साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गफगाफ: दिमागका बारेमा

गिदी, खोपडी, मगज भनेका दिमाग होइनन् । यी शरीरका एउटै अङ्गका विभिन्न नामहरू हुन् । सूर्य, घाम, रवि भनेजस्तै । सूर्य एउटा पिण्ड हो । सूर्यको काम भनेको ताप र प्रकाश दिनु हो । यसैगरी गिदी वा खोपडी वा मगजले गर्ने कामलाई दिमाग भनिन्छ । पानी, बोसो, मासु आदिको समग्र डल्लो दिमाग होइन । हुँदो हो त, त्यो डल्लो सडकतिरका सुस्त मनस्थितिका व्यक्तिमा पनि हुन्छ तर काम गर्दैन । यो मांसपेशीले सोच्ने कार्य गर्दछ त्यसैले प्रायः यसैलाई दिमागको पर्याय मानिन्छ । अब म पनि यो गफभरि यसैलाई दिमाग भनेर गफ गर्दै छु ।

दिमागले सोच्ने काम गर्दछ ।
फेरि सोच्ने काम त मनले पनि गर्छ होइन र ? कि अरूले पनि सोच्छन् त ? अवश्य सोच्छन् । शरीरका अन्य अङ्गहरूले कसैको सहाराबिना सोच्छन् तर यिनीहरूको सोच न्यूनस्तरको हुन्छ ।

मनले पनि सोच्छ तर मननामक अङ्ग हाम्रो शरीरमा हुँदैन । दशवटा इन्द्रियहरूले गर्न खोजेको सामूहिक सोच नै मन हो । मनले इन्द्रियको सहारामा सोच्छ । आँखाले केही राम्रो देख्यो र छुने सोच बनायो, यो मनको सोच हो । मनले आफ्नो इच्छा पूरा गर्न इन्द्रियहरूलाई अघि सार्छ । अघि आँखाले देखेको राम्रो कुरा छुन अर्को इन्द्रिय खुट्टालाई अह्राउँछ । खुट्टाले नजिकै पुगेपछि छुनका लागि छालालाई अह्राउँछ । छोइसकेपछि चाख्ने सोच बनायो भने जिभ्रालाई अह्राउँछ आदि आदि । अरूलाई मात्रै काम लगाएर आफू रमाएर बस्छ मन । त्यसैले कतिपय मान्छेहरू यसलाई पापी भन्छन्, पापी मन ।

यसले सोचेका कुरा इन्द्रियहरूबाट पूरा भएन भने यसले दिमागलाई पनि काम अह्राउँछ र सपनामा भए पनि इच्छा पूरा गरेर छोड्छ । दिमाग यस्तो हुँदैन ।

मन चञ्चल हुन्छ । किनकि यसका सहयोगी नै चञ्चल हुन्छन् । दिमाग स्थिर हुन्छ किनकि यो भौतिक रूपमा नै स्थिर हुन्छ । घाँटी हल्लिने हो, टाउको हल्लिने होइन । हल्लिहाले पनि टाउकाभित्रका ती हड्डी हल्लिने होइनन् ।

दिमागको काम भनेको आफू अचल हुनु र अरूलाई चल बनाउनु हो । अरू भन्नाले अरू मान्छे मात्र होइन, तपाईँकै शरीरका अरू अङ्गहरू पनि यो दिमागका लागि अरू नै हुन् । यसलाई मतलव छैन कि तपाईँ गरिब हुनुस् कि धनी अथवा बिरामी हुनुस् कि स्वस्थ । यतिसम्म कि दिमागको आफ्नो स्वयं एउटा नसा वा भाग बिग्रिए  नि बाँकी अर्को भागलाई वास्ता गर्दैन । नबिग्रिएको त्यो बाँकीले गर्ने आफ्नो काम आफैँ गरिरहन्छ । दिमागको प्यारलाइसिस भएको व्यक्तिलाई हेर्न सकिन्छ । अरू अङ्गलाई काम अह्राइरहन्छ ।

आत्माराम न्यौपाने

घाँटी छिनाल्ने बित्तिकैको कुखुराको शरीरलाई हेर्न सकिन्छ । यसको फटफटाइबाट कि यो बुझ्नुपर्छ कि दिमाग अचल हो तर अरूलाई चल बनाइरहन्छ । कि त यो बुझ्नुपऱ्यो कि दिमाग र मनबाहेक शरीरका अन्य मांसपेशीले पनि सोच्छन् तर न्यूनस्तरको । यसमा न्युटनको नियम राख्न मिल्दैन किनकि रगतको शिरा अगाडितिर जोडले बग्दा कुखुरो पछाडितिर दौडँदैन वा धकेलिँदैन, अगाडि नै हिँड्छ ।

