बुद्धको जन्म भएको ठाउँको आफ्नै महत्त्व त छँदैछ, बुद्धको जन्मथलो लुम्बिनी पत्ता लागेको दिन (खड्ग समशेर र जर्मन पुरातत्वविद् एलोइस एन्टोन फुहररबाट लुम्बिनीस्थित अशोकस्तम्भ पुनः पत्ता लागेको दिन १८९६ डिसेम्बर १ लाई स्मरण गर्ने दिन) को अवसर पारेर मैले “नेपाल विद्या” नामक एउटा बृहत् ग्रन्थको नेपाल अर्पण गर्ने जुन शौभाग्य पाएँ, त्यसका निमित्त म मित्र श्रीओमजीलाई र यसका लेखक लब्धप्रतिष्ठित विद्वान् केदार वाशिष्ठलाई हार्दिक धन्यवाद दिन्छु ।

नेपाल एउटा सानो मुलुक भए पनि अन्त कहीँ नभएका अनेक किसिमका विशेषता नेपालमा पाइन्छन् । विश्वको सर्वोच्च हिमाल सगरमाथा नेपालकै मुकुटजस्तो भएर सुशोभित छ । फेरि अन्तर्राष्ट्रिय क्षेत्रमा ज्यादै कहलिएको, विश्वबन्धुत्वलाई प्रतिपादन गर्ने, बुद्ध धर्मलाई प्रतिपादन गर्ने, प्राणी मात्रको हित चिताउने, बहुजन हिताय बहुजन सुखायको सिद्धान्त प्रतिपादन गर्ने शाक्यमुनि बुद्धको जन्मस्थल नेपालको तराईमा भएको नेपाल शब्द त अरू उत्तिकै महत्त्वको छ । त्यस्तै, यो काम (नेपाल विद्या लेखन) पनि ज्यादै महत्त्वको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशी

जहाँसम्म नेपाल विद्या भनिएको छ वा नाम दिइएको छ यदि यसबाट नेपाल झिकेर विद्या मात्र राखेको खण्डमा त्यति शोभनीय नहुने देखिन्छ । अघिल्तिर नेपाल राखेर “नेपाल विद्या” भन्नेबित्तिकै त्यो नेपालबाट प्रष्फुटन भएको ज्ञान वा विद्या भन्ने बुझिन्छ । यसले ‘संस्कृति विश्ववारा’ भनिन्छ नि त्यो अर्थात् संस्कृतिको प्रष्फुटन नेपालबाट भएर विश्वव्यापी भएको हिमवत् संस्कृतिका कुराको वर्णन जनाउँछ । यसले नेपाल सानो भए पनि नेपालको महत्त्व देखाउने ग्रन्थ बुझाउँछ जुनग्रन्थले नेपालको इतिहास, नेपालको पुरातत्त्व, नेपालको ज्ञान–विज्ञान, नेपालका निम्ति विदेशीहरूको, अनुसन्धानकर्ताहरूको, स्कलरहरूको दृष्टिकोण, उनीहरूले नेपाललाई दिएको महत्त्व, नेपालीहरूले नेपाललाई हेर्ने दृष्टिकोण र दिएको महत्त्वलाई बुझाउँछ । यी यावत् कुराहरूको समेत उल्लेख भएको एउटा विश्वकोशका निमित्त ज्यादै महत्वपूर्ण ग्रन्थका रूपमा ”नेपाल विद्या” ग्रन्थ हाम्रा हातमा परेको छ ।

अब यसले श्रीगणेशाय नमः त गर्यो यसैका आधारमा प्रथम खण्ड, द्वितीय खण्ड, तृतीय खण्ड, चतुर्थ खण्ड गरेर नियमित रूपमा यी विषयवस्तुलाई समेटेर वटवृक्ष जस्तो भएर जब यो ग्रन्थ विस्तार हुन्छ त्यसबेला विश्वकै निम्ति एउटा ठुलो उपलब्धी हुने जस्तो मलाई लागेको छ । त्यसैले यसलाई परिकल्पना गर्ने लेखक, सम्पादक, विश्लेषक जे भने पनि विद्वान् केदार वाशिष्ठप्रति म उहाँको सफलताका निम्ति, उहाँले जे चिताउनु भएको छ, उहाँले जुन भिजन देख्नुभएको छ, उहाँले जुन मिसन विश्वका अगाडि राख्नुभएको छ त्यसको पूर्ण सफलताका निम्ति म फेरि पनि कामना गर्न चाहान्छु ।

