छन्दको परम्परा :

हाम्रा सज्जन ऋषिमुनिको सद्भावपूर्ण व्यवहार, ब्रह्माको सृष्टि सौन्दर्यबाट उत्पन्न परिवेश परम्पराका परिचायक हुन् । जीवनशैलीबाट विकसित छन्द लिखित पृष्ठभूमिका आएको प्रतीत हुन्छ । सूत्रबद्ध आदर्श वाणीको लिपिसँगै छन्दले लेख्य रूप धारण गरेको भन्नुपर्ने हुन्छ । संस्कृत वाङ्मय सम्भ्रान्त बन्नुको पछाडि छन्दोमय पंक्तिको सिर्जना नै प्रमुख हो । संस्कृतकै अनुयायी नेपाली वाङ्मयमा त्यसको राम्रो प्रभाव परेर नै छन्दको प्रयोगलाई हाम्रा पूर्वजहरूले शिरोधार्य गरेका थिए ।

ऐतिहासिक सन्दर्भ हेर्दा पिङ्गल शास्त्रसम्म पुग्नुपर्ने हुन्छ । छन्दग्रन्थका प्रणेता मानिएका पिङ्गलका प्रेरणा स्रोतका रूपमा भगवान् शंकर, विष्णु, इन्द्र, वृहस्पति, माडव्य, शैतव, यास्क आदि देवता र ऋषिलाई मानिएको छ । एकबाट अर्कोसम्म छन्द चर्चाको क्रम जारी रहेको अवस्थालाई लेख्यरूपमा पिङ्गलले छन्दका नियमहरू बनाएका थिए । साहित्यिक संस्कृतिका प्रणेताका रूपमा पिङ्गललाई लिनुपर्ने हुन्छ ।

वैदिक कालमा छन्दको प्रयोग व्यापक भएको पाइन्छ । ऋगवेदको पुरुषसूक्तले दिएको छन्द प्रेरणा आजका समस्त कविका निम्ति उपयोगी मार्ग हो तर यसको अध्ययन गर्ने समय कसैलाई भएन छन्द र संगीत समकालीन ठहर्छन् । अर्कोतर्फ बाट हेर्दा छन्द संगीत र लयलाई पर्यायका रूपमा लिन पनि सकिन्छ । प्राचीन शास्त्रीय ग्रन्थहरूमा गरिएको छन्दको चर्चाबाट पनि यसको परम्परा बुझ्न सकिन्छ ।

वैदिक अवस्थाबाट लौकिक साहित्यमा प्रवेश गर्न छन्दले जे जस्तो संघर्ष गर्नु परेता पनि छोटो समयमा नै लौकिक साहित्यमा छन्दले आर्जन गरेको विशिष्टता महत्वपूर्ण सन्दर्भ हो । वैदिक साहित्यमा छन्द प्रयोगका दृष्टिले र आर्दशका दृष्टिले पनि लौकिक साहित्य व्यापक बनेको छ । वर्तमान सन्दर्भमा छन्दको प्रयोग न्यून रहे पनि यसको परम्परागत पृष्ठभूमि दरो छ । दृष्ट व्याधाले कर्याङ–कुरुङको भालेलाई निर्मम हत्या गरेपछि वाल्मीकिको मानसपटलमा उत्पन्न छन्दोबद्ध वाणी नै लौकिक साहित्यको उद्गमविन्दु हो ।

जहाँ हृदय बोल्छ र प्राणी हितका पवित्र उद्गारहरू निस्कन्छन्, त्यहाँ मौलिक लौकिक छन्द प्रवेश गर्दछ । ब्रह्माजीले वाल्मीकिलाई प्रदान गरेको आशीर्वाद र प्रेरणा जसरी समस्त स्रष्टाका निम्ति प्रेरणादायी बन्यो त्यसरी नै छन्दोमय पंक्ति रचनामा वाल्मीकि प्रेरणादायी बनेका थिए । छन्दको परम्परालाई  जब बन्धन र रुढीको रूपमा लिन थालियो तब साहित्यिक मर्यादा र आदर्शको पतन हुँदै आयो । संस्कृत साहित्यको आदर्श पक्षलाई ग्रहण गर्दै नेपाली साहित्य विकसित हुँदै आयो । संस्कृत भाषाप्रतिको अपमान र अंग्रेजी भाषाप्रतिको ममताले नेपाली जनजीवन मौलाउँदै गयो । आजको स्थिति विसङ्गतिपूर्ण बन्नुको कारण पनि यही हो । छन्दको प्रयोग  हराउँदै गयो र साहित्यिक विसंगति पैदा भयो ।

