कुनै पनि देशको शान्ति सुरक्षाको निम्ति सैन्य व्यवस्था गरिएको हुन्छ। विशेष गरी देशबाहिरबाट आक्रमण नहोस् तथा देशभित्र पनि कसैबाट अशान्ति नहोस् भन्ने हेतुले सैन्यको व्यवस्था राकिएको हुन्छ। हाम्रो देशमा पनि सैन्य शक्तिशाली छ। देशका बाह्य शत्रुलाई परास्त गर्नका निम्ति सेनाहरू तैनाथ छन्। यस्ता सेनाहरूमा थलसेना, नौसेना र वायुसेना हुन्छन् । थल सेनामा पनि बेग्ला बेग्लै राइफल्स छन् । जस्तै भारतको प्रसङ्गमा गोर्खा राइफल्स, जम्मु-काश्मीर राइफल्स, जाट रेजिमेन्ट, राजपुताना रेजिमेन्ट, सिख रेजिमेन्ट, नागा रेजिमेन्ट, डोगरा रेजिमेन्ट आदि। यीबाहेक भारत देशको आन्तरिक शान्ति सुरक्षा कायम राख्नलाई अर्धसैनिक बलहरू पनि हुन्छन्। यस्ता बलहरूले मुलुकभित्र कतै दङ्गा-फसाद, विद्रोह, अशान्ति, आन्तरिक आक्रमण भए रोक्ने कार्य गर्दछ। मूल सैनिकहरूले देशशत्रुलाई दबाउने गर्छन् भने अर्धसेनाले देशद्रोहीलाई दबाउने काम गर्दछ। भारतका यस्ता अर्द्ध सैनिकहरू केन्द्रिय रिजर्व पुलिस, आइ. आर. बी., सीमा सुरक्षा बल, सि. आइ. एस. एफ, रा. सु. का. आदि हुन्। यिनीहरूलाई पूर्ण रूपमा सेनाको दर्जा दिन नसकिएकाले अर्धसैनिक बल भनिएको हो। काम चाहिँ सुरक्षाकै गर्नुपर्छ तर सेना होइनन्। उनीहरूले सैनिकसरह बन्दुक भिर्नुपर्छ, उर्दी लाउनुपर्छ। हेर्दा पल्टने नै देखिन्छन् तर पनि उनीहरू पल्टने होइनन्। काम पनि पल्टन कै गर्नुपर्छ तर पनि पल्टने होइनन्।

साहित्य क्षेत्रमा पनि यस्तै कुरा हुन्छ। यस क्षेत्रमा पनि धेरै किसिमका साहित्यकार हुन्छन्। कोही पक्का साहित्यकार हुन्छन्। यस्ताले आफ्नो प्रतिभासुलभ रचना गर्छन्। उनीहरू जन्मजात साहित्यकार हुन्छन्। उनीहरू तडकभडक, विज्ञापन र हल्लाखल्लादेखि टाडा रहन्छन्। यस्ताहरू आफुले गरेको कर्मको बढी जस लिने गर्दैनन्। उनीहरू साहित्यिक संघ-संस्थातिर त्यति जाँदैनन्, उत्ति सक्रिय रहँदैनन्। अर्का खालका साहित्यकार हुन्छन् जो साहित्य लेखिटोपल्छन् र खाँटी साहित्यकार कहलिन पुग्छन्। यस्ताहरू मञ्च र माइकप्रेमी हुन्छन्। यस्ताले एकचोटि मञ्च र माइक पाए आफ्नो वास्तविक प्रतिभा देखाउन थालिहाल्छन्। कुनै साहित्यिक समारोह देख्ने-सुन्नेसाथ उनीहरूको साहित्य फुर्न थालिहाल्छ़। यस्ता साहित्यहरूलाई पनि दुई वर्गमा खुट्याउन सकिन्छ- क. मञ्चीय साहित्यकार, जो मञ्चमा बढी सक्रिय हुन्छन्। ख. संस्थागत साहित्यकार, जो संस्थातिर आफ्नो प्रतिभा खेलाउँछन्। यस्ताहरू लेखनभन्दा साहित्यिक संस्थातिर रमाउँछन्।

नवीन पौड्याल (सिक्किम)

