हाम्रा वरिपरि जति धेरै व्यक्ति छन् मस्तिष्कमा त्यति नै धेरै तिनका विचारहरू पनि छन्। आदिकालदेखि नै विचारहरू विभिन्न तरिकाले व्यक्त हुँदै आइरहेका छन् । बितेका हरेक कालखण्डमा व्यक्त भएका विचारहरू लिपिबद्ध हुन थालेदेखि नै विचारहरूमाथि अनेकौँ प्रकारले घनिभूत छलफल र विमर्श पनि हुँदै आइरहेका छन् । विचारहरूमाथि विमर्श हुनु नै यसको सुन्दर पक्ष हो । कुण्ड पानी मुण्ड बुद्धि भने झैँ हरेक व्यक्तिमा आफूवरिपरि रहेका विषय र वस्तुमाथि भिन्न दृष्टिकोण उत्पन्न भइरहेका हुन्छन् र ती समय-समयमा परिमार्जन हुँदै पनि जान्छन्। यसै कारण हुनुपर्छ हरेक व्यक्तिले आफ्नो जीवनकालमा देखेका र भोगेका अनेकौँ विषयवस्तुहरूमाथि छुट्टै रहेको आफ्ना धारणाहरू व्यक्त गर्न ती विषयवस्तु सम्बन्धी आफ्ना विचार लिपिबद्ध गर्न लालयित हुन्छन्। विचारहरू साहित्यिक वा गैरसाहित्यिक रूपमा लेखिदै आएका छन्। शब्दहरूसँग खेल्न सक्नेहरू आफैँ लेख्न अघि सर्छन् भने शब्दहरूसँग घुलमिल हुन नसक्नेहरू अरू सक्षम व्यक्तिहरूलाई लेखाउन अघि सार्छन्। यस हिसाबले वर्तमान समयसम्म आइपुग्दा संसारभर लाखौँ व्यक्तिहरूले करोडौँ विषयवस्तुमा आधारित अरबौँ पुस्तकहरू लेखेर छपाइसकेका छन्।

पुस्तक छपाउनु र त्यसले निर्दिष्ट पाठक पाउनु दुई भिन्न कुराहरू हुन्। प्रकाशित हरेक पुस्तकले पाठक नपाउन सक्छ। विषय र सन्दर्भले नतानेसम्म कुनै पनि व्यक्ति पुस्तकप्रति आकर्षित हुँदैन। आकर्षित भइहाले पनि दत्तचित्तले पठन गर्छ भन्ने पनि छैन। त्यसैले प्रश्नहरू उठ्नु स्वभाविक हो; के पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशित भइरहेका पो छन् कि ? के प्रकाशित सबै पुस्तकहरू पढिएका छन् त ? पढिए पछि ती विषयवस्तुहरू उपर चाहिने मात्रामा छलफल र विमर्श गरिएका छन् त ? यस्ता प्रश्नहरूका जवाफका रूपमा हामी यति मात्र भन्न सक्छौँ कि हालसम्म प्रकाशित अनगिन्ति पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशन भएका छन्। एकै विषयमा अनेकौँ पुस्तकहरू प्रकाशित भएका छन् र ती सम्पुर्ण पुस्तकहरूको सही रूपमा पठन हुन सकेको देखिदैन। पुस्तकहरू सिर्फ पुस्तकालयका र्याकमा सजिने वस्तु भएका छन्, चाहे ती व्यक्तिगत हुन् चाहे सार्वजनिक ।

