
सानो बेलामा हिन्दू संस्कार र सनातन विधिहरूलाई वाहियातको संज्ञा दिँदै कैयौँ रीतिरिवाज र परम्परालाई मनमनै अनादर गर्ने म हिजोआज आफ्ना पुर्खाहरूले अपनाउँदै आएका सनातन संस्कार र परम्परालाई सम्मान र आदरले मनमनै पूजा गर्ने भएकी छु । धार्मिक विधिहरूमा कानुनी नियम तथा सजाय नहुने भएकाले आफूलाई चित्त नबुझेका पाटाहरूलाई पर्गेल्ने स्वतन्त्रता सबैलाई हुनुपर्छ र हिजोआज पहिलेजस्तो धार्मिक निमयमा बस्न बाध्य बनाउने परम्परा बिस्तारै हराउँदै गइरहेकाले परिस्थिति सहज हुँदै गइरहेको छ । पहिला-पहिला तीज भन्नेबित्तिकै छोरीचेली माइती जाने, दर खाने र गाउँ, टोल, नदी धार्मिकस्थल तथा सार्वजनिक चौतारामा जम्मा भएर मौलिक रूपमा गाइने तीज गीतमा आफ्ना वेदनाहरू पोखेर मनाउने चलन थियो तर हिजोआज तीज पर्व सहर बजारको रमझममा बढी केन्द्रित भएको देखिन्छ भने तीजका गीतहरू पनि पहिला-पहिलाको भन्दा फरक शैलीमा आइरहेका छन् ।
हरेक वर्षझैँ यस वर्ष पनि हरितालिका तीज नजिकिँदै गर्दा नेपाली नारीहरूको रमझम र फोटो सेसनले सामाजिक सञ्जालहरू रङ्गिनु कुनै नौलो विषय भने होइन तर पर्वको नाममा गरिने देखासिखी र होडबाजीले हाम्रो मौलिकतालाई कत्तिको जोगाएको छ भन्ने प्रश्नले बारम्बार मनलाई घचघच्याइरहन्छ ।

शुभद्रा भण्डारी (अष्ट्रिया)
मेरो बाल्यावस्था हिन्दू परिवारको परम्परा, संस्कार र रीतिरिवाजमा हुर्कदै गर्दा बौद्ध परम्परालाई पनि नजिकबाट नियाल्ने अवसर मिलेको थियो । सानैदेखि अंहिसाका प्रतिक, शान्तिका अग्रदुत भगवान् बुद्धप्रति मेरो अलिक आस्था बढी रहन्थ्यो त्यसैले पनि म हिन्दू र बौद्ध मन्दिरहरूमा उत्तिकै आस्थाको दियो जलाउने गर्थेँ । परिस्थितिले मेरो जीवनको लामो समय यहुदी मुलुक इजरायलमा बिताउने अवसर दिलायो र केही वर्षदेखि क्रिस्चियनहरूको बाहुल्यता रहेको देश अष्ट्रियामा रहेर क्रिस्चियन परम्परालाई नजिकबाट नियालिरहेकी छु, सोही क्रममा केही क्रिस्चियन, मुस्लिम र अफ्रिकन मिल्ने साथीहरू समेत बनेका छन् । कुनै पनि देशको परम्परा, रीतिरिवाज र चाडपर्वहरू त्यहाँका मानिसहरूले मान्ने धर्मसँग जोडिएको हुँदो रहेछ अनि हिन्दू र बौद्धधर्मावलम्बीहरूको जस्तै हरेक पर्वहरूको महत्त्व र परम्पराहरू परापूर्वकालिन मान्यताहरूसँग सम्बन्धित हुँदो रहेछ । चाहे यहुदीहरूको तोरा, क्रिस्चियनहरूको बाइबल, इस्लामहरूको कुरान, बौद्धहरूको त्रिपिटक या हिन्दूहरूको गीता वा रामायण होस्, हरेक धार्मिक शास्त्रहरूमा अहिलेको पुस्तालाई असान्दर्भिक लाग्ने रीतिरिवाजहरू हुँदा रहेछन्, अहिलेको नेपाली पुस्ताले जस्तै यहुदीहरूले या क्राइस्टहरूले पनि आफ्नो संस्कार र रीतिरिवाजप्रति अविश्वास राख्दा रहेछन् तर आफ्नो धर्म, संस्कार र संस्कृतिको विरोध गरेर समाजमा नकारात्मक गतिविधिहरू फैलाउने, धार्मिक पुस्तकहरू जलाउने, धार्मिक गतिविधिहरू बन्द गराउने अथवा सामाजिक सञ्जालमा गालीगलौच गर्ने गरेको कतै देखिँदैन ।