त्यसोभए दिमाग के हो त ? यो केही होइन । परिवेशअनुसार आफू जोगिने काम गर्ने क्षमता भएको एउटा स्थायी मांसपेशी वा वस्तु हो । यसमा रगत र प्राणवायु पुगेन भने हिँड्दा हिँड्दैको मान्छेलाई पक्लक्कै ढालिदिन्छ ता कि ती अपुग कुराहरू तेर्सो बाटामा कुदेर यो बाँचोस्, ता कि शरीर स्थिर भएर यो बाँचोस् । मान्छे बाँचोस् होइन, दिमाग आफू बचोस् एकछिन बढी ।

स्थिर अवस्थामा बढी बाँच्छ दिमाग, बढी सक्रिय हुन्छ । निद्रामा बढी सक्रिय हुन्छ दिमाग किनकि औसतमा शरीर पनि स्थिर हुन्छ यसबेला । ध्यान गर्दा बढी सक्रिय हुन्छ दिमाग किनकि यसबेला शरीर त स्थिर हुन्छ नै, कतिपय ध्यानीको त शरीरका साथै मन र सोच पनि स्थिर भएको हुन्छ । यहाँ कुन वैज्ञानिकलाई ल्याउनुहुन्छ ? मलाई नसोध्नुहोस् । आफैँ वैज्ञानिक भए उत्तम !

राम्रो दिमाग हुनलाई राम्रो शरीर हुनुपर्छ भन्ने त हुँदै होइन झन् । सोक्रेटिक आइरोनी भन्ने सुन्नुभएकै होला । नसुनेको भए, सोक्रेट्स बडा दार्शनिक हुन् तर उनी कुरूप थिए । अष्टावक्रको कुरा गरेँ भने काल्पनिक पात्र मान्नुहुन्छ होला स्टेपफन हकिन्सलाई हेरेर चित्त बुझाउनुस् । यो पनि भएन भने झमक घिमिरे छन् नजिकै । उहाँहरूलाई नराम्रो भनेको चाहिँ होइन फेरि ।

अर्को कुरा, तपाईँले दिमागको प्रयोग गर्ने नै होइन । दिमागले तपाईँलाई प्रयोग गरेर ऊ बाँचिरहेको छ, आफ्नो स्वार्थ पूरा गरिरहेको छ । दिमागले तपाईँलाई छक्याइदिन्छ । तपाईँ दिमागलाई छक्याएर हेर्नू त । सक्नुहुन्छ ? सकिन्न  नि । यो त कृष्णजस्तै छ ।

आउँछ, दुनियालाई मारामार गर्न लगाउँछ, युद्ध गराउँछ र आफ्नो स्वार्थ पूरा भएपछि जहाँबाट आएको हो त्यहीँ जान्छ ।

त्यसोभए दिमागलाई नियन्त्रण गर्न सकिँदैन त ? सकिन्छ । कसरी ? बानीले । बानीले शरीर, मन, दिमाग तीनैवटालाई नियन्त्रण गर्न सकिन्छ । अझ दिमागलाई नियन्त्रण गर्न सजिलो छ । किनकि यो स्थिर छ । स्थिर नै बनिदिए भइगयो ।

किनकि यो स्वार्थी छ, स्वार्थ पूरा  नगरिदए भइगयो । किनकि यो परिवेशअनुसार सोच्छ र सोच्नका लागि धेरै परिवेशमा नलगिदिए भइहाल्यो । यसले तपाईँलाई चलाउन खोज्छ, तपाईँ नचलिदिए भइहाल्यो ।

बिहानै नजिकै कसैको मृत्यु भयो । सबै रुन थाले । परिवेशअनुसार दिमागले तपाईँलाई पनि रो रो भन्छ । नरोइदिनुस् त्यतिखेर । उल्टै उसैलाई सम्झाउन थाल्नुस् । किन रुनु ? आजसम्म मर्ने यो मात्र हो र ? मैले रोएर त्यो बाँच्छ र ?

दिउँसो बाटामा कतै मेलामा पुग्नुभयो जहाँ धेरै मानिसहरू ठूलो सङ्गीतमा नाचिरहेका छन् । परिवेशअनुसार तपाईँको दिमागले तपाईँका खुट्टा परैबाट उचालिदिन थाल्छ, तपाईँ नमान्नुस् । दिमागको सामान्य स्वार्थअनुसार नचलिदिनुस् दुईचार दिन ।  यो आफैँ नियन्त्रण हुन थाल्छ । मैले फेरि नाङ्गै हिँडिदिनुस् भनेको चाहिँ हैन नि । कुनै
समुद्रको किनारातिर जाँदा परिवेशअनुसार दिमागले यसै गर् पनि भन्न सक्छ । कति छोप्ने र कति देखाउने तपाईँको जिम्मा ।

