
१. नेपाली समाजको मौलिक धार्मिक पन्थ हो जोसमनि पन्थ । यसका प्रवर्तक शशिधर उपाध्याय पौडेल थिए, जो नेपाली मूलका थिए । तिनको दोस्रो पिँढीका सन्त हुन ज्ञानदिल दास । शशिधरपछि जोसमनि मतलाई अझै बढाउने, प्रचार गर्ने, व्याख्या गर्ने, लोकप्रिय तुल्याउने एकजना प्रमुख सन्त ज्ञानदिल दास थिए । उनले आफ्नो सम्पूर्ण जीवन नै जोसमनि सम्प्रदायको प्रचार-प्रसार, संवर्द्धन र सुधारमा बिताएका थिए । उनको द्विशतकीय जन्म जयन्ती भव्य रूपमा कतै मनाइएको छैन । अब त उनको जन्मजयन्तीले २०२ औं वर्ष नाघिसकेको छ ।
२. इतिहासकार जनकलाल शर्माले उनको जन्म फिक्कलमा विसं १८७८ मा जन्मेका हुन् भनिए तापनि उनी इलामको फाकफोक गाउँमा जन्मेका थिए । अझैसम्म पनि फाकफोकमा उनका सन्तति बसोबास गर्छन् । उनी लामिछाने थरका ब्राह्मण थिए । यस हिसाबले उनी भानुभक्त आचार्यभन्दा सात वर्ष कान्छा थिए । उनी दार्जिलिङकै छेउछाउ पर्ने ठाउँमा जन्मेका हुनाले उनको जीवनको अधिकांश भाग दार्जिलिङ सिक्किममा बितेको थियो । उनले काठमाडौँ, रुम्जाटार, दार्जिलिङको रङ्बुल र सिक्किमको गेलिङमा आफ्नो कुटी बनाएर बसेका थिए । दार्जिलिङ शहरदेखि केही पर अवस्थित रङ्बुलमा एउटा कुटी बनाएर जोसमनि सम्प्रदायको प्रचार प्रसार गरेका थिए । यसै गरी सिक्किमको गेलिङमा पनि एउटा कुटी बनाएर बसे जहाँ उनको देहावसान भएको थियो । त्यहाँ कुटी बनाएर बस्ता च्याखुङका देवानले उनलाई उठीबास बनाउन अनेक गरे तर पनि ज्ञानदिलदासल अन्तमा सबैको मन जिते । त्यहाँ पनि धेरै चेला बनाए ।
३. जोसमनि मतको मूल अवधारणा- नेपाली समाजको आफ्नो मौलिक उपजको धार्मिक सम्प्रदाय हो जोसमनि । यसले ईश्वर वा ब्रह्मको निर्गुन, निर्विकार, निराकार रूपको उपासना गर्दछ । यसले ईश्वरका विविध नाम र स्वरूपलाई नमानेर एकेश्वरलाई मान्दछ । यसमा सद्गुरुको महिमा, लोकहितको भावना आदि मान्दछ । यसले परम्परागत रूपमा रहेका जातपात र यसको भेदभावको विरोध, मूर्ति पूजाको विरोध, तीर्थयात्राको विरोध, ब्राह्मणवाद र कर्मकाण्डको विरोध गर्दछ । यसले संस्कृतको शास्त्रीय भाषा भन्दा लौकिक रूपमा चलन चल्तीको भाषालाई आफ्नो ग्रन्थमा प्रयोग गरेको छ । वास्तवमा भन्नु हो भने नेपालीभाषी प्रवर्तक र आफ्नो मौलिक धार्मिक सम्प्रदाय हो । नेपालका केही स्थान, दार्जिलिङ-कालिम्पोङ, सिक्किम र डुवर्सतिर जोसमनि मतानुयायी धेरै मानिसहरू रहेका छन् ।