मैले यो किताब जम्मै पढ्न त पाएको छैन तर जहाँसम्म लाग्छ यसको विषयवस्तु हेर्दाखेरि खास गरेर नेपालका बारेमा अनुसन्धान गर्ने विद्वान्हरूमा यो निकै उपयोगी हुनेछ । त्यो भन्नुको मतलब नेपाल आर्यावर्त भारतखण्डमै परेको हुनाले नेपालले मुसलमानहरूको, विदेशीहरूको अझ अङ्ग्रेजहरूको पनि कति मारमा परेर भारतवर्षले गुमाएका आफ्नो संस्कृति संरक्षण गरेको छ भन्ने हो ।

त्यसैले अरुहरू ‘ह्वाट वी ह्याभ लस्ट नेपाल ह्याज प्रिजर्भड्’ भन्छन् । हामीले जे जति हराइसक्यौँ मुसलमानहरूको मारमा विधर्मीहरूको मारमा परेर ठुल्ठुला मन्दिरहरू गए, ठुल्ठुला ग्रन्थहरू गए, पुस्तक जलाइदिए, सारा कुरा गरे तर भारतवर्षका विद्वान्हरूले शरणार्थी भएर आफ्ना धर्मग्रन्थहरू सारा कुरा बोकेर हिमालमुनिको देश नेपालमा संरक्षण गरिराखेको हामीले पायौँ भन्छन् । हामीले हाम्रा सबै भएर पनि हराइसक्यौँ तर नेपालमा चाहिँ उनीहरूले संरक्षण गरेका छन्, त्यसैले ‘वी आर भेरीभेरी ग्रेटफुल टु नेपाल’ अर्थात् नेपालप्रति हामी धेरै कृतज्ञ छौँ भन्छन् ।

यस प्रसङ्गमा म एउटा महत्त्वपूर्ण कुरा के सम्झन्छु भने नेपालमा २०१५ को निर्वाचनपछि २०१६ सालमा नेपाली कांग्रेसको सरकार आयो । त्यो बेला भारतमा पठनपाठन गरिरहेका जति पनि नेपाली विद्यार्थीहरू थिए, उनीहरूले सम्मेलन गरी नयाँ सरकारसमक्ष एउटा प्रस्ताव लिएर आए र त्यो बेलाका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका सामुन्ने गएर नेपालमा आएको निर्वाचित सरकारले कमसेकम नेपालको संस्कृति, पुरातत्त्व, ज्ञान, विज्ञान, धन आदि सारामा के कति धनी छ त्यसको परिचय गराउनु आवश्यक छ भने । त्यसका लागि निमित्त नेपाल दर्शनका नामले बम्बईमा विद्यार्थीहरूको सम्मेलन हुन लागेको बताए । उनीहरूले त्यहाँ नेपाल दर्शन नामले एउटा प्रदर्शनी गरिदिए जाति हुनेछ भनेपछि त्यो बेलाका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ज्यादै खुसी हुनुभएको थियो ।

त्यसपछि उहाँले शिक्षा मन्त्री परशुनारायण चौधरीलाई बोलाएर ‘यी बम्बईमा पठनपाठन गरेका विद्यार्थीहरूले जेजे भन्छन् त्यो पुर्याइदिनू’ भनेपछि त्यो बेलाका शिक्षा मन्त्री परशुनारायण चौधरीले उहाँकै अन्तर्गतको पुरातत्त्व विभागको निर्देशक रहेको मलाई बोलाएर ‘ल जोशीजी ! म शिक्षा मन्त्री भए पनि मेरो क्षेत्र त थारुवान हो । मलाई नेपालको पुरापुर ज्ञान छैन । नेपाल दर्शनको जेजस्तो प्रस्ताव उहाँहरूले ल्याउनु भएको छ, त्यसैलाई शीर्षक गरेर उहाँहरूले भनेजस्तै गरिदिनू’ भनेर अह्राउनु भयो ।

