केही दिनअघि एउटा आलेख (लेखकले निबन्ध भनेका छन् ।) छापियो, नवराज पराजुलीको नाममा । पराजुली आफैँमा कविताका प्रस्तुता हुन् । उनी भन्छन्, “यी कविताहरू मैले लेखेका होइनन् । मद्वारा लेखिएका हुन् ।” अर्थात् ती कविताहरू लेखिनै पर्थे कोही न कोहीबाट । फरक यति हो लेखाइएका हातहरू पराजुलीका परे । हुन त दुनियाँमा लेखिएका कैयौँ चिज छन् र लेखिन बाँकी पनि कत्ति धेरै छन् । कविका अनुसार ती लेखिएका वा लेखिने नभएर लेखाइएका वा लेखाइने चिज हुन् । अर्थात् लेखकका पछाडि कुनै अर्को चिज छ जसले लेखकलाई लेख्न लगाइरहेको छ । पराजुलीको उल्लिखित वाक्यलाई यसैगरी बुझेको हुँ मैले । केही दिन यता निकै नै चर्चा भइरहेको उनको आलेखको शीर्षक छ, “केटीहरू किन रूख चढ्दैनन्?”
शीर्षकले केटीहरू रूख नचढ्ने कारण खोजेको देखिन्छ तर यही शीर्षकमाथि नै आम पाठकहरूले प्रश्न उठाएका छन् । “केटीहरू रूख चढ्छन्” भन्दै रूखका टुप्पा टुप्पा पुगेका महिलाहरूको तस्बिर राखेर आ-आफ्ना धारणाहरू सार्वजनिक गर्ने क्रम जारी छ । उनीहरूको तर्क छ, “लेखकले सुरु मै केटीहरू रूख चढ्दैनन् भन्ने मान्यता स्थापित गर्न खोजेका छन् ।” हो त, देखिएको त त्यही छ । भलै लेखको पूर्ण पाठ पढ्दा केटीहरू रूख नचढ्नुका अनेक कारणहरू दिइएको छ र ती सम्पूर्ण कारणहरू हाम्रो पुरुषवादी सामाजिक मनोविज्ञान भनिएको छ । यो सत्य हो तर पूर्ण सत्य होइन किनभने शीर्षक नै आधा सत्य छ । लेखक हुर्किएको समाजमा उभिएर हेर्दा सही हो । केटीहरू रूख चढ्दैनन् । चाहे जङ्गलका रूख हुन् या सामाजिक जिम्मेवारीका रूख तर म अर्थात् जनजाति सामाजिक मूल्यमान्यतामा उभिएर हेर्दा केटीहरू जङ्गलको रूख चढ्छन् । पारिवारिक, सामाजिक जिम्मेवारीका रूख पनि सजिलै चढ्छन् र हाँगाबिँगा छिमलेर सुन्दर रूख बनाउन खप्पिस् हुन्छन् ।
यहाँनेर हामीले हेर्ने रूख एउटै भए पनि हामी उभिएको धरातल फरक छ भन्ने लाग्छ मलाई । हाम्रो अवस्थितिले दृष्यहरू कस्तो देखिन्छन् भन्ने निर्धारण गर्दछ । लेखक पराजुलीकै कुरालाई मान्ने हो भने त्यो उनले लेखेको नभएर उनीद्वारा लेखिएको लेख हो । अर्थात् कुनै अर्कै चिज (दृष्य/अदृष्य)ले उनलाई लेख्न लगायो । सायद यसपटक त्यो चिज उनले बाँचेको समाज होला । उनी हुर्केको परिवार होला वा उनलाई चिनाइएको परिवेश होला ।
हो, मैले देखेको दृष्यमा त्यस्ता थुप्रै ‘केटी’ हरू रूख चढ्थे/चढ्छन् । आमा, दिदी, भाउजू, काकी, फुपू, बहिनी, छोरी, भतिजी आदि । रूख चढ्नु दैनिकी हो अर्थात् जीवन बाँच्नुको निरन्तरता रूख चढ्नु हो उनीहरूका लागि । मलाई याद छ, अहिले ७५ वर्ष पुग्दै गर्नुभएको हाम्रो आमा ७० वर्षसम्म भिरको टुप्पामा अडिएको घोत्लीको टुप्पामा पुगेर घाँस झार्नुहुन्थ्यो । उहाँको त्यो साहस उस्तै अविचल थियो जसरी श्रीमान्बिना नै उहाँले आफ्ना छोराछोरीहरूलाई हुर्काएर त्यै टाकुराको रूख जस्तै ठिङ्ग उभिन सक्षम बनाउनुभयो । त्यस्ता थुप्रै रूख चढ्ने ‘केटी’ हरू हाम्रोमा अजङ्गका ‘रूख’ चढेर आफ्नो काबिलियत देखाइरहेका हुन्छन् । त्यो देखाउनका लागि होइन जिम्मेवारी हो ।