४. ज्ञानदिलदासको विभिन्न कवितामय रागवाणीहरूमा आफ्नो मत, मान्यता र सिद्धान्तलाई अघि सारेका छन् । उनको प्रसिद्ध काव्य भने उदय लहरी हो । यसमा आध्यात्मिक चिन्तनका साथै सामाजिक व्यङ्ग्यको भाव पाइन्छ । आजभन्दा लगभग ड़ेढ दुई सय वर्षअघि नेपाली समाज बुझ्नु परे उनको उदयलहरी अध्ययन गर्नुपर्दछ । उदयमा प्रकट गरिएको कतिपय विचार र मान्यता आज पनि उत्तिकै टडकारो पाइन्छ । घुस खाने चलन, आर्थिक शोषण, गरिबको शोषण, सामाजिक अराजकता, असमानतालाई उछितो काडेका थिए । त्यस समयको समाजमा उनको त्यस्तो विचार, मान्यता, दनकले कस्तो प्रतिक्रिया जनाएको थियो होला, उनले कसरी आँट गरेर विरोधको सामना गर्नुपरेको थियो होला, आज आएर आश्चर्य लाग्छ ।
५. सन्त ज्ञानदिल दासले अन्य सन्तहरूका केही धार्मिक सुधारकहरूका ग्रन्थ पढेका थिए । उनीभन्दा पहिले र उनका समयका सन्त कबीर, सन्त निम्बार्क, सन्त प्राणनाथ, सन्त रामानुज, सुरदास, मिराबाईबारे उनलाई केही ज्ञान अवश्य हुनुपर्दछ । उनमा विशेषगरी महाप्रभु चैतन्यको अझै बेसी प्रभाव परेको थियो । ईश्वरीय चेतना, एकेश्वरवाद, सामाजिक चेतना आदिबारे महाप्रभु चैतन्यबाट पनि प्रभावित थिए भनिन्छ । सन्त ज्ञानदिल दासलाई पनि भारतीय इतिहासको भक्ति आन्दोलनभित्र एक धार्मिक सुधारकको नाम जोड्नुपर्ने देखिन्छ । अरू सुधारकका सूचीमा उनको नाम पनि जोडेर इतिहास लेख्नुपर्ने आवश्यकता परेको छ । माथि उल्लेखित धार्मिक सुधारकहरूका योगदानभन्दा उनको योगदान पनि कमी छैन । उनले पनि नेपाल र भारत दुवैतिरका समाजमा धार्मिक सामाजिक सुधारको बिगुल फुकेका थिए । उनी पनि आफ्नो समयमा लाञ्छित र प्रताडित भएर पनि डटेर आफ्नो सुधार कार्य छाडेनन्, व्यवहारिक र लिखित रूपमा पनि लागिपरेका थिए ।
६. सिक्किमको पावन भूमिमा ज्ञानदिलदासको पदार्पणले सिक्किमको महत्त्व बढेको छ । उनी आफ्नो जीवनको पछिला केही वर्ष सिक्किममा बिताएका, सिक्किममा आफ्नो पदचिन्ह छोडेका, कुटी बनाएर बसेका, विरोध र समर्थनका चेपारामा पनि सिक्किममा आएर समाज सुधारको भावना छर्ने सन्त थिए । उनले एकतारे बजाउँदै सिक्किम दार्जिलिङका गाउँ गाउँ घर घर घुमेका थिए. समाजमा आध्यात्मिक, धार्मिक, सामाजिक चेतना फैलाउँदै हिँडेका थिए । उनी नेपाली साहित्यका प्रथम चरणका कवि थिए । नेपाली कविता लेखनको मिर्मिरे बिहानको समयमा उनी पनि काव्य लिएर देखा परेका थिए । त्यति बेलाको चलनचल्तीमा रहेको लोकलय लहरी आधारमा ‘उदयलहरी’ काव्य लेखेका छन् । यो उनको ज्ञानको उदय भएको सङ्केतको अर्थ लाग्छ । यसबाहेक केही भजनमा आधारित रागवाणी, टुङ्ना भजन पनि लेखेका छन् । अझ उनलाई ‘प्रथम भारतीय नेपाली कवि’ उपाधि दिन सकिन्छ ।