छन्दले रसलाई ग्रहण गरेकै हुन्छ । नवरसलाई छन्दकै माध्यमबाट मात्र प्रयोगमा ल्याउने परम्परा चलिआएको छ । छन्दबाट रस उत्पन्न हुन्छ भने विभाव, अनुभाव र व्यभिचारीभाव आदिद्वारा रस प्रायोजित हुन्छ । शृङ्गार, हास्य, करुण, वीर, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त आदि रसका निम्ति जुन छन्द उपयोगी हुन्छ सोही छन्दको प्रयोग गर्नु राम्रो परम्परा हो । वार्णिक छन्दतर्फ मात्र हेर्दा श्रृङ्गार रसका लागि मालिनी, वसन्ततिलका र उपजाति, शान्त रसका लागि शिखरिणी, वीररसका लागि पृथ्वी, शार्दूलविक्रीडित, स्रग्धरा रौद्र र बीभत्सका लागि पनि शार्दूलविक्रीडित स्रग्धरा, हास्य रसका लागि इन्द्रवज्रा, उपेन्द्रवज्रा र उपजाति तथा अद्भुत रसका लागि मन्दाक्रान्ता आदि छन्द अनुकूल हुने परम्परा छ । भाव र रसले जुन छन्द मागेको छ सोही छन्दमा कविता रचना गरेमा कविता बढी उत्कृष्ट बन्दछ । जबर्जस्ती छन्दको प्रयोग भयो भने कविताले दिने रस भङ्ग हुनसक्छ । छन्दको प्रयोग गर्दा अलंकारहरूको पनि राम्रो प्रयोग हुनसक्यो भने अझै राम्रो  हुन्छ ।

छन्दपरम्पराले बोलेकै नियमका आधारमा कविताको रचना गर्नुपर्दछ । नयाँ छन्दको खोजी आवश्यक छैन । हामीकहाँ देखा पर्ने लयहरू पुराना छन्दले समेटी सकेका छन् । सस्तो लोकप्रियताका लागि छन्द सिर्जना गर्न  खोज्दा परम्पराको अपमान हुन्छ । सयौं छन्द भएकोले नयाँ छन्दको खोजी अनावश्यक झन्झट हो । कारणले ती छन्द प्रचलन नआएका भन्न मिल्दैन । हात बस्यो भने अप्ठेरा कुनै छन्द छैनन् । छन्दपरम्पराको संरक्षण गर्दै जनमानसमा यसको व्यापक प्रचारप्रसार गरी प्रभावकारितातर्फ ध्यान दिन सकियो भने साहित्यमा विशिष्टताको आर्जन एकातिर हुन्छ भने अर्काेतिर संस्कृतिको रक्षा हुन्छ ।

जीवनशैलीको रूपमा छन्द :

सृष्टिको उषाकालदेखि नै छन्दपरम्पराको थाली भएको हो भन्ने मलाई लाग्छ । सृष्टिको उषाकालमा छन्दको प्रयोग कवितामा नभएर मान्छेका मिठासपूर्ण सद्वाणीमा हुन्थ्यो । सौन्दर्यप्रतिको आकर्षण, मिष्ट भोजनको आस्वादन, मिष्ट एवं समुधर वाणीको श्रवण र सुखमय जीवनयापन मान्छेका स्वाभाविक गुण हुन् । मान्छेका यिनै स्वाभाविक गुणमा म छन्दको प्रयोग देख्दछु । छन्द धैर्यता संयमता, आत्मविश्वास र परिमार्जित जीवनशैली पनि हो । जहाँ रङ्गीबिरङ्गी चराहरूको चिरीबिरी छ, सुहागरातमा नवदम्पतीको मस्कामस्की गम्केको छ र जहाँ मानवले मानवीय चरित्रको प्रदर्शन गरेको छ त्यहाँ पनि म व्यापक छन्द देख्छु । पौरखका पसिनाहरूमा साधनका सिर्जनाहरूमा, समुद्रको निश्चल शान्त र स्वाभाविक परिवेशमाथि  तैरिएका तरङ्गहरूमा र भगवान्को कीर्तनमा म शार्दूलविक्रीडित र अनुष्टुप् देख्दछु । पाश्चात्य सभ्यताको नाममा नेपाली संस्कृतिलाई बन्द खामभित्र कैद गर्ने र त्यही खामभित्र पसेर सुन्नीमालाई बलात्कार गर्ने स्रष्टाहरूमा, दुनियाँलाई अँध्यारो कोठामा कैद भएको मात्र देख्ने दोषी चश्माहरूमा, भोग–विलासलाई भौतिक आनन्दको पर्याय मान्ने सामन्तकामा, मर्न लागेका पलाँसका फुलहरूमा, आदर्शको बेठेगाना हुँदा हुँदै सिद्धान्तको वैशाखी टेक्नेहरूमा र मर्दको नाममा नामर्द व्यवहार गर्नेहरूमा म छन्द देख्दिनँ ।