म पनि त्यतिको जान्ने बुझ्ने मान्छे त थिइनँ । बाइचान्स निर्देशक त भएँ त्यत्तिको ज्ञान भएको मान्छे नभए तापनि विभागमा काम गर्नुपरेपछि मैले निकै ठूलो मिहिनेत गरेर काम गरेँ । त्यो बेला २०१६ सालको कुरो हो, ठुल्ठुलो प्लेन पनि थिएन र डाकोटा (सानो हवाइजहाज) चार्टर गरेर त्यसभरि नेपालको म्युजियमका, अहिले राष्ट्रिय अभिलेखालय भएको छ वीर पुस्तकालयका अनेक ठुल्ठुला ग्रन्थहरू, अरू कलाकृतिहरू जेजति छन् ती बोकेर त्यहाँ देखाउनका निम्ति बम्बई पुर्याएँ ।

नेपाल दर्शनका नामले प्रिन्स अफ वेल्स नामको त्यहाँको म्युजियमका सारा ग्यालरी भरेर नेपाल दर्शन गराउँदा मैले आफ्नो देशको बयान नगर्ने त कुरै भएन, त्यहाँका क्युरेटरहरूले, त्यहाँका जानिफकारहरूले, त्यहाँका विद्वान्हरूले पनि ‘नेपाल सानो भए पनि यी सारा कुराहरू रहेछन्, यो त नेपालको मात्र नभई विश्वकै सम्पदा हो’ भने । ‘हाम्रा त मुसलमानको मारमा, विधर्मीहरूको मारमा परेर नष्ट भए तर नेपालमा त अझै प्रिजर्भ गरेर राखिएको रहेछ । यहाँ त प्रज्ञा पारमिता रहेछ, कालचक्र पनि यहीँ रहेछ, विभिन्न चित्रहरू पनि रहेछन् यी सारा कुराहरू रहेछन्’ भनेरे निकै तारिफ गरेर धन्यवाद दिए ।

त्यो बेला बम्बईका गभर्नर थिए शिवप्रकाश । त्यसैबेला राजा महेन्द्र लन्डन बेलायतबाट फर्केर बम्बई सवारी भएको थियो । त्यही बेला प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला पनि नेपाल दर्शनको सामूहिक उद्घाटन गर्न नेपालबाट बम्बई जानु भएको थियो । त्यो बेला मैले जेजति प्रस्तुत गरेँ नेपाल दर्शनका लागि म आफैँलाई पनि त्यति थाहा थिएन । आफ्नै सामान त्यहाँ लगेपछि मात्र र त्यहाँका मान्छेले त्यस्तो तारिफ गरेको देख्दा म आफैँ चकित भएँ ।

मैले त्यहाँ ठुलो ज्ञान प्राप्त गरेँ, ‘ओहो नेपाल त धन्य रहेछ !’ विभागमा ‘सानो एउटा काम नलाग्ने पुस्तक’ भन्थे यहाँ त त्यसको प्रशंसा मात्र छ भनेर मलाई ठुलो ज्ञान भयो । त्यसपछि मेरो लाइफमा नयाँ मोड आयो । यो पुरातत्त्व भन्ने कुरा अर्कै रहेछ, कलाकृति भन्ने अर्कै रहेछ, साहित्य भन्ने अर्कै रहेछ, यी सारा कुराको प्रिजर्भेसन गर्दा त्यो आफ्नो मात्र नहुँदो रहेछ विश्व सम्पदाको सूचीमा जाने रहेछ भन्ने ज्ञान भयो ।

यस्तो पृष्ठभूमिमा तपाईँले नेपाल नै नाम राखेर नेपाल विद्याको नाम राखेर नेपाललाई उच्चस्तरमा पुर्याउने जुन प्रयास गर्नुभयो यो त सुरूवात हो । यसले असाध्यै सफलता पाउँछ । अहिले त के हो र ? पछिपछिका विद्वान्हरूले यसको टीकाटिप्पणी गरेर यसको महत्त्व बुझ्दै जानेछन् ।

