साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मदनकृष्णको फूलबुट्टे सारी, लैङ्गिक समानता र मेरी श्रीमती

नेपाली गीत संगीतको क्षेत्रमा एउटा नौलो प्रयोग गर्दै झन् झन् लोकप्रिय हुँदै गएको एउटा प्रख्यात गीत हो राजनराज शिवाकोटीको ‘फूलबुट्टे सारी…’ । यसअघिका गीतहरु हदै भए पुरुष स्वर र महिला स्वर गरी दुई संस्करणमा आउँथे । तर, फूलबुट्टे सारीले त बाल, वृद्ध, महिला, पुरुष सबैका प्रकार ल्याइदियो ।

यम घिमिरे

यो गीत आउनेबित्तिकै घरमा चर्चा भएको थियो । ‘प्रेम गीत होस् त यस्तो’ भन्दै पटकपटक सुनेको थिएँ मैले । छोरी, आमा सबैलाई खुबै मन पर्यो यो गीत । त्यसमाथि त्यसको ‘भिडियो मेकिंग’ पनि हेर्नेलाई तानिहाल्ने दृश्य, पात्रले सज्जित छ । कथानक पनि प्रेम पार्न कुत्कुत्याउनेखालको छ । एकपल्ट हेरेपछि फेरि अर्कोपल्ट हेरूँ हेरूँ लाग्नेखालको छ ।

कालिञ्चोकमा गएर खिचेको यो भिडियो ‘भाइरल’ भएपछि त्यहाँ गएर ‘म्युजिक भिडियो’ खिच्ने खहरे नै आएको देख्दैछु । कुनै अचम्म भने लागेको छैन । यो ‘हौवा’ प्रवृति नेपाली मनोरन्जन उद्योगको एउटा स्थापित परम्परा हो । एउटा केही ‘हिट’ भएर बिक्यो भने त्यस्तै नक्कल गरेर वा त्यसैको छत्रछाया पक्डेर कोच्याउँदा कोच्याउँदा दर्शक, श्रोताको गलगाँड ननिस्किउञ्जेल नछोड्ने । राजेश हमालको ‘हि-म्यान’ चरित्र र उनको कपाल शैलीका अनेक संस्करणका बाढीलाई अमन हुनेगरी बोक्यो उद्योगले । दयाहांग राईले खेल्ने फिल्मका एक प्रकार छन् जसमा उनको अभिनय, लुगाफाटो, पात्र प्रस्तुति,  बोल्ने शैली र शरीरको हाउभाउ, भूदृश्यहरु कसोकसो सबैमा एकैएकै नासको हुन्छ । सुरुमा एक दुई चले, त्यसैमा लिप्त भएर उस्तै उस्तै लाग्ने बनाको छ । ससुराली गएर सालीलाई खुल्लमखुल्ला लाइन मार्ने गीत एउटा के चल्यो, सबै सर्जक ‘सालीबिनाको सिर्जना के सिर्जना’ भनेर त्यतै हुर्रिए एक चरण ।

गाउँले जीवनका जनबोली र जिनिस, वस्तुहरु जस्तै ठेकी, मदानी, कोदो, ढिडो, हलो कोदालो, घाँस दाउरा, लेक बेंसी, पटुका, घट्ट, जाँतो आदि बोलेर कसैले एउटा गीत बनायो र त्यो चल्यो । ‘काइदा यो पो र’छ’  भनेर मान्छे खनिएका छन् यसमा अहिले ।

मौलिकताभन्दा नक्कलका परिकार कुँद्न कुद्नु र लहैलहैको सिकार गर्न दौडिनु हाम्रो मनोरन्जन उद्योगको एक खास चरित्र हो । त्यही भएर त कपिल शर्माको हुबहु नक्कल र आमिर खानको हुबहु ‘कपी क्याट’ यहाँ जन्मिन्छन् । जन्मिने मात्रै होइन हुर्किन्छन्, बढ्छन् पनि । त्यसको अर्थ हो, हामीले खोज्या हामीले पाएका छौं । भोक अनुसारको भकारी पाउनु सहकाल हो, अनिकाल होइन । त्यसैले धेरै गनगन पनि नगरूँ । आम दर्शकलाई देखाउन सकिनेगरी जेसुकै र जसरी होस् सिर्जना गर्नु नराम्रो कुरा होइन । लेख्न खोजेको गुह्यबाट कुरा कोल्टे पर्दै गयो, भो यतातिर नजाऊँ आज ।

