डा. अम्बिका अर्याल

कुखुराको डाकभन्दा अगाडि नै आमाले ’छोरीहरू उठ, उज्यालो हुनुअघि नै दर खानुपर्छ’, भन्दै उठाउन आउनुहुन्थ्यो । अरू दिदीबहिनी उठे पनि म उठ्दिनथेँ । मलाई व्रत बसेर राम्रो वर पाइन्छ भन्ने विश्वास थिएनँ । अरूलाई पनि नउठ्न आग्रह गर्थेँ । उनीहरूमा धार्मिक आस्था र भविष्यप्रतिको चिन्ता आमामा जस्तै गढेर बसेको थियो । म भने सानैदेखि अलिक विद्रोही थिएँ । कतै व्रत बसेर शरीरलाई फाइदा त हुन्छ तर राम्रो वर पाइन्छ भन्ने विश्वासको पछि लागेर चाहिँ बस्दिनँ भन्ने तर्क हुन्थ्यो मेरो । आमाले पनि इच्छा हुने मात्र उठ भनेर बाटो खुला गरिदिनुहुन्थ्यो । त्यसो त मेरी आमामा जबर्जस्तीपन कुनै कुरामा पनि देख्दिनथेँ म ।

आमा भने संस्कृति जोगाउने कुरामा सकेसम्म कहीँ कतै चुक्नुहुन्नथ्यो । मलाई दिएको छुटमा सन्तानप्रतिको उदारता हो वा धर्मप्रति ? उहाँको स्वभाव मलाई अनौठो लाग्थ्यो । जे भए पनि हाम्रो परिवारमा धर्म र संस्कृतिका नाममा गरिएका अपव्याख्यालाई चिर्न आमाकै उदारताले ठूलो भूमिका खेलेको भने पक्कै हो । सायद यसकै प्रभावले होला, बहिनीहरू पनि विस्तारै तीजको व्रत र पञ्चमी पूजामा जोडिएका नकारात्मक कथाहरूसँग असन्तुष्ट बनेर मेरै अभियानमा सामेल हुन थाले । अहिले त हामी सबै विवाहबन्धनमा बाँधिइसक्यौँ । कसैले पनि असल पतिका लागि तीजमा उपवास नबसेर खराब श्रीमान् पाएका छैनौँ भन्ने लागिरहन्छ ।

सदाको भन्दा आज तीजको बिहानीको अनुभूति फरक भयो । माइतीमा जम्मा भएर अघिल्लो दिन बेलुका नाचगान गरेर थाकेर सुतिन्थ्यो । आमाका दिदीबहिनी तथा हाम्रा दिदीबहिनीको भीड हुन्थ्यो त्यहाँ । राती तीजको लागि दर खान उठाउने मेरी आमा दिदी भएर पनि आमासमान मानिनुहुन्थ्यो उहाँका बहिनीहरूका लागि । हाम्रो पुस्ताका दिदीबहिनी नउठे पनि सानिमाहरू खैलाबैला गर्दै दर खान उठेको अनुभूति भएन आज । न त व्रत नबस्नेका लागि रहलपहल दर बिहानीको नास्ता बन्यो । घर, भान्सा सबै सुनसान ।

दिउँसो मेलामा गएर नाचगान गर्ने योजना छैन । नयाँ कपडा हेर्दै रमाएका केटाकेटीको मेलामा जान पहिरिने हतारो पनि छैन । बिस्तारामै बसेर मनमा यस्तै कुरा खेलाइरहेकी थिएँ । एक्कासी फोनको घण्टीले तर्सिएँ । बिहानै आमाको फोन आयो । दिदीबहिनीसँग पनि दिउँसो भर्चुअल मिटिङमा भेट भएर रमाइलो गर्ने योजना हिजै बनाएका थियौँ । त्यही सुनाएँ । आफू गाउँमा भएकाले त्यो सुविधाबाट वञ्चित भएको, बहिनीहरू र छोरीहरूको आगमनविनाको तीज खल्लो भएको आमाको गुनासो थियो । जसरी भए पनि हामीले गरेका कुराकानीमा भिडियोसहित जोडिने व्यवस्था मिलाइदिने बुबाको अठोटले उहाँ शान्त हुनुभयो । हामी अब दिउँसोको प्रतीक्षामा रह्यौँ ।

