सबै लडाइँहरु जितिने लडाइँ हुँदैनन् र मृत्यु पनि त्यही नजितिने लडाइँमध्येको एक हो । मृत्यु एक टार्नै नसकिने सत्य भएर पनि यसको भयले सबैलाई सताइरहेको हुन्छ । जसरी जन्म एक शाश्वत सत्य हो भने मृत्यु पनि त्यही सत्यको अर्को पाटो हो । मृत्यु स्वभाविक र अकाट्य सत्य हो । जन्मेपछि मृत्यु निश्चित छ । यो सबैलाई थाहा छ ।

मृत्युपछि पनि गरिने केही संस्कारहरू छन् । जसरी जन्मदा हुने गर्छ । यही मृत्यु संस्कारमा मृतक परिवारलाई सहानुभूति प्रकट गर्न हामी पुग्छौँ । गाउँघर, छरछिमेक, आफन्त या कोही साथीसङ्गीको मृत्यु भयो भने हामी सहानुभूति प्रकट गर्न सकेसम्म पुग्ने गर्छाैँ । अरुबेला नपुगे पनि मृत्यु भएको भेला भने हामी समय निकालेरै भए पनि पुग्छौँ ।

शोकाकुल परिवारमा समवेदना प्रकट गर्छाैँ । सहानुभूति व्यक्त गर्छाैँ । जुन सामाजिक दायित्व पनि हो । यस्तो बेला परिवारमा गएर सहानुभूति प्रकट गर्नु नराम्रो पटक्कै होइन । तर कहिलेकाहीँ त्यही समवेदना टाउको दुखाइको विषय बन्छ । अर्थात पछिल्लो समय धेरै कुरामा परिवर्तन भएको छ । परिवर्तन स्वीकार्नु पर्छ । तर राम्रो मात्र । यहाँ भने परिवर्तनका नाममा कतिपय संवेदनशील अवस्थामा संवेदनहीन भइदिन्छौँ हामी । भइरहेका पनि छौँ । आज भोलि त चर्चित हुन र सामाजिक सञ्जालमै देखिनका लागि पनि समवेदना व्यक्त गर्न जाँदा लिने सेल्फी त्यसको उपज हो भने समवेदना पत्र पनि कहिलेकाहीँ अति भइदिन्छ । केही समय अघिमात्र फूलको माला लगाएर किरियापुत्री भेट्न पुगेपछि पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सामाजिक सञ्जालमा आलोचना भएको थियो । किरियापुत्री भेट्न जाँदा पनि फूलको माला लगाएर जानु अशोभनीय भएको धेरैले सामाजिक सञ्जालमै प्रतिक्रिया दिएका थिए ।

मायामितु

सवारी दुर्घटनामा मृत्यु भएका शिक्षासेवी, समाजसेवी एवं एमाले नेता ज्ञानुराम प्रसाईँको परिवारले यतिबेला समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जली मात्रै व्यक्त गर्न शुभेच्छुकसँग औपचारिकरूपमा नै आग्रह गरेको छ । लामा लामा समवेदना पत्रसहित उपस्थित हुने विद्यमान् शैलीका कारण पीडामाथि झन् पीडा हुने देखिएको स्मरण गर्दै प्रसाईँ परिवारले आफ्ना शुभेच्छुक शुभचिन्तकसँग समवदेना पत्र नल्याउन अनुरोध नै गर्यो । आफूहरूमाथि परेको बज्रपात सहन गर्न कठिन भइरहेका बेला समवेदना पत्रसहित उपस्थित हुने र वाचन गर्ने शैलीले थप मर्माहत बनाउने, सीसाका फ्रेममा सजाएर ल्याइएका समवेदना पत्र राख्ने ठाउँसमेत अभाव हुने भएर आग्रह गरेको परिवारले जनाएका छन् । नेता प्रसाईँको असार २५ गते चारआली चन्द्रगढी सडक खण्डमा आफैँले चलाएको कार दुर्घटनामा परी निधन भएको थियो ।