फूलबुट्टे सारीमा गीतका शब्द नै बेजोड सुन्दर छन् । गुमनाम पुरुष स्वरको संस्करण पनि पिरतीको भाका बोल्ने प्रकृतिको एकाधिकार पाएको महिलाले गाएपछि मात्रै माथि उठ्यो । मिलन नेवारको प्याउले स्वरले ‘कान्छाको केश फिँजारिएछ, काइँयोले चट्ट मिलाइदिऊँ कि…’ भनेर गाउँदा बल बैँस हुर्किएर मनमा प्रेम टुसाउन थालेका तमाम युवायुवतीले त्यसको कल्पनामा आफूलाई उभ्याए होला भन्ने ठान्छु । गीत हरिप छ। मिलन नेवारको स्वर यसलाई खुब सुहाएको छ । राजनराज शिवाकोटीका तिलस्मी हातले छोएको र प्रभितावान् दिमागले सिर्जेको संगीत मनमोहक छ । हरिवंश आचार्यले राजनराजलाई ‘सरस्वतीका पुत्र’ नै भनिएदिए, जब कि आम मान्छे हामी सरस्वतीका भक्त वा दास मात्रै हौँ क्या रे ! राजनराज शिवाकोटीले सिर्जना गरेका गीतले करोड क्लब र भाइरल भाग जति जम्मै आफ्नो पोल्टामा ल्याउँछन्। हरिवंश आचार्यले भनेजस्तो साँच्ची नै सरस्वतीको पुत्र भएर उनको भण्डारमै पहुँच बनाएर मनखुसी कला र सिर्जना उघाउँदै ल्याउँदै गरेजस्तो । काम यतिका भाइरल भए पनि मान्छे उनी खै किन भाइरल छैनन् ? ‘स्टारडम’ निर्माण गर्न र कायम राख्न नजान्ने हुन् कि, या त सिन्टिकेटको मारमा पो छन् कि ?

यही फूलबुट्टे सारीको पुरुष स्वर, नारी स्वर र बाल स्वरको सफल परीक्षणपछि ‘लेजनड्री भर्जन’ भनेर कलाकार मदनकृष्ण श्रेष्ठलाई गाउन लाएर, साथै श्रेष्ठ र मिथिला शर्मालाई जोडीको रूपमा अभिनय गराएर भर्खरै ल्याएको भिडियोका बारेमा न्युयोर्कबाट पत्रकार साथी अनुज थापाले व्यंग्य कस्दै तलको स्टाटस लेखेः

“… कति सजिलै देखाइएको छ, पुरुष र महिलाबीचको ‘समानता’ ।

मदनकृष्ण श्रेष्ठ बिहान पत्रिका पढ्नुहुन्छ, मिथिला शर्मा उहाँलाई चिया बनाउनुहुन्छ ।

मदनकृष्ण श्रेष्ठ कौशीमा बसेर रेडियो सुन्नुहुन्छ, मिथिला शर्मा उहाँलाई चिया लगिदिनुहुन्छ ।

मदनकृष्ण श्रेष्ठ कोठामा म्याग्जिन पढ्नुहुन्छ, मिथिला शर्मा उहाँलाई तेल मालिस गर्नुहुन्छ ।

मदनकृष्ण श्रेष्ठ लेखपढ गर्नुहुन्छ, मिथिला शर्मा उहाँलाई पानी लगिदिनुहुन्छ।

मदनकृष्ण श्रेष्ठ अफिस जाने तयारी गर्नुहुन्छ, मिथिला शर्मा उहाँलाई कोट लगाइदिनुहुन्छ ।

