विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको सन्त्राश जताततै छ । कहाँ छैन ? गाउँमा समेत छ । तर सहरको जस्तो कहर गाउँमा छैन । महामारीलाई निरन्तर पछ्याइरहेको अभाव सहरमै छ । महङ्गी सहरमै छ । कालाबजारी सहरमै छ । आतङ्क सहरमै छ ।

गाउँमा त अहिले पनि भकारी राख्ने चलन छ । ऐँचोपैँचो चल्छ । गाउँघरमा आउने पाहुनाहरूलाई खाए नखाएको सोधिन्छ । भोको फर्किनु पर्दैन । खेतबारीको काम, खनजोत, गोडमेल भइरहेको छ । यति हो, गाउँलेहरू सहर जानलाई बाटाहरू अवरुद्ध छन् । गाउँ त करिब करिब अप्रभावित छ । पहिल्यै अछुतोजस्तो थियो, त्यो अहिले प्रष्ट देखिएको छ ।

मायामितु

गाउँ त गाउँ नै हो । नूनतेलको जोहो मात्र हुनुपर्छ । अपवाद त जहाँ पनि हुन्छ । गरिबी सहरमा भन्दा गाउँमा धेरै छ । खेतबारी हुनेको हातमा पैसा हुन्न । सहरका मानिसमा पैसा छ । अन्न छैन । गाउँमै निर्भर हुनुपर्छ । गाउँबाट दाल चामल नपठाइदिए सहरमा कतिको घरमा चुलो अहिले पनि बल्दैन ।

अहिले त पैसा भएर मात्र के गर्नु ? सबै बन्द छ । खुले पनि महंगोमा किन्न बाध्य छन् । पैसा नै सबथोक हो । पैसाले सबैथोक किन्न सकिन्छ, पाइन्छ भन्थे । कहाँ सत्य रहेछ र । यतिबेला बुढापाकाले भन्ने गरेको उत्तम खेती, मध्यम व्यापार अनि मात्र जागिर भन्ने कतिले सम्झिए होलान !

गाउँलेलाई पाखे, केही जानेका हुँदैनन भन्नेहरू अहिले गाउँ फर्कदै छन् । सहरमा मःम, चाउमिन, बर्गर, कुरकुरे, चाउचाउले बानी परेकाहरूलाई अहिले गाउँ सहज त नहोला ! तर विकल्पमा रूपमा सही छ । एकछिनको जिब्रोको स्वाद न हो यी खानेकुरा ! नजानिँदो तरिकाले शरीर रोगी बन्दैगएको छ सहरमा । जसरी सहर रोगी छ । धुलो, धुवाँ, प्रदुषण, भीडभाडले । त्यस्तै रोगी छन् सहरका मानिसहरू । जसरी सहर हेर्दा सुन्दर देखिन्छ, त्यस्तै देखिन्छन् सहरका मानिसहरू । बाहिरबाट हेर्दामात्रै हट्टाकट्टा र खाइलाग्दा । भित्रभित्रै खोक्रो र कामै नलाग्ने ।

बस नुन आइपुग्नुपर्छ गाउँमा, मानिसहरू भोको हुँदैनन । बजारमा पाइने जंकफुड गाउँमा पनि छ । तर सहरको जस्तो होइन, म्याद सकिएको, बासी । अग्र्यानिक र ताजा पाइन्छ गाउँमा । घरमै बनाइएको मस्यौरा, गुन्द्रुक, सिन्की, सुकाएर राखेर मुलाका चाना, भटमास, सातु आदि ।

नुन भए गाउँका मानिसलाई वर्र्षौँ लकडाउन भए पनि खासै असर पर्दैन । सहरमा जस्तो कोही आए हतार हतार चाउचाउका प्याकेट किन्न पसलतिर दौडिनु पर्दैन । गाउँमा त पसल पनि त्यति नजिकै कहाँ हुन्छ र ? घरैपिच्छे जस्तो । यतिबेला म पनि गाउँभन्दा अलि पर छु । गाउँको भाषामा सहर नै हो । यो सहरमा लक्ड हुँदै म हाम्रा पुर्खाहरूले बाँचेको समय नियाल्न खोजिरहेछु ।