आजको परिवेश भिन्न प्रकारको बनेको छ । भिन्न परिवेशलाई आधुनिकताको नाम लादिएको छ । राशन,, आसन र फेशनमा देखा परेका आधुनिकताको पारखी बन्ने मार्गमा हामी जुटेका छौ । राशन, आसन र फेसनमा कुनै सीमा छैन । आफ्नो अपमान र परम्पराप्रति बेइमान नहुने किसिमले मान्छेले यी तीन कुरामा संयमता अपनाउनु पर्दछ । चुरोट, जाडँरक्सी जस्ता अम्बलको सेवन गर्ने क्रम बढ्दो छ । म यसमा पनि संयमता र सीमा चाहन्छु ।

दूध, दही, र घिउको प्रयोग घट्दो छ । रड र सिमेन्टको जमाना फक्रँदो छ । रातो माटो, कमेरो र खोलाका ढुङ्गाको प्रयोग हराउँदो छ ।  रड र सिमेन्टको घरमा बसे सम्पन्न र रातो माटो, कमेरो र खरमा बसे विपन्न मान्ने अर्थात् भौतिक मूल्य आर्जनलाई बढावा दिने प्रचलनको अन्त्य म चाहन्छु । फेशनको दुनियाँ अझै भिन्न अवस्थामा रहेको छ । टाउकामा टुप्पी र पछ्यौराको सर्को हराए । दौरासुरुवाल र चौबन्दी चोलीले डाँडो काटे । हिजोआज त कपाल पाल्नु पर्नेले कपाल पाल्न र फाल्नु पर्नेले फाल्न छाडे । तल सुकेको र माथि फुकेको पाइन्ट लगाउने र झिलिमिली सारी र टिम्म परेको ब्लाउज लगाई ढाड र पेट देखाएर झिलिकमिलिक गर्नेको परम्परा बढ्दो छ । तुलसाको मठ बनाइँदैन । जनै लगाइँदैन । ब्रह्मत्व हराउँदैछ, शूद्रत्व र नीचता जाग्दैछ ।

यी परम्पराको विनाशसँगै हाम्रा मूलभूत मान्यता र संस्कृति लोप भई रहेछन् । मान्छेका परम्परागत जीवनशैलीमा म छन्द देख्छु । मेरो छन्दले जप गर्छ, जनै लगाउँछ, र आदर्श संस्कृतिमय जीवन बिताउने संकल्प गर्छ । छन्द राशनमा दूध, दही  र घिउ हो । फेशनमा दौरा सुरुवाल र चौबन्दी चोली हो । आसनमा खोलाको ढुङ्गो रातामाटो र कमेरो हो । यिनमा म  संस्कृति देख्छु । आधुनिकतालाई स्वीकार्दै परम्परागत मान्यतालाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा म छु । मलाई लाग्छ जो परम्परागत मान्यताप्रति उदासीन हुँदैन ऊ नै सभ्य हो । सभ्यता भनेको संस्कृतिको विनाश कदापि होइन । यही मान्यतामा म छन्द देख्छु । डोको, नाम्लो र खर्पनले झारेका पसिनामा छन्द छ । तसर्थ छन्द नै जीवनशैली भएकाले यसको वास्तविकतालाई बुझेर हरेक मान्छेले छन्दमय व्यवहार गर्नुपर्ने आजको आवश्यकता हो ।

