साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बुहारी पनि मान्छे हुन्, मेसिन होइनन्

बुहारी किन ढिला उठी भनेर साेध्नेहरूले किन साेच्दैनन्, रातभर बुहारी निदाइन् कि निदाइनन् ?

केही समयअगाडि शुभचिन्तकको फोन आयो । हेल्लो नमस्कारको औपचारिकता निर्वाह गर्न नपाउँदै उताबाट अत्यन्तै अतालिएको सवाल आयो -“होइन सिठ्ठी लागेको पो आवाज सुनिन्छ त, भान्सामा पो हो कि क्या हो?”

“हजुर  भान्सामा छु” मैले सहजै जिज्ञासा मेटाइदिन खोजेँ।

झन् चर्को सवाल आयो -“होइन बुहारी के गर्दैछिन् त?”

“सुतिरहेकी छिन्” फेरि जबाफ फर्काएँ ।

“राम राम अनि बुहारी भित्र्याएपछि पनि भातभान्सा, कुचो-कसिङ्गर, धुने-सुकाउने सबै आफैँ गर्नुपरेपछि तपाईँका सुखका दिनचाहिँ कहिले आउँछन् त! पालो नपाउने रहेछ नि तपाईँको भाग्यमा चाहिँ! कस्तो बुहारी कजाउन पनि नजानेको त! छक्काल पो भैसक्यो त अनि यतिबेलासम्म सुतिराखेको भनेपछि …….” खै यस्तै धेरै सवालहरू आइरहे मुरली मकैका फूल उठेझैँ पटङ्टङ । अब यी वाहियात सवालका जबाफ फर्काइरहन मसँग समय पनि थिएन र जरुरी पनि ठानिन । मनमा भने अनेक तरङ्हरू तैरिइरहे ।

किन उठ्नुपऱ्यो बिहान सबेरै! त्यही कुचो लाउन, नुहाउन, पूजापाठ गर्न, भातभान्सा तयार गर्न, भाँडा माझ्न ……। भर्खरै बिहे भएको वर्ष, जति बिहान भयो त्यति झ्यालबाट पसेको मिर्मिरे उज्यालोसँगै सिरसिरे चिसो बतासले सुमसुम्याउँदै गर्दाको मीठो निन्द्रा किन बिथोल्नुपऱ्यो? फेरि कहिल्यै फर्केर नआउने समय हो यो । एउटा उमङ्गको समयमा कुचो र डाडुपन्यूको त्रासले किन तहल्का मच्चाइदिनुपऱ्यो! किन बिहानै लाउनुपऱ्यो कुचो, जातिबेला फोहोर हुन्छ त्यतिबेला लाए भैहाल्यो नि। पूजापाठ भातभान्सा यतिका समय हामी आफैँले गर्दा भएको थियो भने सकुन्जेल अझै गर्दा भैगो । किन सबै काम एउटै मान्छेलाई थुपार्नुपऱ्यो? घरको काम जति एउट मान्छेलाई थुपारेर बाहिर एक्सरसाइज भन्दै दौडिनुको के अर्थ ?

बुहारी किन ढिला उठी भनेर साेध्नेहरूले किन साेच्दैनन्, रातभर बुहारी निदाइन् कि निदाइनन् ?

अफिसबाट घर फर्किँदा सधैँ त्रि.वि. कीर्तिपुर क्याम्पसको प्राङ्गण घडी घरअगाडि भेला भएका सासूहरूले बुहारीका कुरा काटेर समय बर्बाद पारेको देख्दा बरु एकछिन वाकिङ सकेर घरमा गएर तरकारी काटिदिनू नि ! ती बुहारी कति थाकेर आएका होलिन् कलेज, अफिस, व्यापार वा कहीँ कतैबाट । एक गिलास ग्लुकोज पानी बनाएर दिए पनि त कति शीतल हुँदो हो थाकेका बेला! यो चौरमा भेला भएर कुरा काटेर बस्दाको प्राप्तिचाहिँ के हो त!!जस्ता कुराहरूले दिमाग चाटिरहेकै बेला फेरि आफैँलाई यस्ता बकम्फुसे सवालहरू आइलाग्न थालेका छन् । अब बुहारी आएपछि फुर्सद नै होला किन जानुपऱ्यो छिटो घर? किन भान्साको चिन्ता लिनुपऱ्यो? बुहारीलाई बुहारीकै ठाउँमा राख्न जान्नुपर्छ नत्र ……..”।

