर्का प्राध्यापक-समालोचकले ‘महान्’ को बिल्ला लगाइदिइहाल्छ ! किनकि उसलाई आफ्नो पुस्तकमा पनि त्यस्तै समालोचना लेखाउनु जो छ । पर्म तिर्नु छ-पर्म लगाउनु छ !” फेरि पराजुली थप्छन्, “पर्म समालोचना त्रिविमा मात्र सीमित छैन । बेलाबखत समालोचना लेख्ने लेखकले आफ्ना मित्र वा कोटरी र विचारभित्रको सर्जकले जेसुकै लेखे पनि अब्बल भनिदिइहाल्छ ।”

विश्वविख्यात लेखक जर्ज अरवेलले भनेको कुरा “छलकपट व्याप्त समयमा सत्य बोल्नु एउटा क्रान्तिकारी कार्य हो । सत्यमा अडेर समालोचना लेख्नु पनि ‘क्रान्तिकारी’ काम नै हो ।” लाई उद्धृत गर्दै पराजुली लेख्छन्, “अधिकांश समालोचना कि कसैलाई खुसी बनाउन र उचाल्न लेखिएका छन्, कि कसैलाई खुइल्याउन ! यस्तो परिपाटिले समालोचनाप्रतिको विश्वास नै धरमराउन पुगेको छ ।” निरेपक्षताको सन्दर्भमा अङ्ग्रेजी कवि तथा समालोचक म्याथ्यु आर्नोल्डको भनाइ अर्थपूर्ण हुन जान्छ । उनी लेख्छन्, “निरेपक्ष भएर हेर्न सक्यो भने चै साहित्यको प्रभावकारिता धेरै बलियो हुन्छ ।”

म एक समयमा समालोचना गर्ने प्रयास गर्थेँ तर अहिले आफू व्यावसायिक लेखनको शिक्षक तथा विद्यार्थी दुवै भएको नाताले के देख्छु भने लेखनमा हेरिनुपर्ने भनेको त्यसको भाषा, बनोट र विषयवस्तु हो । समालोचकीय हिसाबले साहित्यको मूल्याङ्कन र साहित्यको महत्त्व विभिन्न कालखण्डमा विभिन्न विचारक तथा समालोचकहरूले विभिन्न ढङ्गले व्याख्या गरे । प्लेटोले त “साहित्यले समाजलाई कुनै शिक्षा दिन सक्तैन” भने । वास्तवमा वास्तविक समालोचनाको सुरुवात अरस्तुबाट भएको बुझिन्छ । उनका अनुसार, “साहित्यले विरेचन गर्छ, दुःखान्त नाटकले मनको डर र त्रासलाई हलुका बनाइदिन्छ ।” पछि स्वच्छन्दतावादी लेखक तथा समालोचकहरूले “साहित्य स्वतन्त्र भावनाको स्वस्फूर्त अभिव्यक्ति हुनुपर्छ’ भनेर विवेचना गरे । पछि विभिन्न समय र परिवर्तनसँगै यथार्तवादी साहित्यको प्रवेश भयो, पछि अरू बादहरू जन्मिए र तिनैको आधारमा समालोचना गरिन थालिए तर कुरोको चुरो के हो भने समयसँगै साहित्यको विषयवस्तु, भाषा र बनोट तथा प्रस्तुतिमा परिवर्तन आउँछ त्यो स्वाभाविक हो तर समालोचकको ज्ञान यी विषयवस्तुहरूसँग कत्तिको छ, त्यो महत्त्वपूर्ण रहन्छ ।

जबसम्म समालोचकहरू इमानदार हुँदैनन् तबसम्म गतिलो साहित्य ओझेलमै परिरहन्छ र ‘जङ्क’ साहित्य’ मात्र बाहिर बजारमा आउने भय हुन्छ ।