छन्दले खानु, छन्दले बस्नु छन्दले बोल्नु, छन्दले हिंड्नु र छन्दले व्यवहार गर्नु नै जीवनको उच्च शैली हो । अन्याय, अत्याचार, शोषण, दुराचार र भ्रष्टाचारलाई पूर्णरूपेण त्यागेर शान्ति, सद्भाव र न्यायपूर्ण एवं शोषणरहित समाजको स्थापना गर्न पनि हरेक व्यक्तिले छन्दको महिमा बुझ्नुपर्ने हुन्छ ।

छन्दको अस्तित्व मेट्न खोज्ने र यसको गरिमामय ऐतिहासिक महत्वलाई हेय दृष्टिले हेर्न खोज्नेहरूमा सामु म अनैतिक, असभ्य र अज्ञानी बन्नसक्छु तर यसको मलाई कुनै पर्बाह छैन । समसामयिक कविता विधान मात्र जीवनको हरेक पक्षमा म विसंगत परिवेश देख्छु । छन्दप्रतिको उपेक्षा सुन्दर काव्यनिर्माणको पर्खाल मात्र नभएर सुन्दर र सभ्य जीवनयापनको बन्धन पनि हो । मेरा विचारमा आधुनिकतालाई मात्र बढवा दिनु विकासको मार्गमा तगारो हाल्नु हो । संस्कृतिको महिमा र जीवनशैलीको गाथा छन्दबाटै गाउन सकिन्छ । हाम्रो जीवनशैलीको जुन उपयोगी बस्तुस्थिति थियो त्यो वास्तवमा तर्कपूर्ण र विवेकपूर्ण थियो । तसर्थ हाम्रो मूल संस्कृति र छन्द समकालीन भएको ठहर मेरो छ । संस्कृति र छन्दका तथ्यहरू एउटै हुन्छन् ।

संस्कृति र छन्दलाई एक अर्कोबाट पृथक् राख्न सकिंदैन । चाडपर्व, रीतिरिवाज, भेषभूषा, जस्ता हरेक पक्षमा छन्दमय शैली हराउँदै जानु र जीवनशैली नै भिन्न बन्नु र प्रगतिको नाममा मात्र देखा पर्नु चिन्ताको विषय हो । हाम्रो जीवनशैली संगीतमय हुनुपर्छ । संगीतमा छन्द छ , छन्दमा संगीत छ । छन्द र संगीतलाई पनि म समकालीन मान्दछु ।

कवि कविता सम्बन्धमा मेरो दृष्टिकोण :

मानिस एक संवेदनशील प्राणी हो । मान्छेको संवेदना जोख्ने तराजु हुँदैन । संवेदनाहरू कुनै सीमाभित्र बाँधिएका हुँदैनन् । संवेदनशीलताका कारण मानिस भावुक प्राणी बनेको छ । विषय र परिवेशको तर्फपूर्ण अभिव्यक्ति दिन समक्ष मानिएको मानिएको मानिसले जब संवेदनालाई उद्भव गराउने मार्ग खोजी गर्न खोज्छ तब ऊभित्रको चैतन्य बाह्य रूपमा प्रकट हुन्छ । सभ्यताको खोजी गर्न उद्धत हुँदाका बखत उसका सम्पूर्ण संवेदनाहरू चेतनामा परिवर्तित हुन्छन् । चेतनशक्ति जसमा प्रबल हुन्छ उसमा जीवन र जगतको मूल्याङ्कन गर्ने क्षमताको वृद्धि हुन्छ । उसको यही स्वाविक गुण नै सभ्यता खोजीको केन्द्रविन्दु हो । संवेदनाको प्रस्फुटन हुँदा मानिसमा चैतन्य वाह्य रूपमा प्रकट हुन्छ भने चैतन्य प्रस्फुटन वा प्रकट भएपछि उसमा विवेकशक्ति देखा पर्छ ।

