वेदमा एउटा महावाक्य छ— ‘सर्व खलु इदं ब्रह्म ।’ सम्पूर्ण संसार, चराचर जगत् ब्रह्म हो । परब्रह्मको अंश हो । हामी पनि त्यही ब्रह्मको अंश हौँ । हामीभित्र पनि त्यही परब्रह्म विराजमान छ । त्यसैले ‘म’ भन्ने कुनै वस्तु छैन, छ त केवल ब्रह्म । त्यही ब्रह्म आत्मा हो, परमात्मा हो । ‘म’ भन्ने भाव अहङ्कार हो, इगो हो । जबसम्म यो अहङ्कार मानवभित्र छ त्यति ऊ परमात्माबाट टाढा छ । किनकि मानिस र परमात्माबीच ‘म’ पर्खाल बनेर उभिएको छ । जुनदिन यो पर्खाल भत्कियो त्यो दिन मानिसले परमात्माको धारा समायो । परमात्मामा विलीन भयो । जुन दिन ‘म’ नामको अहङ्कार, इगो हराएर जान्छ त्यो दिन यो ज्ञान हुन्छ कि परमात्माबाहेक अरू केही छैन । जे छ, जे हो सबै परमात्मा हो । यो सृष्टि, यो जगत्, यो संसार सबै परमात्मा हो । यो ‘म’को भावले, अहङ्कारले हामीलाई सबैबाट टाढा बनाइरहेछ । यतिसम्म कि परमात्माबाट पनि ।

‘म’ ले तिमी तिमी हौ र म म हुँ भन्ने घोषणा गराइदिन्छ । दुवैका बीचमा दूरी छ । एउटा निश्चित दूरी ‘म’ र ‘तिमी’ को । जबसम्म ‘म’ भित्र बसेको छ तबसम्म अर्को भन्ने भाव नष्ट हुँदैन । यही ‘म’ ले परमात्मालाई अर्को बनाउन ठूलो भूमिका खेलेको छ । परमात्मा खोज्न, परमात्मा भेट्न र परमात्माको अनुभूतिमा रम्न कहीँ गइरहनु पर्दैन । कसैसँग बिन्ती गरिरहनु पर्दैन, कसैलाई पुकारिरहनु पर्दैन र कोही त्यस्तो गुरु छैन जसले परमात्मा यही हो भनेर देखाउन सकोस् । परमात्मा कहीँ बाहिरको दुनियाँमा छैनन् । कतै आकाशमाथि आसन जमाएर बसेका छैनन् । परमात्मा स्वयंभित्र छन् । परमात्मा आफैँभित्र छन् । केवल एउटा निश्चित दूरी बनेको छ स्वयम् र परमात्माबीचमा; त्यो हो ‘म’ को दूरी । म ‘म’ हुँ भन्ने भावले मान्छेलाई परमात्माबाट अलग गराएको छ ।

सङ्कलक- विजय सङ्ग्रौला

शास्त्रमा एउटा अद्भुत वचन छ । भनेको छ ‘दि अदर इज हेल ।’ त्यो जुन अर्को भन्ने भाव छ त्यो नै नर्क हो तर शास्त्रले भनेको छैन कि ‘ह्वाई दि अदर इज अदर ?’ त्यो अर्को अर्को किन छ ? ‘म’ भएकै कारण त्यो दोस्रो छ । जबसम्म म ‘म’ छु तबसम्म दुनियाँमा हरेक कुरा अरू हो, अन्य हो, भिन्न हो । यही म ‘म’ हुँ भन्ने अहंको भावले हामीलाई परमात्मा भिन्न हो भन्ने भ्रमको सिर्जना गरिदिएको छ । परमात्मा अर्को होइन, अरू होइन । परमात्मा भिन्न छैन, टाढा छैन । भएको के छ भने- ‘म’ भन्ने अहंकारले परमात्मालाई जीवनबाट भिन्न, टाढा र अर्को कुनै वस्तु बनाइदिएको छ । जब थाहा हुन्छ यो ‘म’ को अनुभव भ्रम हो, फगत अहङ्कारको भाव हो भनेर; त्यहाँ म र अर्काबीच फरक रहँदैन । तब सारा जगत्, सारा सृष्टि एकमा परिणत हुन्छ । यस्तै अनुभव म र समस्तका बीचमा घटित भयो भने, म विलीन भयो भने, सर्वमा म एकाकार भयो भने यो अनुभूति परमात्मा हो ।