यस्ता किसिमका साहित्यकारहरूमा प्राकृतिक प्रतिभाभन्दा अभ्यास तत्त्व बढी हुन्छ। यसो अलिलि कथा, कविता वा प्रबन्ध (निबन्ध होइन) लेखिटोपल्छन्। धेरै साहित्यिक संस्थामा केही अधपिल्टा साहित्यकारकै बोलाबाला र हालिमुहाली पनि देखिन्छ। उनीहरू न विशिष्ट साहित्य लेख्न सक्छन् न त्यसतर्फ गम्भीर नै हुन्छन्। यसो बेला बेलामा लेख्यो, त्यसैलाई साहित्य समारोहतिर प्रस्तुत गर्छन्। एउटा-दुईवटा कविताले नै धेरै समारोहमा गाल टारिरहेको हुन्छ। बेला बेलामा कोरिएका कविताजस्ता आकृति भएका कविताहरू डायरीमा लेखेर राख्यो, कवि गोष्ठीमा प्रस्तुत गरेपछि पक्का कवि भइहाल्यो। यस्ता खाले कविले कविता पाठ शुरू गर्नुअघि ‘हुन त म कवि होइन, आजै भर्खरै नयाँ कविता लेखेको, भूल भए क्षमा पाउँ’ इत्यादि के के भनेर मिठो गन्थने भूमिका बाँधेपछि उही बासी कविता वाचन गर्न थाल्छन्। एउटा कवितालाई नै पटकपटक कवि सम्मेलनहरूमा वाचन गर्छन्। यस्ता कविहरूलाई मोबाइल (भ्राम्यमान) कवि भन्दा अनुचित नहोला। अर्का थरी कवि हुन्छन् जो आफ्नै कविताबारे पहिले प्रकाश पारिहाल्छन्। तेस्रो थरीका कवि पनि हुन्छन् जो आफ्नाबाहेक अरू कसैका कविता पढ्न सुन्न चाहँदैनन्। यिनीहरूका सगोत्री अर्का कविहरू पनि हुन्छन्। उनीहरू ‘ताक परे तिवारी नत्र गोतामे’ वर्गका हुन्छन्। यस्ता कवि-साहित्यकारहरूले युवा कवि सम्मेलनमा आफ्नो उमेर घटाएर अङ्श ग्रहण गर्छन् भने प्रौढहरूको मञ्चमा उमेर बढाएर नपढी छाड्दैनन्। यसो फोन-सोनको सिफारिस गरेर कता कता मौका पाउँछन्, भ्याउन पुगिहाल्छन्।

यिनीहरू बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुन्। कुनै पनि साहित्यिक समारोह, सभा, अधिवेशन आदितिर उनीहरूकै बोलबाला हुन्छ। यस्तैहरू नै साहित्यिक गुटबाजी खेला सम्पन्न गर्छन्। के के तिगडमबाजी गरेर पनि संस्थातिर आफ्नो वर्चस्व कायम राख्छन्। कोही बेला त पुरस्कार, मान सम्मान, अभ्यर्थना, के के पाई पनि हाल्छन्। यस्तैहरूको अभिनन्दन ग्रन्थ पनि प्रकाशित भइहाल्छ। कोही त गौंडावादी साहित्यकार हुन्छन्। उनीहरूको घ्राण शक्ति अचम्मको हुन्छ, कोशौं टाडा रहेको संस्थाको सम्मान, पुरस्कारको गन्ध अघि नै पाइहाल्छन् र कुदी पनि हाल्छन्। कसो कसो के के गरेर त्यो पुरस्कार हत्याउन सक्षम हुन्छन्। यस्ता साहित्यकारलाई दुधमा  पोखिएको अमिलेसँग तुलमा गर्न मिल्छ। कारंण यस्ता साहित्यकारहरूको कामले सारा दुध नै फटाइदिन्छ। यस्ताहरूकै कारणले गर्दा सच्चा साहित्यकारले पुरस्कार पाए पनि मानिसले लबी लगाएर पुरस्कार पाएछ भन्ने ठान्छन्।

आफ्नो कृतिको डम्फु बजाएर पनि कतिपय व्यक्ति साहित्यकारको पगरी गुथ्न अघि सरेका पनि हुन्छन्। उनीहरू कृतिभन्दा बढी स्वीकृतिमा बल गर्छन्। यिनीहरूमा नै बढी टोपी र कुर्सीप्रियता हुन्छ। उऩीहरूलाई मञ्चमा बसाइदिनुपर्ने हुन्छ। मञ्चमा बस्न नपाए गहुँत खाए जस्तो अनुहार बनाउँछन्। पसिनाले खलखली हुन्छन् र आफुले खटिआएको संस्थामा नै धमिरा लागेको देख्छन् तथा संस्थाको भविष्य अँध्यारो देख्न थाल्छन्। कि चैं उसले कविगोष्ठी वा कुनै साहित्यिक मञ्चमा गएर कविता पाठ गर्न वा मन्तव्य दिन नपाए संस्था नै छोडेर नयाँ संस्था खोल्नसमेत उद्यत हुन्छन्। त्यो पनि नपाए फेसबुकतिर झटारो हान्छन्। फेसबुकमा पनि कसैले उनको स्टेटस हेरेर लाइक गरेन भने सारा फेसबुके मित्रहरूलाई निकम्मा देख्छन्।