डा. अम्बिका अर्याल

भाद्र शुक्ल तृतीया तथा हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज । किंवदन्तीअनुसार देवी पार्वतीले महादेव वर पाऊँ भनी निराहार व्रत बसेर मनोकामना पूरा होस् भनी महादेवबाटै आशीर्वाद पाएको दिन । धार्मिक एवम् सांस्कृतिक हिसाबले महत्त्वपूर्ण दिनका रूपमा मानिने आजको दिन, हिन्दू नारीहरूको मनमस्तिष्कमा गहिरो छाप बनेर बसेको छ । तर समय र परिस्थितिले तीज मनाउने शैलीमा एक्कासी परिवर्तन आइदियो । त्यसको कारक कोरोनाको भय बनेको छ । त्यसैले त यो त्रसित मानसिकतामा तीजका रौनक घटेको अनुभूतिलाई जित्ने प्रयासमा सबै प्रविधिमैत्री बन्नै परेको छ । त्यसैले हामीले अपनाएजस्तै अरू दिदीबहिनीहरूले पनि प्रविधिमार्फत् सुखदुःख साटासाट गरेर तीज मनाउने योजना बनाउनुभएको होला भन्ने लागेको छ ।

विशेषगरी सहरमा मानिएका गत वर्षका तीज र आजको तीज तुलना गर्न मन लाग्छ । तीज मनाउने शैलीमा आकाश पाताल फरक परेको छ । फरक नपरोस् पनि कसरी ? नाशवान् जान्दाजान्दै पनि जीवनप्रतिको मोह कति हुँदो रहेछ मान्छेमा । सृष्टिमा पैदा भएर अरू प्राणीभन्दा चेतनशील प्राणीका रूपमा स्थापित हुँदै नैतिकता, धार्मिक विश्वास, संस्कार, सामाजिक नियम बनाएर मानवजीवनलाई संयमित र अनुशासित बनाउन अनेक गाथाहरू रच्दै गयो मानिसले । राम्रा चरित्रलाई पूजेर अनुकरणमा प्रेरित गर्न धर्मको पाठ पठायो भने खराब प्रवृत्तिलाई निरुत्साहित गर्न राक्षसको उपमा दिएर मानवलाई त्यस वृत्तिको अनुशरणबाट जोगाउन अधर्मका अनेक उपकथाहरू सिर्जना गर्यो । जेहोस्, आदिम युगदेखि एक्काइसौँ शताब्दीसम्म आइपुग्दा ज्ञानविज्ञान र धर्मसंस्कृतिमा अनेक किसिमका फेरबदल भइरहेकै छन् ।

मानवमाथि नै चुनौती दिने विविध प्रकोपले मानवीय आविष्कार र सोचलाई चुनौती दिने गरेको छ । यस्तै एक उदाहरण हो कोरोनाको महामारी । त्यसैले त परम्परागत रुपमा जसरी हिन्दू नारीहरूले तीज मनाउँदै आएका थिए त्यसको स्वरुप पनि बदलिएको छ । पोहोर सालको तीजमा एक महिनाअघिदेखि दरको ऐँचोपैँचोमा प्रतिष्पर्धा गर्ने दिदीबहिनीहरू यस वर्ष अनौठो तवरले तीज मानिरहेका छन् । सहरी क्षेत्रमा तीज आउन लाग्यो भन्ने सुन्नेवित्तिकै खर्च धान्न हम्मेहम्मे पर्ने त्रासले परिवारभित्रै खैलाबैला सिर्जना हुन पुग्थ्यो । महिला दिदीबहिनीहरू गरगहना र नयाँ सारी जोरजाममा जुट्नुपर्ने, एउटा दर कार्यक्रममा लगाएका सारीले अर्कोमा स्थान पायो भने आफ्नो औकातको मूल्य तोकिएला भन्ने डर । अरूले दर खुवाइसकेपछि आफ्नो पालो आउँदा उनीहरूले जस्तै भव्य तरिकाले स्वागत गर्न नसकिने हो कि भन्ने चिन्ता । तीजमा सरिक नभए धर्मसंस्कृति लत्याएको र छाडा बनेको आरोप समाजले लगाइदेला भन्ने भय ।

