मन-मस्तिष्कमा उब्जिरहने अनेकन उकुसमुकुसहरू कसैलाई पनि म सहजै व्यक्त गर्न सक्दिनँ । व्यक्त गर्न सके पनि मनले खाएका एकाध व्यक्तिलाई मात्र गर्दछु । मलाई लाग्छ, हामीमध्ये आफ्ना सारा उल्झन र गुम्फनहरू अर्को व्यक्तिसँग बोलेर व्यक्त गर्न अलि बढीले सक्छौं । तर लेखेर व्यक्त गर्न भने धेरै कमले मात्र सक्छन् । जसले लेखेर मानवीय भावनाहरू व्यक्त गर्न सक्छन्, तिनीहरूले ती भावनाहरू धेरै माझ पुगून् भनेर सम्प्रेषणको माध्यम खोज्छन् ।

दीपक श्रेष्ठ

मैले धेरै माध्यमहरूमार्फत् आफ्ना मनका भावनाहरू पोख्न धेरैपटक प्रयास गरेको छु । रेडियो, टेलिभिजनका कार्यक्रमका साथै पत्रपत्रिका र अहिले आएर अनलाइन मिडियाहरूमा समेत आफ्ना नयाँ-पुराना रचनाहरू निरन्तर पठाइरहेको हुन्छु । एकल प्रस्तोता रहने रेडियो, टेलिभिजनका कार्यक्रम होस् वा सीमित सम्पादकमण्डल रहने दैनिक पत्रपत्रिका तथा साहित्यिक पत्रिकाहरू, प्रसारण र प्रकाशनको निम्ति कसले कति जनाका रचनाहरू पढ्न भ्याउलान् ? पढेर कति जनाको रचना छान्न सक्लान् ? अनि प्राप्त भएका रचनाहरूमध्ये छानेर कति जनाको रचना प्रकाशन, प्रसारण गर्न सक्लान् ? यसको मारमा म जस्ता नवआगन्तुक लेखक/रचनाकारहरू त परेकै छन्, स्थापित लेखकहरू पनि कतै यस्तै समस्यामा परेका पो हुन् कि भन्ने महत्त्वपूर्ण प्रश्न मेरो मनमा उब्जिएको छ ।

लेख्नुको एउटै उद्देश्य, लेखिएका भावनाहरू कसै न कसैले पढून् भन्ने नै हुन्छ । लेखिसकेपछि जतिसक्दो छिटो पाठकहरूसम्म पुगोस् भन्ने नै हुन्छ । तर हामी धैर्य गर्न सक्दैनौं । म धैर्य गर्न सक्दिनँ । अरू धेरै लेखकहरूमा पनि धैर्यताको कमी देखिन्छ । मलाई त कुनै रचना सकेर अन्तिम पटक रुजु गरिसकेपछि कसलाई पठाउँ भन्ने हतारोले गाँज्छ । खासमा साहित्यिक प्रकाशनका सम्पादकहरू आफूकहाँ पठाइएका रचनाहरू अन्त नपठाउनु भन्ने सूचना पनि जारी गर्नुहुन्छ । तर जसरी पनि पाठकसम्म पुर्याउनै पर्छ भन्ने मान्यता हावी हुँदा म भने धेरै सम्पादकहरूलाई पठाउने गर्थें । लामो समयसम्म छापिएर नआएपछि अघि उठाएका प्रश्नहरूले हिर्काइरहन्छ बारम्बार ।

[bs-quote quote=”करिब एक दशकदेखि भने हामी सबैले गज्जबका मञ्चहरू भेट्टाएका छौं । फेसबुक, ट्वीटर तथा ब्लग साइटहरू प्रशस्त छन्, जहाँ हामी मनले चाहेको बेलामा आफ्ना रचनाहरू पोष्ट गर्न सक्छौं, ब्लग बनाएर राख्न सक्छौं । तर ती मञ्चहरूमा कहाँ हामीले सोचेका पाठकहरू पुग्छन् र !” style=”default” align=”right” color=”#dd3333″][/bs-quote]

