साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

डायस्पोरा अध्ययन केन्द्रले आप्रवासी साहित्य सन्दर्भमा उब्जाएका प्रश्नहरू

अहिलेको सन्दर्भमा बर्मा, थाइल्यान्ड आदि क्षेत्रका नेपालीले लेखेको साहित्य नै सही अर्थमा ‘डायस्पोरा’ साहित्य हो । खास भूमिबाट निर्वासित हुन बाध्य भएका नेपालीभाषी भुटानी शरणार्थी असली डायस्पोरा हुन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नेपाल चेप्टर (शाखा) ले नेपालमा आफ्नो सचिवालयको स्थापना गरेको समाचार पढ्ने मौका पाएँ । त्यो पनि केन्द्रीय सचिवालय । जुन संस्थाको स्थापना नेपालबाहिर रहेका नेपाली साहित्यकर्मीहरूलाई समेट्दै संस्थागत रूपमा साहित्य कर्म गर्दै जानु रहेको छ । जसको दर्ता अमेरिकामा भएको छ । त्यसको केन्द्रीय सचिवालय नेपालमा रहनु कतिको तर्कसंगत ठहरिन्छ ? आफैँले बुझ्नु पर्ने कुरा हो । त्यसलाई अनेसासको सम्पर्क सचिवालयभन्दा सान्दर्भिक ठहरिने थियो । सचिवालयसँगै समाचारमा ‘डायस्पोरा अध्ययन केन्द्र’ खोलिएको समाचारमा गाभिएको थियो । नेपाली साहित्यमा यो डायस्पोराको गलगाँड अगस्त १५, २००९ मा न्युयोर्कमा आयोजित अनेसासको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा प्रा. डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यलाई डायस्पोरिक साहित्य भनेर कार्यपत्र प्रस्तुत गरेपछि रातारात नेपालबाहिरको नेपाली साहित्य डायस्पोरिक साहित्य भई दियो ।

आप्रवासी साहित्यका पीठाधीशहरूको सैद्धान्तिक ज्ञानको कमीले गर्दा डायस्पोराले स्थान पाइरहेको जस्तो लाग्छ । सन् २००९ अघिसम्म नेपाली साहित्यलाई आप्रवासी साहित्य भनिन्थ्यो । सुन्नमा पनि श्रवण सुख र साहित्यिक स्वाद आउँथ्यो । तर २००९ को अनेसासको सम्मेलनपछि डायस्पोरा साहित्य भई दियो । यो सम्मेलनमा मेरो पनि सहभागिता रहेको थियो । क्यानडाबाट निम्त्याएर बोलाइए पनि बोल्न भने दिएनन् । तर पनि मैले त्यसैबेला आप्रवासी शब्द हुँदाहुँदै डायस्पोरा किन भन्ने । यदि अप्रवासी शब्द मन नपरे डायस्पोराको ठाँउमा नेपालीपन भएको नेपाली नामाकरण गर्दा राम्रो हुने तर्क पनि राखेको थिए । त्यसबेला देशपारीय साहित्यको कुरा पनि चलेको थियो । तर त्यसबेला डायस्पोराको न्वरान गर्न नेपाली लेखकले विदेशमा गएर लेखिएको साहित्यबाट लिएर मुग्लान सम्बन्धी लेखिने साहित्यलाई समेत डायस्पोराभित्र राखिएको थियो । नेपालबाट विदेशमा डुल्न गएका साहित्यकारहरूको संस्मरणत्मक कृतिलाई डायस्पोरिक साहित्य मान्ने हो भने घनश्यामराज कर्णीकरका सबै यात्रा संस्मरणहरू डायस्पोरिक कृति मान्न करै लाग्छ ।

डा. गोविन्दसिंह रावत (टोरन्टो)