यी सबै सवालपिच्छे जबाफ दिन समय खर्चनु भनेको आफ्नो यो अमुल्य समय बर्बाद पार्नु हो । सुनौलो आयु घटाउनु मात्र हो तर केही नबोल्नु पनि मानसिक हिंसालाई मौन समर्थन गर्नु पनि हो र यस्ता अपराधिक गतिविधिलाई प्रश्रय दिनु पनि हो भन्ने सोचेर केही आफ्ना विचार पस्कने जमर्को गर्दैछु ।

बुहारी भनेको भनेको अहिलेको प्रविधिले निर्माण गरेको मेसिन होइनन् उनी पनि हाम्री छोरीसरह कसैले जन्माएकी छोरी हुन् । हामीले हाम्री छोरीजस्तै उस्तै व्यथा खपेर जन्माएकी हुन् आमाले अनि अनेकौँ लगानी गरेर हुर्काएका हुन् बाबाले । ती आमा बाबाको व्यथा अनि लगानीसँगै उनले आफ्नो जन्मघर र थरसँगको संसार छोडेर हाम्रो घरमा सम्बन्ध विस्तार गर्ने प्रयासमा छन् । सर्वप्रथम त उनले यो घर अनि परिवारलाई आफ्नो घर परिवार हो भन्ने सोच्न वातावरण पाउनुपर्छ  । ‘अर्काको घर’  भन्ने हाउगुजी मेटाउन उनलाई सासूससुरा, नन्दभाउजु, देवरजेठाजु होइन आमाबाबा, दिदीबहिनी, दाजुभाइको भाव दिलाउनुपर्छ । जन्मघरमा जसरी निर्धक्क खान बस्न सुत्न उठ्न हिँड्न डुल्न पाउँथिन् त्यसैगरी चल्न दिनुपर्छ ताकि उनलाई अलिकति पनि सङ्कोच नहोस् । मनमा लागेका इच्छाहरू व्यक्त गर्न सहजै सकून् । उनलाई हामी दुलही / बुहारी भन्दैनौँ नानी भन्छौँ, जसरी रक्षालाई  नानी भन्छौँ त्यसरी नै । उनले पनि हामीलाई सासूससुरा भन्दिनन्, आमाबाबा भन्छिन् जसरी रवि र रक्षाले भन्छन् त्यसैगरी । रक्षाले पनि भाउजू भन्दिनन्, दिदी नै भन्छिन् र अप्सराले रक्षालाई पनि नन्दरानी मैयासाप आइस्यो लाइस्यो खाइस्यो केके जाती भद्दा संवोधन गर्दिनन् । रक्षा भनेर नामबाट नै सम्बोधन गर्छिन् अनि तिमी नै भन्छिन् किनकि उमेरले पनि रक्षा अप्सराभन्दा कान्छी हुन् त्यसैले बहिनी नै हुन् । ससुरालीपट्टिका भाइबहिनीलाई तिमीभन्दा हुने अनि बुहारीले नन्द, देवरलाई काजिसाप, मैसाप खै केके किन भन्नुपऱ्यो ? भाइबहिनी भने भैहाल्यो भन्ने मान्यता हो हाम्रो । जसले गर्दा सम्बन्धमा प्रगाढता थप्छ भन्ने विश्वास पनि हो ।

हामी खानेकुरा खाँदा सपरिवार सँगै बसेर खान्छौँ । म त झन् एउटै थालमा खाइदिन्छु बच्चाहरूसँगै । यसले गर्दा उनलाई आफ्नै आमासँग छु भन्ने महसुस होस् भन्ने लाग्छ । बुहारीले भान्सा कुरेर बस्नुपर्छ भन्ने नियम अब यही पुस्ताबाट तोड्नु छ मलाई । मेरो आफ्नै अभियानको एउटा पाटो यो पनि हो । त्यसैले सँगै खान्छौँ, गाउँदा सँगै गाउँछौँ, नाच्दा सँगै नाच्छौँ, खेल्दा सँगै खेल्छौँ , हाँस्दा सँगै हाँस्छौँ दिल खोलेर ।