करिब एक दशकदेखि भने हामी सबैले गज्जबका मञ्चहरू भेट्टाएका छौं । फेसबुक, ट्वीटर तथा ब्लग साइटहरू प्रशस्त छन्, जहाँ हामी मनले चाहेको बेलामा आफ्ना रचनाहरू पोष्ट गर्न सक्छौं, ब्लग बनाएर राख्न सक्छौं । तर ती मञ्चहरूमा कहाँ हामीले सोचेका पाठकहरू पुग्छन् र ! फेसबुकमा त आफूले बनाएका साथीहरू मात्र न हुन्छन् ! जहाँ उनीहरूले हाम्रा रचनाहरूलाई लाइकसिवाय अरू खासै बलियो दृष्टिकोण दिनुहुन्न । मन दुखाउने हो कि भन्ने मानेर कुनै नकारात्मक टिप्पणीहरू दिनुहुन्न । सल्लाह/सुझाव त परको कुरा भयो, जे लेखे पनि ‘आहा !’, ‘राम्रो !’ भन्दा माथि कहिल्यै नगएको देखेकै/भोगेकै छौं हामी सबैले । अनि ब्लग पछ्याउने त नगन्य नै छन् । तर पनि त्यतिमै चित्त बुझाउनु परेको छ हामीले । यो दुखलाग्दो स्थिति हो ।

साहित्यका विभिन्न विधामा कलम चलाएर, कृतिहरू प्रकाशन गरेर एउटा तहमा पाठकको मन-मस्तिष्कमा नाम लेखाइसकेका लेखकहरूले गर्ने नयाँ सिर्जनाहरूको समेत उस्तै हविगत हुन्छ कि त ?

ख्याति कमाइसकेका लेखकहरूले कहिले हामीमाझ नयाँ रचना ल्याउलान् भनेर पर्खने पाठकहरूको सङ्ख्या धेरै नै रहेको छ । तर उनीहरू पनि पाठकसम्म पुग्न हतारो गर्नेकै लहरमा त उभिइरहेका छैनन् ? फेसबुकजस्ता सामाजिक सञ्जालमा आउने रचनाहरूको भेलमा परेर आफ्ना अमूल्य रचनाहरूलाई खेर फालिरहेका त छैनन् ?

भेलमा परेर उछालिएका रचनाहरू त्यसै नामेट भएर जान्छन् । त्यसको ज्वलन्त उदाहरण बोकेर फेसबुक सबैको हातहातमा बसेको छ । लाइक थिच्नै नभ्याउने गरी ओइरिरहेका हुन्छन् असङ्ख्य लेखकहरूका रचनाहरू । हेर्न नभ्याइने समयमा पढ्न भ्याउने त सयमा एक मात्र हुन्छ कि ! त्यसैले त फेसबुकमा बाढीसरी आउने रचनाहरू समयको छालसँगै पाठकविहीन भएर कतै बेवारिस भएर थन्किएका छन् ।

एउटा कुरा के प्रस्ट छ भने, पाठकहरू सबैले सबै लेखकहरूलाई सामाजिक सञ्जालमा एकैपटक पछ्याउन सक्दैनन्। आजको जिन्दगीको व्यस्त समयबाट थोरै भए पनि समय निकालेर बरू पाठकले आफूलाई मनपर्ने पुस्तक नै पढ्न रूचाउँछन् । कम्तीमा समय मिलेमा, पछि पढ्ने भनेर किनेर राख्छन् । पुस्तकबाट पाइने पठनको मज्जा अरू माध्यममा पढेर कमै पाइन्छ भन्ने सोच धेरैको रहेको छ । साहित्यिक रचनाहरूले पार्ने प्रभाव त्यतिबेला प्रखर रूपमा देखापर्छ, जब पाठकले त्यो कुरामा अपनत्व देख्दछ।

लेखकहरूले सिर्जना गरेका नयाँ रचनाहरू सहजै पुस्तकाकारमा पाउन सरल छैन । पुस्तकको स्वरूप पाए पनि प्रकाशक अनि वितरकहरू व्यवसायिक हुन नसक्दा कैयौं उदीयमान लेखकहरूका नयाँ कृति ढुसी खपेर थन्किनु परेका उदाहरण प्रशस्त छन् । पुस्तकको रूपमा आउनु पहिले नयाँ रचनाहरूले स्तरीय माध्यम र स्तरीय पाठक, स्रोता पाए भने न त्यो व्यापक हुने हो । अनि व्यापकता पाएसँगै पुस्तकहरू संग्रहित गरेर राख्न लायक हुने हुन् । त्यतातिर ध्यान पुर्याउने हो भने लेखकहरूले आफ्ना रचनाहरू सस्तो लोकप्रियता पाएको माध्यममा सम्प्रेषण नगरेकै वेश हुन्छ । यसले गम्भीर पाठकको ध्यान खिच्न कदापि सक्दैन । त्यसैगरी गम्भीर लेखकहरूको ध्यान भङ्ग हुन सक्ने सम्भावना पनि त्यति नै बढी रहन्छ ।

