आनन्द छ, आफूभित्र बाहिर खोज्दा भेटिँदैनन्, धन, पद जति जोड तृष्णा कहिलै मेटिँदैनन् । धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आआफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् ।

त्यस्तै, हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एक-एक थरी धर्म अँगालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौँ । तिनै ईश्वरप्राप्तिका लागि भनेर पूजापाठ गर्ने, खसीबोका, हाँसकुखुरा बली दिने गर्छौँ । कोही मूर्तिका सख्त विरोधी छौँ त कोही अन्धभक्त छौँ ।  हिन्दूले लक्ष्मी माता मानेर पूजा गर्ने गाई मुस्लिमको अल्लाह खुसी पार्ने आधार बन्छ । यस प्रकार विरोधाभाषी क्रियाकलापमार्फत हामी मान्छे कर्तव्यनिर्वाह र धर्म प्राप्तिको मार्गमा सरिक छौँ । फलस्वरूप धनजनको स‌हार गर्ने धर्मयुद्ध भएका छन्, भइरहेका छन् ।

स्वामी सुवासचन्द्र

स्वामी सुवासचन्द्र

कुनै कुरा नसोची, कुनै विचार नगरी, कुनै कुराको चाहना र कामना नगरी सिर्फ श्वासप्रश्वासको आउनेजाने प्रक्रियामा साक्षी भएर हेर्दै जाने हो भने एउटा क्षणमा पुगेर निर्विचार साक्षी भावलाई समात्न सकिन्छ । धर्मको प्रचार र रक्षार्थ भनी खर्चिला यज्ञयज्ञादि, तीर्थयात्रा, गोष्ठी, सम्मेलन आदि भइरहेकै छन् र पनि न मानवसंहार रोकिएको छ, न त धन विनाश थामिएको छ । आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अह‌ङ्कार र ईर्ष्या जागा अवस्थामा छ । कलुषित भाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता,  पापाचार, दुराचार, अनाचारजस्ता कुभावनाले गर्दा मानवता नै हराउन थालेको छ ।

आजका हामी ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्बरी भएर स्वावलम्बी तथा स्वनिर्भरसंस्कृतिका कुरा बिर्सी लुच्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु भइरहनु मानव सभ्यताकै दुर्भाग्य हो । मौखिक रूपमा हामीले सुमार्गमा फर्केका हुन सक्छौँ तर हाम्रो मन फर्कन सकेको छैन ।

मन फर्काउन चित्तशुद्धिको अभियानमा सरिक रहनु आवश्यक हुन्छ । यसका अनगिन्ती मार्गमध्ये ध्यान, योग, प्राणायमको मार्ग एक महत्त्वपूर्ण मार्ग हो । ओशो विचार र वर्तमान ध्यान भनेको ऊर्जा, उत्प्रेरणा, स्फुरण र उर्वरताको अर्को नाम हो । ध्यानसाधना पथमा डुबुल्की लगाउनेले जीवनमा असीम अनुभूति आर्जनका संयोगहरू प्राप्त गर्छ ।  ध्यान गर्ने पनि छुट्टै किसिमको विधान छ । कुनै कुरा नसोची, कुनै विचार नगरी, कुनै कुराको चाहना र कामना नगरी सिर्फ श्वासप्रश्वासको आउनेजाने प्रक्रियामा साक्षी भएर हेर्दै जाने हो भने एउटा क्षणमा पुगेर निर्विचार साक्षी भावलाई समात्न सकिन्छ ।

त्यसपछि भने असीमताको अनुभूति हुन थाल्छ । यसले विवेक र प्रज्ञा, समझ र संवेदना बढाउँछ । हिन्दू धर्मले सत्य, चेतना र आनन्दमय (सच्चिदानन्द) मानेको हामीभित्रको विशाल ऊर्जा जसलाई सक्रिय पार्न ध्यान, योग, प्रणायमको आवश्यकता पर्छ ।

चन्द्रमोहन जैन नामले बाल्यकालमा चिनिएका ओशो ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेश, जवलपुरमा जन्मेका र १९ जनवरी १९९० मा देहत्याग गर्न पुगेका ध्यान, योग, प्रणायम र सशक्त विचारबाट विश्वलाई नै बिउँझाउने एक दार्शनिक ओशोले मान्छेलाई सरल र सहज तवरले जिउने कला सिकाएका छन् । उनले हाँसोको माध्यमबाट मान्छेभित्रको आनन्दलाई उपयोग गर्न सकिने कुरा बताएका छन् । उनले परिस्थितिलाई होइन, मनस्थितिलाई बदल्न र जीवनदेखि डरले भागेर होइन, जागेर होससहितको कृत्यमा सरिक हुनुपर्ने जनाएका छन् । होस नै पुण्य र बेहोसी नै पाप भन्ने उनको दार्शनिकताको मूल पाटो हो । करिब ६ सय ५० पुस्तक ५० भन्दा बढी भाषामा प्रकाशन गरिसकेका ओशोले विविध विषयमा आफ्ना विचार प्रकट गरेका छन् ।

प्रस्तुत छन्, तीमध्ये वर्तमानलाई पक्रने केही विचार

राजनीति
राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरूमाथि विजय पाउनु छ, त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजयप्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन ।

जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ, त्यस दिन राजनीति खासमा राजनीति नै रहने छैन । राजनीतिको गुणवत्ता नै अर्कै हुनेछ । राजनीतिमा भङ्गवत्ता हुनेछ । मलाई लाग्छ, त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रूपान्तरण हुनेछ ।

गुरु
धर्मलाई नष्ट गरिदिए पण्डित एवं पुजारीले । ठिक के हो भन्ने जान्ने मान्छे अरूलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गरिदिन्छन् । त्यसैले कोही कसैको गुरु हुनु हुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन्, सङ्गठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही ।

देवता

‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै बिन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै बिन्दुमा त्यो सबै हुन्छ । तिमी पनि आफूलाई देवतामा परिणत गर्न सक्छौ ।’

मृत्यु

‘मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ, तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो ? मऱ्यो ? तन्नेरी थियौ, अब बुढो भयौ । त्यो तन्नेरी कहाँ मऱ्यो त ? जसरी मानिसको उमेरअनुसार रूप परिवर्तन हुँदै जान्छ, मृत्यु पनि रूप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ ? आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।’

क्रान्ति

‘अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुई-चार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।’

पाखण्ड

‘जो सहजताका साथ बाँच्छ, जसको कुनै आदर्श हुँदैन, जो आफ्नो स्वभावमा बाँच्छ, उसको जीवन पाखण्ड हुँदैन ।’

पुरुषस्त्री 

‘पुरुष एक प्रकारको सतह हो, जहाँ सक्रियता छ, आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो, जहाँ सबै मौन र शान्त छ तर ख्याल रहोस् पुरुषको जुन सक्रियता छ, स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु, स्त्री केन्द्रमा छ, पुरुष परिधिमा छ ।’

भोजनकला

‘भोजन गर्ने बेलामा तिमी भोजनलाई राम्ररी हेर, सुँघ । कुनै हतार नगर । भोजन ग्रहणलाई नै ध्यान बनाऊ । कसैले तिमीलाई पागल ठान्छन् भने ठान्न देऊ । खानालाई चारैतिरबाट ओल्टाईपल्टाई हेर । अनि आँखा बन्द गरेर त्यसलाई छोऊ । गालामा लगाऊ । हर प्रकारले खानाको महसुस गर । अनि थोरै मुखमा लेऊ र त्यसलाई धेरै बेरसम्म स्वाद लिई चपाऊ । त्यसको पूरापूरी स्वाद लेऊ । त्यस वेला तिमीलाई थोरै खाना पनि पर्याप्त हुन्छ ।’

प्रेम 

‘प्रेम स्वभाव हो, सम्बन्धको कुरा होइन । प्रेम हो स्टेट अफ माइन्ड । प्रेम हामीभित्रै छ । प्रेम हाम्रो स्वभाव हो, जसलाई खोज्न कहीँ जानु पर्दैन ।’

सेक्स

‘सेक्स परमात्माको शक्ति हो । आनन्दको द्वार हो । मैथुनको समयमा मन र विचार शून्य हुन्छ । सोही विचार शून्य अवस्था नै आनन्दको वर्षाको कारण हुँदो रहेछ र म भन्छु, जुन रसको अनुभूति सेक्सको समयमा हुन्छ, त्यो विनासेक्स पनि बर्सिन सक्छ । त्यो सूत्र हो ध्यान । त्यसैले म सेक्सको शत्रु हुँ तर मेरो शत्रुताको अर्थ के होइन भने म सेक्सको निन्दा गर्छु । मेरो शत्रुताको मतलब के हो भने म सेक्सलाई रूपान्तरण गर्न चाहन्छु । सेक्सको निन्दा गर्ने होइन, बरु काम ऊर्जालाई राममा परिणत गर्ने हो ।’

धर्म 

‘तिमीभित्र जुन चेतना छ, त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ, त्यही प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो, मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्मनिरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।’

हाँसो 

‘हाँसोले तिमीलाई निर्मल बनाउँछ । तिमीलाई जीवन्त, ऊर्जावान् तथा सिर्जनशील बनाउँछ । हाँसो मानिसले प्रकृतिबाट पाएको सबभन्दा गहिरो औषधि हो । हरेक बिहान जाग्नासाथ आँखा नखोलीकन पाँच मिनेट खित्का छाडेर हाँस । त्यसले पूरै दिन उत्सवमय बनाइदिनेछ ।’

गरिबी

‘गरिबी प्रकृतिको सिर्जना होइन । परमात्माले सम्राट् मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।’

मानिस

‘कुनै पनि मानिसमा उसका पहिलेका जन्महरूको स्मृति जगाउने हो भने थाहा हुन्छ, ऊ मानिस हुनुभन्दा पहिले गाई थियो आत्मिक विकासको हिसाबले । शारीरिक हिसाबले त ऊ बाँदर नै थियो । यसरी हेर्दा मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो ।’

जीवन 

‘जीवन नै परमात्मा हो र जीवन नै मोक्ष हो । जुन मानिस जिउने कला जान्दछ, जीवनको गहिराइमा तैरिन र उचाइमा पुग्न सक्छ । त्यस मानिसले कहिल्यै सोध्ने छैन कि जीवनको लक्ष्य के हो ? उसलाई त जीवन नै पर्याप्त हुनेछ ।