प्रधानाध्यापक – को हो ? सक्षमता के हो ? बदलिंदो भूमिका के हो ? कसरी निभाउने ?
शब्दकोशमा लेखिएको छ, प्रधानाध्यापक : ना० कुनै स्कुल वा पाठशालाको मुख्य अध्यापक; हेडमास्टर ।
शैक्षिक नेतृत्व लिएको, विश्वास जित्ने क्षमता भएको, सामाजिक चिकित्सक, जहाजको कप्तान, परिवर्तनशील र परोपकारी, दक्ष र सक्षम, पारदर्शी र जवाफदेही, मनोविज्ञान र समाजविज्ञान बुझेको, दायित्वबोध र जिम्मेवार भएको शिक्षकको अगुवा नै प्रअ हो । जो प्रतिबद्ध हुन्छ । जो मानसिक, शारीरिक, संवेगात्मक हिसाबले सन्तुलित, स्वास्थ्य र तन्दुरुस्त हुन्छ ।
प्रअ कुशल विज्ञ शिक्षक हो जसले विद्यालयलाई परिवर्तन गर्छ । विद्यालयमा सक्षमता प्रदर्शन गर्ने (perform) सुधार गर्ने (reform) र रूपान्तरण गर्ने (Transform) शपथ खाएको पेशागत नेतृत्व विकास र व्यवस्थापन गर्न हिम्मतिलो व्यक्ति नै प्र अ हो ।
प्र अ लक्ष्मीप्रसाद दाहाल भन्छन्, “प्रधानाध्यापक समाजकै पथ प्रदर्शक हो । उसमा समाजप्रतिको दायित्वबोध हुनुपर्छ । व्यवहारिक रूपमै अनुकरणीय व्यक्ति बन्नुपर्छ ।”
मानिसहरूमा आएको चेतना स्तर, विज्ञान तथा सूचना तथा सञ्चार प्रविधि, उच्च सामाजिक विकासले गर्दा जसरी शिक्षक विद्यार्थी ज्ञानको स्रोत र विद्यालयको भूमिका परिवर्तन हुँदै गइरहेको छ त्यसरी नै प्र अ को भूमिका पनि बद्लिएको छ । आदेशात्मक तथा यान्त्रिक पद्धतिबाट स्वतन्त्र पद्धतितर्फ नेतृत्व बद्लिरहेको छ । परम्परागत तथाकथित प्रणालीबाट वैज्ञानिक व्यवस्थापन अंगीकार गरी, शैक्षिक गुणस्तरीयता तर्फ नेतृत्वले गति लिएको छ ।
पहिलाको प्रधानाध्यापकको भूमिका दैनिक कार्य सम्पादन गर्ने, अनुशासन कायम गर्ने, डन्डा र दण्ड दिने, मुद्दा मामिला झेल्ने-ठेल्ने र पढाए नपढाएको हेर्ने जस्ता शिक्षण सम्बन्धित कार्यहरू गर्ने थियो भने अब त्यो भूमिका पूरै परिवर्तन भएको छ । अहिले शैक्षिक योजना निर्माण र कार्यान्वयनको लिडरको रूपमा जोड दिएको छ ।
प्रधानाध्यापक हुनको उद्देश्य के हो ? समय कति दिन सकिन्छ ? कार्यका प्राथमिकताहरू के के छन् ? भिजन र मिसनहरू के के छन् ? रणनीतिक योजना र भिजुलाइजेसन कस्तो छ ? स्पष्ट मार्गचित्र के छ ? समन्वय र सन्तुलन कतिको छ ? कतिको इमानदारिता र दयालुपन छ ? जस्ता कुराले प्रमुख भूमिका खेल्छ । त्यस्तै व्यक्तिगत स्वभाव कस्तो छ ? अन्तर्मुखी छ या सामूहिक स्वभाव तथा बहिर्मुखी प्रकृतिको छ ?