तपाईँ (केदार वाशिष्ठ) ले यहाँ बिब्लियोग्राफी (सन्दर्भ सूची) मा राजेन्द्रलाल मित्राको ‘संस्कृत बुद्धिस्ट लिटरेचर अफ नेपाल’, पनि राख्नु भएको रहेछ । तपाईँले त्यसको भूमिका पढ्नुभयो कि भएन मलाई थाहा छैन, आलोक भन्ने मान्छेले त्यसको भूमिका लेखेको छ, लामो छ । त्यो भूमिकालाई मात्र लिएर तपाईँले हेर्नुभयो भने अझ गहन कुरा आउँछ, किनभने बङ्गालको ओरिएन्टल लाइब्रेरीका लागि हड्सनले नेपालबाट ल्याएका सारा अभिलेख, पाण्डुलिपिहरूको मजबुन राखेर राजेन्द्रलाल मित्राले ग्रन्थ तयार पारेका हुन् । त्यसैमा आलोक भन्नेले भूमिका लेखे ।

रवीन्द्रनाथ टैगोरले त्यो किताब हातमा परेपछि र त्यो भूमिका पढेपछि एक दिन र एकछिन पनि नछोडेको बताइन्छ, जहाँ गयो त्यहीँ लगेको, आफ्नो जिल्लामा जाँदा पनि त्यही किताब बोकेको छ । राजेन्द्रलाल मित्राले त्यो ग्रन्थ ननिकालेको भए, नेपालबाट ल्याइएका भनेर पुस्तक ननिकालेको भए अरुले त्यो थाहा पाउने थिएनन् ।
त्यसैले मैले “नेपाल विद्या” ग्रन्थमा पनि के जोड्न चाहेको हो भने यहाँ धेरै मान्छेलाई धेरै कुरा थाहा हुँदैन । हो, त्यो बेलाको राज्य व्यवस्था नै नेपालको वीर पुस्तकालयमा नेपालीले भित्र पस्न नपाउने, हेर्न नपाउने थियो । विदेशीहरूले पढ्न पाउँथे, नेपाली स्कलरले चाहिँ के गर्ला कसो गर्ला भनेर प्रतिबन्ध हुन्थ्यो । सिल्भाँ लेभी नेपाल आएर वीर पुस्तकालयको त्यही अभिलेखबाट नेपालको इतिहास लेखे । त्यसपछि इटालीका जोसेफ टुची आए त्यहीँको अभिलेख पढेर उनले पनि ठुल्ठुला ग्रन्थहरू लेखे, अझ पछि राहुल साङ्कृत्यायनले पनि तिनै अध्ययन गरे ।

“नेपाल विद्या”ले धेरै कुरा प्रकाशमा ल्याएको छ । लुम्बिनीका यति धेरै कुरा नयाँ छन् कि यी मलाई पनि थाहा थिएनन् । त्यस्तै टुचीले कर्णाली पुगेर मल्लहरूका बारेमा लेखे, त्यो बेलासम्म काठमाडौं र कर्णालीका मल्ल एकै हुन् भन्ने हुन्थ्यो । उनले ‘कल्चर अफ दी मल्लज अफ दी सिँजा खोला भ्याली वाज ग्रेटर’ भने । त्यति मात्र नभई उनले कर्णालीको सिँजा खोला उपत्यकाको सभ्यतालाई न्युजिल्यान्डको ओसनिया, अस्ट्रेलियाको मायक्रोनेसियन सभ्यता आदिको दाँजोमा मिल्दोजुल्दो कल्चर रहेको देखाए । देवता नमान्ने मूर्ति बनाएर छाडिदिने संस्कार न्युजिल्यान्डका मौरीहरूकै जस्तो परम्परा रहेको देखाए ।

अन्त्यमा, यो किताब (नेपाल विद्या) सानो कुरा होइन, यसले नयाँ च्याप्टर, नयाँ भिजन दिएको छ । यसको सफलताका निम्ति म फेरि पनि शुभकामना व्यक्त गर्न चाहान्छु ।

(लुम्बिनी कपिलवस्तु दिवस, २०७७ को अवसर पारेर २०२० डिसेम्बर १ अर्थात् २०७७ मङ्सिर १६ गते प्रकाशित र सोही दिन नेपाल अर्पण गरिएको केदार वाशिष्ठको पहिलो पुस्तक “नेपाल विद्या”लाई नेपाल अर्पण गरेपछि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट व्यक्त मन्तव्यको सम्पादित अंश ।)