एस.ई.ई नदिएरै राम्रो श्रेणीमा उतिर्ण विद्यार्थीलाई लिएर भद्दा मजाकहरू गरियो । सञ्जालमार्फत् उनीहरूको आत्मबल र सक्षमताको धज्जी उडाएयो । तर परीक्षा नहुनु र आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिनुमा विद्यार्थीको कुनै दोष छैन । विद्यार्थीहरू त पूरै तयारीका साथ परीक्षा केन्द्रमा पुगेका थिए । कोरोना संक्रमणको खतराका कारण अकस्मात फर्किनु पर्यो, यो उनीहरूको बाध्यता थियो । धेरैको लागि अहिले मसला बन्यो । मिममा ट्रोलमा कलिला मस्तष्कहरू परे ।
विद्यार्थीका लागि परिक्षाफल शान्तिपूर्ण त यसै पनि हुँदैन, त्यसमाथि फलामे ढोका भनिन्थ्यो, चर्चा हुनु स्वाभाविक नै हो। यो वर्षको एस.ई.ई. मा विद्यार्थीले कम, शिक्षक र अभिभावकले धेरै मेहनत गर्नुपरेको कुरा त परीक्षाफल हेरेरै अन्दाज लगाउन सकिन्छ । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरूले नम्बर धेरै दिएर पास गराउन विद्यालयमा दबाब दिएका समाचारहरू प्रसस्तै सुन्न पाइयो । यसबाट प्रष्ट हुन्छ कि गल्ती क-कसको छ, र अन्दाज लगाउन सकिन्छ कि यसले विद्यार्थीको भविष्यमाथि कति असर पार्नेछ ।
१० कक्षाको परीक्षामा बोर्डफस्ट भएको खबर रेडियो/पत्रपत्रिकामा आउँथ्यो । अझै पनि कतिपय नामहरू दिमागमा आउँछन् र ती नाम साँच्चै नै ठूला नामहरू कहलिन्छन् । तर यसपालिको नतिजा हेर्दा ९३१९ जना ४ जिपिएका साथ उतिर्ण भए र त्यसको एकमात्र कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन नै हो । आन्तरिक मूल्याङ्कनलाई नै कारण मानेपछि शिक्षा क्षेत्रले कसरी त्यति ठूलो फड्को मार्यो भन्ने सवाल नै आउँदैन । र अहिले शिक्षा क्षेत्र सुधार भइहाल्ने अवस्था पनि छैन । अब जसोतसो नतिजा आयो ठीकै छ भनेर चित्त बुझाउनतिर लागौँ। तर चित्त बुझाउँदा बुझाउँदै पनि एउटा कुरा फेरी मनमा खड्किन्छ।
टेस्ट परीक्षामा तीन ओटा विषय लागेको एउटा विद्यार्थी उल्लेखित कारणहरूले ‘एसईई’ परीक्षामा ‘A’ ग्रेडका साथ उतिर्ण भयो । अब परिवारले उसलाई विज्ञान संकाय पढाउने तयारी गर्दैछन् । किनकि विज्ञानप्रति समाजमा एउटा गलत दृष्टिकोण स्थापित छ। विद्यार्थीलाई आफू विज्ञानमा कमजोर छु भन्ने थाहा छ, तर परिवार त्यो मान्दैन।
यस्तो अवस्थामा केही सोच्न नसकेर विद्यार्थीले परिवारको कुरा स्वीकार्छ । अब अवस्था यति धेरै जटिल हुन्छ कि त्यो विद्यार्थी एसईई मै फेल भएको भए परिवारको डरले सायद आत्महत्या गर्थ्यो अथवा केही दिन बाहिरै बसेर शान्त भएपछि घर फर्कन्थ्यौ वा परिवारको गाली/चुटाई सहने हिम्मत गर्थ्यो ।
तर विज्ञानको चक्करमा धेरै पेसा खर्च भइसकेको हुन्छ । जति खर्च हुन्छ त्योभन्दा धेरै दबाब विद्यार्थीलाई पर्छ । उसै पनि कमजोर विद्यार्थी, मानसिक भार थेग्न नसकेर शारीरिक रूपमा पनि कमजोर बन्छ र गलत बाटोमा लाग्छ । किनकि अब पढेर म केही गर्न सक्दिनँ भन्नेमा ऊ विश्वस्त भइसक्यो ।
२ वर्षअगाडि घर छोड्ने बच्चाले २ वर्ष ढिलो गर्ला, २ वर्षअघि आत्महत्या गर्ने बच्चाले २ वर्ष ढिलो गर्ला, २ वर्षअघि गलत बाटो रोज्ने बच्चाले २ वर्ष ढिलो गर्ला तर २ वर्षअघि सुधार्न सकिने बच्चालाई अब सुधार्न सकिँदैन । किनकि अब ऊ बच्चा रहँदैन । अलिकति दोष त उमेरलाई पनि जान्छ होला !
तर सबै दोष उमेरलाई थुपारेर परिवार र शिक्षक उम्किन खोज्छन्। बिचरा ! एउटा नादान बच्चा थियो, जो आफू सही बाटोमा हिँड्न खोज्थ्यो । तर परिवार र विद्यालयले गलत दिशानिर्देश गरिदिन्छन्। जसको सबै प्रतिफल एउटा विद्यार्थीले खेप्नुपर्छ । एउटा व्यक्तिले व्यहोर्नुपर्छ र एउटा देशले व्यहोर्नुपर्छ ।
गरिनु के पर्थ्यो?
