यति बेला बिहानको चिसो हावा खाँदै म पिङमा मच्चिरहेको छु । घर पछाडिको ड्याकमा भए पनि आँखा  विभिन्न पत्रिका, अनलाइन पोर्टल र केही मेगजिन नचाइ रहेको छु । हाल ‘नक्कली शरणार्थी प्रकरण’ सेलाउँदै छ । ‘रिजाल पक्राउ’ के उनी कारण पक्राऊ परे तथ्य अझै खुल्न सकेको छैन । ‘तनावमा सक्कली शरणार्थी’ यस्ता विविध शीर्षकमा समाचार, आलेख छरपस्ट अझै छन् सञ्चार माध्यममा । केही लेखक,  स्तम्भकार, केही समीक्षक सबैले लेखेका छन् -भुटानीको विषयमा, शरणार्थीको विषयमा । सबैको फुटकर लेखन आएको छ, चाहे तिनमा सम्बन्धित विषयमा ज्ञान होस् या नहोस् । ती कति आलेख त भन्नका लागि छ – लेखिदिएँ भुटानीका कुरा आज !  कोरी दिएँ बिचराहरूको संवेदना पत्रिकामा भन्ने भावको छ । ती गन्थनका पानामा यस्तै लेखकीय मनोविज्ञान प्रस्ट देखिन्छ !

हतारमा ती आलेख/हरू  लेख्नेहरूलाई आज सोध्न चाहन्छु, के तपाईँ भुटानी हुनुहुन्छ ? के तपाईँ भुटान पुग्नु भएको छ ?  तपाईँ भुटानबारे पढ्नुभएको छ ?  या के तपाईँले भुटानीसँग सङ्गत गर्नु भएको छ ?  ती लेख कोर्ने धेरैको उत्तर – छैन, छैन र छैन भन्ने निस्कन्छ । या कतै आंशिक छ निस्केला तर त्यो पनि छैन बरोबर नै हो ।

ड्याकको पिङमा झुल्दै ती लेखहरूमा  हराउँदा भन्न मन लाग्दो रहेछ – भो  नलेख्नुहोस् तपाईँले भुटानीका संवेदना । भो नलेख्नुहोस् भुटानका कथा, व्यथा, तिता या मिठा ! तपाईँ तिनको हृदयमा मलम लगाउन सक्नु हुन्न । तिनको मस्तिष्कमा शीतलता प्रदान गर्न सक्नुहुन्न ।

गणतन्त्र आएको मुलुकमा  नलेख्नुहोस् भन्न पनि मिल्दैन होला । लेख्नुहोस्  तपाईँको हात बाँध्न म आइपुग्दिन- लेख्नु होस् । तर गलत प्रचार गर्न तपाईँले पाउनु हुन्न । गलत व्याख्या विश्लेषण गर्न पाउनु हुन्न – बुझ्नु भयो नि !

डियर लेखक /पङ्क्तिकार ,

मैले हिजो पनि पढेँ चाङ पुस्तक । अस्ति पनि पढेको थिएँ  केही आलेखहरू । आज पनि पढ्दै छु । भुटानी बारे कत्तीले शब्दहरूमा, पङ्क्तिहरूमा र पुराका पुरा अनुच्छेदमा डङ्गुर थुपारेको कुरा सबै विस्तारमा पढेँ । ती लेखन मलाई ड्राइ वेस्ट अर्थात् दुर्गन्ध विहीन पेपरहरूको फोहोरको डङ्गुर जस्ता लाग्यो ।

समय दिनुहोस् म व्याख्या गर्दै छु । तिनको विस्तार गर्ने नै छु । ओहो ! नक्कली शरणार्थी प्रकरण या रिजाल काण्ड ती विषयमा आएका  थिए एउटा गौर भुटानीले आफ्नो चस्माबाट देखेको भुटानी बारे गन्थन ! मोतीबिन्दु लागेको आँखाले गरिएका गनगन, गनगन त्यस्तै त्यस्तै !