यही विवेकशक्ति ज्ञानमा परिणत त्यो बेला हुन्छ जब ऊ सृष्टिको मर्म बुझेपछि मानिसका कर्मकर्तव्य बोधको शक्ति पैदा हुन्छ । कर्मकर्तव्य बोधको शक्ति पैदा भएपछि सार्थक जीवनको प्राप्तिका निमित्त ऊ चिन्तनशील बन्दछ । चिन्तनशीलताबाट प्राप्त मार्ग जब ऊ समात्छ तब उसमा उच्च नैतिक मूल्यको बोध हुन्छ । सामाजिक प्राणी पनि भएका नाताले सामाजिक  दायित्वबोधले उसलाई सबल, समक्ष र दृढ बनाउँछ । यही समक्षमता, सबलता र दृढताका कारण ऊ आदर्शवान् बन्दछ । यही प्रक्रियाबाट जबसम्म मानिस आदर्शवान् बन्दैन तबसम्म ऊ नाम मात्रको मानिस बन्दछ ।

भनिन्छ हरेक मान्छे जन्मँदा नै कवि बनेर जन्मन्छ । मलाई लाग्छ यसो भन्नु तात्पर्य ऊ आदर्शवान् हुन्छ भन्नु हो । जीवन र जगतबाट प्राप्त अनुभूतिलाई आदर्श शक्तिका माध्यमबाट व्याख्या गर्न मानिस सक्षमता छ । कसैका निम्ति व्याख्यात्मक शक्ति दुर्बल र कसैका निम्ति सबल बन्नसक्छ । जसमा यो शक्ति सबल छ । यसमा कवित्व शक्ति हुन्छ । तसर्थ कविता अनुभूतिको उद्घाटन पनि हो कविता बन्नु, नबन्नु वा बनाउन चाहनु स्रष्टाको अधीनको कुरा हो । यसरी हेर्दा मेरा दृष्टिमा सौन्दर्यप्रतिको अनुराग जब मानिसमा तीव्र बन्दछ तब उसमा कवित्व शक्ति प्रबल बन्दछ । सौन्दर्यशक्ति प्राप्त गरिसकेपछि मानिसले विशेष रोचकताका निम्ति सौन्दर्यबाट प्राप्त अनुभूतिलाई कलात्मक पाराले व्यक्त गर्न खोज्छ । कलात्मकताको प्रदर्शन गर्न खोज्दा मानिसका अनुभूतिहरू स्वतः कविता बन्दछन् । कवित्व शक्ति प्रबल बन्दासम्म मानिस अभिव्यक्तिहरू भाव र तर्कपूर्ण बन्दछन् । कवित्व शक्ति प्रबल बन्दासम्म मानिस बौद्धिक बनेको हुन्छ । यही बौद्धिक शक्तिको प्रयोग गर्दा कविता सर्वसंवेद्य बन्दछ ।

मानिसभित्रको संवेदना जब कविता बन्दछ । तब कविता सर्वसंवेद्यन बन्दछ । उन्मुख पार्ने भन्ने मल्याङ्कन आवश्यकता पर्दछ । जब वाणीहरू स्वयंमा कविता बन्दैनन् । मिठास जहाँ छैन त्यहाँ कविता हुँदैन । जब वाणीलाई कवितात्मक बन्दैनन् तब ती वाणी सामान्य बोलचालका ठहरिन्छन् । यसरी हेर्दा वाणीलाई बढी सम्मोहक पार्नका निमित्त संवेदनशील मान्छेले भाषिक आभूषण खोज्नुपर्ने हुन्छ । सोही आभूषणलाई सम्भवत अलंकार भनिएको होला । वाणीहरू आलंकारिक, सौन्दर्यपूर्ण, अभूतपूर्व र सम्प्रेषण नबसेसम्म कविता नबन्ने हुँदा मान्छे जन्मँदै कवि बन्ने भए पनि ऊ यिनै गुणका अभावले बाह्य रूपमा कवि बन्न सक्दैन । तसर्थ कवित्व शक्ति दुर्लभ गुण हो भन्न सकिन्छ ।