१० कक्षा पढ्दै गरेको विद्यार्थीमा सही र गलत छुट्याउने क्षमता त्यति धेरै हुँदैन । उसले आफू के पढेर के बन्ने भन्ने छुट्याउन कसरी सकोस् ? त्यो उमेरमा जसलाई देख्यो त्यस्तै भइहालौँ झैँ लाग्छ । जिन्दगीका ठूला गल्ती हुने उमेर भनेको पनि त्यही हो ।
भविष्य निर्धारणको सबै जिम्मा विद्यार्थीलाई पनि नदिने र सबै जिम्मा आफैँले मात्रै पनि नलिएर एउटा जिम्मेवार अभिभावक बन्नु आवश्यक छ । अब के पढाउने भनेर छान्दा कम्तिमा उक्त विद्यार्थी अहिलेसम्म कुन विषयमा अब्बल छ भनेर सुरुदेखिका सबै नतिजा हेर्न त सकिन्छ नि ! जुन लाभदायक हुन्छ ।
अहिले त कोरोना त्रासले गर्दा सबै कुरा व्यवस्थापन गरेर परीक्षा संचालन र नतिजा प्रकाशन गर्न सकिएन होला ! त्यसकारण पनि यस्ता धेरै कमीकमजोरी र सुधारात्मक पक्ष देखिए । तर आन्तरीक मूल्याङ्कनबाटै ग्रेड निर्धारण सही हो, यदि प्रक्रियागत रूपमा नियम लागू गरेरै गरिने हो भने ।
वर्षभरि जानेका कुरा कुनै हालतमा ३ घण्टाको परीक्षाले मूल्याङ्कन गर्न सक्दैन । एउटा मिहिनेती विद्यार्थी परीक्षाको दिन कारणवश परीक्षा केन्द्रमा उपस्थित हुन सकेन भने उक्त मूल्याङ्कनले त्यो मिहिनेती र जेहन्दार विद्यार्थीलाई कमजोर साबित गरिदिन्छ। यहाँ विद्यार्थी कमजोर होइन, हाम्रो सिस्टम कमजोर छ ।
यी सबै हामीले भोगेर आएको र भोग्दै गरेको कमजोरीहरू हुन् । हामीले प्रयोग गरेको प्रणालीप्रति हामी सन्तुष्ट हुनुपर्ने हो । तर म आफूले भोगेको प्रणालीप्रति सन्तुष्ट छैन । किनकि वर्षौँ अगाडिको प्रणाली नै अझै लागू छ । दशकमै देशमा कति ठूला परिवर्तनहरू भइसक्छन् तर प्रणाली परिवर्तन कहिल्यै भएन ।
भौतिक संरचानाहरू मात्रै परिवर्तन भए, सिस्टम सधैँ एउटै। १० वर्ष अघिको परीक्षा र अहिलेको परीक्षामा केही अन्तर छैन। त्यही रटाई, त्यही ३ घण्टा, तिनै गार्डहरू ! जो परीक्षार्थीलाई अपराधी जसरी कैदमा राख्छन् । अनि त्यही प्रेसर । नतिजा पनि सधैँको सामान्य नै ।
उच्च शिक्षाका लागी ऋण गरेर खर्च गर्ने परिवार, धेरै मिहेनत गरेर पढ्ने विद्यार्थी र पढाउने क्याम्पस हुँदा पनि किन एउटा क्याम्पसले कम्तिमा १० जना शिक्षाको विश्व प्रतिस्पर्धामा उत्रनसक्ने विद्यार्थी उत्पादन गर्न सक्दैन? यी त राष्ट्रिय बहसका विषय बन्नुपर्ने हो, तर हाम्रो लागि व्यक्तित्वका विषय मात्रै बनिरहे ।
परिवर्तन किन भएन भन्ने प्रश्नमा एउटा साझा उत्तर थियो ‘अस्थिर सरकार’ । अब त सरकार पनि स्थिर छ । तर पद्धति किन एउटै ? सरकार मात्रै अस्थिर भएको हो, सिस्टम परिवर्तन गर्ने जिम्मेवार मान्छेहरू यदि कुनै समयमा यो सिस्टमको भागिदार थिए भने पनि उनीहरू आधा शताब्दी अघि मात्रै थिए ।
आधा शताब्दी अघिको र अहिलेको सिस्टम एउटै हुनुको अर्थ हामी ५० वर्ष ढिलो छौँ । यो परिवर्तन हुनैपर्छ । नत्र शिक्षामा गरिएको सबै लगानी व्यर्थ छ। डिग्री पढेकाहरूको अवस्था हेरौँ, प्रायः खाडीमा छन्। एकाध नेपालमै भए पनि कुनाबाट शिक्षा क्षेत्रलाई हेरेर गम्भीर भइरहेका छन्।
जबसम्म परिवर्तन हुँदैन तबसम्म यी कुरा लेखेर सकिदैनन् । मैले अहिलेको आन्तरिक परीक्षाबाट उतिर्ण भएका विद्यार्थीहरूमाथि गरिएको कमेन्टहरू मन नपरेर, ‘यसमा विद्यार्थीको केही दोष छैन । उनीहरू त पूर्ण तयारीका साथ परीक्षा केन्द्रमा पुगेर फर्किएका हुन्’ भनेर ट्वीट गर्न खोजेको थिएँ । तर यतिसम्म लेखियो । लेख्न त अझै सकिन्छ। यो लेखेर समाधान हुँदैन . एउटा व्यक्तित्वको अथवा एउटा लेखको विषय मात्रै हुनु हुँदैन। किनकि यो एउटा व्यक्तिको समस्या होइन, व्यक्ति परिवर्तन भएर हुँदैन, बहस गरेर मात्रै पनि हुँदैन । तर पनि राष्ट्रियस्तरबाट बहसचाहिँ हुनैपर्छ। यो देशको समस्या हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।