यहाँ विषय आइपुग्छ हामीले बाँचेको समाज विज्ञान । सँगै आइपुग्छ पहिचानको कुरा । पहिचान भन्नासाथ यसलाई राजनीतिसँग जोड्ने हाम्रो गलत परम्परा बसेको छ किनभने कुनै अमुक राजनीतिक पार्टीले पहिचान नामको झोला भिरिदिन्छ यहाँ । पहिचान, राजनीतिभन्दा बढी सामाजिक मुद्दा हो र हुनुपर्छ । राजनीतिक पार्टीहरूले पहिचानको विषयमा साझा बुझाइ बनाउनुपर्ने हो तर हामीकहाँ पक्ष विपक्षमा विभाजित छन् । यही पहिचानको विषय यहाँ जोडिन्छ । नवराज पराजुलीहरूले बाँचेको समाजविज्ञानबाहेक फरक समाजविज्ञानको अभ्यास गर्ने मानव समुदाय पनि सँगै छ भन्ने कुराको हेक्का राख्नु नै पहिचानका प्रति सजग हुनु हो । पराजुलीले बाँचेको समाज नै पूर्ण हो भन्ने भ्रममा हाम्रो समाज र राजनीति दुवै बरालिएको छ तर वास्तवमा त्यो त आधामात्रै हो । यही कारण हो अर्को सामाजिक चिन्तन र समाज विज्ञानमा बाँच्नेहरूले पराजुलीहरूका मतप्रति तिक्तता पोखिरहनुपरेको । केही दिनअघि उठेको अर्को विषय थियो राउटे किशोरीहरूको । त्यतिबेला थाहा भयो राउटेहरूको आफ्नै सामाजिक कानून छ, नियम छ । जुन नेपालको कानूनभन्दा जटिल छ, कठोर छ । जो उनीहरूले सदियौँदेखि अभ्यास गरिरहेका छन् । तिनको आफ्नै अस्तित्व छ, पहिचान छ । त्यसरी नै हाम्रामा भएका जनजाति समुदायका पनि हरेकका आ-आफ्नै छुट्टै पहिचान छन् । जान्ने बुझ्नेहरू भन्छन्, पहिचानभित्र छुट्टै भाषा, छुट्टै संस्कृति, छुट्टै आर्थिक प्रणाली, छुट्टै समाजविज्ञान चाहिन्छ । नेपालमा यी विषयमा छुट्टै अभ्यास गर्ने कैयौँ जनजातिहरू विद्यमान छन् । तिनको आफ्नै भाषा छ, आफ्नै संस्कृति छ, आफ्नै आर्थिक प्रणाली छ, सामाजिक चिन्तन, मूल्यमान्यताहरू छन् ।
प्राय जनजातिहरूमा मातृसत्ताको अभ्यास सयौँ वर्षअघिदेखि निरन्तर छ । अध्येताहरूका अनुसार मान्छे कृषि युगमा प्रवेश गरेसँगै पारिवारिक सत्ता महिलाहरूमा स्थापित भएको हो । अहिले पनि जनजाति महिलाहरू आफ्नो परिवार र समुदायमा निर्णायक हुन्छन् । “लोग्ने मान्छे भनेको त बारको घोचो ।” जनजाति समुदायमा प्रचलित भनाइ हो यो । यसको अर्थ लोग्ने मान्छेहरू बारलाई धान्ने काम गर्न सक्छन् तर सिङ्गो बार होइनन् । त्यो सिङ्गो बार भने महिलाहरू नै हुन् । अहिले पनि पुरुषहरूले कमाइ गरेर ल्याएको नगद/जिन्सी महिलाहरूको जिम्मा र खटनमा चल्छ । पारिवारिक निर्णयमा महिलाहरू निर्णायक हुन्छन् किनभने परिवारका सबै साना-ठुला जिम्मेवारीहरू उनीहरूकै काँधमा हुन्छ र यसरी महिलाहरूले पारिवारिक-सामाजिक रूख चढ्दा मुनि बसेर कुनै पनि पुरुषले माथितिर हेर्दैनन् । बरु आवश्यक सहयोग र होस्टेमा हैँसे गर्न हरदम तयार भएर रूखको वरिपरि बस्छन् । यो जनजाति समुदायको युगौँदेखिको अभ्यास हो । पराजुलीले भने जस्तै जसरी माथिबाट तल हेर्दा सबै चिज देखिँदैन ठिक त्यसरी नै ठिक मुन्तिरबाट माथि हेर्दा पनि धेरै चिज देखिँदैन । धेरै चिज हेर्नका लागि खुल्ला ठाउँ आवश्यक हुन्छ ।
