साकेन्वा भन्नासाथ किरात बस्तीको त्यो दृष्य सम्झनामा नाच्न थाल्छ जुन हरेक उभौली र उधौलीको छेकोमा वारिपारि जताततै ढोल र झ्याम्टाहरू लयबद्ध भएर बजिरहेका हुन्छन् । किरात समुदायका मानिसहरू सुनिरहूँ लाग्ने साकेन्वा “लाकछाम” गाउँदै प्रकृतिका विभिन्न प्राणीहरूको चरित्र र व्यवहारको एकै लयमा नक्कल गर्दै नाचिरहेका हुन्छन् ।
सम्झना भन्नासाथ विगतको त्यो सुदूर समयमा बाँचेको जिन्दगी आँखै अघिल्तिर आइपुग्छ । उसो त हरेक वर्तमान समयक्रममा अतीत वा सम्झनामै मात्र अल्झिने समय भैदिने हो । हामीले बाँचिरहेको हरेक आजको समय पनि भोलिदेखि विगतमात्रै रहन्छ र एउटा सम्झना भइदिन्छ । वर्तमान जतिसुकै दारुण किन नहोस् भोलि गएर सम्झँदा त्यो मीठो याद भइदिन्छ । प्रविधि, चेतना, पूर्वाधार इत्यादिका हिसाबले आजको समयभन्दा विगतको समय निश्चय नै मुस्किल हुन्छ भौतिक हिसाबले । कमसेकम हाम्रो जस्तो भुगोल, व्यवस्था र चेतनाले चलेको समाजमा ।
यतिखेर सम्भवतः दुनियाँको कमैमात्र त्यस्तो ठाउँ होला जहाँ बजारीकरणले नछोएको होस् । बजारीकरणलाई हामी विकास भन्छौँ तर त्यो विकासको उचित व्यवस्थापन गर्न सकिएन भने त्यसले हामीसँग भएका हाम्रा सारा मौलिकताहरूलाई निमिट्यान्नै पारिदिन सक्छ । त्यसैले बजार आइपुग्दै गर्दा हाम्रो चेतना पनि त्यही रफ्तारमा मजबुत हुनुपर्ने हो तर बजारले हाम्रा थुप्रै मौलिकताहरूलाई किनारा लगाइदिइसकेको छ । हाम्रो खानपान, रहनसहन, बानी व्यवहार, सामाजिक मर्यादा, संस्कृति-चालचलन, बोली वचन इत्यादिमा अर्गानिक गाउँले स्वाद हराइसक्यो अब ।
उहिलेको समय खेतीपाती गरेर उत्पादन नगरे भोकै बस्नुपर्थ्यो, अनिकाल लाग्थ्यो तर आजकल उत्पादन हुने जग्गा जमिनमा खेतीपाती हुँदैन । त्यही र पनि मानिसहरू भोकै हुँदैनन्, अनिकाल लाग्दैन किनभने बजार गाउँमै आइपुगेको छ । सबै चिजहरू “रेडिमेड” आइपुग्छन् । चामल बोरामा प्याक भएर आउँछ । तरकारी प्लास्टिकमा पोका परेर आइपुग्छ । तेल बोतलमा भरिएर आइपुग्छ । मकै भटमासको खाजाको ठाउँमा चाउचाउ, बिस्कुट र थरीथरीका “इन्स्ट्यान्ट” खानेकुराहरू आइपुग्छन् । रक्सी सरकारी छाप(स्टिकर) लागेर आइपुग्छ । मसला त झन सिलौटोमा पिध्नै नपर्ने गरी धुलै आइपुग्छ । यी सबै चिजहरू बजारले ल्याइदिएपछि गाउँघरबाट जाँतो, ढिकी, तेल पेल्ने कोल, मकै भुट्ने हाँडी, रक्सी बनाउने पैनी, फोँसी, बाता, डुबुल्कीजस्ता चिजहरू बिस्तारै हराउँदै जान थाले । तीसँगै चामल केलाउने सीप, नाङ्लो-डालो-थुन्चे बुन्ने सीप, गुन्द्रुक-सिन्की बनाउने प्रविधि, रक्सी बनाउने, खाँडी, राढी-पाखी बुन्ने सीप, ऊन् कात्ने, चर्खा चलाउने इत्यादि सिपहरूसमेत बिस्तारै कथा बन्ने क्रममा छन् ।
गाउँघरको अर्को महत्त्वपूर्ण पाटो भनेको सामूहिक सामाजिकता हो । छरछिमेकमा आइपर्ने आपत्-विपत् कामहरूमा निःशर्त सहयोग गर्ने, सामूहिक काममा दिल खोलेर लागिपर्ने, अर्म-पर्म, पालो-पैँचो जस्ता चलनहरू लोप हुने क्रममा छन् । यीसँगै हाम्रा चाड पर्व र संस्कार-संस्कृतिहरूको आफ्नोपन, मौलिकताहरू पनि बिस्तारै हराउन लागेको देखिन्छ । जीवित राखिएका संस्कृतिहरू पनि केवल निरन्तरता दिनकै लागि मात्रै राखिएझैँ देखिन्छन् । तिनै महत्त्वपूर्ण संस्कृतिहरूमध्ये किरात समुदायको सभ्यतासँग जोडिएको संस्कृति हो साकेन्वा ।