[bs-quote quote=”लेखकहरूले अहिलेको मात्र सोचेर आफ्ना रचनाहरूलाई सार्वजनिक गर्नु हुँदैन । भलै धेरैले लेखन भनेको स्वान्तसुखाय जप्दै गर्ने काम ठानेका होलान् ! तर के तिनमा प्राण हुँदैन ? अनि प्राण भरिएको रचनाले अस्तित्व खोज गर्छ भन्ने लाग्दैन ?” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

लेखकहरूले अहिलेको मात्र सोचेर आफ्ना रचनाहरूलाई सार्वजनिक गर्नु हुँदैन । भलै धेरैले लेखन भनेको स्वान्तसुखाय जप्दै गर्ने काम ठानेका होलान् ! तर के तिनमा प्राण हुँदैन ? अनि प्राण भरिएको रचनाले अस्तित्व खोज गर्छ भन्ने लाग्दैन ?

हामीले आफूले लेखेका कुनै पनि साहित्यिक रचनाहरूले समाजमा पार्ने दीर्घकालीन असरलाई समेत मध्यनजर गर्नुपर्दछ । म सम्झन्छु, मैले यो भाइरस र यसले निम्त्याएको समयलाई आफूले बुझेसम्म र अनुभूति गरेसम्मको उत्साहले लेख्न बसेको समय । एउटा कथा रचिसकेपछि एउटा कविता रचना गर्ने सोच्दै मस्तिष्कमा अनेकन बिम्ब खेलाइरहेथेँ । सारा बिम्बहरू फिका लागिरहेथे । अन्तिममा सिर्फ शीर्षक, बीचमा खाली ठाउँ र अन्तमा दुइटा पूर्णविरामहरू दिएर कविता टुङ्ग्याएको थिएँ । लागेको थियो, ‘भोक र भाइरस’ कविता पूर्ण भयो । मैले शेयर गरेँ फेसबुकमा तर ‘भोक र भाइरस’लाई लहडमै लाइक मात्र दबाए । कुनै प्रतिक्रिया आएन । एक शब्द पनि नबोलेर कत्रा-कत्रा आन्दोलन/सत्याग्रहमा बसेर जित हासिल भएका थुप्रै उदाहरणहरू सम्झदै मैले मेरो कविताले पनि यो भाइरसले निम्त्याएको रिक्तता अनि त्यसकै फलस्वरूप भोकले दिएको खाली पेट अनि फुर्सदले दिएको रित्तो मस्तिष्क दर्शाउन रचेको थिएँ । तर कविता अनाहकमै तुहियो । त्यस कविताले कुनै स्तरीय प्रकाशन माध्यममा स्थान पाएको भए सायद मेरो लेखक मन पुलकित हुन सक्थ्यो ।

[bs-quote quote=”फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा हाम्रा रचनाहरू हतारमा नछरौं । रचनाहरूले साहित्यिक मूल्य कमाऊन् भन्ने उत्प्रेरणा जगाउनको निम्ति सही विजारोपण हुनु जरूरी हुन्छ । मलाई लाग्छ, कुनै पनि रचना कालजयी बन्न सक्ने सम्भावना र संग्रहित गरेर राख्न योग्य भएको जाँच्ने पहिलो कडी भनेकै यसले सार्वजनिकीकरण हुँदा पाउने उचित माध्यम नै हो ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote]

यसर्थ मेरो आग्रह के हो भने हामी हाम्रा रचनाहरूलाई उचित मूल्य दिन आफैँ सचेत हुनु जरूरी छ । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा हाम्रा रचनाहरू हतारमा नछरौं । रचनाहरूले साहित्यिक मूल्य कमाऊन् भन्ने उत्प्रेरणा जगाउनको निम्ति सही विजारोपण हुनु जरूरी हुन्छ । मलाई लाग्छ, कुनै पनि रचना कालजयी बन्न सक्ने सम्भावना र संग्रहित गरेर राख्न योग्य भएको जाँच्ने पहिलो कडी भनेकै यसले सार्वजनिकीकरण हुँदा पाउने उचित माध्यम नै हो । उच्च साहित्यिक चेतले परिपूर्ण सम्पादकमण्डलको मन्थनले गम्भीर लेखकलाई गहन पाठक वर्गमाझ पुग्ने ढोका सहजरूपमा खोलिदिन्छ । लेखकहरूका रचनाले उचित स्थान पाउँछ । त्यस कार्यले अन्तत: साहित्यको भकारी भर्ने काममा महत्त्वपूर्ण योगदान दिनेछ भन्नेमा पूर्णतः विश्वस्त हुने प्रशस्त ठाउँ रहेको छ ।

नखिपोट, ललितपुर-१४