मदनकृष्ण श्रेष्ठ अफिसबाट फर्किनुहुन्छ, मिथिला शर्मा उहाँलाई छाता लिएर लिन जानुहुन्छ ।

निष्कर्ष: पुरुष र महिलाको कामको वर्गीकरण ।”

अनुजको यो स्टाटस पढेपछि मनमा ‘हो त नि, महिलालाई चैँ घरेलु कामदार मात्रै त देखाएछन् त’ भन्ने लाग्यो एक मनले । अर्को मनले फेरि तुरुन्तै भन्यो ‘होइन सुखी घरपरिवारमा पनि त यस्तो हुन्छ नि त, सबै आ-आफ्नो काम र भूमिकामा मस्त र खुसी ।’

अनुजको टिप्पणी, मिथिला र मदनको कामलाई आफ्नै घरमा जाँचिहेर्नु पर्यो के कस्तो माहौल बन्दोरहेछ भन्ने लाग्यो । टिभीको रिमोट बोकेर त्यही भिडियो खोज्न लाग्दै थिएँ, “त्यो गीतको त बुढापाका संस्करण पनि आएछ लाउनू लाउनू”  पतिदेवले पकाएर ठीक्क पारिराखेको बेलुकाको भोजन रोस्टेड-चिकेन-चाउमिन पस्केर बुझो लाउँदै सोफामा ढेपिन आउँदै माइतकी माहिली छोरी घरकी जेठी बुहारीले भनी ।

दुबैले एकटक लाएर भिडियो हेर्यौं ।

“मेरो नि यस्तै जाती श्रीमती हुनु नि, अनि पो बन्थ्यो जिन्दगी ।” भिडियो सक्दा नसक्दै मैले माहिँलीलाई छेड हानें।

एकछिन केही बोलिन ऊ र अलिकति जंगिएको हो कि भन्नुजस्तो स्वरमा भनी, “यसमा देखाएभन्दा के कुरामा कमी गर्या छ ?”

यस्तै केही तोडको आउँछ बाणी भन्ने मलाई पूर्वानुमान थियो नै । म चुप्प लागिरहें । तर, खित्खित हाँस्दै ।

“हँ, यसमा देखाएभन्दा के कुरामा कमी गर्या छ ?” उसले दोहोर्याएर खेरी । म हिसाबकिताब गर्ने मनाशायमा थिइनँ, त्यसैले मसँग जवाफ पनि थिएन । म ताल न भेउको हाँसो हाँसेर टार्न खोज्दै थिएँ ।

उसलाई भिडियो खुब मन पर्यो । कुनै खोट देखिन ।

“श्रीमतीलाई चैं धन्दापात गरेको, पूजा गरेको, श्रीमानलाई चिया पकाएर बार्दलीमा पुर्याइदिएको, औषधी खुवाएको, चस्मा भेटिदिएको, कोट फुकालिदिएको, छाता ओढाउन पुगेको आदि आदि देखाएर श्रीमानलाई चैं लेखपढ गरेको, बार्दलीमा मुखियासाब पल्टिँदै टहलेको, पठित र जागिरे देखाएको भनेर आइसके त स्वरहरु ? झ्वाँक चलेन तिमीलाई महिलालाई यसरी असमान देखाउँदा ?” मैले जान्न चाहेँ ।

“मदनकृष्णले जे गर्छ मिथिलाले नि त्यही गरेर समानता देखाउँदा भिडियो पनि बन्दैनथ्यो, यता हाम्रो घर नि चल्दैनथ्यो । सबै घरमा हुने त्यही हो जे त्यहाँ देखाइयो, भएको कुरा देखाएछन्, राम्रो गरे” माहिलीले भनी।