अध्येताहरूका अनुसार मानव सभ्यता कृषियुगमा प्रवेश गरेसँगै किरात समुदायमा साकेन्वाको सुरुवात भएको हो । साकेन्वा मूलतः यो समुदायको सांस्कृतिक मियो हो । किरातहरूको जीवनपद्धति मानिने मुन्दुमअनुसार साकेन्वा मनाउनु भनेको प्रकृतिप्रतिको कृतज्ञता, भरोसा, विश्वास तथा समर्पणको प्रतीक हो । यसको अर्थ मुन्दुम पूर्णरूपमा संसार प्राकृतिक नियमअनुसार चल्दछ भन्ने विश्वास गर्दछ । साकेन्वामा आगो, पानी, आकाश, धरती लगायतका प्राकृतिक वस्तुहरूको पूजा गरिन्छ । विभिन्न जीव जन्तुहरूको नक्कल गर्दै नाचिन्छ । त्यसो गर्नुको अभिप्राय उनीहरूलाई खुसी बनाउनु हो, उनीहरूलाई खुसी बनाउन सके लगाइएका बालीनालीहरू उनीहरूले नष्ट गरिदिँदैनन् भन्ने मान्यता छ । वैशाख पूर्णिमाको समयमा हुने उभौली साकेन्वामा बालीनाली सप्रियोस्, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्तिहरू नआऊन् भनी बल/शक्ति माग्दै साकेन्वा मनाइन्छ भने मङ्सिर पूर्णिमाको समयमा मनाइने उधौलीमा उत्पादित बालीनालीहरूका लागि प्रकृतिसँग कृतज्ञ हुँदै नयाँ बाली त्यही प्रकृति र पितृहरूलाई समर्पण गर्ने र नयाँ बाली प्रयोग गर्ने जानकारीसहीत मनाइन्छ ।
यतिखेर हामी सबैको हात हातमा मोबाइल फोन छ त्यो पनि स्मार्ट्फोन । स्मार्ट्फोनसँगै सबैथोक छ । रेडियो, लाइट, घडी, टिभी, पत्रपत्रिका, टेलिफोन, किताबकापी, संसारका सारा ज्ञानगुनका कुरा, तिथिमिति सहीतको पात्रो इत्यादि । एक दशक अघिसम्म तिथिमिति हेर्नका लागि प्रत्येक घरमा भित्तेपात्रो झुन्डिएको हुन्थ्यो । केहिले गोजीपात्रो बोक्थे वा सानो एकपन्ने पट्याएर पर्समा बोक्न मिल्ने पात्रो बोक्ने चलन थियो । अझ त्योभन्दा अगाडि बाहुन(जजमानी गर्ने) हरूसँग मात्रै तिथिमिति हेर्ने सीप थियो । किनभने उनीहरूसँग मात्रै हुन्थ्यो लामो खालको काशीपात्रो र तिथिमिति हेर्न बाहुनहरूसँगको भेट अनिवार्य हुन्थ्यो र पात्रोका यी सबै सुविधाहरू आउनुभन्दा पहिला पनि समय चलिरहेकै थियो । दिनरात, हिउँद बर्खा, भइराखेकै थियो । त्यतिबेला पनि मानिसहरू सही समयमा आ-आफ्ना कामधन्दा, संस्कार र संस्कृतिहरू पालना गरिरहेकै हुन्थे । त्यो समयका मानिसहरू प्रकृतिसँग ज्यादै निकट थिए । सूर्य, पृथ्वी, चन्द्रमा तथा ताराहरूको अवस्थितिका आधारमा तिथिमिति पत्ता लगाउँथे । चराचुरुङ्गी, कीरा फटयाङ्ग्रा इत्यादिको आवाज तथा व्यवहारका आधारमा हिउँद बर्खा वा खेतीपातिको समय निधो गर्दथे ।