अझ बेनामी लेखकको जङ्गबहादुरको बेलायत यात्रालाई त पहिलो डायस्पोरिक साहित्य मान्नु पर्ने हुन्छ । आप्रवासी वा नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा साहित्य भन्ने दुई चार जनाबाहेक अरू देखिएका छैनन् । खसखस डटकम अनलाइन विद्युतीय पत्रिकाका सम्पादक वाशु श्रेष्टले डायस्पोराका विषयमा प्रा.डा. वासुदेव त्रिपाठीसँग गरेको वार्तामा त्रिपाठीले नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा भन्न नमिल्ने भनी यसको चर्को विरोध गरेका थिए । मनु बाज्रकीले पनि नेपाली साहित्य कहिल्यै डायस्पोरा हुन नसक्ने भन्दै डायस्पोराको वास्तविकता केलाएर छर्लङ्ग्याइदिनु भएको थियो । डा. तारानाथ शर्मा, प्रा. मोहनराज शर्मा, कलम दीक्षित, डा. ध्रुवचन्द्र गौतम, डा. मोहन हिमाँसु थापा, डा. दयाराम शाक्य, डा. अभि सुवेदी आदि नेपाली साहित्यका प्राध्यापक, अन्वेषक र समालोचकहरूका अतिरिक्त धेरै नै वरिष्ठ साहित्यकारहरूले नेपाली साहित्यलाई डायस्पोरा भनेकोमा विरोध गरेका छन् ।

हामीले कतै पनि डायस्पोरिक अमेरिकाली साहित्य, डायस्पोरिक हिन्दी साहित्य, डायस्पोरिक उर्दु साहित्य, डायस्पोरिक बेलायती साहित्य, डायस्पोरिक बङ्गाली साहित्य भनिएको सुनेका छैनौँ भने नेपाली साहित्य किन र कसरी डायस्पोरिक हुन्छ ? त्यसपछि यो डायस्पोरा के हो भनेर बुझ्न थाले । अनि सन् २०१२ मा एसोसिएसन अफ नेपालिज् इन अमेरिकाज् (ए.एन.ए.) को डालस, टेक्सस् आयोजित १२ औं सम्मेलनमा नेपाली साहित्य प्रतिष्ठान्, उत्तर अमेरिकाको आयोजनामा मेरो संयोजकत्वमा ‘नेपाल बाहिरको साहित्यः प्रवासी कि आप्रवासी’ विषयक एउटा गोष्ठी राखिएको थियो । त्यसमा प्रा.डा. गोविन्दप्रसाद भट्टराई, प्राडा. खगेन्द्रप्रसाद लुइँटेल र होमनाथ सुवेदीबाट कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको थियो । तर भिसाका कारण नेपालबाट सहभागिता हुन नसकेपछि उहाँहरूका कार्यपत्र पढेर सुनाउने काम मात्र भयो भने डा. बिना बाङ्देल (दिवंगत) ले अनावश्यक डायस्पोरा शब्द प्रयोगमाथि आफ्नो विचार राख्दै हामी सबै स्वेच्छाले जन्म मुलुक छोडेर कर्म मुलुकमा आएका हौँ । त्यसैले नेपाली माटो सुहाउने आप्रवासी शब्द प्रयोगमा जोड दिनु पर्ने विचार राख्नुभएको थियो । उक्त कार्यक्रमबाट कुनै निक्र्योल नै निस्कन सकेन । त्यसपछिका दिनहरूमा पनि मैले अनेसाससँग डायस्पोराबारे एउटा सम्मेलनको अपेक्षा राखेको थिएँ । तर अनेसास कविता गोष्ठी र प्रतियोगितामा नै रुमल्लिरहेको, र अनेक डायस्पोरा र महाकविलाई समेत डायस्पोर बनाएर पुस्तक प्रकाशनमा मात्र लागेको पाएँ ।

