सानैदेखि लामाछोटा कथाहरू पढ्थेँ । आफ्नो कोर्षका पुस्तकबाहेक अरु पढने त्यति अवसर पाइँदैनथ्यो । कहिलेकाहीँ दाजुहरूले ल्याएका किताब खुसुक्क झिकेर पढ्थेँ । पढ्दाको आनन्दभन्दा पनि लुकेर पढिरहेको डरको हावाले हिर्काउँदै घुमिरहन्थ्यो तर कथाले तान्दै लगेपछि छाड्न मन लाग्दैनथ्यो । घरभित्रका र बाहिरका कामहरूले गर्दा पढ्ने समय पनि उति मिल्दैनथ्यो । बेलुकाको धन्दापात सकेपछि मसीको बट्टाको सिसीको बिर्को छेडेर बनाइएको कुपीको उज्यालोमा पढिन्थ्यो । कुपीको उज्यालोसँगै निस्केको कालो र खिहिर्याउँदो धुवाँले आँखा पोल्ने र नाकमा कालो भरिने गर्थ्यो तर त्यस बेला रातिको लागि उज्यालोको अरू कुनै विकल्प थिएन । होमवर्क गर्दागर्दै पनि तिनै कथाका पात्रहरूको सम्झना आइरहन्थ्यो । स्कुलको होमवर्क सकेपछि बाँकी कथा पढ्ने हतार हुन्थ्यो । राति अबेलासम्म जागै बसेर पनि पढ्थेँ । आमाले बत्ती चाँडो निभाऊ र सुत भनेर पटक-पटक भनिरहँदा पनि अटेर गरेर पढिरहन्थेँ । कहिलेकाहीँ त सिरकभित्र टर्च लाईट बालेर समेत पढ्थेँ ।
एक दिन पढ्दापढ्दै भुसुक्कै निदाएछु । सिरानीमा राखेको कुपी ढल्किएछ र तेल रसाएर लुगा बल्न थालेछ । सँगै सुतेकी दिदी तातो भएपछि चिच्याएर ब्युँझिइन् । म निन्द्रा कि तन्द्रामा उठेकीले के भयो भनेर पत्तै पाएनँ । आगो बलेको मात्र हेरिरहे । अर्को ओच्छ्यानमा सुतेकी आमाले आत्तिँदै उठेर पानी खन्याई आगो निभाउनुभयो । मेरो कथा पढ्ने रहरले झन्डै घर नजलेको ।
अरुका आँखा छलेर नयाँ पुस्तक देख्नेबित्तिकै पढ्ने बानी थियो । त्यति बेला पढेका किताबहरू सबैका नामहरू सम्झनामा छैनन् तैपनि रूपमति, नासो, बसाइँ, मुनामदन, नारी बन्धन र मुक्ति, गुलबकावलीको कथा, मधुमालतीको कथा आदि र अन्य दन्त्य कथाहरू पढेको सम्झना छ । ती भित्रका पात्रहरूका दुःख र पीडाले भावुक बनाइरहन्थ्यो । चिताको ज्वाला भन्ने किताबको कथावस्तुले अहिलेसम्म पनि प्रेमिल मस्तिष्कलाई चिमोटिरहन्छ ।
यति राम्रा कृतिहरू पढिरहँदा यस्तो लेख्ने लेखक कस्ता होलान् ? कसरी लेखे होलान् ? अनुत्तरित प्रश्न घुमिरहन्थ्यो दिमागमा । मजस्तै पाठकले नै मेहनत र अभ्यास अनि प्रयास गरेर लेखेको होला भन्ने पनि लाग्दैनथ्यो । यस्तो लेख्ने चाहिँ लेखक नै भएर जन्मिएका होलान् जस्तो लाग्थ्यो । आफ्ना कक्षाका किताबका कविता कथाहरू ध्यान दिएर पढ्थेँ । कण्ठ भैहाल्थ्यो । पुस्तकका सुरुका पानामा मुद्रण- सानो ठिमी भक्तपुर लेखिएको देख्दा झन् अचम्म लाग्थ्यो । अरूका जीवनी पढ्दा पनि ठुला मान्छेको मात्र जीवनी लेखिन्छ होला र लेख्ने काम विशेष मान्छेले मात्र गर्न सक्छन् जास्तो लाग्थ्यो ।