ती वाक्यहरू हेर्दै कति अमिल्दो देखिएको, पढ्दा कति नमिठो सुनिएको । सायद म पढ्दा पढ्दै बहुलाएँ कि ! सायद भुटानीको विषयमा चासो र सरोकार राख्दा राख्दै म आवेगमा उत्रिए कि ! सायद, सायद र सायदहरू । होइन, सायद होइन म होसमा छु ती सब पढेको छु, लाइन बाइ लाइन, शब्द संयोजन वाक्य गठन भाव पूराका पूरा । देखेको छु तथ्यमा नटेकी कत्ति लेखकले गफ जमाएको !  दुईचार जनासँग बसेर दारु पिउँदै सुनेको टिपोटमाथि टेकेर उभिएको सबै सबै पढेको छु। र मौन हेरिरहेको छु टुलुटुलु रमिता ।

आज म सोधौँ – के कारण कोर्नु भयो भुटानीको विषयमा त्यसरी कथ्य ?  किन ती घटना र परिवेशलाई यथार्थपरक जस्तो किन बनाउन सक्नु भएन ?  ती पात्र र संवेदना पढ्दा किन जीवन्त लाग्दैनन् ? ती आलेखहरू किन संवेदना विहीन फिक्का लाग्छन्, किन ?  किन ?? किन ??? भुटानीको विषय माथि केही पङ्क्तिकारको रहरको लेखन जस्तो छ । केही समीक्षकको सस्तो चर्चाको भोक जस्तो छ । भन्नु होला दाहाल पुत्रले आक्रोश पोख्यो, यस आलेखको आशय कसैको खिल्ली उडाउनु होइन । नाम लिएर कसैको मानहानि  या बदनाम गर्ने उद्देश्य पनि होइन ।

ती पानामा छु, त्यहाँ के लेखेका छन् लेखकले ?  पख्नुहोस् म भन्छु, त्यो लेखनमा शरणार्थी शिविर एउटा गाउँबस्ती जस्तो छ । शरणार्थी पात्र स्थानीय बासिन्दा जस्ता लाग्छन् । त्यो खबरमा त्यो आलेखमा खोइ त्यहाँ देखिँदैन त शरणार्थीको जस्तो अनिश्चित भविष्य । खोइ  देखिँदैन त देश पिडाको तिनको असली संवेदना । र हो त्यही ड्राइ वेस्टको पनि  कत्रो  फुइँयाँ हान्दै हुनुहुन्छ, लेखिदिएँ बिचरा भुटानीहरूको संवेदना !

हुलमुलमा अनलाइन तिर आएका केही आलेखमा कतै छुटफुट भुटानीहरूको विषयमा अलिकति चासो चाहिँ छ तर चिन्ता छैन । विचार  पोखिएको ,तर जीवन्तता छैन । आम मान्छेको मनोदशामा कल्पना मिश्रित छ । तर शरणार्थीको हुबहु चित्रण छैन ।

भुटान देशको राष्ट्रिय भाषा जोङखा र त्यसको नाम ड्रुग युल हो – अर्थात् ड्रयागनको देश । अनुवाद गर्दा भन्दा चट्याङको देश भन्न पनि मिल्छ । त्यहाँ मुख्यतया पाँच प्रजातिका मान्छे बसोबास गर्छन् । र पाँचौँ राजाको शासन चल्दै छ । यो सब लेख्दै जाँदा लामो इतिहासको दस्ताबेज बनिन सक्छ अहिलेलाई यतिमै रोकेँ !

आफू भुटानी भएकाले पुर्ख्यौली संवेदनाको म खोज गरिरहेको छु । विश्वभरबाट म जस्तै कति भुटानी यसरी नै खोज गरिरहेका होलान् । खोज न हो; खोज आफैँमा एउटा खोज हो । निक्कै सङ्घर्ष र सकस पूर्ण हुन्छ खोज । यस खोजका लागि कतिपल्ट घरबाट हराउनुपर्छ । कति पल्ट समाजबाट हराउनु पर्छ । कति पल्ट आफू कहाँ छु भन्ने कुराबाट हराउनु पर्छ । कति पल्ट, कति पल्ट !! सम्भवतः यसरी नै गरिन्छ खोज । र ती खोजमा भेटिन्छन् तपाईँ जस्तै लेखकका समीक्षककता पुस्तक,  आलेखहरू र अनलाइन लेखन ती पनि त्रुटिपूर्ण, ध्वस्त छन् ।