नेपाली साहित्यको इतिहास पल्टाएर हेर्यौं भने राणाकालीन नेपालको प्रतिबन्धित साहित्य र पञ्चायनकालीन नेपालको सेन्सरसिप साहित्यको अवस्थालाई पार गर्दै स्वतन्त्रता पाएको आज नेपाली साहित्यले विश्वव्यापीकरणको फड्को मार्नेतिर अग्रसर हुँदैछ । तर यो डायस्पोराको प्रतिछायाले नेपाली साहित्यलाई विश्वव्यापीकरणको दौडमा अपरिपक्क बनाउँदै गएको छ । अनेसासका संस्थापक होमराज सुवेदीलाई डायस्पोराको रोग २००९ मा न्युयोर्कमा भएको अनेसासको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनपछि लागेको देखिन्छ । अगस्त २००९ भन्दाअगाडि होमराज सुवेदीको प्रवासी स्वर (सन् १९९७), समुद्रपारका समालोचना (२००९), आप्रवासी पत्र (२००८) लेख्दासम्म उनलाई नेपालबाहिरको नेपाली साहित्य प्रवासी तथा आप्रवासी नै लागेको थियो । यही वास्तविकता पनि हो । तर २००९ पछि डायस्पोरा शब्दले उनको मनमस्तिष्कबाट प्रवासी र आप्रवासी शुद्ध नेपाली शब्दलाई मेटाइदिएर डायस्पोरा अङ्ग्रेजी शब्द स्थापित गरेपछि एकपछि अर्को गर्दै होमराजजीका डायस्पोरा पेन (सन् २०१०), डायस्पोराको मान्छे, (सन् २०११), अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन (सन् २०१२), अनेक डायस्पोराका कविता (२०१२), डायस्पोराबाट नेपालका समालोचना (२०१३), अनेक डायस्पोरामा देवकोटा (२०१३) धमाधम डायस्पोरा शब्दले सुसज्जित कृतिहरू देखा पर्न थाल्छन् । यस्ता कृतिहरू आप्रवाससँगै नेपालबाट (नेपाली डायस्पोरा र अन्य समालोचना– नेत्र एटम, २०६७ विस) पनि प्रकाशित भएका छन् । यसरी आप्रवासी साहित्यलाई जानेर वा नजानेर अनेसास आफ्ना विरादरीमा आप्रवासी नेपाली साहित्यलाई जबर्जस्ती डायस्पोरा बनाउने दौडमा लगाइदिएको छ । र सदस्यहरू जानेर वा नजानेर त्यहीँ दौडमा दौडेको देख्दा अचम्म लाग्छ । अनेसासको स्थापनाको औचित्यलाई हेर्ने हो भने यो नेपालबाहिर वा आप्रवासी नेपाली साहित्यकर्मीहरूलाई समेट्न स्थापना भएको देखिन्छ तर आजको मितिमा यसमा नेपालबाहिरको भन्दा नेपालभित्रको सदस्य सङ्ख्या बढी छन् ।

नेपालबाहिरको नेपाली साहित्य हो भने नेपालमा यसलाई त्रिभुवन विश्वविद्यालयको नेपाली विभागबाट लिएर नेपाल प्रज्ञा प्रतिष्ठानले पनि ‘डायस्पोरा डेस्क’ राख्नु पर्ने कारण के हो ?

मानिलिऊँ (?) डायस्पोरा भनेको नेपालबाहिर बसेर नेपाली साहित्य कर्म गर्नेहरूको साहित्य हो । यदि नेपालबाहिरको नेपाली साहित्य हो भने नेपालमा यसलाई त्रिभुवन विश्वविद्यालयको नेपाली विभागबाट लिएर नेपाल प्रज्ञा प्रतिष्ठानले पनि ‘डायस्पोरा डेस्क’ राख्नु पर्ने कारण के हो ? यसरी नेपाली भाषा पढाउने विश्वविद्यालय र नेपाली साहित्यको प्रवद्र्धन गर्ने प्रज्ञाले अङ्ग्रेजी शब्दमा नै डायस्पोरा डेस्क भनेर नामाकरण गर्नु भनेको विदेश जाने बाटोको च्याखेँ थापेको हुनु पर्छ । त्यसपछि अहिले अनेसास, नेपाल च्याप्टरलेले डायस्पोरा अध्ययन केन्द्र नै स्थापना गरिदियो । जुन कुराको आवश्यकता नेपालबाहिर हुनुपर्ने थियो त्यो नेपालमा किन बनाइएको हो भन्ने बारे बुझ्न कठिन छ ।

अर्को कुरा, यो ‘डायस्पोरा अध्ययन केन्द्र’ भनेको के हो ? अझ समाचारमा यसलाई ‘डायस्पोरा स्रोत केन्द्र’ भनेको पनि छ । यसले डायस्पोराका बारेमा अध्ययन अनुसन्धान गर्ने गराउनेहरूलाई सामग्री उपलब्ध गराउछ ?, स्रोत साधन उपलब्ध गराउन ? यसले भन्न खोजेको के हो ? यसको औचित्य के हो ? यी कुराहरूको जवाफ कोसँग माग्ने ? डायस्पोरा अध्ययन केन्द्र भनेको मेरो विचारमा नेपाली साहित्यको डायस्पोरालाई भन्न खोजिएको होला । यो किन आवश्यक पर्ने हो भन्नेबारे म अनभिज्ञ नै छु । हामीले आदिकविको नाम कतै अध्ययन केन्द्र खोल्न सकिरहेका छैनौं । त्रिवि पुस्तकालयले भानुभक्तको बारेमा अध्ययन गर्न चाहनेहरूका लागि एउटा बेग्लै शाखा खोल्न सकिरहेका छैन । आप्रवासी नेपाली भाषा साहित्यको अध्ययन अनुसन्धान गर्न गराउनका लागि कतै अध्ययन केन्द्र खोल्न सकेका छैनौँ । तर डायस्पोराको पछि भने कानै समातेर दौडिरहेका छौँ ।