कति सहज र प्राकृतिक थियो उहाँहरूको जीवनशैली । हामीले उहिलेका बूढाबूढीले के जान्दछन् ? भन्यौ । दुत्कार्दै आयौ उनीहरूका कुरा । जुन कुरा वैज्ञानिक भएका प्रमाणित हुँदै जाँदै छन् । अहिले हामी जस्तो एकजुवा घाम लाग्दासम्म कहाँ सुत्थे उनीहरू ? झिसमिस उज्यालो हुनु पहिल्यै उठिसक्थे । धर्मकर्ममा मन अडिएको थियो । विश्वास अडिएको थियो । सूर्य उदाउनुभन्दा अघि उठ्नु स्वास्थ्यको लागि लाभदायक भनेर विज्ञानले नै भनेको छ । उनीहरूलाई विज्ञानको अर्थ के थाहा ?

हुन त विज्ञानले भनेको भन्दा विश्वास नर्गलान् भनेर धार्मिक नाम दिएका होलान् । किन कि धर्ममा मानिसहरूको खुब विश्वास थियो । उहिल्यै ऋषिमुनिहरूदेखि नै चलिआएको चलन हो । तर विज्ञानले प्रमाणित गरेको कतिपय कुराहरू पनि धर्मको नाममा अंगिकार गर्दै आएका हुन् । पुस्तौंदेखि गर्दैआएको उनीहरूले संस्कारका रूपमा गरे । परीक्षण गरेर बुझे । जुन विज्ञानसम्मत रहेछ भनेर आजको उन्नत समाजले भनिरहेछ । बिहान उठेर ननुवाई, शुद्ध नभई, कुनै काम शुरु गर्दैन थिए । गर्न मनाही नै थियो । उनीहरूले जे गरे धर्म या संस्कारका नाममा गरे । पाप लाग्ने डरले गरे । तर, जे गरे प्राकृतिक गरे ।

जब कोरोना महामारी आगोसरि विश्वको कुना कुना सल्कियो । अनि मात्र शरीर शुद्धताको ज्ञान बाध्यतास्वरूप हामी लिँदैछौँ । यो त हाम्रा पुस्ताले वर्र्षौँअघि सिकेका थिए । व्यवहारमा प्रयोगमा ल्याएका थिए । त्यसलाई हामीले बूढाबूढीको कुरा भन्यौ, धर्म भन्यौ, रुढिवादी भन्यौँ, अन्धपरम्परा ठान्यौँ, उहिलेका कुरा खुइलिए भन्यौ र अवलम्बन गर्दै गरेनौँ ।

पहिले कतै बाहिरबाट घर पुगियो भने हातखुट्टा नधोई घरभित्र पस्न पाइदैनथ्यो । गाउँघरमा कोही आए अलि पर बस्ने, छुट्टै बसाउने गरिन्थ्यो । आएका पाहुनासँग बोल्दा हाम्रा हजुरआमाहरू साडीको सप्कोले मुख छोपेर बोल्थे । यसको कारण त अहिले पो बुझिँदैछ । मुख नछोपी बोल्दा श्वासप्रश्वासका कारण रोग सर्न सक्छ भनेर पो रहेछ ।

त्यतिबेला घरघरमा चर्पी थिएन । घरदेखि टाढा दिसापिसाब गर्ने जान्थे । दिसा गर्न जाँदा लुगा फेरेर जाने गर्थे । साबुन त्यति चलनमा आएकै थिएन । खरानी या रातो माटोले हात धुन्थे । यसो गर्नु त भाइरस अर्थात् जीवाणु नलागोस् भनेर पो रहेछ । कति प्राकृतिक थिए उपायहरू !