विद्यालयको प्रधानाध्यापक बन्न सजिलो छैन बनिहाले पनि त्यसको जिम्मेवारी निर्वाह गर्न झन् कठिन छ । विद्यालयको प्र अ भइसकेपछि विद्यालय भित्रका कर्मचारी तथा शिक्षकहरूको आआफ्ना चाहनाहरू हुन्छन् त्यसलाई सम्बोधन गरेर ऊनीहरूलाई खुशी बनाउनै पर्छ । लोकतन्त्रमा प्रत्येकलाई सम्बोधन गर्दै ऊनीहरूका तर्कहरूको उत्तर दिंदै व्यवस्थापन गर्दै अगाडि बढ्नु अत्यन्तै चुनौतीपूर्ण कार्य हो तर यो गर्नै पर्छ, यो अनिवार्य शर्त पनि हो ।
अहिले तर्क, प्रमाण, प्रविधि र विज्ञानको युग हो । जसमा प्रधानाध्यापक तार्किक, विश्लेषणात्मक, रचनात्मक, समन्वयात्मक छैनन् भने आफ्नो संस्थालाई अगाडि बढाउन प्रायः कठिन नै हुन्छ । ठूलो स्वरले आदेशात्मक तरीकाले होइन मधुर र प्राज्ञिक तरीकाले शिक्षक तथा कर्मचारीको हृदय र मस्तिष्कलाई बुझेर कार्यदक्षाता अनुसारको काम दिन र काम उठाउन सक्नुपर्छ ।
अहिले परिवेश फेरिएका छन् । व्यवस्थाहरू फेरिएका छन् । मनोविज्ञानहरू फेरिएका छन् । वास्तविक संसार अवास्तविक संसार बन्दै गइरहेको छ । प्रत्येक व्यक्ति फरक सक्षमताको र आफैमा उच्च बौद्धिक क्षमताको हुन्छ । उसको कदर गर्दै, सम्मान गर्दै उसबाट काम लिनु कम्ती चुनौतीपूर्ण चाहिं छैन । हुन ता अनुशासित, जवाफदेही र कर्तव्यनिष्ठ हुँदा समस्या हुन्न । तर यो गाह्रो छ । अनुशासन कुन चराको नाम हो भन्ने स्थितिमा पुग्न आँटिसकियो ।
कुनै संस्था वा विद्यालय सञ्चालन र व्यवस्थापनको क्रममा संस्थाभित्र धेरै प्रकृतिका शिक्षक तथा कर्मचारी हुन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन र अनुसन्धानले निकालेको निष्कर्ष अनुसार कुनै पनि संस्थामा केही कर्मचारी तथा शिक्षकहरू Attention seeker हुन्छन् जो आफूप्रति सबैको ध्यानाकर्षण गरेर ठूलो छु भन्ने भ्रम तथा अहम् पाल्ने गर्छन् ।
त्यस्ताहरूले नवप्रवेशीहरूलाई साँच्चै हो कि भन्ने भ्रम छर्छन् तर बिस्तारै यथार्थ थाहा हुन्छ । त्यस्ता व्यक्तिको वरिपरि प्रमुख नेतृत्व तथा नेतृत्व लिनेहरू घुम्नुहुँदैन तर सतर्क चाहिँ हुनैपर्छ । उठाएको विषय यथार्थ हो कि भ्रम हो बुझेर सम्बोधन गर्दा राम्रै हुन्छ । त्यसको लागि रूप होइन सार बुझ्नु पर्छ । अनि दूधको दूध र पानीको पानी छुट्याउनु पर्छ ।