हामीले बुझे अनुसार मुलुकबाहिरका प्रवासी नेपाली हुन् भने उनीहरूको सिर्जना प्रवासी नेपाली साहित्य भनियो । प्रवासी शब्दले भारतमा बसोबास गर्ने नेपालीलाई जनाउने गथ्र्यो । तर आजको मितिमा भारतीय नेपालीहरूले प्रवासी नेपाली साहित्यको ठाउँमा भारतीय नेपाली साहित्य भन्न रुचाउँछन् भने प्रवासी भनेको मन पराउँदैनन् । स्मरण रहोस्, दार्जीलिङमा गोर्खाल्याण्डको मागसहित सुरु भएको आन्दोलनले अन्त्यमा गएर गोर्खाल्याण्डको नाममा सुवास घिसिङले गोर्खा पार्वतीय परिषद्मा चित्त बुझाएका थिए । गोर्खाल्याण्डको आन्दोलनसँगै घिसिङले नेपाली भाषाको सट्टा गोर्खा भाषा भन्न थाले । अनि दार्जीलिङको चौरस्तामा सन् १९४९ मा (भानुभक्तको पहिलो सालिक) प्रतिस्थापित गरिएको भानुभक्तको सालिक नै सन् १९९१ मा उखालिएर कतै फालियो । अनि सन् १९९२ मा नेपाली भाषाले पनि भारतमा संवैधानिक मान्यता पाएपछि सन् १९९६ मा आदिकवि भानुभक्तको सालिक पूनः प्रतिस्थापित गरियो । त्यसैले भारतीय नेपालीहरू आफूलाई भारतीय नेपाली र आफ्नो साहित्यलाई भारतीय नेपाली साहित्य भन्न रुचाउँछन् । उनीहरू डायस्पोराको ड पनि सुन्न चाहँदैनन् ।

त्यसरी नै भारतबाहेक नेपालबाहिर बसोबास गर्ने नेपाली साहित्यकर्मीहरू आफ्नो साहित्यलाई आप्रवासी साहित्य भन्न रुचाउछौं । डायस्पोराको भ्रमित शब्दमा नेपाली भाषालाई भ्रमित गर्ने प्रयासको विरोध गर्न जरुरी भएको छ । डायस्पोरा के हो र यसले आप्रवासी शब्दको अर्थ पहिल्याउन सक्दैन भन्ने बारे राम्ररी बुझ्न जरुरी छ । अझ भनौँ, डायस्पोराका बारेमा बुझ्नु छ भने गहन अध्ययन अनुसन्धान गरेर तयार पारिएको डा. ऋषिराज बरालको भर्खर (२०७७ विसं) साझाबाट प्रकाशित ‘आजको समालोचना’ मा सङ्कलित ५० पृष्ठ ओगटेको ‘डायस्पोरा, नेपाली सन्दर्भ र साहित्य’ पढ्न अनुरोध गर्दछु । यसैलाई आधार बनाएर आज यो लेख लेख्ने जमर्को गरेको छु ।

डा. बरालको विचारमा अन्तर्राष्ट्रिय क्षेत्रमा डायस्पोराको बदलिँदो स्वरूप र चरित्रका साथै कसलाई डायस्पोरा भन्ने र कस्तो साहित्यलाई डायस्पोरा साहित्य भन्ने विषयमा निकै बहस–छलफल भएका छन् । यस्ता बहस र छलफलले डायस्पोरासम्बन्धी धारणाको बदलिँदो आयाम र बुझाइका सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । नेपाल र नेपालीका सन्दर्भमा कसलाई डायस्पोरा भन्ने र कस्तो लेखनलाई डायस्पोरिक साहित्य भन्ने विषय बहसमा प्रवेश गरिसकेको भए पनि यसबारे गहन बहस र छलफल हुन अझै बाँकी छ । नेपाल र नेपाली साहित्यका सन्दर्भमा डायस्पोरा त्यति महत्त्व दिनु पर्ने विषय होइन, तापनि यसबारे फिँजाइएका भ्रमका कारण यसले ठोस निष्कर्षको माग गर्दछ ।