म अझै पिङमै झुलिरहेको छु । ड्याकबाट बाहिरको हरियाली हेर्दै  केही गौर भुटानी लेखकहरूका विचार,  प्रस्तुतीकरण र संवेदनाका शब्दचित्र छाम्दै छु । अब तपाईँ सुन्नु होस् – म बताउँछु, चट्याङको त्यस देशमा एउटा जेल छ, जहाँ पुगेका मान्छे आजसम्म जीवित फर्किआएको प्रमाण छैन । यही सन्दर्भमा त्यस्ता टाटाटुली गर्ने लेखकलाई सोधौँ यो विषयमा  तपाईँले अध्ययन गर्नु भएको छ ?  त्यसो त मान्छे मार्न भुटानमा दर्जनौँ षड्यन्त्र हुन्छ । कोही दोमा खाएकै भरमा कसरी प्राण त्याग गर्न सक्छ ? सुन्दा अविश्वसनीय लाग्दैन ! यो विषयमा कति जानकारी  राख्नु भएको छ ? म विस्तारमा शिक्षा लिन तपाईँको घर आँगन आउन तयार छु । तपाईं बताउन तयार हुनुपर्छ !

चार कक्षादेखि भुटान हिस्ट्रि र भुटान जोग्राफि पढ्दै हुर्केको एउटा जवान प्रश्नहरूको चाङ लिएर बसेको छ । एक एक गरी उठाउँछ ऊ । भुटानका कुन कुन जेललाई जोङ भनी पुनर नामकरण हुन थालिएको छ ? ती जेल/ जोङमा कतिले प्राण आहुति गरे ? ती तथ्यगत कुराको अध्ययन गर्नु भएको छ ? मलाई विश्वास छ,  लेखकज्यू भुटानमा बन्देज गरिएको पुस्तक  ‘ मडर अफ डेमोक्रेसी’ पढ्नु भएकै छैन । तपाईँ भम्पा राईलाई चिन्नुहुन्न या चिन्न सक्नु हुन्छ । तर महासुरको बलिदानलाई बुझ्नु हुन्न । सिता मोते को हुन् र उनी कसरी बितिन् थाह सम्म छैन ।

म किन किटानीका साथ भन्दै छु – टालटुले पुस्तकहरूमा, हतारमा कोरिएका आलेखहरूमा भेटिँदैन  कतै ती घटना, प्रसङ्ग र विस्तार । त्यसैले भन्छु डियर लेखक,  तपाईँलाई भुटान बारे खास ज्ञान छैन । भुटानीबारे सामान्य ज्ञान मात्र छ । त्यो सामान्य ज्ञानको पनि कत्रो फुइँयाँ हान्दै हुनुहुन्छ ।

आज कोही लेखक केरकार गरी भुटान विषयमा लेख्ने र रातारात उक्त समुदायमा पुस्तक बेची टन्न कमाउने सपना छ । कसैको छ गौर भुटानी समुदायमा माझ फुइँयाँ हान्ने क्षमता विकास गर्ने सोच छ । थोरैको मात्र अध्ययन र अनुसन्धान मूलक लेख झुल्कँदै छन् पछिल्लो समय, भुटानीका विषय माथि । गलत लेख्नु भन्दा तपाईँले नलेख्दा बरु हाइसन्चो हुन्छ ।

जानकार रहेकै वास्तविकता भनौँ नक्कली शरणार्थी प्रकरण चल्दा, टालटुल पार्ने एउटा लेख झुल्कन्छ । रिजाल पक्राउ पर्दा टालटुल पार्ने अर्को आलेख पढ्न मिल्छ तर विस्तार छैन, कति  सस्तो प्रचारको भोक हो ? यस्तो भोक बोक्ने कुनै पङ्क्तिकारले बुझ्दैन – गहिराइको महत्त्व के हो ? गहिराइको प्रति कस्तो हुन्छ ? गहिराइको उच्चता ? गहिराइको अर्थ कति गहिरो हुन्छ ?  भो भो म व्याख्या विस्तार लगाउन तिर पनि थाल्दिन ।

उसो त म भुटान भित्रको कुरा मात्र पनि गर्दिन । एउटा सानो भुटान शरणार्थी शिविरमा स्वदेश फिर्तीको आशै आसमा अझै जीवित छ । पुर्नवास पछि एउटा भुटान अमेरिका पुगेको छ, अर्को अस्ट्रेलियामा छ । यसो त भुटान एसिया बाहेक युरोपतिर पनि पुगेको छ ।