हामीले देखेका छौँ, कुनै मानिस एउटा मसाल हातमा लिएर तीव्र गतिमा घुमाउन थाल्यो भने एउटा फायर सर्कल, अग्निवृत्त बन्छ । आगाको एउटा गोलो घेरा देखिन थाल्छ तर त्यो गोलो, वृत्ताकार घेरा कहीँ छैन, सिर्फ एउटा मसाल छ जुन तीव्रताका साथ घुमिरहेछ । नजिक गएर हेर्ने हो भने त्यो गोलो घेरा हराउँछ र मसालमात्र देखिन्छ तर तीव्र गतिमा घुमाइएको कारणले गर्दा मसाल आगाको घेराजस्तो देखिन्छ । टाढाबाट हेर्दा वास्तवमै अग्निवृत्त नै छ जस्तो देखिन्छ । नजिक गएर चिन्ने र बुझ्ने प्रयास गर्ने हो भने मात्र थाहा हुन्छ कि अग्निवृत्त भ्रम हो, झूट हो । त्यो त जोडसँग घुमिरहेको मसाल हो । यसरी नै यदि हामी भित्र नियालेर, एकदम नजिक गएर हेर्ने हो भने थाहा हुन्छ कि ‘म’ विल्कुल झूट हो । तीव्र गतिमा चेतना घुम्ने भएका कारणले ‘म’ को भ्रम जन्मिएको हो, जसरी मसाल तीव्र गतिमा घुमेका कारण अग्निवृत्तको सृजना भएको हो । यो एक वैज्ञानिक सत्य हो ।

अतः ‘म’ भन्ने कुरा जुन शब्दमा छ, त्यस्तो यथार्थतः केही पनि हुँदैन । ‘म’ को कुनै रियल अस्तित्व छैन । गहिरिएर सोच्ने हो भने, साँचो अर्थमा ‘म’ भनेको के हो ? मेरो हात हो वा खुट्टा हो वा मस्तिष्क हो वा हृदय हो ? के हो मेरो म ? एकछिन शान्त भएर भित्र खोज्न जाने हो भने, कहाँ छ म ? कुन कुरा हो मेरो म ? भित्र कुनै म खोजेर भेटिँदैन । यो अचम्मको कुरा हो । जति गहिराइमा खोज्यो, त्यति नै भित्र शून्यता भेट्टाइन्छ । त्यहाँ कुनै ‘आई’ छैन, कुनै ‘म’ छैन, त्यहाँ कुनै इगो, अहङ्कार भन्ने जस्तो चिज नै छैन ।

एउटा प्रसङ्ग अति मेल खाने छ यहाँ । एकदम स्थितिजन्य । एकपटक सम्राट् मिलिन्दले नागसेन नामका भिक्षुलाई दरबारमा आउने निम्तो दिएका थिए । निम्तो लिएर एक राजदूत नागसेनलाई भेट्न गए । नागसेनले भने-
“म अवश्य आउँछु तर भिक्षु नागसेन भन्ने कोही पनि छैन भन्ने कुरा म पहिले नै भन्न चाहन्छु । यो एउटा नाम हो, मात्र कामचलाउ नाम । म अवश्य आउँछु तर यस्तो मानिस कतै छैन ।”

