सत्य कुरा साहित्यले देशलाई चिनाउँछ, र तितो कुरा देशले साहित्यलाई चिन्दैन ।

पक्कै देश चिन्ने पहिलो माध्यम, त्यो देशको समृद्ध साहित्य अनि भाषा, संस्कृति र ऐतिहासिक परिप्रेक्ष्यको प्रकटीकरण हो । देशको राष्ट्रियता, देशप्रेम र जनभावनाहरूलाई अभिव्यक्त गर्ने एउटै माध्यम साहित्य हो ।

जनजीविका मुद्दाको उठान वा मानवताको संरक्षण, त्यो साहित्यको चासो हो । साहित्यले एकल विचार, भावना, र अनुभवलाई साझा गर्दछ ।  त्यसै गरी साहित्यले सामाजिक, सांस्कृतिक, नैतिक र प्राकृतिक यायावरहरूको खोजी पनि गर्दछ, र पृष्ठपोषण गर्दछ।

यो अर्थमा साहित्यको समृद्धि देशको विकास र समृद्धिका निम्ति कति आवश्यक हुन्छ भनिरहनु पर्दैन ।

साहित्यले ज्ञान मात्र होइन चित्तको सुद्धिसँगै अनेकन् भावनाहरूलाई विकसित गराउँछ, र जीवनलाई अर्थपूर्ण बनाउँछ । र, त कुरा गर्न अर्थपूर्ण छ, देशले साहित्यलाई कसरी चिनेको छ वा कति योगदान गरेको दृष्टान्त छ ।

सरकारसँग आम नागरिक सबैको आ-आफ्नो अपेक्षा र चासो हुनु जायज हो । सरकारले पनि सबैको चाहानालाई समन्यायिक दृष्टिकोण प्रदान गर्नु पर्छ, र उचित प्रकारले सम्बोधन पनि गर्नुपर्छ ।

देशको नीति तथा कार्यक्रम कार्यक्रमको कार्यान्वयन सरकारको बजेटमार्फत हुने हो । यो अर्थमा देशले के, र कसरी आँखा देख्छ, वा कसलाई देख्छ र कसलाई देख्दैन भन्ने अर्थमा समेत बजेटलाई बुझ्नु अनर्थ होइन । यो अर्थमा साहित्य पृथक् छ, वा बजेटको चासो र बजेटमा चासो अस्वाभाविक हो भन्न मिल्दै मिल्दैन ।

हुन त बजेट आर्थिक दस्ताबेज नै हो, तर त्यसले प्रभाव नपार्ने विषय र क्षेत्र भन्ने नै हुँदैन ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरिसकेको छ । भलै, ७३ पेजको मूल बजेट दस्ताबेजमा २ पटक ‘साहित्य’ शब्द अटाएको छ । बजेटको बुँदा नं १२२ मा भाषा, साहित्य, दर्शन, कला, सङ्गीत, नाट्य लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ भनिएको छ । सँगै, प्रतिलिपि अधिकारको संरक्षण र नियमन गरिनेछ भनिएको छ ।

‘साहित्य’ क्षेत्रको विकास र प्रवर्द्धनमा ‘अमूर्त सांस्कृतिक’ पदावली जोडिनु मैले व्यक्तिगत तवरले क्षोभ प्रकट गर्ने विषय हो  । ‘साहित्य’ क्षेत्र अमूर्त नै होइन, शब्द विन्यासमा पनि विदेशी ‘आइ.एन.जी.ओ.’ हरूको प्रयुक्त भाषाशैली स्वीकार गर्नु अनर्थ हो  ।

बुँदा नं १२३ मा तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधाम सहितको भानु साहित्य उद्यान स्थापना गर्ने भनिएको छ ।

बजेट आफै चैँ अमूर्त हुनुको प्रमाण हो ‘सप्तधाम’ शब्द । यसले के सङ्केत गर्दछ, त्यो प्रकट छैन; चार धाम जस्तै तीर्थ वा साहित्य साधना दृष्टिको ‘धाम’  ।

अर्थात् समग्र दस्ताबेजमा ‘साहित्य’ शब्द २ बुँदामा गरी जम्मा २ पटक उच्चारण भएको छ । सम्भवतः बजेटमा भने यो बाहेक अन्य विभिन्न प्रतिष्ठानतर्फको खर्च नियमित भइहाल्छ, भाषणमा भनिरहनु आवश्यक पनि होइन ।

तर अब केही प्रश्नहरू :

–     के यो पर्याप्त हो ?