७. सिक्किमले ज्ञानदिल दासको महत्त्व बुझेर उनका नाममा केही ठोस काम गर्न सक्छ, गर्नुपर्ने कर्तव्य बन्दछ । यसैलाई लिएर गत ११ अगस्टमा सिक्किमस्थित जोरथाङदेखि केही पर बैगुनेमा क्लब महिन्द्रामा ज्ञानदिलदासमाथि एउटा विचार विमर्श सभा बसेको थियो । त्यसमा श्री गोविन्द शर्माको सभापतित्व र डा गोकुल सिन्हाको मुख्य आतिथ्यमा वैचारिक मन्थन भए । यसमा सिक्किम, नेपाल, दार्जिलिङ, डुवर्सतिरका विज्ञ र अनुयायीहरूको विचार विमर्श चल्यो । सिक्किम सरकारले ज्ञानदिलहासको गेलिङ धामको पुनर्निर्माण, उन्नति र धार्मिक पर्यटक स्थानको रूपमा रूपान्तरित गर्ने परियोजना गरेको थाहा लाग्यो । त्यस सभामा यस पङ्क्तिका लेखकले केही सुझाव दिएको थियो । त्यसमा निम्न केही ठोस काम गरेर उनलाई अमर बनाउन सकिन्छ, साँचो श्रद्धाञ्जली दिन सक्दछ । ज्ञानदिलदासबारे सिक्किमले गर्न सक्ने केही कामकुराहरू-
क. सिक्किम सरकारले जोरथाङछेउ बैगुने भन्ने ठाउँदेखि गेलिङ हुँदै माथि देउराली सम्मको सडकलाई सन्त ज्ञानदिल दास मार्ग भनी नामकरण गर्नुपर्दछ ।
ख. गेलिङस्थित गेलिङधामको पुनर्निमाणसँगै उनको एउटा पूर्ण कदको शालिग पनि स्थापना होस् । यसमा नेपालको डाकटिकटमा अङ्कित उनको तस्बिरलाई नै आधार बनाएर शालिग निर्माण गर्न सकिन्छ ।
ग. गेलिङ धाममा सन्त ज्ञानदिल दास गुठीको स्थापना होस् । यस गुठीले सन्त ज्ञानदिलदास र उनका उत्तरवर्ती अनुयायी साधुहरूका जोसमनि पन्थका कृति प्रकाशन गरोस् ।
घ. यस गुठीले सन्त ज्ञानदिलदासका नाममा एउटा पुरस्कार पनि वितरण सुरु गरोस् । यस पुरस्कारले सिक्किममा सच्चा समाजसेवक वा कहिले वरिष्ठ साहित्य साधकलाई वार्षिक रूपमा सन्त ज्ञानदिलदास पुरस्कार प्रदान गरोस् ।
ङ. गेलिङ धाममा सन्त ज्ञानदिलदासको नाममा सन्त ज्ञानदिल दास स्मारक धार्मिक पुस्तकालयको स्थापना होस् । यो मुख्य गरी जोसमनि पन्थ र सनातनी धर्मका पुस्तकहरूको सङ्कलन र अध्ययन केन्द्र बनोस् । सन्त ज्ञानदिल दास र जोसमनि मतबारे विभिन्न पुस्तक र पत्रिकातिर धेरै लेखादि प्रकाशित छन्, तिनलाई सङ्कलन गरी सन्त ज्ञानदिलदास अध्ययन पुस्तक प्रकाशित गर्न सकिन्छ ।
च. सन्त ज्ञानदिल दास धेरै वर्ष बसोबास गरेको यस पावन भूमि गेलिङ धाममा एउटा सन्त ज्ञानदिल दास स्मारक अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न होस् । यस किसिमको आयोजनाले सिक्किममा पनि पहिलेदेखि नै धार्मिक केन्द्र बनेको थियो, सामाजिक परिवर्तनको चेतनाको प्रादुर्भाव भैसकेको थियो, सामाजिक सुधारको कार्यमा यस्ता सन्त महात्माहरू आएका थिए, यहाँको प्राकृतिक सौन्दर्यले साधु सन्तहरू पनि आकर्षित थिए, सिक्किमले विश्व शान्तिको भावना काम गरिसकेको थियो भन्ने सन्देश विश्वभरि फैलियोस् ।
जे होस्, ज्ञानदिल दासलाई अजर अमर बनाउन सिक्किम सरकार र गेलिङ धाम समिति लागिपरेको छ । यो स्वागतयोग्य, सराहनीय र स्तुत्य कार्य हो । आशा गरौं, माथि उल्लेखित सुझावहरू अवश्य नै पूरा हुनेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