यतिबेला म घरमा भएको घटना सम्झिँदैछु । मेरी आमाको मृत्युमा पनि केही समवेदना पत्र आएका थिए । हजुरबुबाको मृत्युमा अलि धेरै आयो । ती समवेदना पत्र प्रयोगविहीन अवस्थामा कतै कुनामा थन्किएका छन् । हुन त त्यतिबेला मेरी आमालाई सम्झेर समवेदना पत्र ल्याए भनेर म निकै खुसी भएकी थिएँ । क–कसले सम्झेछ भनेर ती समवेदना पत्र मैले पटक पटक पढेकी पनि थिएँ । ती पढ्दै जाँदा अतीतले फेरि एकपटक घोच्थ्यो । तैपनि पढ्थेँ ।

समयले अहिले भने बुझ्ने बनाएछ । अहिले भने ती समवेदना पत्र मलाई बेकार जस्तै लाग्छन् । समवेदना पत्रले अतीतलाई दर्शाउँछ आफ्नो ठाउँमा छ, तर के समवेदना पत्र हेर्दा मात्रै हामी हाम्रा मृत परिवारका सदस्यलाई सम्झिएका हुन्छौँ र ? अहिले भने म सोच्छु । मलाई पो दुई चार जनाले चिन्छन् । मेरा दाइलाई, मेरा बुबालाई पनि चिन्थे । सबैले काम गर्ने सङ्घसंस्थाले छुट्टाछुट्टै समेवदना लिएर आउँछन् त ! एउटा कोठा त समवेदना पत्रले भरिनेजस्तो । त्यो राख्ने कहाँ ? राख्ने ठूलो समस्या भएन तर जुन वियोगलाई बिर्सने प्रयास हुँदै गर्दा त्यस्ता समवेदनाले थप पीडाबोध गराउने रहेछ ।

समवेदना पत्र लिएर जानु आफैँमा नराम्रो पटक्कै होइन । तर यसमा पनि कसले लगेको राम्रो, कसको उत्कृष्ट आदि भन्ने चर्चा चल्नु एकदमै गलत । मैले केही ठाउँमा सुनेकी छु, यस्तोखाले बहस । अहिले त समवेदनाको होडबाजीजस्तै देख्छु म समाजमा ।

यदि हामीले अस्वीकार नगरेको भए अहिले बुबाको मृत्युमा झन् धेरै आउने निश्चित थियो । झापाको बुद्धशान्ति गाउँपालिकाको गडीगाउँमा समवेदना पत्रमा लेखिएको भावुक शब्दले एक किरियापुत्री त्यही ढलेको पनि समाचार आएको थियो । त्यसैले पनि हामीले बुबाको मृत्युमा थप यस्तो पीडाबोध नहोस् भनेर समवेदनापत्र नल्याउन शुभचिन्तकहरुलाई अनुरोध गर्यौँ । समवेदना पत्र तयार पार्ने सामग्री माग्दा कसैलाई दिएनौँ । यसमा पनि निकै चर्चा चल्यो । कसैले ठीक भने त कसैले बेठीक । कसैले ‘हुन त यो विकृति नै हो’ भने । कसैले भने ‘ल्याउनेलाई त ल्याउन दिनु पर्छ नि’ पनि भने । जे भने पनि हामीले ती सबैलाई अस्वीकार गर्यौँ । यतिखेर मलाई के लाग्यो भने, हामीलाई त दुई चार जनाले चिन्छन् । अलि ठूलै व्यक्तिको निधनमा त समवेदना पत्रको थाक नै आउला । राख्ने ठाउँ पनि नहोला । तर सँगैका छिमेकी जो मजदुरी गर्छन् । साँझ बिहानको छाक टार्न धौधौ हुन्छ । उनलाई कसैले चिन्दैन । उनको घरका कुनै सदस्यको मृत्यु भयो भने वल्लो घरमा जस्तो न साथीभाइको जमघट हुन्छ, न समवेदना पत्र नै पुग्छ । त्यतिबेला त्यो परिवारमा कस्तो होला ? उसको मानसिकता कस्तो होला ? समवेदना पत्रले पनि नजानिँदो पाराले विभेद ल्याउँछ जस्तो लाग्यो । र, कही न कही प्रत्यक्ष परोक्ष रुपमा भूमिका खेल्छ जस्तो लाग्यो ।