म पढ्दैछु भने चिया खाजा पानी समयअनुसार उनले सर्भिस गर्छिन्, उनको पढाइ या सेमिनार केही छ भने म सर्भिस गर्छु । यसले गर्दा उनलाई आफ्नै आमासँग भएको महसुस होस् भन्ने लाग्छ मलाई । पढिरहँदा “ओहो म त बुहारी पो त, लौन के भनिसके होला सासू ससुराले, अरू केके काम बितिसक्यो……” जस्ता कुरा मनमा खेल्यो भने गरिरहेको काममा ध्यान हुँदैन र परिणाम राम्रो निस्किँदैन अनि लगानी (समय, स्रोत, साधन ) मात्रै नोक्सान हुन्छ । यो नोक्सानीले हाम्रै परिवारलाई नकारात्मक असर पार्छ । त्यसैले निर्धक्क भएर काममा समर्पित हुन दिनुपर्छ जस्तो लाग्छ । डराउने, लजाउने, रुने कराउने सबै हाम्रै पुस्तामा मैजारो गरेको सोचेको छु ।

सन्तान रमाएको देख्दा आनन्द लाग्छ । छोराको जोडी भान्सामा सँगै, भाँडा माझ्न सँगै, लुगा धुन सँगै , पढ्न सँगै, टिभी हेर्न सँगै देख्दा मलाई गर्व लाग्छ किनकि एक त काम छिटो सकिन्छ अर्कोचाहिँ कामको आधारमा कसैलाई अपमानित भएको महसुस हुँदैन अनि छोरा पनि व्यावहारिक हुँदै जान्छ ।

जीवनको यात्रामा देश परदेश गर्दा कहिलेकाहीँ एक्लै बस्नुपऱ्यो भने सिकाइले सहज बनाउँछ । अबका महिला भनेको समाजका हरेक तह र तप्कामा सहभागी हुनथालेका छ्न र हुनु पनि पर्छ । त्यसो हुँदा बाहिरको काम, घरको काम अनि बुढाबुढी केटाकेटी स्याहारसुसार पाहुना रेखदेख सबै एक्लैले सम्भव छैन । लोग्नेमान्छेचाहिँ बाहिरको काम सकेर आएर उपरखुट्टी लाएर बस्ने अनि महिला मात्रै काम नै कामले थिचेर मर्नुपर्ने जमाना होइन अब । ती मृत्यु पनि हाम्रो पुस्तासम्मले निलिसकेको हुनुपर्छ । अबको पुस्ता भनेको सँगै कमाउने अनि सँगै रमाउने हो भन्ने स्वीकार्न सक्नुपर्छ सबैले । अरू सबै रमिता हेरेर फाल्तु गफ गरेर समय बिताउने अनि एउटा मान्छेलाई मात्रै काममा जोताएर शारीरिक अनि मानसिक विक्षिप्त बनाउनु अपराध हो । यस्ता रोगी भएको घर दुखिरहन्छ सधैँ र उपचार पनि सम्भव छैन । यस्तो संवेदनशील कुरामा सबै सचेत हुन जरुरी छ । अर्को प्रसङ्ग म मेरो गोडा ढोग्न पनि दिन्न बुहारीहरूलाई किनकि आफ्नो छोरीले ढोग्न नहुने खुट्टा कसैका छोरीलाई ढोगाउनु हुन्न भन्ने मेरो मान्यता हो । हातमै ढोग्ने अनि आशिष् लिने हो बुहारीहरूले छोरीले जस्तै भन्ने लाग्छ मलाई । ससुरालीमा गएर ज्वाइँले चाहिँ सासूससुराको खुट्टा छुँदा पाप लाग्ने अनि बुहारीलाई खुट्टा ढोगाउँदा धर्म हुने शास्त्रको पन्नापन्ना मेरै पुस्ताले च्यातेर फालिसकेको सोचेका छौँ । कहीँ कतै टुक्राटुक्री भेटिए सलाई कोरेर जलाइदिनुपर्छ जस्ले भेट्छ उसैले ठाउँको ठाउँ भन्ने मेरो आग्रह पनि हो सधैँ । फुर्सदको समयमा परिवारभित्र विभिन्न सकारात्म सन्देशयुक्त पूस्तकहरूको समीक्षा गरौँ, गर्दै आएको कामलाई अझ सहज कसरी कगराउन सकिन्छ ? कसले कुन नेचरको व्यवहार परिवर्तन गर्दा परिवारमा थप रमाइलो हुन्छ ? दिन कसको कस्तो बित्यो ? जस्ता विषयमा छोराबुहारी सपरिवार भेलाभएर छलफल गरौँ, यस्ता छलफलले पारिवारिक आत्मीयता प्रगाढ बन्दै जान्छ, र बुहारीसँगको पारिवारिक सम्बन्ध छोरीमा परिणत हुन्छ ।