राजदूतले गएर सम्राट्‌लाई “कस्तो अचम्मको मान्छे रहेछ, म आउँछु त भन्यो तर ध्यान रहोस् कि भिक्षु नागसेन भन्ने कोही छैन, यो एउटा कामचलाउ नाम हो” भनेर नागसेनले भन्यो भन्दै सुनाए । सम्राट्‌ले भने, “अचम्मको कुरा छ । जब उसले आउँछु भन्यो भने अवश्य आउँछ ।”

नभन्दै ऊ आयो पनि । एउटा रथमा बसेर । सम्राट्‌ले उसलाई भव्य स्वागत गर्दै भने, “भिक्षु नागसेन म तपाईँलाई स्वागत गर्दछु ।”
ऊ हाँस्न थाल्यो । उसले भन्यो, “स्वागत स्वीकार गर्छु तर याद रहोस् भिक्षु नागसेन भन्ने कोही छैन ।”

सम्राट्‌ले भने, “धेरै अगाडिको कुरा गर्नुहुन्छ तपाईँ । यदि तपाईँ होइन भने को हो यो ? यहाँ को आएको ? कसले स्वागत स्वीकार गरिरहेको छ ? कसले उत्तर दिइरहेको छ ?”

नागसेन मोडियो र भन्यो, “सम्राट्‌ ! यो रथ हो जसमा म आएँ ?” सम्राट्‌ले भने, “हो, यो रथ हो ।” नागसेनले घोडालाई निकालेर अलग गरिदिन भन्यो । घोडा अलग गरियो । अब उसले सोध्यो, “के यो घोडा रथ हो ?” सम्राट्‌ले भने, “घोडा कसरी रथ हुन सक्छ? होइन ।” घोडा अलग गरिएपछि रथको अगाडिपट्टि बाँधिएको डन्डा झिकियो । उसले सोध्यो, “के यो रथ हो ?” सम्राट्‌ले भने, “डन्डा कसरी रथ हुन सक्छ ? होइन ।”

पछाडिको भाग निकाल्न लगाएर सोधियो, “के यो रथ हो?” “होइन”, सम्राट्‌ले भने । अरू एक-एक भाग रथबाट निकालिँदै गयो । त्यो एक-एक भागलाई “होइन, यो रथ होइन” भन्दै गए सम्राट्‌ । अन्तिममा केही बाँकी रहेन ।

भिक्षु नागसेनले सोध्यो, “रथ कहाँ छ अब ? जति सामान मैले निकालेर सोधे पनि तपाईँले केहीमा पनि रथ छैन भन्नुभयो । यो पनि होइन, त्यो पनि होइन । अब रथ कहाँ छ ?”
सम्राट्‌ छक्क परेर उठे । फर्केर हेर्दा रथ बाँकी रहेको पनि थिएन र जुन चिज निकालिएको थियो, त्यो रथ थिएन ।

तब त्यो भिक्षुले भन्यो, “बुझ्नुभयो तपाईँले ? रथ एउटा जोड हो । रथ केही चिजको सङ्ग्रह थियो । रथ आफैँमा केही पनि होइन, कुनै इगो, कुनै अहङ्कार नै छैन । रथ केवल एउटा जोड हो ।”

त्यसैले खोजौँ हामी—कहाँ छ मेरो ‘म’ ? र हामी पाउनेछौँ— म कहिल्यै थिएन, अनन्त शक्तिको जोड मात्र थियो । वास्तवमा ‘म’ भन्ने जस्तो केही छैन । यदि म नै छैन भने झूटो अहम् किन ?