हावा, बादलको गति, चराहरूको आवाज र उडाइ आदिका आधारमा पानी पर्ने नपर्ने कुरा जान्दथे । त्यसरी नै साकेन्वा अर्थात् उभौली र उधौली पनि एउटा समयसूचक पर्व थियो । हिउँद र बर्खा लागेको जनाउ दिने सूचक तर आजकल साकेन्वाले बिस्तारै “फेन्सी” अर्थात् बजारको प्रभावमा आफ्नो मौलिकता बिर्सँदै गएको भान हुन्छ । ढोल, झ्याम्टा बजाएर गोलाकार घेरामा उभिएर सिली नाच्नु मात्रै साकेन्वा होइन । साकेन्वाको मौलिक महत्त्व, यसको सांस्कृतिक मान्यता, मुन्दुमी नियम/पद्धतिहरूभन्दा बढी साकेन्वाको बाहिरी रङ्गरोगनमा अहिलेको “साकेन्वा पुस्ता” लागेको देखिन्छ । हो, आजकल धेरै जसो जातीय पहिचान झल्किने पोसाकमा साकेन्वा नाचेको देखिन्छ । समय समयमा साकेन्वाका बारे विमर्शहरू भइरहेका हुन्छन् तर ती सबै प्रायः “बजार”को नियमअनुसार बजारमा “एड्जस्ट” गर्न/हुनका लागि मात्रै केन्द्रित भएको देखिन्छ ।
यतिखेर साकेन्वा गाउँ बस्तीहरूबाट सदरमुकाम, सहर हुँदै केन्द्रिय राजधानीसम्म आइपुगेको छ । यी स्थानहरूमा हामी सुकिलो भएर/देखिएर जिउ दुख्नेगरी “शिली” नाच्छौँ, घाँटी सुक्ने गरी साकेन्वा गाउँछौँ । भाषण गर्छौँ । हाम्रा मौलिक खान्कीका परिकारहरू प्रदर्शन गर्छौँ/सेवन गर्छौँ । एक प्रकारले यो प्रचारत्मक रूपमा सही छ । बजारको भाषामा विज्ञापन । अर्थात् कपडा पसलको डमीजस्तो । दुरुस्तै र चिटिक्क देखिन्छ तर प्राणविहीन । हाम्रो साकेन्वा पनि बिस्तारै डमीजस्तै सुन्दर तर प्राणविहीन बन्दै गइरहेको त छैन? सोच्ने बेला आएको छ किनभने साकेन्वाको उठान नाक्छोङ्बाट हुन्छ । नाक्छोङ् रहरले कोही पनि बन्न सक्दैन । यसको मुन्दुमी नियम छ । मुन्दुमी मान्यताअनुसार साकेन्वाको पनि निश्चित स्थान हुन्छ । जसलाई मान्छेले यहाँ बनाउँछु भनेर तोकेर बनाउन सक्दैन । नाक्छोङ्हरू भुईँफुट्टा हुन्छन् अर्थात् आफैँमा नाक्छोङ् हुने मुन्दुमी ज्ञान प्राप्त हुन्छ र उही नाक्छोङ्ले साकेन्वाथान पत्ता लगाउछ । नाक्छोङ्हरूका अनुसार उनीहरूले तोक्ने साकेन्वाथानमा प्राकृतिक शक्ति हुन्छ । हामीले त्यसैको पूजा गर्ने हो तर हिजो आज यो प्रथा बिस्तारै बजारले निलिसक्यो । गाउँ बिस्तारै सुनसान हुँदै गएको छ । नाक्छोङ्हरूको अघिल्लो पुस्ता क्रमशः सकिँदै जाँदैछ । यतिखेरको सामाजिक मनोविज्ञानले गाउँमा खेतीपाती गरेर, गाईवस्तु पालेर जीविकोपार्जन सम्भव देख्दैन । युवाहरू जति सकेसम्म सहर जाने वा परदेशिने प्रचलनले गाउँहरू युवाविहीन भैरहेका छन् । गाउँहरूमा बँचेकुचेका साकेन्वाहरू पनि अब जबरजस्ती बुढापाकाहरूले मात्रै धान्नुपरिरहेको छ । नाक्छोङ्को वारि, आँगन होस् वा साकेन्वाथान नजिकैको चउर, कुनै समय खुट्टा राख्नै नभ्याइने गरी नाच्ने युवायुवतीहरू हुने साकेन्वाको समयमा आजकल त भएका ढोलहरू बोक्ने युवासमेत पाउन मुस्किल भइसकेको छ । नाक्छोङ्लाई दिनैभरी गाउँलेहरूको साया हेर्न भ्याई नभ्याई हुन्थ्यो । हाट लाग्थ्यो मान्छेहरूको । अनेक अनेक चिजहरूको बेचबिखन हुन्थ्यो । किराती महिलाहरू आफ्नै हातले बनाएको जाँड रक्सी बेचिरहेका वा लाङ्वा(सौगात) बाँडिरहेका हुन्थे । माटाको मटिया, चिन्डो इत्यादिको प्रयोग हुन्थ्यो । कोही कोहीले मात्रै काँचको बोतल प्रयोग गर्थे । केटाकेटीहरू आ-आफ्नो समुहमा गुच्चा खेलिरहन्थे चकलेट, बिस्कुट वा यस्तै अनेक चिजको दाउ राखेर वा निस्फिक्री आफ्नै धुनमा एक आपसमा मिलेर अनेक खेल खेलिरहेका हुन्थे ।
