डायस्पोरा चिन्तनमा लागेको व्यक्ति सर्वत्र डायस्पोरामय देख्छ । दृष्टि कति निरोगी र सन्तुलित छ भन्ने तथ्य मापक यन्त्र हुनेले जान्ला । गहिरिएर हेर्दै गयो भने डायस्पोराका दृश्य र स्वरूप अनन्त देखा पर्छन् । यो मनको काउसो झैँ होला, यो विषाक्त पनि होला । यसले घेरिएको जीव थिलथिलो भएर बाँचेको होला । बाहिर सुन्दर देखिए पनि भित्र गलेको होला । होला यो अबाटोको यात्रा पनि होला, लीला पनि होला । योग्यता अनुसार जसरी सम्झे पनि भो डायस्पोरा ।
स्मृति–चित्र पनि हो यो, घटना र दृश्यहरूको पुनर्गुफन पनि हो । एकै छिन मनको पीडा पनि हो र मनको बिसौनी पनि हो डायस्पोरा । स्वप्न–सुख ठाने पनि भो । भोग्ने म, देख्ने त्यो, लेख्ने ऊ, पढ्ने अर्को र बुझ्ने अझ परको । यो स्वप्न सम्भोगको आनन्द यात्रा हो– आचार्यका लागि । यथार्थमा गन्हाउने कुरामा सुवास भेट्नु ज्ञानीको लक्षण पनि हो । कसैका लागि यो यात्रा आदरणीय होला । मेरा लागि दुर्गम हो, म हराउन सक्छु त्यसैले पन्छिएर बस्न अपिल गर्छु ।
पल्लो गाउँबाट किनेर ल्याएको गोरु बारम्बार उही घरमा पुग्छ । शायद उसको डायस्पोरा मन त्यसो गराउँछ । यो किरायदार छोडेर आएको अघिल्लो घरको स्थिति सम्झन्छ शायद ऊसँग पनि डायस्पोरा छ । अर्को कार्यालयमा सरुवा भएर गएको कर्मचारी पुरानो कार्यालय सम्झने डायस्पोरा बोक्छ । ताप्लेजुङको साँघुबाट हिँडेको कहिले बाटाको वास, कहिले धरानको नयाँ घर अहिले पनि माण्डूको बसाइ र पछि अमेरिकाको विश्राम–चौतारीलाई डायस्पोरा मनको संवेगले चुल्याउँदै हिँड्छ । अनि आफैँमा गुनगुनाउँछ :
जन्मेर हुर्कें म बढें पढें कहाँ
सर्दै रहें कर्म गरें कहाँ कहाँ
तान्दै लग्यो यो मनले कतातिर
उडें,कठै ! फेरि पछारिएँ कहाँ ?
उद्विग्न, विचलित मनोदशाबाट निर्मित साहित्य–कला भो क्यारे डायस्पोरिक साहित्य । तर आफैँभित्र घुमेको पनि त हुन्छ । ससुरालमा वास बस्न पुगेको ज्वाइँलाई, मामाको घरमा रमाउने भानिजलाई, माइतीको सम्झना गर्ने छोरीलाई हाम्रा मीमांसकहरूले डायस्पोराको मन हालिदिएका नहोलान् र !
हिजोको नेपालमा विशाल नेपालभित्र स–साना मुलुकहरू समावेश भएपछि त्यहाँका जनता स्थानान्तरित हुँदा डायस्पोराको अनुभव गर्न विवश भएनन् होला त ! एक–अर्काको भूगोलमा परेर आफ्नो पहिचान धूमिल हुनसक्ने पिरले– डायस्पोरिक मन निर्माण भएन होला त !
डायस्पोराको आयु–सीमा हुन्छ । रोमान्टिक युग पनि गयो । यथार्थवादी युग पनि गयो । क्लासिकल (शास्त्रीय) युग त झन् कहिले गयो गयो । किन्तु प्रवृत्ति–झिल्काहरू भेटिएलान् । हामी नयाँ नयाँ युग र प्रवृत्तिको स्वागत गर्दैछौं भने किन फर्कने डायस्पोरा युगतर्फ, किन तान्ने त्यो रुग्ण, अमिलो र अत्यास लाग्दो स्थितिलाई सम्झेर ? हाम्रो साहित्यको शृङ्खलामा हठात् निम्त्याएर पुनर्जीवन दिएर कहाँ पुग्नु छ ? अगाडि जाऔँ । पछाडि नफर्कौं । हिजोलाई चिनौं, नमन गरौं र आफ्नो युग बोकेर हिँडौं भन्ने अपिल मात्र हो ।
हेर्दै गयो भने सारा नेपाली जगत– नेपालभित्रै डायस्पोरामय छ । भिन्नभिन्न क्षेत्र र जिल्लाका मानव अर्को अर्को ठाउँमा स्थानान्तरित हुनासाथ तिनको मन डायस्पोरिक भएन होला त ? शताब्दी शताब्दीपछि मात्रै त्यस्तो मनको निर्माण भएको होला त ! उस बेलाका रचनालाई आज आएर डायस्पोरिक रहेछ भनेर चिन्न खोज्नु र अर्कै ठानेर अर्कै देख्नु कति सङ्गतिपूर्ण होला त !