दीपक श्रेष्ठ

म मेरा साथीभाइहरूको घर जाँदा सुन्दर र्याकहरूमा लहरबद्ध मिलाएर राखिएका पुस्तकहरू देख्छु। ती पुस्तकहरूले बैठक कोठाको शोभा बढाउनेगरी स्थान पाउनेबाहेक तिनले उचित मूल्य पाउन नसकेको आभाष हुन्छ। साथीहरू पुस्तक थुपारेर आफ्ना खै कुन अभिलाषाहरू पूरा गर्दैछन् भन्ने प्रश्न मेरा सामु आइरहन्छ बारम्बार। साथीहरूसँग भएका किताबहरूको सङ्ख्याको कुरा भुइँमा झर्न नपाउँदै पुस्तक लगेर नफर्काउनेहरूको सूची अघि सार्छन्। अनि खै के विद्वता छ भनूँ पुस्तक संगालेर राख्नेहरूसँग । ती साथीहरूले के पढे होलान् र के सिकाए होलान् आफ्ना आफन्त अनि साथीभाइहरूलाई ? त्यसैले पनि मलाई के लागेको हो भनेँ पुस्तकहरू चाहिनेभन्दा बढी छापिए। ती देखाउने सस्ता वस्तुमा रूपान्तरण भए। पुस्तकहरू त त्यति मात्र छापिनुपर्छ जति मात्रामा त्यस पुस्तकले आफ्नो छुट्टै अस्तित्व दावी गर्न सक्छ । अर्थात् भनौं जति पाठकहरूको माग बढ्छ त्यही अनुसार मात्र छापिनुपर्छ । तर यहाँ त जो पनि लेखक, जेसुकै विषयवस्तुमा पनि पुस्तक ! घुम्न गयो, पुस्तक लेख्यो। जीवन अलि ढल्किदै गयो, संस्मरण निकाल्यो पुस्तकाकारमा । आफूले जानेका सानोतिनो विज्ञतामाथि वरपरका साथीभाइले पुस्तककै ठेली निकाल्न सकिन्छ नि ! भनेर उचालेको आधारमा साधारण व्यक्तिले ठूलै मूल्य चुकाएर पुस्तक छपाउँछन् र घरमा नभएको ठाउँ ओगटेर राख्छन् आफ्ना पुस्तकहरू। अनि सबैलाई आफ्ना सपनाहरू जिन्दगीभरि बाँड्दै बस्छन्।

व्यापारमा भएको घाटा पूर्ति गर्न रहर गरेर पुस्तक निकाल्ने धुनमा लागेकाहरूलाई मुर्गा बनाई सस्ता पुस्तकहरूको थप सङ्ख्या बढाउन लागिपरेकै छन् प्रकाशक तथा वितरकहरू।

वास्तवमा कसले कुन विषयमा कति थान पुस्तक निकाल्नुपर्छ भन्ने त्यस्तो कुनै कँसी छैन। तर पनि मनमा जे आयो त्यही विषयमा अक्षरको खेती गर्नु त्यति जायज काम होइन भन्ने लाग्छ। केही थान साहित्यिक रचनाहरू र गोजीमा केही थान हजारका नोटहरूले बजारमा नाम बिकाउँछु भनेर लागिपर्नेहरूकै कारण जस्तोसुकै पुस्तकहरू छापिइरहेका छन्। यस किसिमको पुस्तक निकाल्ने हुटहुटीले आफ्नो मात्र होइन अरूको समेत अमूल्य समय बर्बाद गरिरहेको हुन्छ। यो एउटा आधुनिक कालका पठितहरूको पाखण्डपन हो भन्छु म। त्यो पाखण्डपनले गर्दा असफलताका अनेकन आयामहरू खुल्दैछन्। लेखकहरू डिप्रेसनमा छन्। प्रकाशक तथा वितरकहरू ऋणमा डुबेका छन्। पुस्तक पसलेहरू वर्षौँ पुराना पुस्तकहरू कौडीको भाउमा कवाडीलाई बेच्न विवश छन्। रहर गरेर पुस्तकको दर्जा पनि पाउन नसक्ने पुस्तकहरू प्रकाशन गर्न लागिपरेका कलमका दुश्मनहरू बग्रेल्ती छन अझै । व्यापारमा भएको घाटा पूर्ति गर्न रहर गरेर पुस्तक निकाल्ने धुनमा लागेकाहरूलाई मुर्गा बनाई सस्ता पुस्तकहरूको थप सङ्ख्या बढाउन लागिपरेकै छन् प्रकाशक तथा वितरकहरू। यो समग्र पुस्तक संसारलाई विकृत तुल्याउँदै गइरहेको कटु यथार्थ हो।