“तैपनि अलिकति सन्तुलन त देखाउँदा हुन्थ्यो नि ?” मैले भनें।

“सन्तुलन कसरी देखाउने ? मिथिला नि मदनसँग काँधमा काँध मिलाएर चलेको देखाउने हो भने मिथिलाको काम गर्ने अर्को महिला देखाउनु पर्थ्यो त्यहाँ । फेरि खिचेर देखाएर हुन्छ चैं के ? घरको धन्दापात गर्ने पुरुष पनि नोकरचाकर भएको नदेखाएको हो सिनेमामा ? घरकी आमाले, श्रीमतीले चिया पकाउने, पूजा गर्ने, लोग्नेको पर्स र चाबी भेटिदिने, लुगा पट्याएर राखिदिने, औषधि खाए नखाएको हेर्ने सामान्य कुरा हो । जुन चलिरहन्छ । समान अधिकार भनेर कुनै श्रीमतीलाई, आमालाई यो सब जिम्मेबारी नगरी बस्न मनले मान्छ ?” उसले भनी।

“माहिलीका कुरा मलाई मन पर्यो ।” मैले भनें ।

“श्रीमतीलाई धन्दपातमा देखाएको मात्रै देख्छन् मान्छे तर यो छोरो मान्छे, यो ‘आदमी’, यो ‘कमिना’लाई आफ्नो काम आफैँ गर्न नसक्ने, श्रीमतीको सहयोगबिना न भात, न पानी, न लुगाफाटो, न औषधी, न जागिर भएर जर्जर परनिर्भर देखाएको पक्षलाई पनि त हेरे हुन्छ नि ।” श्रीमती झन् झन् कडा हुँदै गई ।

“हैट, त्यति साह्रो त होइन होला हौ !” मैले जिस्क्याउने पाराले भनें।

“हो र होइन त, आफ्नै घरमा, आफ्नै जीवनमा हेर्नु नि, था भैहाल्छ नि !” मलाई महत्त्वपूर्ण काम दिएर बेलुकाको खाना पतिदेवले पकाएकोले भाँडा माझ्ने आफ्नो पालो धान्न माहिली उठेर भान्सातिर लागि ।

सिनेमामा हुन्थ्यो भने माहिलीको यो डाइलग “हो र होइन त, आफ्नै घरमा, आफ्नै जीवनमा हेर्नु नि, था भैहाल्छ नि !” प्रतिध्वनित हुँदै बज्थ्यो होला मेरो कानमा “हो र होइन त…हो र होइन त…आफ्नै घरमा…आफ्नै घरमा…हेर्नु नि… हेर्नु नि…था भैहाल्छ नि… था भैहाल्छ नि…”

म आफ्नै घरमा आफ्नै जीवनमा हेर्न थालें अब ।

श्रीमतीको जात कस्तो रैछ भने भित्रभित्रै चैँ अघोरै माया गर्ने, भोकोतिर्खो, सन्चोबिसन्चोको  सब ख्याल गर्ने तर बाहिर मुखले चैँ दुनियाँकै सबैभन्दा बेकामे पुरुषचैँ आफ्ना भाग्यमा परेको जस्तो गर्ने । म कहिलेकाहीँ यही भनेर उडाउँछु श्रीमतीका ‘गनगन’लाई।

अरु कारण श्रीमान् श्रीमतीका आ-आफ्ना घरेलु भूमिका हुने परम्परा र पितृसत्ताका केही आलस्य र ह्याकुल्लो मिचाइ पनि हुन् ।

गृहस्थाश्रम जीवनलाई प्रेम गर्ने महिलाहरुले घर चलाउन जे जति जिम्मेवारी, धैर्यता र एकनासे लगन बहन गर्न सक्छन् पुरुषले त्यसको दशांस पनि गर्न सक्छन् जस्तो लाग्दैन मलाई । नसक्नुको मुख्य कारण रिसाउँदै, झर्किंदै, तात्दै, सेलाउँदै भए पनि सबैथोकमा ध्यान पुर्याउने श्रीमती पाएर नै हो । अरु कारण श्रीमान् श्रीमतीका आ-आफ्ना घरेलु भूमिका हुने परम्परा र पितृसत्ताका केही आलस्य र ह्याकुल्लो मिचाइ पनि हुन् ।