यसर्थ तीज संस्कृति बिर्सिएर विकृतिको पराकाष्ठामा पुग्दै थियो तर यसपालि नराम्ररी थला प¥यो । यसमा कोरोनाको शक्तिको खेल नै बलियो साबित भएको छ । सूक्ष्म जीवाणुसँगको डर मृत्युप्रतिको भय बनेर आएको छ । विश्वभर यसैले ताण्डव नाचिरहेको छ । यसले विस्तारै मानव समुदायमा भयावह बनेको कोरोनाले तीजका नाममा निर्मित विकृति जस्तैः श्रीमान्का लागि निराहार व्रत बस्ने भन्दै अस्पताल नै भर्ना हुनुपर्ने स्थिति, गोडाको पानी पिएर व्रत तोड्ने कुसंस्कार, तडकभडक प्रदर्शन गर्दै प्रतिष्पर्धात्मक रुपमा कार्यक्रम गर्ने, तीजको अघिल्लो दिनमात्र दर खाने रीति परिवर्तन गरी सँधै दर खाने कुरीति, दिदीबहिनीहरूमै हीनता र श्रेष्ठताको अनुभूति दिलाउने परिपाटीको अन्त्यमा भने विशेष सहयोग गरेको छ ।

कोरोना कहरभित्रको तीज नितान्त खल्लो त बनेको छ । आफन्त र साथीभाइबीचको भेटघाट र रमझममा जुट्नका लागि आखिर केहीले छेक्ने रहेनछ भन्ने पनि परेको छ । विज्ञान र प्रविधिको विकासले धेरैजसो स्थानमा तरिका बदलिएर तीज मानिएको छ । भर्चुअल मिटिङमा जोडिएर नाच्न, गाउन र दुःखसुख साटासाट गर्न पाइएको छ । पहिलेझैँ एकअर्कालाई भौतिक रूपमा अङ्कमाल गरेर अनुभूति साट्न नसक्नुबाहेक तीज मनाउन अन्य कुराले छेकेजस्तो अनुभूति पक्कै नहोला । महिला दिदीबहिनीहरू पनि समयअनुसार परिवर्तनका मार्ग रोज्न सक्नुहुन्छ भन्ने उदाहरण यो तीजले प्रष्ट पारेको छ ।

तर यति हो, समयभन्दा बलवान् केही छैन । कहरले दरको मात्रा घटाएर धर्मका नाममा भएका विकृतिलाई यो वर्ष रोक्न ठूलो सहयोग गरेकोमा दुईमत छैन । आगामी तीजमा समेत यस वर्षले दिएको चेतनालाई अनुसरण गरेर विकृति घटाउँदै तीज मान्ने परिपाटीमा नारीहरूको हातेमालो हुनु जरुरी छ । यसपालिको तीजको सट्टासमेत अर्को तीजमा नाच्ने, गाउने र रमाउने वाचा बोकेका दिदीबहिनीहरूमा अनावश्यक रवाफ र भोजभतेरको भूत नजागोस् । तीज आएको त्रासमा घरको थैली नआत्तियोस् । जीवन रहे जसरी चाडवाड छन् त्यसरी नै संस्कृतिका नाममा विकृति भित्रिए चाडवाड नासिन्छन् भन्ने ध्यान सबैमा हुनुपर्दछ । भड्किलो र खर्चिलो तीजलाई कोरोनाको महामारीसँगै पठाऔँ । यो वर्षको तीज कोरोनाले थलिए पनि स्वस्थ र प्रतिस्पर्धारहीत तीजलाई आगामी वर्ष स्वागत गरौँ । तीजको हार्दिक शुभकामना ।