शब्द नचाउनु, खेलाउनु, बटार्नु र लम्ब्याउनु कविको चातुर्य कला हो । अभिधा शक्ति मात्र भएका शब्दहरू त्यसबेला कवितात्मक बन्दछन् जुन बेला समसामयिक विषयवरवस्तुलाई तिनीहरूले उच्चता प्रदान गर्दछन् । त्यो हुन सकेन भने मात्र कवि शब्दको लक्षणा शक्ति खोज्न विवश हुन्छ । लक्षणा शक्ति पनि उसका निम्ति उपयुक्त बन्न नसकेमा बल्ल ऊ व्यञ्जना शक्तिको सहारा लिन्छ । यसरी अभिधा, लक्षणा र व्यञ्जनामध्ये कुनै एक शब्द शक्तिलाई कविताको आधार भन्नुपर्ने हुन्छ ।

मेरो विचारमा कविता भावनाको उपज मात्र होइन । कविता अलिकति परिश्रम र पसिना पनि हो । बिना परिश्रम र परिश्रम  पसिना कविता बन्दैन । कवित्व शक्ति प्रबल हुन जसरी संवेदना विभिन्न प्रक्रिया पूरा गरी बौद्धिक स्तरसम्म आउँछ त्यस्तै गरी कविताको उद्घाटनका निमित्त पसिना परिश्रमको लगानी कवि गर्नुपर्दछ । म चाहन्छु कविता लेख्दा कविका पसिनाले कविता भिजोस् । साधन विना नै कविता लेख्छु र कवि बुन्छु भन्ने हो भने कवितालाई गद्य र सामान्य बोलचालको भाषा मान्नुपर्ने हुन्छ । त्यसैले कविता गद्यमा बन्न सक्दैन, गद्यलाई कविता भन्ने हो भने यसका निश्चित सीमा र परिधिहरूको निर्क्योल हुनुपर्छ ।

कवितामा भाव स्वतः नै हुने हुँदा लय यसको आधारभूत तत्व हो । लयात्मक पंक्ति निर्माण गर्न जुन परिश्रम पर्छ त्यो नै पसिना हो । पसिनाको मूल्य अधिक हुन्छ । पसिना खर्चनु भनेको कविताको मूल्य र स्तर वृद्धि हुनु हो । मैले कवितालाई यसरी परिभाषित गरेको छु– “शब्दको प्रतीकात्मक प्रयोग, आलंकारिक सौन्दर्यको सृष्टि, शैलीगत र अर्थगत चमत्कारिता र बौद्धिक चिन्तनका साथै अभिधा, लक्षणा र व्यञ्जनामध्ये कुनै एक शब्दशक्तिले युक्त अनुभूतिको सुन्दर, लयात्मक एवं भावपूर्ण अभिव्यक्तिलाई मूलतः कविता भनिन्छ । “यसका अतिरिक्त कविता सम्प्रेष्य शक्ति पनि आवश्यक पर्दछ । सम्प्रेष्यले कवितालाई सर्वप्रिय र जीवन्त तुल्याउँछ । शब्दको आडम्बर र अर्थको विसंगत परिवेशमा कविता बन्दैन । कविता मानिएको गद्यमा म शब्दको आडम्बर र अर्थको विसंगत परिवेश देख्छु जसका विरुद्धमा म क्रान्ति गर्दैछु । सीमित र असीमित उचित र अनुचित भावात्मक र बस्तुगत, भौतिक र आध्यात्मिक, एवं कृत्रिम र प्राकृतिक आदि तुलनात्मक वैशिष्ट्यलाई म कविका भावहरू प्राय संवेगात्मक हुन्छन् । संवेग तीव्रतालाई भने कविले रोक्ने प्रयास गर्नुपर्छ । कवि परिवेशको मात्र भोगी हुँदैन । ऊभित्रको ऐतिहासिक द्वन्द्व ,वर्तमानप्रतिको मोह र आगतप्रतिको विश्वासका कारण उसका आवेग र समवेदनाहरू त्रिआयमिक हुन्छन् । तत्क्षणमय अनुभूति मात्र कविका अनुभूति होइनन् । संश्लेषण र विश्लेषणकारी शक्तिका कारण बस्तुगत यथार्थ र काल्पनिक यथार्थ दुवै कविसँग निकट हुन्छ ।