एउटा-एउटा अङ्गका बारेमा सोच्दै जाने हो भने एउटा-एउटा अङ्ग समाप्त हुँदै जान्छ । पछाडि शून्यमात्र बाँकी रहन्छ । त्यो शून्य ‘म’ होइन, त्यो शून्य मभित्रको ‘म’ होइन, त्यो शून्य परमात्मा हो ।

यहाँ बुझ्नुपर्ने एउटै कुरा छ, त्यो हो- सारा मानिसहरू एउटै भ्रममा बाँचिरहेछन्—तीव्रसँग घुमिरहेको चेतनाको कारणले प्रकट भएको ‘म’ को भ्रममा । जुन चिजको अस्तित्व नै छैन त्यही चिजको भ्रम फैलिएको छ मानव जगत्‌मा । यही भ्रमले मानिसलाई त्यो शून्यसम्म पुग्न दिइरहेको छैन जहाँ परमात्माको अनुभूति छ । ‘म’ को अहङ्कारले हामीलाई आफूभित्र प्रवेश गर्न निषेध गरेको छ । जुन दिन हामी स्वयंभित्र प्रवेश गर्छौँ र यो ‘म’ भित्रको भ्रम जाल तोड्छौँ, त्यो दिन हामी परमात्माको विराट्‌ रूपमा लीन हुन्छौँ ।

एउटा कुरा थाहा हुन जरुरी छ कि हाम्रो जीवनको सबै भ्रम भनेको तीव्रताको भ्रम हो । भित्ता ठोस देखिन्छ, खुट्टाको तल ढुङ्गा छ; कति साफ र ठोस छ तर वैज्ञानिक अहिले भन्छन् कि ढुङ्गाजस्तो कुनै ठोस चिज नै छन् । तब त हामी एकदम ठूलो मुस्किलमा पर्छौँ । हामीलाई यो पनि थाहा छ कि वैज्ञानिक जति पदार्थ (matter) को नजिक गयो, उति नै पदार्थ विलीन भयो । जबसम्म टाढा थियो, सोच्थ्यो कि पदार्थ हो र सबैभन्दा धेरै घोषणा वैज्ञानिक नै गर्थ्यो कि पदार्थ नै सत्य हो । तर अब वैज्ञानिकहरू नै भन्न थाले कि पदार्थ त छँदै छैन । तीव्र घुमिरहेका विद्युत्‌कण यति तीव्र वेगमा घुमिरहेछन् कि तिनीहरूको तीव्रताको कारणले ठोसपनको भ्रम पैदा भइरहेछ । ठोसपन कहीँ पनि छैन । यही विद्युत्‌कण, जुन ऊर्जा हो, यो यति तीव्रतामा घुमिरहेछ कि यसले ठोसपनको रूप दिइरहेछ ।

पदार्थमा उति नै तीव्र गतिले घुमिरहेछन् यसका कण र कण पदार्थ होइनन् । कण केवल विद्युत् ऊर्जा हो, इलेक्ट्रिक इनर्जी, जुन घुमिरहेछन् तीव्र वेगसँग । घुमिरहेका कारण ठोसपनको भाव सृजना गरिरहेछन् । सारा पदार्थ केवल तीव्र गतिले घुमिरहेको ऊर्जाको फल हो । देखिन्छ, तर कहीँ छैन । ठीक यसरी नै चित्तको ऊर्जा, इनर्जी अफ कन्ससनेस, यति तीव्र घुमिरहेछ कि ‘म’ को भ्रम पैदा भइरहेछ । यो ‘म’ को भ्रम अरू केही होइन बस् चेतनाको ऊर्जामात्र हो ।

यो जगत्‌मा दुईवटा भ्रम छन्— एक पदार्थको, म्याटरको भ्रम र दोस्रो ‘म’ को भ्रम, अहङ्कारको, इगोको भ्रम । यी दुवै भ्रम एकदम झूटो हुन् । झूटो त हुन् नै तर यिनीहरूको नजिक गएपछि थाहा हुन्छ कि यी छैनन् पनि । विज्ञान पदार्थको जति नजिक गयो त्यति पदार्थ विलीन भयो । धर्म ‘म’ को नजिक गयो त ‘म’ बिदा भयो । धर्मको खोज भनेकै ‘म’ छैन भन्ने हो र विज्ञानको खोज हो कि पदार्थ छैन । जति नजिक गइन्छ त्यति भ्रम टुट्छ ।