धेरै ढङ्गका रौँ छन् शरीरमा । तिनको ठाउँ पनि फरक छ । नाम पनि फरक छ । उखेल्दा–चुँड्दाको पीडा प्रत्येक ठाउँमा फरक छ । सबैतिरका रौँको स्थिति एउटै छैन, न तिनको कर्म र सौन्दर्य समान छ ? छैन । कपाल वा रौँ भनौं, साहित्य भनौं– ठिक छ । तर भित्र पसेर रौँका गुण–धर्म, तिनको आवश्यकता र सौन्दर्यको परख गर्ने क्षमता शायद हामीसँग नहोला ।
हाम्रो गृहस्थी जीवनको नापतौल अथवा पारिवारिक वा दाम्पत्य जीवनको तुलना अर्को भूगोलकासँग नगरौं भन्ने अपिल मात्र हो । हाम्रा गृहिणीले आफ्नो पतिबाट राख्ने अपेक्षा र पतिले पत्नीबाट राख्ने अपेक्षा अर्का देशको मानव समाजमा खोज्न मिल्छ के ?
जलको व्याप्तिलाई दृष्टान्त बनाएर हेरौं– फल, फूल, पात, बोक्रा, लहरा वा हरेक जीवित वनस्पतिलाई निचोर्दा जल तत्त्व भेटिन्छ । तर तिनको गुण–धर्म वा रङ्ग र सुगन्ध पनि पृथक्–पृथक् हुन्छ । जल (पानी) भनेर सामान्यीकरण गर्न अथवा व्याप्ति र अतिव्याप्तिमा बुझ्न सुहाउँदैन कि भन्छु ।
संसारलाई डायस्पोरीकरण गर्ने वृत्ति सुनियन्त्रित हुनुपर्छ कि ! बाँझो,अक्षत क्षेत्रमा प्रवेश गरेर योग्यता देखाउने ठाउँ छन् नि ! त्यसतर्फ लाग्ने हो कि न ! यजमान र आचार्यको सल्लाह मिल्यो भने हामी लाभमा पर्नेछौं । राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्राज्ञहरू अघि सरेर मन्थन गरे नयाँ सूत्र फेला पो पर्न सक्छ कि ? प्रसाद मिल्नेछ । आशा गरौं अपिल लागोस् ।
जोडे दुई दुई पाँच
बरु भन्छौं यही भलो
सन्ध्यालाई उषा ठान्नु
हुँदै हैन कतै निको ।
डायस्पोरा चिन्तन आवधिक हो, सार्वकालिक होइन । यसका सहस्र सूक्ष्म एकाइले यसलाई क्षीण बनाउँछन् । नेपाली जीवन भूगोल र आकाशको व्याप्तिलाई स्वीकार गरेर फैलिएको छ तर जुन अर्थमा डायस्पोराको अवधारणा बुझाइ जीवन–स्थिति थियो हिजो-प्रारम्भिक चरणमा त्यो नेपालीको जीवनसँग दाँज्न मिल्दैन ।
नेपाली वाङ्मयमा डायस्पोरा शब्दको प्रवेशअघि विदेशको भूमिमा रचिएका रचनाहरू अन्यायमा पर्ने हुन् कि न ! भूगोल, घटना, अवस्था र रचना, व्याख्या वा नीति के चाहिं डायस्पोराको आधार हो, कारक हो ? दुई-दुई पाँच त्यसले भन्यो, उसले भन्यो । मैले पनि भनें । तैंले पनि मान्नुपर्छ । बस !
त्यसैका लागि त हो यो अहिलेसम्मको विवेकका लागि अपिल । औचित्यका लागि अपिल !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।