त्यसैले कवितामा कहिलेकाहीं असम्बद्ध तथ्यहरू पनि देखा पर्ने गर्दछ । यसलाई पनि कविले सचेतताका साथ रोक्ने प्रयास गर्नुपर्दछ । उत्तेजना, संवेदना र भावनाले पनि कविता जन्मन्छ । सौन्दर्यचेत कविको उच्चतम अभीष्ट हो भने सामाजिक युगबोध र प्राप्त अनुभूतिको उद्घाटन कविको वैशिष्ट्य हो । कवि स्रष्टा र द्रष्टा दुवै व्यक्तित्व हो यी दुवै व्यक्तित्व प्रबल हुँदा कल्पनाशक्ति देखा पर्‍यो भने कविता प्रष्फुटन हुन बल मिल्दछ । कवि दार्शनिक हो भने कविता उसको दर्शन हो ।

पाठक र श्रोताको योग्यता र चाहना अनुरूप कविताको रचना हुन आवश्यक छ । मेरो विचारमा कविले आफ्नो बौद्धिकताको प्रदर्शन मात्र नगरेर सामाजिक मान्यता र चाहनालाई समेत बुझ्नुपर्ने हुन्छ । कवितामा भावानुकूल र परिवेशानुकूल लयात्मक पदविन्यास हुनुपर्दछ । सुन्दर भाषाशैली, विम्बविधान र कथनपद्धति जस्ता तत्वले कविता उच्च बन्दछ । यसै पृष्ठभूमिका आधारमा हाम्रा धार्मिक पौराणिक र वैदिक रचनाले सर्वप्रियता प्राप्त गरेका हुन भन्ने मेरो ठहर छ ।

गद्यकिन कविता होइन ? :

नेपाली संस्कृति परम्परा र मान्यतामा आफ्नै किसिमको पना छ ।  हरेक पक्षले आफ्नो निश्चित ऐतिहासिक सीमा ओगटेको छ ।  मौलिकता र सहजताको ग्रहण गर्न सक्नु विविध क्षेत्रको विशिष्टता हो । यही विशिष्टताको आर्जन संस्कृतिको वैशिष्ट्य हो भन्ने मलाई लाग्छ । आजको परिवेश अर्कै बनेको छ । संस्कृतिको उल्लङ्घन गर्ने र आधुनिकताको  नाममा विसंगतिलाई बढावा दिने परम्पराको थालनी भएको छ, जो नेपालीका निमित्त विडम्बनाको कुरा हो । नेपाली कविताले पनि आफ्नै किसिमको ऐतिहासिक परम्परा कायम गरेको छ । नेपाली भाषा र साहित्यको उत्थान संस्कृत भाषा र साहित्यबाट भएको हुँदा संस्कृत भाषा र साहित्यलाई नै हाम्रो भाषा र साहित्यको संस्कृति मान्नु पर्दछ । संस्कृत साहित्यका अनुयायी भएर पनि हामीले संस्कृत साहित्यको आदर्शलाई बिर्सेका छौ । वौदिककालसम्म पुग्ने हो भने हाम्रो साहित्य अझै सुन्दर र परिमार्जित तथा मौलिक छ भन्ने प्रतीत हुन्छ । नेपाली साहित्यको बीजविन्दु कविता हो यसमा शंका छैन । कविता विद्याको मूल्य आज खस्कँदो छ । यसको मूल कारण जे कविता होइन त्यो कविता हो भनी प्रयोगवादी बन्न खोज्नु हो ।

साहित्यको पृष्ठभूमि केलाउँदै जाने हो भने साहित्यका गद्य र पद्य दुई भेद देखा पर्छन् । गद्य साहित्य अन्तर्गत कथा, नाटक, उपन्यास, निबन्ध आदि पर्दछन् भने पद्य अन्तर्गत कविता पर्दछ ।कवितालाई पद्यको पर्याय पन मानिन्छ । गीत, गजल, हाइकु, मुक्तक, आदि पनि पद्यकै भेद हुन् । पद्य साहित्य लगात्मक हुन्छ यसमा शंका छैन । लय परिष्कार र संयोजनका निमित्त छन्दको आवश्यकता स्वीकारिएको यथार्थ कविता भनेको छन्द छँदा पनि हो ।