अर्को उदाहरण, तपाईँ एक दिनभरि अनुष्टुप् छन्दका मात्र कविता पढ्नुस्, सुन्नुस्, हेर्नुस् वा लेख्नुस् । दिनभरि र बेलुकासम्म अनुष्टुप् मात्र । बिहान उठ्नेबित्तिकै तपाईँले चिया पनि अनुष्टुप् छन्दमा मगाउनुहुन्छ । तपाईँले दिमागलाई अनुष्टुप् पनमा बग्न नियन्त्रण गरिसक्नुभयो । दिमागका लागि परिवेश त्यति शक्तिशाली छ ।

अर्को उदाहरण, तपाईँलाई अल्छी लाग्छ । यतिसम्म कि यो पढ्न पनि अल्छी लागेको छ । कतिले त राम्रै होला भनेर नपढी लाइक नै गरिसक्नुभयो । यो अल्छी पनि तपाईँलाई लागेको मात्र हो । कोही शक्तिशालीले आएर अहिले तपाईँलाई लखेटोस् त ! वैकुण्ठ मानन्धर हार्छ तपाईँसँग ।

यस्ता उदाहरण तपाईँ आफैँ सोच्न सक्नुहुन्छ । प्रेम प्रसङ्गमा जानुस् १००० वटा भेटिन्छन् । आज आशामा रमाउने, भोलि निराशामा दिग्दार मान्ने, पर्सि चिटिक्क बन्ने, निकोपर्सि फुर्तिलो बन्ने भन्ने हुन्छ ? यी सब दिमागलाई नियन्त्रण राख्न नसकेका उदाहरणहरू हुन् ।

म गरिब छु, म बूढो छु, म रोगी छु जस्ता भावना पैदा गराएर पनि दिमागले तपाईँलाई नियन्त्रण गर्दै गरिब, बूढो र रोगी बनाउँछ । बेलैमा यसलाई नियन्त्रण गर्न थाल्नुस् नत्र यसले सक्छ तपाईँलाई । आजकलका मान्छे ४०, ५० वर्षसम्म जिन्दगी बनाउन लाग्छन् र पाँच छ वर्षपछि मृत्यु कुरेर बस्छन् । दिमागलाई बेलैमा नियन्त्रण गर्न सिके २०, २२ वर्ष देखि नै जिन्दगी जिउन सकिन्छ, अझ अगाडिदेखि नै र जिन्दगी भविष्य बनाउनका लागि मात्र होइन, जिन्दगी जिउनका लागि हो ।

त्यसो भए ककसले नियन्त्रणमा राखे त दिमागलाई ? मेरा पुस्ताबाट उदाहरण दिन सक्दिनँ । कमेन्टमा तपाईँ दिन सक्नुहुन्छ । आफ्नो दिमाग नियन्त्रण गर्न सफल हुने बालागुरु षडानन्द हुन् । दर्शकको दिमाग नियन्त्रण गरेर सफल भएका सेक्सपियर हुन् । भिडको दिमाग नियन्त्रण गरेर सफल भएका हिटलर हुन् । आफ्नो सिङ्गो
दिमागलाई नै शरीरको अन्यत्र भागमा सार्न सफल भएका जिसस क्राइस्ट र भीष्म पितामह हुन् । दिमाग रहने शरीर नै अन्त सार्न सफल श्री कृष्ण हुन् । नेपालको २०६४ सालको निर्वाचनको नतिजा पनि अर्को उदाहरण हुन सक्छ । त्यसबेला पनि धेरै नेपाली जनताको दिमाग दुईचार जनाले नियन्त्रणमा राखिदिएका थिए ।

यो गफ तपाईँलाई अलिक बढी नै लाग्यो होला तर त्यसको पनि स्पष्टीकरण दिने प्रयास गर्छु है त ।

म उमेरमा छँदा, श्रीदेवीको रङ्गीन फोटो हातमा पर्नासाथ शरीर फुलेर आउँथ्यो, खुम्चेका मांसपिण्डहरू दह्रा भएर आउँथे । त्यसबेला दिमागले मेरो शरीरलाई नियन्त्रण गरेको हुन्थ्यो । यसलाई त्यसै छोडिदिएको भए म त्यहीबेला शिथिल हुन्थेँ वा रातमा स्वप्नदोष हुन्थ्यो तर नियन्त्रण भयो सकियो ।

आफू नियन्त्रणमा रहे अरूलाई पनि नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि कृष्ण बनेर गर्भ सारिरहनु पर्दैन । मानौँ, तपाईँको साथी रिसाएर तपाईँसँग आयो । तपाईँ थोरै हाँसेर बोलिदिनुस्, नम्र भइदिनुस्, उसको दिमागको थोरै रिस तपाईँको दिमागमा सर्छ । थोरै भए पनि उसको रिस कम हुन्छ जुन कम घातक हुन्छ । अर्कातिर तपाईँ त दिमागमा नियन्त्रण गर्न सक्ने मान्छे पनि हो, स्थिति शान्त हुन सक्छ ।