हाम्रा केही समालोचकहरू यति धेरै ‘स्मार्ट’ पनि छन् कि उनीहरू पाठकहरूलाई नै बिर्सिन्छन् । पाठकको पृष्ठभूमिलाई बिर्सिन्छन् । खाली आफ्नो बौद्धिकता देखाउने कुचेष्टा मात्र गरिरहन्छन् । कहिलेकाहीँ मलाई लाग्छ कुन कृतिलाई कसरी जज गर्ने कुनै ‘स्ट्यान्डर्ड’ नै भएन । कि त्यो स्ट्यान्डर्ड चैँ पूवाग्राहको चस्मा भइदियो । ब्रिटिस समालोचक ड्राईडेनका अनुसार समालोचना भनेको इमानदार भएर कृतिमाथि गरिने समीक्षा हो ।

अनुसन्धानले के बताउँछ भने एउटा समालोचक हुनु भनेको दुवै हुनु हो – राम्रो लेखक र राम्रो पाठक । कोही कविताको राम्रो समालोचक हो भने ऊ एउटा राम्रो कवि पनि हो र कविताको पाठक पनि हो अर्थात् हुनुपर्छ तर कति जना छन् हाम्रा राम्रा समालोचकहरू जो जे विधामा समालोचना गर्छन् त्यही विधामा पनि उत्तिकै दक्ष छन् र पाठकीय छन् ? हाम्रा केही समालोचक कविता कहिल्यै लेख्दैनन् तर कविताको समालोचना गर्छन् । पाठकलाई नचिनेर नै यस्तो र उस्तो साहित्य लेख्नुपर्छ भन्छन् । एउटा राम्रो समालोचक हुनु भनेको पठनसंस्कृति राम्रो भएको, मानवीय जीवनको ज्ञान भएको, भाषाप्रतिको दक्षता भएको, लेखक र पाठक दुवैको ज्ञान भएको, तीक्ष्ण दिमाग भएको (म्याथ्यु आर्नोल्ड भन्छन्, “समालोचकले राम्रा लेखकहरूका हरफहरू दिमागमा राख्नुपर्छ ।), र सृजनशील अनुभव भएको हुनु हो ।

सृजनशील लेखनकै गहिरो अनुभव नभएकाहरूले बलजफती समालोचना गर्नु भनेको पाउरोटीलाई बन्चराले काट्नुजस्तै हो ।

एउटा कार्यक्रममा एक जना समालोचक मित्रले के भनेका थिए भने, “फोटोग्राफी साहित्यलेखन होइन । हामीसँग फोटोग्राफर छन् । अलि-अलि मान्यता पनि भत्काउँदै जानुपर्छ, नौलो प्रयोग गर्दै पनि जानुपर्छ ।” मलाई लाग्यो नौलो प्रयोग गर्नु नराम्रो होइन । हामीले साहित्यमा हुँदै आएका विभिन्न प्रयोगहरू देखेका छौँ तर म “फोटोग्राफी साहित्यलेखन होइन” भन्ने वाक्यसँग त्यति सहमत भइनँ । किनकि म आफैँले सृजनशील लेखनमा नाम चलेका विदेशी लेखकहरूसँग बसेर छलफल र अनुसन्धान गर्दा के थाहा पाएको थिएँ भने असल र सुन्दर साहित्यले शब्दको माध्यमबाट ठाउँ र परिवेशको चित्रण गर्न सक्नुपर्छ । विश्वसाहित्यमा बिकिएका र पुरस्कृत भएका दर्जनौँ उपन्यासको चर्चा गर्ने हो भने तिनीहरूले शब्द र वर्णनको माध्यबाट होस् वा प्रस्तुतिको माध्यबाट होस् छर्लङ्ग परिवेश र ठाउँको यति मिठो चित्रण गरेका हुन्छन् त्यहाँ फोटोग्राफीको आवश्यकता नै पर्दैन । त्यसैले हो समाज देखाउने, परिवेश बुझाउने, चरित्रको चित्रण गर्ने ।