साहित्यका अन्य विधा पनि भरसक छन्दोबद्ध भएमा राम्रो हुने हुँदा छन्दको महिमा स्वतः स्पष्ट छ । यस्तो अत्यावश्यक र गरिमामय ऐतिहासिक परम्परा बोकेको छन्दलाई बन्धन मानेर गद्यमा पनि कविता लेख्न सकिने परम्पराको थालनी भयो । कुनै पनि विषयवस्तु र सन्दर्भको आफ्नै  मौलिक सीमा हुन्छ । त्यसलाई तोडियो भने विसंगत परिवेश जन्मन्छ । कविता मानिएको गद्यले मौलिक सीमा नाघेको छ । आफ्नै मौलिकता नभएको क्षेत्रमा मौलिकता खोज्नु नराम्रो होइन तर चालू मौलिकतालाई त्यागेर अर्को मौलिकता खोज्दै जाने हो भने अब सय वर्षपछि कवितामा कति ओटा मौलिकता भेटिएलान् ? यो निकै गम्भीर प्रश्न हो । भावी पुस्ताले कवितामा कुन मौलिकतालाई ग्रहण गर्ने ? यदि कवितामा गद्यलाई यस्तै तवरले मान्यता दिंदै जाने हो भने छन्द मात्र नभएर कविता एकादेशको कथा बन्नेछ ।

हामी पूर्वीय संस्कृतिका अनुयायी हौं तर पाश्चात्य परम्पराले जिका छौं । जसका कारणले हामी हरेक क्षेत्रको विकास पछि परेका छौं । नेपाली कवितामा ‘गद्य’ को प्रयोग पाश्चात्य शैलीको अनुशरण गर्ने क्रममा भएको हो भनिए पनि वास्तवमा यो मात्रिक छन्द बिगार्दै जाँदा विकसित भएको हो भन्ने मलाई लाग्दछ । पाश्चात्य कवितालाई छाडेका छैनन् । तर नेपालमा कविता मानिएको गद्यमा कविता भन्न सुहाउने वाक्यगठन, वर्णविन्यास र शैलीगत चमत्कारिता पाइँदैन । प्रयोगवादका नाममा शब्दको आडम्बर र विसंगत परिवेश मात्र छ । गद्यलाई कविता मान्ने केही कविताहरूका कवितामा शास्त्रीय लक्षण नभेटिने भने होइन । समसामयिक सन्दर्भलाई हेर्ने हो भने कतिपय कवितामा कविताका कैयौं लक्षणमध्ये एउटा पनि भेटिंदैन । केही लेखेपछि कविता भई हाल्ने परिवेश आएको छ । अरूका निम्ति स्वीकार्य होला नहोला तर मेरा विचारमा ‘गद्य’ मा कविता हुन सक्दैन  ।

गद्यलाई कविताका रूपमा स्वीकार्ने हो भने यसका निश्चित सीमाहरू तय गरिनु पर्दछ । भनिन्छ साहित्य स्वतन्त्र हुन्छ तर स्वतन्त्रताको अर्थ सीमाको उल्लंघन अवश्य होइन । म कवितामा परिश्रम र पसिना खोज्छु, छन्द या लय खोज्छु, अर्थगत र शैलीगत चमत्कारिता खोज्छु , अलंकारिक तर कविता मानिएको गद्यमा म यी कुरा पाउँदिनँ । धेरैले लेखे, धेरै लेखिए धेरैले यसैबाट अमरत्व प्राप्त गरे, धेरैले रुचाए र स्थापित भयो भनेर म गद्यलाई  कविता मान्ने पक्षमा छैन ।

गद्य कविता लेखेर स्थापित भएका साहित्यकारलाई म कुशल प्रयोगवादी निबन्धकार मान्छु, श्रद्धाका साथ सम्मान पनि गर्छु तर कविका रूपमा होइन । कसैको योगदान र प्रतिभाप्रति मेरो कुनै दुराग्रह छैन । समग्रमा कविता विद्यमान आफ्नो साहित्यिक संस्कृति र मान्यतालाई नमारियोस् गद्यको सीमा विस्तारको नाममा पद्यमा हस्तक्षेप नगरियोस् र कागले कान लग्यो भन्दा कागको पछि नदौडी कान समात्ने सचेतता साहित्यकारमा आओस् म यही चाहन्छु । नेपाली कवितामा छन्दको प्रयोगलाई पहिलेकै अवस्थामा नल्याई आन्दोलनबाट बिदा लिन्नँ ।

बाँकी अर्को साता…