अर्को कुरा, रिस मात्र होइन अरू कुनै साथी वा छिमेकीको दुईचार पीरले भरिएका शब्द सुनिदिनुस् न । उसको आँखाबाट झरेर जाने दुईचार थोपा आँसु तपाईँ आफ्नो आँखामा ल्याएर उसलाई थोरै हलुका बनाउन सक्नुहुन्छ । खुसी र प्रेम दिमागमा कसरी साटासाट गर्ने मैले भन्नै पर्दैन ।

कतिपय मानिसहरू आफ्नो दिमागलाई नियन्त्रण गर्ने क्रममा गाँजा, भाँङ आदि खाएर नियन्त्रण गर्न खोज्छन् र यो मान्छन् कि मैले यसलाई नियन्त्रण गरेँ र म शिवसरह बनेँ तर यो होइन । उनीहरूले आफ्नो तत्कालीन परिवेशलाई नियन्त्रण गरेका हुन्, दिमागलाई होइन । आफ्नो दिग्दारीपन, नैराश्य, कुण्ठित भावना र चाहनालाई नियन्त्रण गर्न खोजेका हुन् ।  कृत्रिम आनन्द रोजेका हुन् । डोज उत्रिए पछि पुनः उही नैराश्य जस्ताको त्यस्तै हुन्छ अनि दोस्रो र तेस्रो चरणको डोज लगाउनुपर्छ ।

निरन्तरता पाएपछि दिमागले सधैँ माग्छ किनकि दिमाग परिवेशअनुसार नै चल्छ र बन्छन् उनीहरू ड्रगिस्ट !

अर्को कुरा, जे तपाईँ सोच्नुहुन्छ नि त्यो त तपाईँलाई लागेको मात्र हो । तपाईँका फोटा, स्टायलका लुगा, टिकटक, स्टाटस हेर्छु म । तपाईँलाई राम्रो लागेका फोटा स्टाटस राख्नुहुन्छ । त्यो तपाईँलाई परिवेशअनुसार राम्रो लागेको मात्र हो । त्यसमा म पनि पर्छु । मान्छेले हिजाकी प्रेमिका आज मारिदिन्छन् । व्यक्ति उही छ तर परिवेश फरक छ र दिमागमा नियन्त्रण पुगेन ।

घाँसको भारी बाँध्न लगेको डोरीले मान्छे वनमै पासो लागेका छन् । दिमागले चाहना गऱ्यो भने एक मिनेटमा मान्छेलाई मारिदिन्छ, ड्रगिस्ट बनाइदिनु त सामान्य कुरा हो । छिटो हिसाब मिलाउने, राम्रा अक्षर पार्ने, जस्ताको त्यस्तै चित्र बनाउन सक्ने, धेरै पैसा कमाउन सक्ने, वक्तृत्वकलामा सिपालु आदिलाई दिमागी व्यक्ति मान्दै हुनुहुन्छ भने त्यो पनि तपाईँलाई लागेको मात्र हो । ती त मात्र सीप र कला हुन् । यस्ता कलाकारले ईश्वर र राक्षस दुवैको मूर्ति सुन्दर त बनाइदिन्छन् तर ।

अनि समयअनुसार मन्त्र विधिबाट दिमाग नियन्त्रण गर्ने सामर्थ्यवान् मन्त्र द्रष्टाहरू अचेलभरि पनि होलान् जस्तो मलाई लाग्दैन किनकि सही आवाजको उच्चारण म असम्भवप्राय: देख्छु । तन्त्र विधिका तान्त्रिकहरू पनि भेट्टाउन गाह्रो नै पर्ला । यो विधिले साइइफेक्ट पनि गर्न सक्छ भन्छन् । आफैँले आफैँलाई खाइदिन पनि सक्छ भन्छन् । युट्युब र आर्टिफिसियल इन्टेलिजेन्स लगायतका यन्त्र विधिले पनि दिमागलाई सकारात्मक नियन्त्रण गर्छ जस्तो मलाई लाग्दैन । त्यसैले सजिलो र भरपर्दो विधि भनेको स्वनियन्त्रणको विधि हो । आफैँले आफ्नै दिमागलाई नियन्त्रण गर्नुस् ।

एकोहोरो गफ धेरै भयो । अब तपाईँको पालो । मेरो गफ सकियो । सुनिदिएकोमा धन्यवाद । यी गफ नित्तान्त निजि हुन् ।

            भोजपुर

 

प्रतिक्रिया
Loading...