तसर्थ साहित्य एउटा फोटोग्राफी पनि हो, शब्दको क्यामेराले कैद गरेको फोटोग्राफी । ‘एक्स्पेरिमेन्ड’ को नाममा फोटोग्राफी नै बिर्सने भन्ने होइन । हामीले पाठकलाई संसार देखाउन कहिल्यै भुल्नु हुँदैन । एउटा सूत्र छ “सो, डन्ट टेल” अर्थात् देखाउनुहोस्, भन्ने होइन ।” सान्ड्रा गर्थले आफ्नो पुस्तक “सो, डन्ट टेल” मा आख्यान लेखनमा “सो” अर्थात् दृश्यको महत्त्व र शक्ति देखाएकी छिन् । पात्रहरूलाई जीवन्त बनाउन उनीहरूको तस्बिर र इतिहास शब्दको माध्यमद्वारा निकाल्नैपर्छ । हरेक विधाको आफ्नै लेखनशैली हुन्छ । ‘रुल अफ थम्ब’ हुन्छ, बेसिक मान्यताहरू हुन्छन् । तिनीहरूलाई भत्काउनु भनेको राम्रा सभ्यतालाई भत्काउनु जस्तै हो ।

चाहे आख्यान होस् या गैरआख्यान, विषयवस्तुको वास्तविक र जीवन्त प्रस्तुतिले पाठकलाई उद्वेलित बनाउँछ, कृतिमाथिको विश्वास बढाउँछ । लेखनको सशक्तता भनेको पाठकले कुनै कुरा पढेर त्यसलाई पत्याउनु हो । समालोचक राजकुमार बानियाँले भनेजस्तो ‘घटनाहरूको सङ्ग्रह’ जस्तो मात्र चै हुनु भएन । अलङ्कार, अनुप्रास, कल्पना, संवाद, कथानक आदि पनि हुनुपऱ्यो साहित्य हुन् । पाठकले के महसुस गर्न सक्नुपर्छ भने उसले पढिरहेको उपन्यास सत्य हो । प्रभावकारिता त्यसमा रहन्छ । तपाईँले सृजना गरेको संसारभित्र हराउन सक्यो पाठक भने त्यो हो उपन्यासको सशक्तता । पाठकलाई पढ्दै जाँदा आनन्द मिल्दै गयो भने त्यो उपन्यास हो राम्रो । साहित्यमा हुनुपर्ने गुणहरू भयो भने सत्य घटना पनि साहित्य हुन्छ । हामीलाई थाहै छ सत्य घटनामा लेखिएका कैयन् उपन्यासहरू । कवि भूपिनले लेखेको “मैदारो” सत्य घटनामै होइन र ? नयनराज पाण्डेले लेखेको ‘उलार’ त्यही समाजको कथा होइन र ? कहिलेकाहीँ सत्य घटनालाई जस्ताको तस्तै पेस गर्दा चुनौती आउने भएर पनि आख्यानको साहार लिएर कृतिहरू जन्मिन्छन् । त्यसैगरी आख्यान र गैरआख्यानबिचको फरक के हो त्यो थाहा पाउनु पनि अत्यन्तै जरुरी छ । जेम्स फ्रेले २००६ मा लेखेको एउटा गैर आख्यानको पुस्तक यति चर्चित र बेस्ट सेलर भयो कि पाठकले पूरै विश्वास गरे, लेखकमा त्यति ठुलो साहस रहेछ भनेर तर पछि आएर सत्य कुरालाई तोडमोड गरेर लेखेको प्रमाणित भएपछि उल्टै ‘पेनाल्टी’ तिर्नुपऱ्यो । त्यही भएर सत्यलाई साहित्यमा ल्याउँदा विधागत हिसाबलाई कुन विषयलाई कसरी प्रस्तुत गर्ने हो त्यो थाहा हुनुपर्छ । समालोचकले यस्ता विषयवस्तुहरू प्रति ध्यान दिएमा उनीहरू निष्पक्ष र इमानदार हुन सक्छन् र नेपाली साहित्यमा योगदान पुग्न सक्छ । अङ्ग्रेजी साहित्यको सन्दर्भमा बिसौँ शताब्दीतिरका आख्यानकारहरू खास गरी जेम्स ज्वाइस, भर्जिनिया वुल्फ, विलियम फक्नर, फ्रेन्ज कफ्का आदिका लागि रियालिटी भनेको वस्तुपरकभन्दा पनि व्यक्तिपरक र निजात्मक भय । जेम्स ज्वाइसले त ‘स्ट्रिम अफ कन्सासनेस’ टेक्निकको नै प्रयोग गरे । यस्ता विषयवस्तुको ज्ञानले समालोचक निष्पक्ष हुन सक्छ ।