खेतबारीमा काम गर्दा ठुल्ठुलो स्वरमा गीत गाउथेँ । रेडियोबाट सुनेका हुन वा अरूको नक्कल गरेका, राजनीतिका हुन वा गाउँले भाकाका । कुनै धक लाग्दैनथ्यो । रहर भए पनि पछिल्लो समयमा पूरा गर्न सकिएन । त्यतिमै सीमित रह्यो । विदेशी भूमिमा दुःखसँग झुत्ति खेल्दाखेल्दै पीडा पोख्ने सहारा बन्थे शब्दहरू । तिनै शब्दहरूको सँगालो केही कविता बने हुन तर आफैँलाई चित्त बुझ्दैनथ्यो । अरूलाई देखाउन पनि लाज लाग्थ्यो । केही रचनाहरू साहित्यिक समारोहहरूमा वाचन पनि गरेँ । सोचेको भन्दा बढी प्रशंसाहरू पनि बटुलेँ । आफ्नै जीवन भोगाइका कुराहरूलाई शब्दसुमनहरू गासेर कविताको माला बनाएँ । त्यसलाई त्यत्तिकै सिरानीमुनि राखेर मात्र मन मानेन । आफन्तको मायाँ र न्यास्रोले थिचेका पीडाले भरिएको कवितासङ्ग्रह बेलायत छँदै निकालेँ, जसको नाम दुई थोपा आँसु थियो । यसबाट मलाई धेरै हौसला मिल्यो ।
बिस्तारै कवितामा भन्दा आफ्ना कुरा व्यक्त गर्न गद्यमा बढी विस्तार गरी लेख्न सकिन्छ जस्तो लाग्न थाल्यो । आफ्ना बाल्यकालीन अनुभवहरू लेख्दै गएँ । कवितामा भन्दा यो लेखनमा मैले आफ्ना कुरा बढी व्यक्त गर्न सकेजस्तो भयो । पहिले-पहिले त संस्मरण नै लेखे । केही पत्रिकामा छापिन थाले । छापाहरूमा आफ्नो नाम देख्दा मन लोभियो । झन् लेखिरहन थालेँ । अनि ती लेखहरूलाई खीर नामक संस्मरण कृतिका रूपमा प्रकाशित गरियो ।
अन्य विधाका कृति पनि पढ्ने बानी लाग्दै गयो । तिनमा पनि उपन्यासले बढी तान्न थाल्यो । त्यस्ता उपन्यासहरू पढ्दा म आफैँलाई त्यहाँको पात्रका रूपमा पाउथेँ । बिस्तारै आफैँलाई पनि उपन्यास लेख्न मन लाग्न थाल्यो । अनि उपन्यासको एउटा थिम बन्यो । लेख्दै गएँ लामो कथानक जस्तो तयार हुन थाल्यो । पात्र र तिनका चरित्रहरूले विविध प्रतिक्रिया दिन थाले । कथाभित्र अनेक घटनाहरू ब्युँझिन थाले । त्यही सिलसिलामा यो उपन्यास तयार हुन गएको हो ।
यो उपन्यासलेखनको थालनी निक्कै अघि गरेकी थिएँ । कामको व्यस्तताबाट जति समय फुर्सद हुन्थ्यो म ल्यापटपलाई काखमा राखिहाल्थेँ । कहिले विदेश कहिले स्वदेश ल्यापटप बोकेर हिँड्दाहिँडदै धेरै समय बित्यो । यो कृतिको थिम सन् २०१० मा बेलायतमा हुँदै तयार गरेकी थिएँ तर यो लेख्न थाल्दा म सन् २०१४ मा अमेरिका पुगिसकेकी थिएँ । मनले जति हतार गरे पनि कामको व्यस्तताले गर्दा हात भने त्यति जाँगरिला हुन पाएनन् ।
बितेर गएका प्रतिभाहरूको नाम बारम्बार समाजको स्मृतिमा आइरहेको देख्दा लाग्थ्यो मरेर गए पनि बचाइराख्ने चिज भनेको त आफूले लेखेर छोडेका अनुभूति र अनुभव नै हुने रहेछन् । लेखिरहे आफूभित्रका अन्तरकुन्तरका कुण्ठा पनि पखालिएर जाने रहेछन् । ठुलै लेखक हुन नसके पनि निराशाबाट मुक्त हुने यो पनि एउटा बाटो हुने रहेछ जस्तो लागेर लेख्न सुरु गरेँ ।