नेपाली नारीहरूको महान् पर्व तीजको विषयलाई लिएर एकातिर अहिले समाजमा थुप्रै बहसहरू चलेको देखिन्छ तर अर्कातिर तीज धार्मिक भन्दा पनि सांस्कृतिक पर्वका रूपमा रूपान्तरित भइरहेको छ । नेपालमा मात्र नभएर प्रवासमा वस्ने नेपाली महिलाहरू प्रायःजसो सबैले तीज पर्व मनाउन थालेका छन् । हिजोआज विश्वबजारले तीज पर्व नेपाली नारीहरूको सांस्कृतिक पहिचानको रूपमा बुझ्न थालिएको पाइन्छ ।
सुनको मूल्य बढेर चुलिएका बेला नेपाली नारीहरूले लगाउने गरगहना देखेर विदेशीहरू पनि दङ्ग पर्दै जिब्रो काढ्छन् । सुनको महँगाइ चुलिएसँगै ज्यालामजदुरी गरेर दैनिकी गुजार्नेहरूका लागि तीजमा सुनका गरगहना फेर्नु एकादेशको कथाझैँ भएको छ । नेपाली सेलिब्रेटीहरू मात्र होइन हिजोआज मध्यम वर्गीय महिलाहरू पनि महिनौँ अगाडिदेखि तीजका गरगहना र महँगा पहिरनमा सजिएर पार्टी प्यालेस र डिस्कोहरूमा ह्विस्कीको चुस्की तानेर, आफ्नो पहिरन र शृङ्गारलाई सर्वोत्कृष्ट ठानेर पर्वको नाममा रमाइरहेका हुन्छन् । आफ्नै कमाइमा रमाउनेहरूभन्दा पनि श्रीमान्को कमाइमा रमाउनेहरूको होडबाजी अझ रोमाञ्चक देखिन्छ । पर्वको नाममा लाखौँ खर्चिनेहरू पीडामा छटपटाउँदै सहयोगका लागि हारगुहार गर्नेहरूका लागि, भिखारी, खाते भनेर ५० रुपियाँसमेत दिँदैनन् । के यो अहंताको पराकाष्ठ होइन ? अहिलेका आमाहरूले यस्तै व्यवहार देखाउने हो भने भावी पुस्ताहरूले के सिक्लान् भन्ने गम्भीर प्रश्नले उत्तिकै पोलिरहन्छ । के महँगा गहना र पहिरनले मात्र नारीहरूलाई सुन्दर देखाउने हो ? होइन भने शिक्षित, पढेलेखेका र सेलिब्रेटी भइसकेका नारीहरूले नै यसको सुरुवात गर्न जरुरी देखिन्छ । एउटा सुन्दर नारी त्यो हो जसको मनमा कुनै अहंता, ईर्ष्या र देखासिखी हुँदैन, आफ्नो हैसियतअनुसार सुनका गरगहनाविना नै पनि परिवारको सुन्दर व्यवस्थापन गर्छिन् अनी मनभरि सेवाभाव राखेर आफूसँग भएको चिज नहुनेहरूलाई बाँडीचुँडी रमाउछिन् । बाहिरी पहिरन जस्तोसुकै भए पनि सफा दिलले खुलेर हाँस्ने, नाच्ने र रमाउने नारीहरूलाई देखासिखी या महँगा पहिरनको जरुरत नै पर्दैन । पर्वको नाममा विदेशबाट नेपाल भित्रिने सामग्रीहरूले के साँच्चै नेपालीहरूलाई सक्षम बनाएको छ त ? होइन भने नेपालीहरू स्वदेशी उत्पादनमा किन रमाउन सकिरहेका छैनन् ?