पहिलेपहिले त पुरुषले कमाएर ल्याउँछ, घरमा बस्ने महिलाले गर्नु त पर्छ नि भन्ने थियो । अहिले त महिलाले नि उत्तिकै कमाएर ल्याउँछन् । दिनभर कमाएर आई सँगै घरभित्र पसेका जोईपोइमा श्रीमतीलाई परिवारलाई पकाएर खुवाउने, सरसफाई गर्ने, सबै थान्कोमुन्को गरिसकेर मात्र सुत्ने जिम्मेवारी हुन्छ । उस्तै अत्याधुनिक र हजारमा तीन श्रीमान् पर्यो भने श्रीमतीलाई सघाउला नत्र लुगा खोलेर थान्कोमा पनि नराखी सोफामा बसेर रिमोट हातमा लिएर एक कप ‘मीठो च्या’ चाहिँ सबैभन्दा पहिले खान पाए हुन्थ्यो भन्छ । श्रीमतीले त्यो ईच्छा नि पुर्याईदिन्छन् ।

म भान्सामा काम गर्न रुचि राख्छु तर त्यो श्रीमतीको जस्तो शर्तरहित रातोदिनको एकनासे तालिकामा हुँदैन । कि श्रीमती घरमा नभएको बाध्यताले, कि आज आफ्नो स्वादको विशेष आफ्नै हातले बनाउनु पर्यो भन्ने छुद्देले, कि श्रीमतीले ‘बाबा, आज हजुरले बनाउनु है’ भनेर गरेको आग्रहले, या घरमा पाहुनापासा छन् भने सघाउने हिसाबले म पकाउने, मस्काउने गर्छु । नत्रभने श्रीमती घरमै हो भने ‘बाई डिफल्ट’ ऊ नै भान्से हो मेरा घरमा पनि आम नेपाली घरकै जस्तो । कसले के गर्ने भन्ने हिसाब र छिनोफानो नै हुन्न । म मेरो बित्तो के छ त्यता लाग्छु, ऊ चियापानी, खाजाभातमै लाग्छे । कही काममा सहयोग मगनी भयो श्रीमतीबाट भने म नाइँ भन्दिन । ऊ सानो भएको र म ठूलो भएको भन्ने सोच नै त्यहाँ आउँदैन ।

कहिले शिवरात्री, रामनवमी, सरस्वती पूजा आउँछ मलाई थाहै हुन्न तर श्रीमतीलाई अघिल्लै दिन थाहा हुन्छ । बिहानै उठेर नुहाइधुआई, सरसफाई सिध्याई पूजा सकेर स्याउ र सुन्तलाका टुक्राको प्रसाद खुवाउँछे श्रीमती । र, परिवारमा धन, दौलत, विद्या, सुरक्षा सबै कुराको प्रत्याभूति भएको मनोवैज्ञानिक शान्ति संचार गर्छे परिवारमा श्रीमती । मैले कहिलेकाहीँ ‘पूजासूजा यस्तैउस्तै हो हेर बूढी’ भन्दा मान्नेसुन्नेवाला छैन ऊ ।

म सोफामा बसेर टिभी हेरिरहेका बेला वा पढिरहेका बेला श्रीमतीले १० पल्ट चिया पकाएर दिई भने मैले आक्कलझुक्कल मुस्किलले तीनपल्ट दिन्छु होला।