अन्त्यमा बुहारीलाई छोरीको स्थानमा राखेर व्यवहार गरौँ । उनलाई यो घर पराइको घर होइन आफ्नै घर हो भन्ने महसुस गराऊँ । त्यसपछि समयले आफ्सेआफ जिम्मेवारी र जबाफदेही बनाउँदै लगिहाल्छ । बुहारी कजाउने नाममा घरभरी मान्छे भेला भएर, भान्साकोठामा असिन र पसिन हुँदै उनलाई मात्रै काममा जोताएर अरू सबै अर्को कोठामा गुड्डी हाँकेर बस्ने तानशाही जमाना छैन अब । यो प्रवृत्तिको दाहसंस्कार हाम्रो पुस्ताले गरिसकेको महसुस गरेका छौँ । कतै उच्छिट्टिएर रहेका झिल्काहरू भए सामातेर बाग्मतीमा बगाइदिनुपर्छ जसले भेट्यो उसैले । त्यसैले अब बुहारीको चियोचर्चो गर्न छोडौँ । बुहारीले के ल्याइन् होइन कति कुरा छोडेर आएकी हुन भन्ने संवेदनशीलताको मर्मवोध गरौँ अनि उनी पनि मान्छे हुन् मेसिन होइनन् भन्ने सत्य पक्ष आत्मसात् गरौँ भन्ने आग्रह गर्दै कलम बिसाउँछु ।

जीवनको यात्रामा देश परदेश गर्दा कहिलेकाहीँ एक्लै बस्नु पर्यो भने सिकाइले सहज बनाउँछ । अबका महिला भनेको समाजका हरेक तह र तप्कामा सहभागी हुनथालेका छन् र हुनु पनि पर्छ । त्यसो हुँदा बाहिरको काम, घरको काम अनि बूढाबूढी केटाकेटी स्याहारसुसार पाहुना रेखदेख सबै एक्लैले सम्भव छैन । लोग्नेमान्छे चाहिँ बाहिरको काम सकेर आएर उपरखुट्टी लाएर बस्ने अनि महिला मात्रै काम नै कामले थिचेर मर्नुपर्ने जमाना होइन अब । ती मृत्यु पनि हाम्रो पुस्तासम्मले निलिसकेको हुनुपर्छ । अबको पुस्ता भनेको सँगै कमाउने अनि सँगै रमाउने हो भन्ने स्वीकार्न सक्नुपर्छ सबैले । अरू सबै रमिता हेरेर फाल्तु गफ गरेर समय बिताउने अनि एउटा मान्छेलाई मात्रै काममा जोताएर शारीरिक अनि मानसिक विक्षिप्त बनाउनु अपराध हो । यस्ता रोगी भएको घर दुखिरहन्छ सधैँ र उपचार पनि सम्भव छैन । यस्तो संवेदनशील कुरामा सबै सचेत हुन जरुरी छ । अर्को प्रसङ्ग म मेरो गोडा ढोग्न पनि दिन्न बुहारीहरूलाई किनकि आफ्नो छोरीले ढोग्न नहुने खुट्टा कसैका छोरीलाई ढोगाउनु हुन्न भन्ने मेरो मान्यता हो । हातमै ढोग्ने अनि आशिष लिने हो बुहारीहरूले छोरीले जस्तै भन्ने लाग्छ मलाई । ससुरालीमा गएर ज्वाइँले चाहिँ सासूससुराको खुट्टा छुँदा पाप लाग्ने अनि बुहारीलाई खुट्टा ढोगाउँदा धर्म हुने शास्त्रको पन्नापन्ना मेरै पुस्ताले च्यातेर फालिसकेको सोचेका छौँ । कहीँकतै टुक्राटुक्री भेटिए सलाई कोरेर जलाइदिनुपर्छ जस्ले भेट्छ उसैले ठाउँको ठाउँ भन्ने मेरो आग्रह पनि हो सधैँ ।