संस्थामा कोही कुरा काट्ने, आत्मरतिमा रमाउनेहरू पनि हुन्छन् । यस्ता कतिपयलाई बेवास्ता गर्दा खासै फरक चाहिँ पर्दैन । कसैको पछि लागेर साध्य छैन तर समय समयमा कर्तव्यबोध गराइरहनु पर्छ । कोही हक्की स्वभावका पनि देखिन्छन् । आफूलाई लागेको कुरा स्पष्ट बोल्छन् । बोलाइ र गराइमा एकरूपता हुन्छ । तिनीहरूका कुरालाई सम्बोधन गर्दा फरक पर्दैन । कोही अत्यन्तै सहयोगी हुन्छन् । कोही मौन रहन्छन् र आवश्यक परेको बेला गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर प्राज्ञिक तर्क गर्छन् । तिनीहरू परिवर्तन, रूपान्तरण र नवप्रवर्तनको लागि सधैं तयार रहन्छन् । सकारात्मक रहनु ऊनीहरूको प्रवृत्ति हुन्छ ।
यी यावत प्रकृतिको शिक्षक तथा कर्मचारी हुनुमा कतैकतै प्रधानाध्यापक हात हुनसक्छ । अथवा ती व्यक्तिहरूकै प्रवृत्ति हो तर यी प्रवृत्तिहरू संयुक्त प्रयासले बदलिन सक्छन् ।
संस्थामा गुनासो मात्र गरिरहने, अनेक खालको समस्या सिर्जना गर्ने, कोही समस्या मात्र खोज्ने, कोही समस्याको बेवास्ता गर्ने, कोही समस्या समाधान गर्ने जस्ता व्यक्तिहरू पनि हुन्छन् । जसरी रुसोले “असल शिक्षक त्यो हो जसले विद्यार्थीको पन्ना पन्ना पढेको हुनुपर्छ” भनेका छन् ।
त्यस्तै म भन्छु, “नेतृत्व लिने व्यक्तिले संस्थाका सबै व्यक्तिको पन्नापन्ना पढेको हुनुपर्छ ।” नेतृत्वले त्यही अनुसार डायग्नोसिस गरेर ट्रीट र टिच गर्नुपर्छ । नेतृत्वको सफलता त्यही हो जसले यावत प्रकृतिका शिक्षकलाई गोलबन्ध गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित गर्ने महाअभियान सञ्चालन गर्दछ । र त्यसैमा अटल रहन्छ ।
यी यावत प्रकृतिका शिक्षक कर्मचारीहरूको बीच प्रअले आफ्नो भूमिका प्रभावकारी तथा रचनात्मक ढंगले निभाउनुपर्ने हुन्छ । यदि गलत प्रकृतिका मानिसहरूको शिकार भएमा अथवा आफू नै सहनशील, पारदर्शी, इमानदार नेतृत्व सीप तथा तार्किक नभएमा सहकर्मीहरूलाई पढ्न र बुझ्न नसकेमा प्रअलाई व्यवहार गर्न अत्यन्तै कठिन हुन्छ । त्यो बालुवाको घर हुन्छ या धोद्रो परेको रूख ।
विद्यालय सञ्चालन तथा व्यवस्थापनको आधुनिक सिद्धान्तहरू मध्ये पछिल्लो समय F.W.Taylor ले आधुनिक वैज्ञानिक व्यवस्थापनको सिद्धान्तको विकास गरेपछि कामको गुणस्तर मापन, समय र गति, परिणाम, सेवा र सुविधा वृद्धि, कामको वैज्ञानिक मूल्यांकनको अभ्यास र प्रयोग भएका छन् । तथापि सिद्धान्तहरू एक ठाउँमा भए पनि प्रअले व्यावहारिक पक्ष तथा कानूनीपक्ष दुवैलाई मिलाएर सम्बोधन गर्दै लैजानुपर्छ ।
प्रअ भनेको यस्तो हुनुपर्छ कि जो अघिअघि हिंड्छ र बाँकी रहेका शिक्षक तथा कर्मचारीहरू पछिपछि हिंड्छन् । तर ऊनीहरु जबरजस्ती हिंडिरहेका हुँदैनन् ऊनीहरूमा खास उत्प्रेरणा, केही गरौं भन्ने भावना र आदर्श, अनुकरणीय अथवा असल व्यक्तिको अनुसरण गरिरहेका हुन्छन् जसले ऊनीहरूलाई सुरक्षित तथा आनन्दानुभूति भएको हुनुपर्छ ।