हो परिवर्तनलाई रोक्न सकिँदैन तर परिवर्तन र पर्वहरूको बहानामा कतै विकृति त मौलाइरहेको छैन ? विकसित राष्ट्रहरूका महिलाहरूलाई हेऱ्यौँ भने सक्षम भएर पनि सुन, गरगहना र महँगो पहिरनविना नै निर्धक्क रमाइरहेका हुन्छन् । उनीहरूको विवाह, चाडपर्व या पार्टीहरू हाम्रो भन्दा निकै कम खर्चिलो हुन्छ । विश्वबजारमा नेपालीहरूले सस्तो मूल्यमा श्रम बेचिरहनुपरेको अवस्था, भ्रष्टाचारले चुर्लुम्म डुबेको देशको लथालिङ्गे परिस्थिति अनि बेरोजगारीले थला पारेको युवा पुस्ताको कहालीलाग्दो कथा व्यथा र राजनीतिक परिवेशले निम्त्याएको आम जनमानसको नैराश्यलाई महँगा गहना र उत्ताउलो रूपमा मनाइने चाडपर्वले सान्त्वना दिन सक्दै सक्दैन त्यसैले समाज र देश विकाशका लागि सर्वप्रथम मानसिकता परिवर्तन हुनु जरुरी छ । एकपटक सोचौँ त, विभिन्न देशहरूबाट लखेटिएका यहुदीहरूले ६०-६५ वर्षकै इतिहासमा कसरी एकजुट भएर विकसित राष्ट्रको सूचीमा पर्ने गरी इजरायल भन्ने देश बनाए ? दोस्रो विश्व युद्धमा थला परेको युरोप आज कसरी शिर ठाडो पारेर उभिएको छ ? यही समाजले बनाएको परम्परा, रीतिरिवाज र संस्कारहरू परिस्थितिअनुसार बदलिँदै जानु समयको माग पनि हुन सक्छ तर पर्वको पूरै स्वरूप बदलेर कुन पर्व मनाउँदै छौ हामी ? एकअर्काको परम्परालाई होच्याएर, सामाजिक सञ्जालमा गालीगलौच गरेर कुन स्वतन्त्रताको उपयोग गर्दै छौँ हामी ? सबैले सबैको अस्तित्व स्वीकार गर्न सक्यौँ भने मात्र समतामूलक समाजको निर्माण हुन सक्छ भन्ने कुरा आम नेपाली समुदायले बुझ्नु अत्यन्त जरुरी छ नत्र खुट्टातानीको खेलमै देश अझै बर्सौँ पछि पर्न सक्छ ।
सुनका गरगहना र महँगा पहिरनले महिलालाई कहीँकतै सक्षम बनाउँदैन, बरु अहंताको खेती फस्टाउला त्यसैले धार्मिक स्वतन्त्रताको उपयोग गर्दै आफ्नो मन रमाउने गरी मौलिक रूपमै चाडपर्व मनाउदा हाम्रो संस्कृतिको संरक्षण र संवर्धनमा अझ टेवा पुग्ला । एउटा वर्गमात्र माथि पुगेर कहिल्यै देश विकास हुँदैन भन्ने कुरा माथिल्ला वर्गकाहरूले बुझ्नु जरुरी छ । जबसम्म एउटा वर्ग मोजमस्ती र भोज भतेरमै करोडौँ सिध्याउने अनि अर्को चाहिँ उपचारविना छटपटिँदै अस्पतालको गेटबाहिरै प्राण त्याग्नुपर्ने अवस्था आइरहन्छ तबसम्म विश्वसामु देशको शिर माथि उठ्न सक्दैन । तीज मन पराउनुहुने समस्त महानुभावहरूमा हरितालिका तीजको हार्दिक शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 