शारिरिक रूपमा बलवान् र कमजोर हुन सक्छ तर मानसिक रूपमा महिला र पुरुष समान रूपले कमजोर र बलवान् हुन्छन् भन्ने मान्यता जनजाति समुदायमा प्रचलित छ । म त खेत जोत्दै गर्ने दिदीहरू देखेर हुर्किएको हुँ । आली बाउसे गर्ने आमा दिदीहरू देखेर हुर्किएको हुँ । गाउँघरमा हुने साना ठुला कचहरीहरूमा आमा-काकीहरूले छिनोफानो गरिदिएको देख्दै हुर्किएको हुँ । घरायसी उत्पादनहरू बजारसम्म पुर्याएर बेचबिखन गर्ने दिदीहरूसँगै हुर्किएको हुँ । अर्को महत्त्वपूर्ण कुरा जनजाति समुदायमा केटीहरू आर्थिक रूपमा मजबुत हुन्छन् । उनीहरूको पेवा सामान हुन्छ । पेवा गतिविधि हुन्छ । घरमै सुङ्गुर, कुखुरा, बाख्रा इत्यादी छोरीहरूका लागि पेवा दिइन्छ । पेवालाई उनले मात्रै स्याहार्ने होइन । सामूहिक स्याहार गर्ने हो तर त्यसबाट आउने आम्दानी तोकिएकै मान्छेको हुन्छ । जाँड रक्सी पनि पेवा बनाउने चलन छ । यसरी उनीहरू सानैदेखि आर्थिक रूपमा आत्मनिर्भर रहन्छन् । मलाई याद छ स्कुल पढ्दा हामीलाई केटी साथीहरूले नै खाजा किनिदिन्थे । उनीहरूसँग पैसा हुन्थ्यो । हामीसँग त क्यारेमबोर्ड खेल्नेसमेत पैसा हुँदैनथ्यो ।
अब यहाँ आएर प्रश्न उठ्छ उसो भए जनजातिका पनि केटी/महिलाहरू किन पछि छन्/परे त ? प्रस्ट छ, देशको मूल नीतिका कारण । हाम्रो देशको मूल कानून पनि त्यहीँ उभिएर केटीहरूलाई हेर्छ जहाँ उभिएर नवराज पराजुलीले त्यो आलेख सृजना गरे । देशको कानून नै “महिलाहरू रूख चढ्दैनन्” भन्ने मानसिकताबाट बनेको छ । कानूनले भन्छ, “अब रूख चढ्न सिकाउनुपर्छ । उत्प्रेरित गर्नुपर्छ ।” जब कि “रूख चढ्नु” महिलाहरूको दैनिकी अर्थात् जीवन हो तर यो दृष्यलाई छाया पारेर एउटा परम्परागत मान्यताको स्पट्लाइट पारिएको दृष्यलाई मात्रै सम्पूर्ण दृष्य मान्ने गरिएको छ र जनजाति समुदाय पनि बिस्तारै त्यसैलाई सम्पूर्ण ठान्ने मनोविज्ञानतिर लम्किएको देखिन्छ । आजकल धेरै जसो जनजातिका सम्भ्रान्त महिला-पुरुषहरू धार्मिक पात्रो अनुसारको व्रत बस्ने, पति परमेश्वरको पाउको जल अभिषेक गर्ने, आयातित संस्कृतिका “बर्थ डे” “एनिभर्सरी” तिर रमाउने प्रवृत्ति बढ्दो छ । उल्लिखित गतिविधिहरूप्रति मेरो विरोध होइन । यी सबैप्रति मेरो उत्तिकै सम्मान छ जति म आफ्नो साकेन्वालाई सम्मान गर्छु किनभने ती पनि अरू कसैको आफ्नो मौलिक संस्कृति हो, पहिचान हो तर आफ्नोलाई बिर्सेर अरूको अँगाल्नु भनेको त्यो संस्कृतिबाट दमित हुन उद्यत हुनु हो । सांस्कृतिक उपनिवेशका अघि आफूलाई समर्पण गराउनु हो र यतिखेर यो क्रम बढिरहेको देखिन्छ । यसले गर्दा जनजाति महिलाहरू पनि अहिले आफ्ना पुरुष सहकर्मीभन्दा क्रमशः कमजोर बन्दै गइरहेका छन् । भिर-पहरा चहार्ने, टाकुराभन्दा अग्ला-अग्ला रूख चढ्ने केटीहरू सहर पसेपछि गाउँको कान्लेबारीमा समेत बामे सर्ने भएजस्तै अजङ्गका पारिवारिक-सामाजिक रूखहरू सहजै छिमलेर सुन्दर बनाउने महिलाहरू अचेल सांस्कृतिक उपनिवेशमा नजानिँदो ढङ्गले सङ्क्रमित भएर आफ्नै सामर्थ्य बिर्सँदै गइरहेका छन् । यो भने चिन्ताको विषय हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।