तर एउटा कुरा पनि भुल्नु हुँदैन कि केही बुहारीहरू औँला दिँदा डुडुल्ना निल्ने खाल्का नभएका पनि होइनन् । मायाको व्यवहारलाई दुरुपयोग गरेर उदण्ड भएका बुहारी नभेटिएका पनि होइनन् । मायाले मात्तिएपछि मान्छेलाई मान्छे नगनेर टाउकोमा टेक्दै हिँड्ने नदेखिएका पनि होइनन् । आफ्नो घर, परिवार, आफन्त, मान, सम्मान, इज्जत कायम राखेर नै पनि सही कर्म गरेर स्वतन्त्रता प्राप्ति हुन्छ भन्ने भुलेर विकृतिको बाटो समाएकाहरूलाई सही मार्गमा हिँडाउन अनि मानवीय संस्कार सिकाउन हामी बोल्नैपर्छ । श्रीमान् विदेशमा बसेर रगतसँग साटेर पैसा कमाउने अनि श्रीमती गाउँमा मर्न लागेका सासूससुरा भोकभोकै छोडेर, सहर पसेर आफ्नो धरातल नै भुलेर हर्कत देखाउने पनि धेरै छन् । मानवीय संवेदना नै भुलेर राक्षसी प्रवृत्ति देखाउने बुहारीहरू पनि समाजमा नभएका होइनन् तिनीहरूलाई चेतनाको अभाव हुनसक्छ ।चेतना सबैभन्दा पहिलो पक्ष हो र यो शिक्षाबाट प्राप्त हुन्छ । त्यसैले सबै छोरीबुहारीलाई शिक्षाको अपरिहार्यता रहन्छ । शिक्षित बुहारीले पक्कै पनि कसलाई कसरी सम्वोधन गर्ने अनि कोसँग कस्तो व्यवहार गर्ने भन्ने छुट्याउन सक्ने सामर्थ्य राख्छन् ।

अन्त्यमा, बुहारीलाई छोरीको स्थानमा राखेर व्यवहार गरौँ । उनलाई यो घर पराइघर होइन, आफ्नै घर हो भन्ने महसुस गराऊँ । त्यसपछि समयले आफ्सेआफ जिम्मेवारी र जवाफदेही बनाउँदै लगिहाल्छ । बुहारी कजाउने नाममा घरभरि मान्छे भेला भएर, भान्साकोठामा असिन र पसिन हुँदै उनलाई मात्रै काममा जोताएर अरू सबै अर्को कोठामा गुड्डी हाँकेर बस्ने तानशाही जमाना छैन अब । यो प्रवृतिको दाहसंस्कार हाम्रो पुस्ताले गरिसकेको महसुस गरेका छौँ । कतै उछुट्टिएर रहेका झिल्काहरू भए सामातेर बागमतीमा बगाइदिनुपर्छ, जसले भेट्यो उसैले । त्यसैले अब बुहारीको चियोचर्चो गर्न छोडौँ । बुहारीले के ल्याइन् होइन, कति कुरा छोडेर आएकी हुन् भन्ने संवेदनशीलताको मर्मबोध गरौँ, अनि उनी पनि मान्छे हुन् मेसिन होइनन् भन्ने सत्य पक्ष आत्मसात् गरौँ भन्ने आग्रह गर्दै कलम बिसाउँछु ।

प्रतिक्रिया
Loading...