डा. बरालले डायस्पोराको उद्गमबाट लिएर विभिन्न चरणमा डायस्पोरासम्बन्धी भए गरिएका नयाँ अध्ययनका बारेमा उदाहरणसहित चर्चा गरेका छन् । उनले विश्वका विभिन्न मुलुकसँगै भारतीय नेपाली र नेपालका नेपालीहरूमा डायस्पोरा शब्दबाट परेको नकारात्मक प्रभाव देखाएका छन् ।

आरम्भमा अफ्रिकीहरूले डायस्पोरा पदावलीलाई आफूहरूप्रतिको अपमानका रूपमा लिने गर्थे भने युरोपेली तथा अमेरिकीहरूले धेरैेपछिसम्म ‘डायस्पोरा’ पदावली र सन्दर्भलाई त्यति सकारात्मक रूपमा नलिएकोबाट लिएर नेपाली समाज र साहित्यको सन्दर्भमा डायस्पारो अपरिचित र अमान्य रहेको बारे जानकारी गराएका छन् । डा. बरालका अनुसार केही व्यक्तिहरूको डायस्पोरा पदावलीप्रतिको विशेष मोह र सञ्चारमाध्यमहरूले बुझी नबुझी जथाभावी किसिमले यो पदावलीको प्रयोग गरिदिएका कारण पनि पदावलीको प्रयोगमा विस्तार भएको छ र सँगसँगै यो विवादको पनि विषय बनेको छ । यसलाई भ्रमपूर्ण किसिमले प्रयोगमा ल्याउने कार्यमा एकाध तथाकथित समालोचकहरूको पनि भूमिका रहेको छ । विभिन्न सन्दर्भलाई लिएर विदेशी लेखक तथा अध्ययनकर्ताहरूले नेपाल र ‘नेपाली डायस्पोरा’ को चर्चा गरेको भए पनि नेपाली बुद्धिजीवीहरू, त्यसमा पनि साहित्यिक क्षेत्रमा यसबारेको चर्चा परिचर्चा निकैपछि मात्र प्रवेश गरेको हो । त्यसमा पनि डायस्पोरा र नेपाली साहित्यका सन्दर्भमा यो पदावलीको प्रयोग निकै विवाद र बहस छलफलको विषय बनेको छ । नेपाली समाज र साहित्यका सन्दर्भमा कसलाई डायस्पोरा भन्ने र कसलाई नभन्ने भन्ने प्रश्नमा विवाद र बहसहरू जोडिएका छन् । डा. बरालका अनुसार उत्तर अमेरिका, युरोपमा बसेर साहित्य लेख्ने कतिपयले आफूलाई डायस्पोरा साहित्यकार भनाउन रुचि राख्छन् । तर उनको विचारमा नेपाल र नेपालीको सन्दर्भमा भन्नुपर्दा बर्मा, थाइल्यान्ड, फिजी आदि ठाउँमा जीवन बिताइरहेकाहरू नै सही अर्थमा डायस्पोराहरू हुन् ।

अहिलेको सन्दर्भमा बर्मा, थाइल्यान्ड आदि क्षेत्रका नेपालीले लेखेको साहित्य नै सही अर्थमा ‘डायस्पोरा’ साहित्य हो । खास भूमिबाट निर्वासित हुन बाध्य भएका नेपालीभाषी भुटानी शरणार्थी असली डायस्पोरा हुन् ।

नेपालीहरू कामको खोजीमा आसाम, मणिपुर हुँदै बर्मा पसेकाहरू र ‘ब्रिटिस–गोर्खा’ सेनाका ‘गोर्खे’ सैनिकहरू । त्यस्तै विविध कारणले बर्मेली नेपालीहरू थाइल्यान्ड पस्न बाध्य भएपछि थाइल्याण्डमा समेत नेपालीहरूको बसोबास रहेको छ । आजको मितिमा बर्मामा तीन लाख र थाइल्यान्डमा एक लाख जति नेपालीहरू छन् । अझ भारतमा काम गर्न जाँदा ब्रिटिस साम्राज्यवादको समयमा भारतीयसित मिसिएर नेपालीहरू फिजी र मोरिसससम्म पुगेका छन् । उनीहरू नेपाली भएर पनि गणना भारतीय समुदायमा गरिएको पीडा व्यक्त गर्दे आएका छन् । उनीहरूले आफ्नो भाषासमेत बिर्सिसकेको स्थिति छ । यसरी विदेशिन बाध्य भएकाहरूलाई डा. बराल असली नेपाली डायस्पोरा भन्न रुचाउँछन् । उनी भन्छन्, “अहिलेको सन्दर्भमा बर्मा, थाइल्यान्ड आदि क्षेत्रका नेपालीले लेखेको साहित्य नै सही अर्थमा ‘डायस्पोरा’ साहित्य हो । खास भूमिबाट निर्वासित हुन बाध्य भएका नेपालीभाषी भुटानी शरणार्थी असली डायस्पोरा हुन् ।”