पुस्तकालयमा उत्कृष्ट पुस्तकहरूको सङ्कलन हुन्छ भन्ने मान्यता रहिआएको छ। हाम्रो परिवेशको कुरा गर्ने हो भने यथेष्ठ मात्रामा पुस्तकालयहरू नखुल्नु, विद्यालय तथा विश्वविद्यालयमा स्थापना गरिएका पुस्तकालयहरूमा पनि गुणस्तरीय एवं उल्लेख्य सङ्ख्यामा पुस्तकहरू अधावधिक नगर्नु एउटा ठूलो समस्या हो। यही समस्यामाथि टेकेर लेखक प्रकाशकहरू बजारमा नयाँ पुस्तकहरू छपाएर पठाउन उद्दत छन्। यदि पुस्तकालयहरूमा चाहिने मात्रामा पुस्तक राखिन्थे भने जे पायो त्यही पुस्तक किन्ने पाठकको सङ्ख्या खुम्चिन्थ्यो र यसरी जथाभावी रूपमा पुस्तकहरू कम छापिन्थे। त्यसैगरी पुस्तकमा प्रयोग भएको कागजको मूल्य मात्र लिनेगरी पुस्तकको मूल्य अंकित गर्नु बौद्धिक सम्पतिमाथि भएको अर्को ठूलो खेलबाड हो। यदि पुस्तकको मूल्य उच्च राखिदिने हो भने यसको महत्व सुन, चाँदी, हिरा, मोतीभन्दा पनि बहुमूल्य हुन जान्थ्यो र जसले पायो त्यसले छपाउने हिम्मत नै गर्दैनथे। यसले सङ्ख्याका हिसाबले कम तर गुणस्तरीय विषयवस्तुमा आधारित पुस्तकहरू मात्र छापिन्थे र पाठकहरू पनि सही हिसाबले डोरिन्थे। पाठकका निम्ति सस्तो मनोरञ्जन र लेखकका निम्ति खोक्रो आडम्बर दिलाउने नभई ज्ञानको भण्डार भरिदिने हेतुले किताब छापिने वातावरण बनाउनु आजको आवश्यकता हो।

पुस्तकहरू छापिएको सङ्ख्याद्वारा होइन छापिएका विचारद्वारा सम्झिन लायक बनाउनु एकमात्र उद्देश्य हुनुपर्दछ।

प्राज्ञिक विषयवस्तुमा आधारीत पुस्तकहरूका निश्चित पाठक हुन्छन् र ती चाहिने सङ्ख्यामा मात्र छापिन्छन्। तिनीहरूका लेखक पनि निश्चित हुन्छन्। त्यस्ता पुस्तक पढ्नेहरू त्यस विषयमा निखारिएर अझ बढी प्राज्ञिक भएर निस्कन्छन्। त्यसैले पुस्तकहरूको सङ्ख्या पनि प्राज्ञिक जगतले नै निर्धारण गर्छन्। तर सामान्य विषय वस्तुमा आधारीत पुस्तकहरू चाहिनेभन्दा बढी प्रकाशन भइरहेका छन् भन्ने लाग्छ। विषयवस्तुहरू समेत दोहोरिएका छन्। पढ्नेहरूलाई पनि सकस छ। के मात्र पढ्ने? कति मात्र पढ्ने? अनि पढेपछि कोसँग बाँड्ने पुस्तकका गुदी कुराहरू? हामी लेख्छौँ विश्वका सारा व्यक्तिले उस्तै बुझून् अनि उति नै पढून् भनेर। तर मेरो विचारमा हामीले लेखेका पुस्तकहरू केही हजार पाठकहरूले मात्र भए पनि विषयवस्तुको गहिराई बुझेर पढिदिएमा त्यो नै काफी हुन्छ। त्यो बुझाई समयको बहावसँगै अझ बढी प्रसार हुने हुँदा पुस्तकको महत्व थपिदै जानेछ। पढिसकेपछि त्यस पुस्तकका बारेमा बोल्ने स्थान उपलब्ध हुनुपर्ने अर्को सबैभन्दा महत्वपुर्ण कुरा हो। तर किताब हेर्नै मन नलगाउनेहरूको सङ्ख्या दिनदिनै बढ्दो छ। यो ठूलो चिन्ताको विषय हो। यदि हामीले पुस्तक पढ्ने संस्कृतिलाई जोगाइ राख्न सकेनौँ भने एकदिन पुस्तकहरू छापिन बन्द हुनेछन् र यसको मुख्य कारण हाल बेहिसाब अनि बेरोकटोक चलिरहेको पुस्तक छाप्ने, छपाउने कार्य नै जिम्मेवार ठहरिनेछ।

हामीले अहिले एकमात्र कुरामा विचार पुर्याउनु अत्यन्त आवश्यक भइसकेको छ। त्यसका निम्ति गहन विषयवस्तु, ओजपूर्ण विचारहरू एवं गुणस्तरीय लेखनले भरिएको खँदिलो पुस्तक छपाउन लेखक तथा प्रकाशकहरू लागिपर्नु पर्छ । पुस्तकहरू छापिएको सङ्ख्याद्वारा होइन छापिएका विचारद्वारा सम्झिन लायक बनाउनु एकमात्र उद्देश्य हुनुपर्दछ।