बाहिर कतै गएर आइएको छ भने आगो नछोई कसैलाई छुदैनथे । आगोले हातमा भएको जीवाणु मर्छ भन्ने कत्रो विश्वास ! कस्तो अचम्मको तरिका उनीहरूले अपनाएको जीवनशैली ! उहिलेको कुरा खुइलिए भन्दै गर्दा “आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको” चाहिँ सम्झनै चाहनौं । या सम्झने फुुसर्दै भएन ।

चियाको चलन आएकै थिएन । घरमा कोही आए दूध, मोही आदिले सत्कार गरिन्थ्यो । आफँै पनि दुध पिउँथे । मोही पिउँथे । जसले खाना पचाउन सहयोग गथ्र्याे । आँगनमा तुलसी रोप्थे, घरअगाडि वरपिपल रोप्थे । वातावरण शुद्ध हुन्थ्यो । घाम नअस्ताउँदै बेलुकीको खाना खान्थे । जसले खाना राम्रोसँग पच्ने गथ्र्याे । खाना खाँदा थालवरिपरि पानीको घेरा हालेर भात छर्केर चढाउने चलन थियो । पितृलाई दिएको भन्थे । त्यो किटाणुहरूबाट बच्न पो रहेछ । खाना खाउन्जेल ती किटाणुहरू तिनै छर्केको भातमै अलमलियोस् र थालमा नआओस् भन्न पो रहेछ । अहिले पो बुझिदैछु ।

बिहानै उठेर शंख, घण्ट बजाएर पूजा गर्थे । जसले वातावरण स्वच्छ राख्न मद्धत गथ्र्यो । घण्ट बजाउदा मन एकाग्र हुने र दिमाग शान्त हुने गर्छ । यसरी बजाइने घण्टको आवाजले मनमा भएका विकार फाल्न सहयोग गर्ने रहेछ । शंख बजाउँदा पैदा हुने आवाजले वातावरणमा रहेको कति हानिकारक जीवाणु नष्ट हुनेरहेछ । कहाँ धर्मका लागि मात्रै रहेछ र ? जानी नजानी कति व्यवाहारिक, शुद्ध र वैज्ञानिक जीवनशैली रहेछ त्यो बेलाको ।

अहिलेको जस्तो डाइनिङ टेबल कहाँ थियो र ! भुइँमा सुकुल, चकटी, पिर्कामा बसेर खाने चलन थियो । खाना खाँदा पलेटी कँसेर बस्थे । जसमा पाचन प्रणालीलाई सहयोग पुग्ने रहेछ । पुरुषहरूले टुप्पी पाल्थे । जनै लगाउँथे । टाउकोमा पालेको टुप्पीको गाँठो पारिएको शिखाले टाउकोको रक्षा गर्ने रहेछ । बाहुन चिनाउन भनेर टुप्पी पालेको भन्थे । यस्तै पिसाब फेर्दा दायाँ कानमा जनै सिउरिन्थे । यसो गर्दा पिसाबसम्बन्धि रोग नलाग्ने रहेछ । काँधमा जनै लगाउनाले पेटसम्बन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिने रहेछ । यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको पनि काम गर्छ । यस्तै शंख बजाउँदा फोक्सोको व्यायाम पनि हुन्छ । अहिले जसरी दमका रोगीलाई बेलुन फुक्न लगाइन्छ । एकप्रकारको उपचार विधि मानिन्छ दम रोगीका लागि । त्यस्तै शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिने रहेछ । अहिले कोरोना भगाउनका लागि शंख, घण्ट बजाउनु भन्ने खालका समाचार पनि आए । तर मन एकाग्र बनाउन र श्वासप्रश्वास नियमित राख्न यसको भूमिका महत्वपूर्ण छ ।

हुन त पहिलाका चलन पनि सबै राम्रा कहाँ थिए र ? धर्म, संस्कारमा पनि समानता कहाँ थियो र ? टुप्पी पाल्ने, जनै लगाउने आदि चलन ब्राहम्ण क्षेत्री परिवारमा मात्रै थियो । अन्यमा थिएन । यसले विभेद गरेको प्रष्ट छ । त्यस्तै महिलाका लागि त झन् धेरै विभेद छ, धर्म र संस्कारमा नाममा ।