डायस्पोराका बारेमा विस्तृत जानकारी गराउँदै डा. बरालका विचारमा नेपालको सन्दर्भमा डायस्पोराको बहस र विवाद अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपमा बसेकाहरूप्रति लक्षित छ । उनीहरूको स्थिति न त हिजोका यहुदीहरूको जस्तो हो, न त भुटानीहरू तथा नेपालबाट कामका लागि पूर्वतिर आसाम हुँदै बर्मा–थाइल्यान्ड पुगेका नेपाली र ‘गोर्खेहरू’को जस्तो हो । उनका विचारमा खाडी मुलुकतिर जानेहरूको भन्दा पनि युरोप र अमेरिका जानेहरूको स्थिति फरक नै हुन्छ । नेपालबाट सुखमय र समृद्धिको जीवन बिताउन युरोप–अमेरिका पसेकाहरूलाई डायस्पोरा र उनीहरूका लेखोटलाई डायस्पोरा साहित्य भन्न सकिने भरपर्दो आधार छैन र भन्न सकिने स्थिति पनि छैन भन्दै विडम्बनामा यस्ताहरू नै सबैभन्दा बढी आफूलाई डायस्पोरा भन्न रुचाउँछन्, र उनीहरू नै बढी डायस्पोरा हुनुको वकालत गर्छन् भनेका छन् ।

युरोप–अमेरिकाका विभिन्न ठाउँमा गएर सुविधासम्पन्न जीवन बिताउन थालेका केही व्यक्तिहरूले आफूलाई डायस्पोरा भनाउन र लेखाउन मरिहत्ते गरेको बारे राम्रो टिप्पणी गरेका छन् । डा. बरालको विचारमा यो गलत मानसिकताको उपज हो । डायस्पोराको परम्परागत मान्यताका दृष्टिले मात्र नभएर आधुनिक सन्दर्भमा पनि युरोप–अमेरिकाका विभिन्न ठाउँमा गएर समृद्ध जीवन बिताउन बसेकाहरू डायस्पोरा होइनन्, र उनीहरूले लेखेको साहित्य पनि डायस्पोरिक साहित्य होइन । वास्तवमा अहिले युरोप–अमेरिकामा बसेर सुविधासम्पन्न जीवन बिताउने एकथरी ‘लेखकहरू’ र नेपालका एकथरी ‘समालोचकहरू’ले डायस्पोरा पदावलीकै हुर्मत लिएका छन् । अहिले बेलायत तथा अमेरिकामा बसेकाहरूलाई नेपाली डायस्पोरा र उनीहरूको लेखनलाई नेपाली डायस्पोरा साहित्य भन्नु भनेको डायस्पोरा पदावलीकै भ्रष्टीकरण हो । उनीहरूले लेखेको साहित्यलाई एउटा नाम दिनु पर्दा प्रवासी वा आप्रवासी नेपाली सहित्य भन्न सकिन्छ । र अहिलेको सन्दर्भमा यही नै उपयुक्त पदावली हो । त्यसैले कागले कान लग्यो भन्दा कानै नछामी काँगको पछि दौडने कलमकर्मीहरूलाई एकपटक डा. ऋषिराज बरालको साझाबाट प्रकाशित ‘आजको समालोचना’ मा सङ्कलित ‘डायस्पोरा, नेपाली सन्दर्भ र साहित्य’ पढ्न अनुरोध गर्दछु । पढ्न इच्छुक भए म लिङ्क नै पठाइदिने थिएँ । हामीलाई आप्रवासी नेपाली नभनेर डायस्पोराको मान्छे भन मन्जुर छ तर आप्रवासी नेपाली साहित्यलाई त्यही मिठासमा प्रयोग हुन दिऊँ ।

प्रतिक्रिया
Loading...