कम्प्युटरमा बसेर माहिलीको भाषामा भन्दा ‘उङ्न’ पाए र मनचाहे पढ्न र लेख्न पाए ‘ब्रेकफास्ट’ पनि एघार बजे खाइदिनेखालको श्रीमान् छ घरमा भन्ने राम्ररी बुझेकी श्रीमती शनिबार भएपछि प्लेटमा ‘अम्लेट टोस्ट’ वा केही बोकेर ‘लंड्री’ गर्ने मेरा लुगा र मलाई खोज्दै माथ्ला तलामा आउँछे । बिहानै उठेर मह र कागती पानी खानुपर्छ भन्ने र भ्याएसम्म नित्य खुवाउने ऊ नै हो । मेरापाली पर्यो भने तीन दिनमा एक दिन चैँ खाऊँला कि त्यो नि सम्झेंँ भने ! मेरा टोपी, मोजा, पन्जा, पर्स, फोन, चाबी घरमा हराउने क्रम नित्य चलिरहन्छ, कता गएछ भन्दा ‘बाटैबाटो लाग्दैथ्यो’ भन्दै भए नि भेटिदिने ऊ नै हो । दिनैजसो खाने चलनका विभिन्न भिटामिनका चक्की त्यही श्रीमतीले हातमा नहालिदिने हो भने आफैँ सम्झेर खोई खाइएला जस्तो मलाई लागेन । प्रयास त गरेको हो सम्झिने, तालिका कायम गर्ने तर चार दिनमा ‘पुरुषको पुच्छर घुम्राको घुम्रै’ भैहाल्छ।

भुराभुरीसँग घरमा छु र ऊ काममा छे भने बीचबीचमा खाजापानी खाएको, नखाएको, भुरा अघाएको नअघाएको, बच्चालाई नुहाइदिन बितेको सब सम्झाइरहन्छे श्रीमती फोनमा । आफ्नो जीवन, अर्काको जीवन, काम र समग्र घर चलाउन यति कटिबद्ध, यति प्रतिबद्ध र यति लयबद्ध कसरी हुन सकेका होलान् श्रीमतीहरु ?

आँप किनेर ल्याएको थिएँ एक बाक्सा । अलिक कट्मिरा थिए र पाकून् भनेर दराजमा बाक्सा नै हाल्देको थिएँ । त्यही श्रीमतीले नसम्झेको भए दराजबाट झिकेर सोझै मलखाडीमा हाल्नुपर्ने रहेछ । श्रीमती ज्यानले यस्ता बित्ने, बिग्रिने सम्हालेका उदाहरण र श्रीमान् ज्यानले भुस, भुलाक्कड व्यवहार देखाएका उदाहरण घरघरका अनगिन्ति उदाहरण हुन् जस्तो लाग्छ ।

फूलबुट्टे सारीमा मिथिलाले गर्नेजस्तो जम्मै काम मेरा घरमा श्रीमतीबाट भएको देखें मैले । त्यसमाथि श्रीमती काममा गएर कमाएर पनि ल्याउँछे । भिडियोमा मदनकृष्णले जस्तो श्रीमतीका भर पर्ने धेरै कुरा रहेछन् मेरा पनि र सम्पूर्ण घरका पनि । तर भिडियोको मदनकृष्ण जस्तो जागिरै मात्रै खाने छोरो मान्छे त म होइन पनि रहेछु । जागिरबाट आउँदा पानी पर्दैछ भने गाडी राखेर कुदेरै वा आफैँ छाता ओढेर घर पसिदिन्छु । जागिरका अतिरिक्त बारीको सागपात उमार्ने, फलाउने काममा श्रीमतीलाई म खासै बोलाउँदिनँ, एक्लै गर्न पाए हुन्थ्यो भन्छु । घरको फोहोर फाल्ने तह लगाउने काम मेरो हो । बजारबजार कुदेर किनिल्याउँने, हिउँ सोहोर्ने, जीवनका बिल भौचर मिलाउने काममा म श्रीमतीलाई झन्झटमुक्त राख्न खोज्छु सकेसम्म ।

“हाम्रो घरमा लैंगिक समानता छ कि छैन त बूढी ?” गम्दैगम्दै म उसलाई जिस्क्याउँदै भान्सातिरै पुगेँ ।

“स्वयम्भूका दुइटा आँखालाई थाहा छ, के छ भन्ने !” श्रीमतीले तयारी चाउचाउ जस्तो उत्तर फिराई । किचकिच गर्दै छेउछेउ नआए आफ्नो काममा ध्यान दिन पाउने थिएँ भन्ने उसको शरीर-लक्षण मैले बुझिहालें ।

दुबै जना समानान्तर ढंगले मज्जाले हाँसेर भए नि समानता कायम गर्यौं हामीले ।

प्रतिक्रिया
Loading...