तर अहिले साकेन्वामा त्यो रौनक प्रायः भेटिन्न गाउँमा । मौलिक सामग्री चिन्डो, मटियाहरूलाई प्लास्टिकको बोतलहरूले बिस्थापित गरिसक्यो । केटाकोटीहरूको गुच्चामा भुलिने उमेर स्मार्ट्फोनले खोसिसक्यो । साथीभाईसँग अनेकौँ उल्का रमाईलो गरिहिड्ने समयमा आजकल केटाकोटीहरू दुई हातले समातेको मोबाइलमा निधार झुन्ड्याएर एकान्तमा रमाइरहेका छन् । बुढापाकाहरू केही समय साकेन्वाको फेरोमा जोडिन्छन् । उनीहरूलाई शरीरले साथ दिँदैन र एकैछिनमा बाहिरिन्छन् । गाउँमा आक्कलझुक्कल बाँकी रहेका युवाहरू सबै साथीहरूले उन्नति गरिसकेको, आफू मात्रै गाउँ छोड्न नसकेको पिरलोले थिचिएर मुर्झाइरहेका हुन्छन् ।
विश्वव्यापीकरण, समयको आवश्यकता हो अर्थात् मानव सभ्यताले एकपछि अर्को गर्दै चढ्ने खुड्किलाहरूभित्रै पर्छ सायद तर यदाकदा विश्वव्यापीकरणको छाताले यसरी ढाकिदिन्छ कि छाताभन्दा बाहिरको कुनै पनि चिज वा विषय हाम्रा लागि ग्राह्य रहँदैनन् र यो अवस्था ज्यादै दुःखद हो । विश्वव्यापीकरणको बजारले जे जति देखाउँछ हेर्दा सबै टिलिक्क र चिटिक्क परेको देखिन्छ हामी त्यसैको नक्कल गर्न लालयित हुन्छौँ । त्यस्तै लालसाले गर्दा हामीसँग भएका हाम्रा सुन्दर मौलिकताहरू, सभ्यतासँग जोडिएका संस्कृतिहरूलाई बेवास्ता गर्दै जाँदा नयाँ पुस्ताहरू आफ्नो पुर्ख्यौली थातथलो र संस्कार संस्कृतिहरूसँग अलग्गिँदै जाने खतरा देखिन्छ । साकेन्वा यी सबैसँग पृथक् रहने कुरै भएन । त्यसैले यिनलाई आधुनिकतासँग जोडिरहँदा तिनको मौलिकतालाई बँचाइरहन पनि उत्तिकै जरुरी छ । संस्कृतिहरूको मौलिकता तिनको जरा हो । जरा रहेन भने संस्कृति आफैँ लोप भएर जान्छ । यतिखेरका युवाहरूमा सांस्कृतिक चेतना बढिरहेको छ तर साकेन्वाको दिन जातीय पोसाक लगाएर साकेन्वा नाच्नु मात्रैले पर्याप्त हुँदैन । साकेन्वाको थिति, ऐतिहासिकता, विविधता तथा हामीले बाँचिरहेको समाजसँग त्यसको कस्तो साइनो सम्बन्ध छ भन्ने विषयहरूमा समेत यथेष्ट ध्यान दिन जरुरी छ । पुराना पुस्ताले नयाँ पुस्तालाई यी विषयहरू मेलो नछोडी हस्तान्तरण गर्न जरुरी छ ।
सुनसान बन्दै गइरहेका गाउँबस्तीहरूमा साकेन्वा जोगाउनकै लागि युवाहरू फर्किनुपर्छ भन्न त सकिन्न तर त्यो विषयलाई राज्यले ध्यान दिनुपर्छ, गाउँहरूलाई पनि गुल्जार बनाउने नीति राज्यले बनाउनुपर्छ, आफ्नै माटामा पसिना बगाएर उन्नत जिन्दगी र व्यवस्थित परिवार बाँच्न सक्ने वातावरण बनाउन राज्यले लागिपर्नुपर्छ भन्ने यथोचित दबाब भने अवश्य दिन सकिन्छ । प्रकृति र पितृहरूको पूजा गरिने साकेन्वा प्रकृतिभन्दा टाढा तिनचुलाभन्दा बाहिरको कङ्क्रिट सहरमा मात्रै साकेन्वा मनाउनुपर्ने स्थिति बन्यो भने सायद साकेन्वाको वास्तविक मर्म र प्राण हामीबाट छुटेर जानेछ र साकेन्वा केवल कपडा दोकानको “डमी” जस्तो मात्रै बन्नेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।