दास प्रथाको अन्त्य नेपाल वि.स. १९८१ वैशाख १ मा उन्मूलन भएको थियो । यस्तै भारतलागयत अन्य देशले पनि दासप्रथाको उन्मूलन गरेका छन् । सन् १८४८ भारत, १८६१ अमेरिका, १८५९ स्विडेन, १८७१ ब्राजिल, १८९७–१९०१ अफ्रिकन संरक्षित राज्य, १९०२ फिलिपाइन, १९२१ अबिसीनियाले उन्मूलन गरेका थिए । तर खै अहिलेसम्म मानसिकता र व्यवहारबाट हट्न सकेको छैन ?

धर्म र संस्कार सबै उत्कृष्ट भनिएको होइन । धर्म र संस्कारकै कारण पनि विभेद भएको छ । तर अबका पण्डित र धर्मगुरुहरू ठूलो स्वरमा पुराण लगाउँदा धर्म र परम्पराका नाममा भइरहेका विकृतिबारे बोल्नुपर्छ । बोल्न सक्नुपर्छ । पुराणभन्दै गर्दा जातीय विभेदका मुद्धा पनि उठाउन सक्नुपर्छ । स्वास्थानी वाचन गरिसकेपछि यसमा यो अहिलेको समयसापेक्ष छैन भनेर अबका पण्डितहरू र धर्मगुरुहरूले भन्न सक्नुपर्छ ।

यहाँ मैले धर्म र संस्कारका बारेमा होइन, धर्म र संस्कारका नाममा त अपवादका यी कुरा बाहेक विभेदै विभेद मात्र भेटिन्छ । तर, जानीनजानी अपनाइएको चालचलनका बारेमा कुरा गर्दैछु । जुन लकडाउनले अहिले हामीलाई सिकाइरहेको छ । हाम्रा पुस्ताहरूले त वर्षाैंदेखि गर्दै आएका थिए ।

हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष हुन्छ । नराम्रालाई छाड्दै, या परिवर्तन गर्दै राम्रा पक्षको आत्मसात गर्न सके भन्ने लागेर मात्र हो । पहिलेका सबै राम्रो विभेदरहीत भन्न खोजेको पटक्कै होइन । विभेद हुँदाहुदै पनि राम्रा पक्ष पनि त रहेछन् नि ! हुन त नराम्रा कुरा छिटै देखिन्छन् र त्यो चाँडै फैलिन्छ, तर राम्रा कुराहरू ओझेलमा परिरहेका हुन्छन् । यस्तै भएको हो कि ?

बिरामी भए रासायनिक औषधिहरूभन्दा घरायसी जटीबुटीमा जोड दिन्थे । अब आयुर्वेदिक उपचार पद्धतिले ठाउँ लिने सम्भावना बढेर गएको छ । आयुर्वेदिक क्षेत्रमा काम गर्नेहरू अहिले सक्रिय भएका छन् र एलोपेथिक औषधिहरूलाई चुनौति दिइरहेका छन् । हाम्रो देशमा अधिकांश झारबुट्यानहरूमा नै औषधिको गुण छ । यो गाउँ जडीबुटीको खानी नै हो । हामीसँग भएको जडीबुटी भारत पठाउँछौ र उता प्रशोधन भैसकेपछि फेरि हामी त्यही आयात गर्छौँ त्यही खरिद गर्छौैँ । अत्याधिक भौतिकीकरणले गर्दा मानिस मेसिन जस्तै भएका थियौँ । आफ्नो भाषा, कला, संस्कृति, धर्म बिर्सदै गएका थियौँ, निदाउँदै गएका थियौँ । यो विकराल अवस्थाले फेरि एकपटक हामीलाई राम्रैसँग झक्झक्याएको छ ।