तर यो सत्य छ की ऊनीहरूले आफ्नो कामलाई पूजा ठान्नुपर्छ र आफ्नो संस्थालाई मन्दिर । कुरा यत्ति हो कि प्रअले शिक्षक कर्मचारीको पेशागत असुरक्षाको भयलाई दूर गर्न सक्नु पर्छ ।
रिचार्ड फाइन्मेन भन्छन्, “विद्यार्थीहरूलाई ‘पर्फेक्ट’ शिक्षक चाहिंदैन । विद्यार्थीहरूलाई खुशी शिक्षक चाहिन्छ, जसले ऊनीहरूलाई विद्यालयमा आउन् र सिकाइ प्रतिको प्रेम बढाउन उत्साहित तुल्याउँछ ।” त्यस्तै खुशी र उत्साही प्रअ पनि विद्यालयको रोजाइ हुनुपर्छ ।
धेरै अपेक्षा, आशा, भरोसा र चाहनाहरू प्रअ माथि राखिएको हुन्छ । अपेक्षा र अपेक्षित परिणामहरू धेरै नै गरिएको हुन्छ । सन्दुक रुहितले भनेका छन्, “व्यक्ति एक्लै केही होइन । तर जब समूह वा टिम नै कार्यप्रति एकबद्ध, लगनशील, जवाफदेही, कर्तव्यनिष्ठ र अत्यन्तै परिश्रमी हुन्छ । सफलता स्वयं हात लाग्छ ।”
यहाँ पनि समग्र टिम नै चाहिन्छ गुणस्तरीय शिक्षा कायम गर्न तर त्यो टिमको निर्माणकर्ता चाहिँ प्रअ हो भन्न खोजिएको हो । तथापि लोकतन्त्रको गहिरो अभ्यास नगरिसकेको नेपाल जस्तो मुलुकमा नेतृत्व लिने व्यक्तिको दुवै खालको भूमिका निभाउनु पर्ने पनि हुन सक्छ ।
विद्यालयको गुणस्तरीय शिक्षा र व्यवस्थापकीय पक्षको सुधार नै प्रधानाध्यापकको कार्यको केन्द्र हो । यही कुरालाई मनन गर्दै शिक्षा मन्त्रालयले प्रधानाध्यापक सक्षमता तथा मापदण्ड ल्याएको छ । प्रधानाध्यापक सक्षमता प्रारूप विसं २०८० मा उल्लिखित सक्षमका सात वटा क्षेत्र यसप्रकार रहेका छन् ।
१. विद्यालयको रणनीतिक दिशा निर्माण
२. शिक्षण तथा सिकाइको नेतृत्व
३. विद्यालयको व्यवस्थापकीय नेतृत्व
४. आफ्नो तथा सहकर्मी शिक्षकको पेशागत विकास
५. सरोकारवाला सँगको संलग्नता र सहकार्य
६. परिवर्तन तथा नवप्रवर्तनको नेतृत्व
७. व्यक्तिगत गुण तथा सामाजिक र अन्तरवैयक्तिक सीपको विकास
यी प्रत्येक सक्षम क्षेत्रको जम्मा ४५ वटा मापदण्डहरू र सूचकहरू निर्धारण गरिएको छ । उक्त सूचकको अंकनको आधारमा प्रअको सक्षमताको मूल्यांकन गरिने व्यवस्था मिलाइएको छ ।
प्रधानाध्यापक शैक्षिक हिसाबले योग्य र दक्ष, नेतृत्वको हिसाबले सबल, व्यवस्थापकीय हिसाबले सक्षम, चरित्रको हिसाबले इमानदार, व्यक्तित्वको हिसाबले आकर्षक, कार्यको हिसाबले जवाफदेही र पारदर्शी हुनु वाञ्छनीय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।