एक समय साहित्य सम्भ्रान्त परिवारको पेवाजस्तै थियो भने अहिले सीमान्तकृत वर्गको पनि त्यत्तिकै वर्चस्व छ साहित्यमा । साहित्यलेखन अरू लेखन अर्थात् शैक्षिकलेखनभन्दा फरक हुन्छ । विषयवस्तु र विधा हेरीकन लेखनका विविध आयामहरू हेरिन्छ जस्तो भाषाको प्रयोग कस्तो गर्ने ? वाक्य गठन कसरी गर्ने ? ‘प्लट’ को निर्माण कसरी गर्ने ? भाषामा अनुप्रासको प्रयोग, ‘रिदम’, ‘साउन्ड्स अफ ओर्ड’ लाई कसरी मिलाउने ? कथानकीमा द्वन्द्वको निर्माण कसरी गर्ने ? पाठकलाई ‘होल्ड’ मा कसरी राखिराख्ने ? आदि इत्यादि । समालोचकीय दृष्टिकोणमा यस्ता कुराहरू पनि आउनुपर्छ । न कि एकहोरो पूर्वाग्राही विचार ।

भनिन्छ साहित्य समाजको ऐना हो तर अब साहित्य भनेको ऐना मात्र हुनु हुँदैन । ऐनाले देखाएको कुरा कति सही र कति गलत भन्ने टिप्पणी पनि हुनुपर्छ । जबसम्म सीमान्तकृत वर्गका मुद्दा (जुन आजभोलि आउन थालेका छन्) साहित्यमा आउँदैनन त्यो पनि लेखकीय धारणा र अनुसन्धानका साथ, साहित्य समाजलाई सही दिशा दिन सक्तैन । साहित्यले समाजका कमजोरीलाई केलाएर सभ्य समाजको दिशा देखाउनु पनि हो किनकि ऐनामा देखिएका चित्रहरू जति नजिक लाग्छ त्यति नजिक हुँदैनन्, पछाडि फर्केर हेर्नैपर्छ कति दूरीमा छन् भनेर । त्यो काम समालोचकको हो । फ्लबर्टको अङ्ग्रेजी उपन्यास ‘म्याडम बोबरी’ पढेपछि पाठकले इमा बोबरीको घर, गाउँ, उनको लगाइ, खुवाइ, इतिहास, सोच्ने तरिका सबै थाहा पाउँछ । यदि प्रयोगको नाममा ती कुराहरू छुटाइएको थियो भने त्यहाँ ठुलो अन्याय हुने थियो पाठकप्रति । नाम चलेका र साहित्यमा उत्कृष्ट पुरस्कार पाएका प्रायः सबै आख्यानहरूमा शब्दले निर्माण गरेको सुन्दर ‘फोटोग्राफी’ देख्न सकिन्छ । समालोचकलाई त्यसको ज्ञान हुनुपर्छ ।

साहित्यले असहजलाई सहज बनाउने हो । लैङ्गिक विभेदमा परेका व्यक्ति, समलिङ्गी, अपाङ्गता भएका व्यक्ति, जनजाति आदिलाई कथाको प्रमुख मात्र बनाएर साहित्य कतिले लेखेको छ ? किनकि त्यो धेरैलाई असहज होला । नाइजेरियन लेखिका चामुण्डी नागोची अदिचिले नाइजेरियन समाजलाई विश्व सामु चिनाएकी छन् । उनी लेख्छिन्, “म प्रश्नमा विश्वास गर्छु । म समाजका विविध विभेद र अन्यायप्रति असुन्तुष्ट छु । तिनै कुराले मलाई लेखनमा अभिप्रेरित गर्छ ।” हामीले लेख्ने हाम्रै समाज हो । हामीले विश्वमा चिनाउने हाम्रै समाज हो । समालोचकहरूको दृष्टि त्यतातिर पनि जानुपर्छ ।

लेखक साउथ जर्जिया स्टेट कलेज अमेरिकामा व्यायसायिक लेखन विषय अध्यापन गर्छन् । उनको उपन्यास ‘मोचन’ भर्खरै बजारमा आएको छ ।

प्रतिक्रिया
Loading...