नेपाल एक विकासोन्मुख राष्ट्र हो।
जहाँ सडकको स्थिति अत्यन्त दयनीय र सडकयात्रा कठिन, एकदम दुःखदायी,ज्यानै जोखिममा मोलेर यात्रा गर्नुपर्ने अवस्थामा रहेको पाइन्छ । यहाँको भूगोल पनि हिमाल, पहाड र तराई रहेको छ भन्ने गरिन्छ । के चाइना, जापान, अमेरिकाको भूगोल चाहिँ फरक छैन र ? के त्यहाँ विकास भएको छैन र ? यो त सबै काम नगर्ने बहाना मात्रै हो ।
नेपालमा सडक निर्माणमा ठुलो धनराशि वा बजेट र्खच हुँदै आएको पाइन्छ तर बजेटको खासै सदुप्रयोग भएको पाइँदैन। कुनै सडक निर्माण गर्नुपूर्व सही विश्लेषण, अध्ययन, अनुसन्धान, जनघनत्व, भविष्यमा असर नहुने दीर्घकालीन योजना बनाइनुपर्दछ । हैन भने काठमाडौँकै सडकको हालत हुन्छ । कतिपटक सडक बन्छ ? कतिपटक सडक भत्कन्छ ? कतिपटक सडकका लागि बजेट छुटयाइन्छ ? र कतिपटक सडक विकासको नाममा भष्टचार गरिन्छ ? नेपालका सडक निर्माण गर्दा कुनै सडकको मापदण्ड पूरा गरेको पनि पाइँदैन । सडक विभागले बनाउँछ र त्यही सडक ढल व्यवस्थापन टोलीले पाइप बिछ्याउन भत्काउँछ अनि फेरि दोस्रोपटक सडक विभागले बनाउँछ फेरि त्यही सडक खाने पानी संस्थानले खानेपानीको पाइप बिछ्याउन भत्काउँछ फेरि तेस्रोपटक सडक बनाउँछ र अब फेरि टेलिकम र विद्युत् प्राधिकरणले आफ्नो केबल अन्डरग्राउण्ड गर्ने कामका लागि भत्काउने वाला हुन्छ र फेरि चौथोपटक सडक बन्दछ । नेपाल सरकार, सडक विभाग र नेपाल सरकारमा भएका इन्जिनियर कतिसम्मका दक्ष छन् र प्राविधिक दक्ष छन् भनेर यहीँबाट प्रस्ट हुन्छ ।
यदि दक्ष थिए भने एकपटक बनेको सडक पाँचपटकसम्म भत्काउँदै/बनाउँदै जनतालाई दुःख दिने र दैनिक जनजीवनलाई प्रभाव पार्ने साथै राष्ट्रको बजेट सक्काउने काम मात्रै गर्दैनथे । दक्ष जनशक्ति सरकारमा वा सडक विभागका हुन्थे भने सडक/ढल विभाग, खानेपानी संस्थान, विद्युत् प्राधिकरण र टेलिकम सबै संस्थासगँ सहर्काय गरेर एकैपटकमा त्यो सबै पूर्वाधार सहितको काम हुन्थ्यो । त्यही पनि आर्थिक वर्षको अन्त्यमा हतार हतार टालटुल मात्रै गरेर बजेट पचाउने र भष्टाचार गर्ने गरिन्छ ।
सडक, विकासका लागि मुख्य पूर्वाधार हो तर नेपालमा सही विश्लेषण, अध्ययन, अनुसन्धान नगरी र सडक मापदण्ड विपरीत गुणस्तरहीन सडक विस्तारका कारणले तथाकथित विकास विनाशमा परिणत हुँदैछ । भएका सडकमा पनि ट्राफिक लाइट, सडक चिह्न नहुदाँ उचित व्यवस्थापन, मर्मतसम्भार, पुर्ननिर्माण हुन नसक्दा आज सडक दुर्घटनामा परी धेरैले अल्पायुमै मृत्युवरण गरेको कुरा सर्वविदितै छ । सडकको खाल्डा खुल्डीमा परी ज्यान गुमाउनेको सङ्ख्या पनि ठुलो मात्रमा रहेको छ । नेपाली जनताहरू सधैँ कष्टकर र दुःखदायी यात्रा गर्न बाध्य भइरहेका छन् ।
नेपाल एक कृषिप्रधान देश भएको हिसाबले पनि अब नयाँ सडक निर्माण गर्दा सोच्न पर्ने अवस्था आएको छ । कृषियोग्य भूमिलाई संरक्षण गनुपर्ने बेला भएको छ । विश्वमा गाँस, वास र कपासलाई महत्त्व राखिनुपर्दछ । गाँस, वास र कपासबिना कुनै प्राणी जीवित रहँदैन । यदि कुनै प्राणी जीवित रहँदैन भने विकास के का लागि हो ? त्यसैले अत्यावश्क कारण र जनघनत्वलाई हेरेर मात्रै सडक निर्माण र सडकको बजेट विनियोजन गर्न हुन हामी नेपाल सरकार र सडक विभागलाई अनुरोध गर्दछौँ ।
अहिलेको अवस्था र जुन गतिमा स्थानीय तहबाट विशेष गरेर पहाडी इलाकामा आवश्कता र जनघनत्वलाई नहेरी, सही विश्लेषण, अध्ययन, अनुसन्धान नगरीे सडक विकासको बहानामा बजेट सक्ने, नयाँ सडकको ट्र्याक खोल्ने नाममा हरेक ठाउँमा हेभी मेसिन/डोजरहरू लगाउने जुन काम भइरहेको छ नि त्यो नै विनाशको कारक तत्त्व आपत्ति–विपत्तिको रोग नबन्ला भन्न सकिँदैन । यस्ता कार्य नेपाल सरकारले तत्कालै रोक्न सकेन भने त्यस क्षेत्रका स्थानीयवासीहरूले बाढी/पहिरो र भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिकार हुनुपर्नेछ ।
नेपाल ठुला सडक र पुल आयोजनाहरूका ठेका टेन्डर भएर पैसा खाएर २/४ वटा डोजर लगाएर अलपत्र अवस्थामा रहेका/छाडेका छन् । सम्बन्धित निकायले कारबाही गर्दैनन् । कतिका त निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि सकिँदा पनि सरकार मौन छ । टेन्डर आह्वान गर्दादेखि नै यहाँ कमिसनको खेल सुरु हुन्छ । आफन्तलाई टेन्डर पारिन्छ र राम्रै कमिसन खाइन्छ । राम्रो कम्पनीलाई होइन । प्रायः नेता र गुन्डा नै नेपालका कम्पनीका मालिक र ठेकदार छन् । उनीहरू नै आज नेपाल सरकारका सभासद् छन् । अनि तिनीहरूलाई कसले गर्ने कारबाही ? बिग्रेको देशको भत्केको घर जता फर्कियो उतै दैलो भनेको यही हो।
अहिलेको आवश्यकता भनेको भएका सडकलाई गुणस्तरीय बनाउनु, मापदण्डमा कायम गराउनु, सरक्षण गर्नु, सडक चिह्न राख्नु, मर्मतसम्भार गर्नु, ट्राफिक लाइटको व्यवस्थापन गर्नु र आवश्यकता हेरेर नयाँ सडक विस्तार गर्नु हो । त्यतिमात्र नभएर सडक विकाससँगै वातावरण, वनजङ्गल,जडीबुटी र कृषियोग्य जमिनको संरक्षण गर्ने पनि सम्पूर्ण सचेत नागरिकको दायित्व हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।