त्यसैले नजिक जानुपर्छ, भित्र जान सक्नुपर्छ । भित्र गएर नजिकबाट नियाल्नैपर्छ—त्यहाँ कोही ‘म’ छ ? हामी भित्र जानैपर्छ, चिन्नैपर्छ, नियाल्नैपर्छ, बुझ्नैपर्छ । जसले चिन्छ, देख्छ, बुझ्छ, उसले थाहा पाउँछ कि ‘म’ छैन । त्यसो भए को छ त ? जब म छैन त कोही त छ । म छैन भन्दैमा कोही छैन भन्ने पनि त होइन । किनकि भ्रम हो भनेर जान्नका लागि पनि कोही त चाहियो नि ! भ्रमको सृजना होस्, जन्म होस्, यसका लागि कोही त चाहियो ।

म छैन त के छ ? अब जुन शेष रहेको हुन्छ, त्यसको अनुभव नै परमात्माको अनुभव हो । त्यसको अनुभूति नै परमात्मानुभूति हो तर त्यसको अनुभूति एकदम विस्तीर्ण हुन जान्छ । ‘म’ हराउनासाथ ‘तँ’ पनि हराएर जान्छ, ‘ऊ’ पनि हराएर जान्छ । तब एक सागर मात्र रहन्छ चेतनाको । त्यो अवस्थामा देखिन्छ कि परमात्मा नै हो । फेरि यहाँ परमात्मा छ भन्नु नै गलत हुन्छ, पुनरुक्ति हुन्छ । जब हामी भन्छौँ ईश्वर छ त हामी पुनरावृत्ति गरिरहेछौँ । ‘छ’ को अर्को नाम नै ईश्वर हो । यही जुन छ, जे छ, यो नै परमात्मा हो । परमात्मा भनेकै हुनु हो । हामी छ त्यसलाई पनि भन्न सक्छौँ जो थिएन वा जो नहुन पनि सक्छ । जस्तै- ‘कुर्सी छ’ भन्छौँ हामी । किनकि भोलि कुर्सी नहुन सक्छ र हिजो कुर्सी थिएन । जुन चिज थिएन र फेरि नहुन पनि सक्छ त्यसलाई ‘छ’ भन्नुको कुनै मतलब हुन सक्छ वा मतलब छ तर परमात्मा न त यस्तो हो कि कहिल्यै थिएन र न त यस्तो हुन सक्छ कि कहिल्यै नहोस् । त्यसैले उसलाई ‘छ’ भन्नुको कुनै मतलब छैन । ऊ छ नै, वास्तवमा जे छ, उसैको यो दोस्रो नाम हो । हुनुको दोस्रो नाम नै परमात्मा हो । एग्जिस्टेन्स, अस्तित्वको नै अर्को नाम परमात्मा हो ।

त्यसैले यो ‘म’ को भाव हट्नैपर्छ । ‘म’ हुँदाहुँदै परमात्माको दर्शन असम्भव छ । मलाई त मेट्नैपर्छ । आफ्ना सबै विचार, धारणा, सम्पूर्ण आरोपण लिएर हराउनैपर्छ, डुब्नैपर्छ । म बिदा हुनैपर्छ, तब मात्र उसको अनुभव हुन सक्छ । यो दुई एकसाथ हुनै सक्दैन । म, म भई-भई परमात्माको द्वारमा प्रवेश पाउन सक्दिनँ । मलाई मैले छोड्नैपर्छ । जुनदिन हामी हामीभित्र रहेको ‘म’ लाई सदा-सदाका लागि छोड्छौँ तब यो अहङ्कारको भ्रम सधैँका लागि टुट्छ र शेष रहेको जुन परमात्मा छ, उसको आनन्दको प्राप्ति हुन्छ । ‘म’ को भ्रम हटेको दिन जुन आनन्दानुभूति हुन्छ, त्यही परमात्मानुभूति हो, त्यही मुक्तिको अनुभूति हो, त्यही नै सत्यको अनुभूति हो ।