–    के यो बाहेक सरकारले अरू थप बजेट दिन नचाहेको हो ? वा के यो बाहेक साहित्य क्षेत्रले थप आवश्यक नठानेको हो?

–     के यो सरकार आफैले मनोमानी रूपले राखेको कार्यक्रम हो ? वा के सरकार र साहित्य सरोकारहरूको समन्वयमा यो कार्यक्रम सुनिश्चित भएको हो ?

–     के साहित्य सरोकारहरूले सरकारको बजेटपूर्व आफ्नो क्षेत्रको निम्ति नीति तथा कार्यक्रमहरू प्रस्ताव गरेका थिए त ?

यो प्रश्नहरू मेरा निम्ति अनुत्तरित हुन्, अर्थात् म अज्ञात भावले प्रश्न गरिरहेको हुँ ।

सामान्यतया सरकारले बजेट पूर्व नीति तथा कार्यक्रममा समावेश गर्ने विषय तथा सुझावहरू सबैतिरबाट आह्वान गरिरहेको हुन्छ । पर्यटन, उद्योग, कृषि, व्यापार, करदाता, कर्मचारी, निजी क्षेत्र, शिक्षा, स्वास्थ्य, सामाजिक संरक्षण तथा समावेशीकरण लगायतका विभिन्न सरोकार समूहले आआफ्नो क्षेत्रका माग तथा प्रस्ताव सरकार समक्ष राख्ने प्रचलन छ । यो प्रचलन वा अभ्यास अनुचित पनि होइन, अर्थात् सरकारसँग सबैले आ-आफ्नो अपेक्षा राखेर माग सम्बोधन गर्ने स्थितिको खोजी गर्नु जायज नै हो ।

तर समाचार नै नलेखिएको हो वा त्यस्तो चलन नभएरै समाचार नबनेको हो, साहित्यकार वा साहित्य सरोकारहरूको समूह बजेट पूर्व आफ्ना माग तथा प्रस्तावहरू लिएर अर्थ वा सरोकारवाला मन्त्रालय पुगेको र बजेटका सम्बन्धमा ध्यानाकर्षण गरेको विषयका समाचार वा सूचनाको मैले चैँ कुनै भेउ पाएको छैन ।

यदि मेरै नजर मात्रै त्यो प्रकृतिको समाचार वा सूचना नपरेको हो भन्ने दाबी सत्य हो भने त्यो मेरा निम्ति सुखद पनि हो ।

अन्त्यमा,

मैले शुरुमा लेखेको छु, ‘सत्य कुरा साहित्यले देशलाई चिनाउँछ’ भनेर । ‘साहित्य’ एउटा देश भित्रको सिर्जना हो, तर साहित्यका प्रत्येक शब्दहरू देश बाहिर पुग्ने ‘जीवन्त शब्द-दूत’हरू हुन्  ।

यो विषयमा धेरै मन्थन आवश्यक छैन ।

तर अर्को तितो कुरा थियो देशले साहित्यलाई चिन्दैन ।  यो सवालको भने दोहोरो समन्वयमार्फत समस्याको गहनतालाई केही हलुका पनि बनाउन सकिन्छ ।

तर, त्यो प्रकारको प्रयास साहित्यकार वा सरोकार समूहले के गर्‍यो, कति गर्‍यो वा कति सचेत रह्यो, थियो भन्ने अर्थबाट पनि विश्लेषण गर्न सकिन्छ ।

देशको बजेट आर्थिक दस्ताबेज नै हो, तर त्यसको गहिरो प्रभाव पर्ने विषय र क्षेत्र ‘साहित्य’ पनि हो । अपेक्षा गरौं, देशले यो मर्म बुझेको दिन ‘देशले साहित्यलाई चिन्नेछ’ ।