यस्ता पारा लिटरेरी फोर्सेसहरूलाई कसैले फुलटाइम साहित्यकार पनि भन्छन्। यस्ताहरू बिहान मुख धोएदेखि नै ‘वरिष्ठ साहित्यकार’ हुन्छन्। कार्यक्रमतिर यसो गयो, कुनै कविता-सविता पाठ गर्‍यो, भोलिपल्ट समाचार पत्रमा नाम खोज्यो। नाम त शुरूमा आएको हुन्छ। यति भएपछि त उनी साहित्यकारका रूपमा दरिए। यस्ताले कनीकुथी एउटा कवितासंग्रह वा कुनै किताब प्रकाशित गरिहालेमा कमेजभन्दा गन्जी लामो भनेझैं पछाडिका पन्नाहरूमा आफ्नो गरे नगरेका तथा पात हल्लाएको कार्यसम्त उल्लेख गर्छन्। उनीहरूको सामाजि योगदान र शैक्षिक योग्याताको तालिकाले अन्तिम पृष्ठको परिधि नाघेर बाहिरसम्म पोखिन खोज्छ।

कतिपय साहित्यकारलाई एटिएम साहित्यकार भन्न सकिन्छ। उनीहरू एटिएमबाट पैसा निकाले झैं रचना माग्नेबित्तिकै आफ्नो झोलाबाट फुत्तफुत्त कविता-सविता के के निकालेर दिइहाल्छन्। उनीहरूको एटिएममा कैल्यै सर्भर डाउन हुँदैन। उनीहरूको स्टोरमा कविता-कथा रेडिमेड हुन्छन्।

कहिलेकाँही उनीहरूले नै साँचा साहित्यकारहरूलाई दया-माया, कृपा गरेजस्तो पनि गर्छन्। उनीहरूलाई नै बेसी जस्तो साहित्यिक सहुलियत आदि प्राप्त हुन्छ। उनीहरू नै टाउकेका प्यारा हुन्छन्। सभातिर उनीहरू नै बेसी बोल्न अघि सरेका हुन्छन्, उनीहरूकै तर्कले मान्यता पाउँछ। उनीहरूकै हालीमुहाली हुन्छ। यस्ता महानुभावहरूले जीवनभरिमा पाँच-छवटा कविता लेखेका हुन्छन् वा एउटासम्म कथा कवितासङ्ग्रह प्रकाशित गरेका हुन्छन्। यसैलाई महान साहित्यकारको पगरी गुथ्ने माध्यम बनाउँछन्। यस्तै व्यक्तिहरू नै कुनै न कुनै पद र ओहोदा ग्रहण गरेका हुन्छन्। उनी न साहित्य पढ्छन्, न लेख्छन् न बुझ्छन् नै। उनीहरू अर्काको फोकट पुस्तकको बढी आशा गर्छन्। हाम्रा कतिपय संस्थामा यस्ता व्यक्तिहरू निकै देखिन्छन्। उनीहरू वास्तविक साहित्यकार होइनन तर पनि केही हुन्। संस्थाको बिँडा उनीहरूले नै थामेको हुन्छ। वास्तविक कवि लेखकहरूलाई त संस्थातिर गईबस्ने न समय मिल्छ, न बोलाइन्छ नै। उनीहरूले त यस्तातिर भुलिनुभन्दा त बरू घरमा नै बसेर लेखिरहनु उचित हुन्छ। संस्थामा त रूपिया पैसाको कुरा हुन्छ, पद पाउनेको कुरा हुन्छ. कसलाई के बनाउने भन्ने गुटबन्दीको कुरा हुन्छ, दाउपेच हुन्छ। वास्तविक साहित्यकार त्यसरी सभातिर गइरहनु शोभा पनि दिँदैन। त्यस्तामा त अर्धसाहित्यिक महानुभावहरूलाई नै उचित हुन्छ।

यस्ताहरू जम्मै खराब हुन्छन् भन्ने पनि होइन। कोही भने बडा हितैषी पनि हुन्छन्, जो तिनले आफु नलेखे पनि अरूलाई लेख्ने परिवेश बनाइदिन्छन्। संस्थाको कुनै ओहोदाको माध्यमबाट सच्चा साहित्यकारहरूलाई तह लाएर राख्न पनि सक्छन्। साहित्य क्षेत्रमा यस्ताहरूको पनि आवश्यकता हुन्छ।

जे होस, साहित्य भनेको ठुलो रूख हो, जहाँ हाँगा पात फलफूल आदि लाग्छन् र त्यस रूखलाई घरिघरि चाउमिने पहेंलो लहराले घेर्ने गर्दछ। कहिलेकाँही त त्यस्तै लहराको पीरले रूखैसमेत मर्दछ। यस्ता परजीवी ‘पारालिटरेरी फोर्सेसहरू’ पनि हामीलाई चाहिने गर्छ। यिनीहरूको टोपीको विनिमयमा संस्थालाई पैसा दिएर उपकृत पार्दछन्। बिचबिचमा आफ्नै प्रयासमा भए तापनि अथवा भनौं आफ्नै बासी रचना वाचन गर्ने हुट्हुटीले साहित्यिक कायर्क्रम सम्पन्न गराएर हाम्रो भाषा र साहित्यको ठुलो उपकार गर्छन्।

जयतु पारा लिटरेरी फोर्सेस……..