त्यसो त कोही मरेपछि उसको लागि श्रद्धाञ्जली दिने र शोकाकुल परिवारमा समवेदना दिने नाउँमा पत्रिकामा विज्ञापन छपाउने कार्य पनि नौलो होइन । त्यसरी समवेदना विज्ञापन छपाउँदा शोकाकुल परिवारसँगको आफ्नो परिवार र संस्थाको सम्बन्ध थप बलियो हुने भएर, आफू र आफ्नो संस्थाको नामको विज्ञापन हुने भएर पनि समाजमा चर्चित व्यक्तिको घरको सदस्यको निधनमा समवेदना विज्ञापन छपाउने होडबाजी नै चलेको छ । कतिपय सप्ताहिक, मासिक या पाक्षिक पत्रिकाले त व्यक्ति मरेको केही हप्ता या महिनापछि पनि समवेदना विज्ञापन छपाएर आम्दानी गरिरहेका हुन्छन् । फलानो पत्रिकामा फलानो मृतकको समवेदना विज्ञापन दिनु भएछ मेरो पत्रिकामा पनि छपाउनु पर्यो भन्दै पत्रिकाका प्रतिनिधिहरु समवेदना विज्ञापन माग्न उद्योगी, व्यावसायीको घर घरमा पुग्ने गरेका पनि छन् ।

सामाजिक सञ्जालमा पनि कहिलेकाहीँ कसैको मृत्यु कसैको लागि मजाक बन्ने गरेको छ । खासगरी राजनीति दलका नेताको मृत्युमा समवेदना दिने र गाली बर्साउनेहरुको प्रतिस्पर्धा नै चल्छ । कहिलेकहीँ भने मानिसको मृत्यु नहुँदै हार्दिक श्रद्धाञ्जली र समवेदना भन्दै दुखमनाउ गर्ने शुभ चिन्तकहरु पनि देखिन्छन् । भारतीय अभिनेता अमिताभ बच्चनसमेत यसको सिकार बनिसकेका छन् ।

त्यसो त अन्तिम अवस्थामा उपचार गराइरहेका अभिनेता कादर खानको पनि सामाजिक सञ्जालमा मृत्युको खबर फैलिएपछि उनका छोराले नै बाबुको मृत्यु नभएको र उपचार भैरहेको स्पष्टीकरण दिनु परेको थियो । नेपालका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाको हकमा पनि त्यस्तै भएको थियो । हृदयघातको उपचार गराइरहेका पूर्वयुवराज पारसको पनि देहान्त भएको खबर फेसबुकमा फैलाइएको थियो । यद्यपि जीवित मान्छेलाई यसरी मरेको भनिनु र श्रद्धाञ्जली दिइनुले उसको आयु झन् लामो हुने आम धारणासमेत रहिआएको छ । मृत्युपछि दिइने श्रद्धाञ्जली र समवेदनाले केहीहदसम्म भए पनि शोकाकुल परिवारको घाउमा मलम पनि लगाउने गरेको छ । जिउँदो हुँदा एक वचन नबोलेको दुश्मनसमेत उसको शवयात्रामा सामेल हुने र अन्तिम बिदाई गर्ने नेपाली परम्परा नै हो । १३ दिने काजक्रियामा समेत आफन्त मात्रै नभएर गाउँले समेत सहभागिता जनाउनु र मृतकको घरमा पुगी समवेदना प्रकट गर्नु हाम्रो पुरानो परम्परा मात्र होइन मौलिक संस्कृति पनि हो ।

जिउँदाको जन्ती र मर्दाको मलामी भने नेपाली उखान नै प्रचलित छ । मर्दा र पर्दा मान्छे चाहिन्छ, त्यसैले मान्छेलाई गुन लागाइरहनु भन्ने समाजिक मान्यता नै रहिआएको छ । मानिसको मृत्युु हुँदा उसको शव यात्रामा कति मान्छे उपस्थित भए भन्नेबाट पनि उसको लोकप्रियता आङ्कलन यदाकदा गर्ने गरिएको पाइन्छ । यतिबेला झापाको धुलाबारीमा रहेको मेची सहकारीले समवेदना पत्र बन्द गरेको छ । समवेदना पत्रभन्दा जति सकिन्छ आर्थिक सहयोग गरियो भने त्यो सानो सहयोग यस्तो बेला ठूलो राहत हुने विश्वासका साथ सुरु गरेको यो अभियानकै रुपमा अन्यले पनि अनुशरण गर्दा नराम्रो पक्कै हुने छैन । यसले थोरै भए पनि सन्देश दिएको छ ।