भन्न त सृजनालाई पनि सन्तानका रूपमा राखिन्छ तर सन्तान भनेको आफूले सोचेर कल्पना गरेर बनाएको चिज होइन । सन्तान गर्भमा आइसकेपछि यहाँनेर बिग्रिएछ फेरि बनाउँछु भनेर भत्काएर बनाउन सम्भव हुँदैन तर सृजनालाई पटक-पटक सच्याएर सोचेको जस्तो बनाउन सकिन्छ । यसलाई पनि मैले धेरै पल्ट हेरेँ । अरू लेखकहरूका रायसल्लाह पनि जोरेँ ।
खासगरी यो सामग्री लेख्दै गर्दा यसको स्वरूप कस्तो हुन्छ, यसलाई के भनेर न्वारान गरौँला कौतुहलको विषय बनेको थियो । पछि कथाले अर्कै रूप लिँदै गएपछि नाम पनि नयाँ जुऱ्यो ‘अतृप्ति’ र विधा पनि छुट्टियो उपन्यास भएर । मलाई लाग्छ यस उपन्यासको कथावस्तु अत्यन्तै सरल र यथार्थ छ । हाम्रो समाज, घर, गाउँमा घट्ने, सोच्दा सामान्य लाग्ने तर गम्भीर सन्दर्भहरूमाथिको मनोवैज्ञानिक दृष्टि यसमा राख्ने प्रयत्न गरेकी छु ।
वास्तवमा सृष्टिको सुरुवातदेखि नै पुरुष र स्त्रीबीच एक आपसको समागमले नै सन्तान जन्मने हुन् । यो प्रक्रिया हुनका लागि उनीहरू एकअर्कामा आकर्षित हुन पऱ्यो । प्रेम हुन पऱ्यो । उनीहरूको आपसी सहमतिमा संसर्ग हुनुपऱ्यो अनि सन्तान उत्पादन हुन्छ । यो असाध्यै सरल अनि व्यक्तिगत कुरा पनि हो ।
यो उपन्यास किशोर उमेरका केटाकेटीभित्र कसरी प्रेमभाव उत्पन्न हुन्छ र त्यो कसरी सम्प्रेषित हुन्छ अनि आफूले चाहेको र मनले मागेको मायाँ नपाउँदा मन कसरी दुःखित हुन्छ भन्ने मनोदशालाई समेट्न खोजेकी छु । शरीरको विकास हुँदै जाँदा हुने विपरीत लिङ्गीय आर्कषणसँगै उत्पन्न हुने मनोभाव र तिनको अव्यक्त अनुभूतिका कारण उत्पन्न हुने कुण्ठाको कुरा गरेकी छु । भर्खर-भर्खर बैँस चढ्दै गएका केटाकेटीमध्ये केटाले जत्ति सजिलो र हलुको रूपमा प्रेमलाई लिएको हुन्छ, त्योभन्दा धेरै गहिरो गरी केटीले सोचेकी हुन्छे ।
केटाले कुनै राम्री केटी देख्नासाथ जत्ति छिटो प्रतिक्रिया गर्छ त्यही भाव केटीभित्र भए पनि उसले व्यक्त गर्न सक्तिन । केटीले कुनै एउटा केटा रोजेर प्रेमको फूल आफ्नो मनमा रोप्न थाली भने उसका लागि त्यो प्रेम सदाकालका लागि हुन्छ । उसले दोस्रो प्रेम गर्नका लागि पहिलो प्रेम थालेकी हुन्न तर त्यही प्रेमभावमा केटो त्यही हदको सीमासम्म पुगिरहेको हुँदैन । ऊसँग छनोटका अनेक सम्भावनाहरू सदा रहन्छन् ।
त्यसो त लोग्ने मान्छेका मनमा अरू महिलाप्रति उत्पन्न हुने जस्तो भाव हुन्छ, त्यस्तै भाव कुनै पुरुषलाई देख्दा महिलाभित्र पनि हुन्छ तर त्यो भावलाई पुरुषले जति सजिलै व्यक्त गर्न सक्छन् महिलाले मौनतामै सुरक्षित राख्छन् । कोही मानिस देख्दै मन पर्नु कुनै अपराध होइन तर समाज महिलालाई त्यसरी मन पराउन दिँदैन ।
यस उपन्यासभित्र यस्तै तनाव, द्वन्द्व र अतृप्तिका अवस्थाहरू छन् । मैले चाहेजस्तै त बन्न सकेन होला । पाठककै जिम्मामा बाँकी कुरा छोडेकी छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।