सत्य यही हो—परमात्मा नै एकमात्र सत्य हो । अरू सबै झूट हो । जो छ, त्यही सत्य हो र जो छ, त्यो परमात्मा नै छ । ‘म’ को भावले यो सत्यलाई उजागर हुन दिइरहेको छैन । एउटा भ्रम हामीमा हाबी भएको छ— त्यो हो ‘म’ । जब हामी ‘म’ लाई भित्रैबाट, एकदम नजिकबाट बुझ्छौँ तब यो भ्रम सदा-सदाका लागि मेटिएर जान्छ र एउटै सत्य हामीसमक्ष देखा पर्छ— त्यो हो परमात्मा, परब्रह्म । यो सृष्टिमा जति चिज छन्, जति पदार्थ छन्, तिनीहरूको भित्र एउटै तत्त्व छ । त्यही तत्त्व आकार दिइरहेको छ । नजिकबाट हेर्न सक्यो भने त्यसको दर्शन हुन सक्छ । त्यो ऊर्जा, त्यो तत्त्व भनेकै परमात्मा हो । त्यही ब्रह्म हो जो यो ब्रह्माण्डको स्वरूपमा विस्तीर्ण छ । जुन दिन यसको वास्तविक अनुभूति हुन्छ त्यो दिन मानिस सारा अहंकार, दु:ख र बन्धनबाट मुक्त हुन्छ र परमात्मामा लीन हुन्छ । मानिस परम आनन्दमा समाहित हुन्छ । यही परमानन्दको अनुभूतिले मानिसलाई परमात्माको दर्शन गराउँछ । अरू कुनै विकल्प छैन, अरू कुनै बाटो छैन परमात्मासम्म पुग्ने, परमात्माको विराट् स्वरूपमा विलीन हुने ।

त्यसैले आफूभित्र प्रवेश अनिवार्य छ । अब अन्त कहीँ गएर, मन्दिरमा घण्टा बजाएर परमात्मा पाउन सकिन्छ भन्ने होइन । परमात्मा पाउन आफैँभित्र पसे हुन्छ । जति भित्र गइन्छ त्यति गहिराइमा पुगिन्छ । गहिराइमा पुगेर ‘म’ लाई जति चिनिन्छ, जानिन्छ, बुझिन्छ त्यति अज्ञान नष्ट हुँदै जान्छ र आत्मज्ञानको उदय हुँदै जान्छ तर अहङ्कारको भ्रमले आत्मज्ञानको मार्ग रोकिदिएको छ र अज्ञानको जालो फैलिएको छ । यो जाल तोड्न धेरै गाह्रो हुँदै गइरहेको अनुभव गर्न सकिन्छ । त्यही भएर परमात्मासम्म पुग्ने मानिसहरूको सङ्ख्या एकदमै कम छ । यस्ता थोरै मान्छे मात्र छन् जो परमात्माको विराट् रूपमा विलीन भएर स्वयम् परमात्मामा रूपान्तरित भए । सारा विश्व आजसम्म उनीहरूलाई सम्झिरहेछ । मानिसहरू उनीहरूको नामको माला जपेर परमात्मा भेट्न दौडिरहेछन् । यो सूत्रलाई स्वतन्त्रपूर्वक स्वयंमा प्रयोग गर्न सकियो भने प्रत्येक व्यक्ति परमात्मामा रूपान्तरित हुन सक्छ । जसरी बुद्ध, महावीर, क्राइस्ट र मोहम्मद रूपान्तरित भए । फेरि कोही बुद्धको नामको मन्त्र जपिरहनु पर्दैन, कृष्णको पूजा गरिरहनु पर्दैन । बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि भनेका थिए—“बुद्धत्व जो कोहीले पनि प्राप्त गर्न सक्छ, निर्वाण जसले पनि पाउन सक्छ, बुद्ध जो पनि हुन सक्छ ।”
अस्तु ।

ओशोका विभिन्न प्रवचनहरूमा आधारित