विदेशमा जन्मिएका वा सानैमा बिदेसिएका बालबच्चाहरूले आफ्नो भाषा, संस्कार, संस्कृति बिर्सेलान् वा नजान्लान् भन्ने भय हर आमा, बाबु तथा अभिभावकलाई हुन्छ नै र हुनु पनि पर्छ । कसले चाहन्छ र ? आफ्नो भावी सन्ततिले आफ्नो सबै कुरा बिर्सियोस् भनेर ? तर पनि विदेश भित्रिए पछिका अनेकौँ समस्या, परिबन्द र समयाभावले गर्दा चाहेर पनि कति कुरा भने जस्तो गर्न सकिन्न र हुन सक्दैन तर पनि विदेश पसेपछि यी सबै समस्या र परिबन्दको बाबजुद पनि हर अभिभावकले आफ्नो गाँस, बासको चाँजो मिल्नासाथ सबैभन्दा पहिला त आफ्नै बालबच्चाहरूको भविष्यको लागी सोच्ने गर्दछन् र उनीहरूकै निम्ति लागिपर्छन् ।

हुन त पहिलो पाठशाला घर र पहिलो गुरु, गुरुआमा बुवा, आमा नै हुन् तथापि उक्त ठाउँमा आफ्ना शिशुहरूलाई पढाइको लागि नै चिन्तित बन्छन्। आफ्नो आर्थिक स्थिति, आम्दानी र आफ्ना शिशुको उमेरअनुसार अभिभावक(आमा,बुवा)ले उनीहरूलाई पाठशाला (स्कुल ) वा डे केयर (शिशुहरूलाई स्याहार सुसार गर्ने भनी खोलिएको पाठशाला जस्तै)मा लगाई दिन्छन् ।

अब यहाँ प्रश्न उठ्छ । कस्ता वातावरण र उमेरका शिशुहरूले नेपाली बोल्न बिर्सन्छन् ? र अङ्ग्रेजी मात्र बोल्न जान्दछन् ? । मैले देखेको र अनुभव गरेअनुसार आफ्नै पारिवारिक वातावरणको अनुभवले पनि। अङ्ग्रेजी मात्र बोल्न जान्नु, नेपाली बोल्दै नबोल्नु, नबुझ्नुमा पनि केही कारणहरू छन् ।

पहिलो कारण ती विदेश पसेका बालबच्चाहरूको अवस्था -तिनीहरू कति उमेरका हुँदा विदेश आए ? दोस्रो कारण उनीहरूको नेपालमा हुँदाको घरको  वातावरण कुन प्रकारको थियो? उनीहरूका आमाबुवा अङ्ग्रेजी फरर बोल्न सक्ने छन् कि छैनन् ? तेस्रो कारण -ती शिशुहरू विदेश पसेरै जन्मेका हुन् कि या  स्वदेशमै जन्मेर विदेश ल्याइएका हुन् ? वा कुरा बुझ्ने, बोल्ने भएपछि ल्याएका हुन् ? अन्य धेरै कारणहरू हुन्छन् ती मध्ये विदेशमा बस्ने बालबच्चाका आमा बाबु काममा कति व्यस्त छन् ? आफ्ना बालबच्चाहरूलाई कतिको समय दिन सक्छन् ? अनि विदेशमा बस्ने बालबच्चाहरूले नेपाली भाषा, सिक्नु र बोल्न जान्नुको मुख्य कारण जुन घरमा ती बालबच्चाहरूका बुढा, बुढी हजुरबा, हजुरआमा हुन्छन् नि प्राय:त्यस्ता घरका शिशुहरूले नेपाली भाषा बोल्न जान्दछन्।

विदेशमा रहेका नानीबाबुहरूले मुख्य त नेपाली भाषा कुन समय र अवस्थादेखि बोल्न गाह्रो मान्न थाल्दछन् भने जब उनीहरूलाई उनीहरूको उमेर अनुसार डे केयर वा स्कुल पठाउन थालिन्छ त्यो समयदेखि उनीहरूले नेपाली भाषा कम बोल्न थाल्दछन् किन भने अमेरिका होस् वा कुनै अन्य मुलुक ती देशहरूमा मुख्य भाषा नै इङ्लिस हुन्छ । ती ठाउँहरूमा अङ्ग्रेजी भाषाकै ज्यादा प्रयोग हुने हुनाले अन्य भाषाहरू त प्रतिबन्ध झैँ हुन्छन् । जुनसुकै देशबाट आएका नागरिक हुन् आफ्नो भाषा घरमा बाहेक अन्य स्थानमा बोलेर काम चल्दैन । त्यसैले पनि अङ्ग्रेजी भाषामा नै आफ्नो जीविका चलाउन बाध्य बन्नु पर्दछ । जब घरका बुवा आमाकै यस्तो अवस्था हुन्छ भने परिस्थितिवश केटाकेटीहरूले पनि त्यस्तै बाध्यता झेल्नु पर्ने हुन्छ ।

तर अर्कोतिर हेर्ने हो भने कतिपय आमाबुवाले बाहिर जुनसुकै भाषा बोल्नु परे पनि घरमा आफ्ना छोराछोरीका अगाडि आफ्नै भाषा बोल्ने बानी गरे वा उनीहरूलाई आफ्नै भाषाबाट बोल्न लगाएमा त्यस्ता किसिमका माहौलमा भने विदेशमा बसेका केटाकेटीहरूले आफ्नो भाषा बिर्सन नसक्लान् । तर यहाँ पनि धेरै कुराहरूले असर पारेको हुन्छ। जस्तै-श्रीमान,श्रीमती द्वयले काम गर्नु पर्ने बाध्यता हुन्छ । विदेशमा एक जनाको कामले जीवन चलाउन कठिन पर्छ । सबै चिज किन्नु पर्ने हुन्छ । हर कुराको ट्याक्स तिर्नु पर्छ । घरको(अपार्टमेन्ट)भाडा, गाडी किस्तामा, स्वास्थ्य बिमा इत्यादि । हुन त यस्तै चलन अन्य देशहरूमा पनि हुन्छन् तर यहाँ भने कुनै कुरामा अलिकति पनि ढिलाइ भएमा निक्कै नै क्षतिपूर्ति कडाइकासाथ बुझाउनु पर्दछ। यहाँ कसैको कसैलाई भनसुन लाग्ने वाला छैन। सधैँ हतारको जिन्दगी हुन्छ त्यसैले पनि आफ्ना बालबच्चालाई भनेजस्तो समय दिन सक्दैनन् आमाबाबुले ।

समय प्रशस्त नहुनुको कारणले पनि आमाबाबुले आफ्ना बालबच्चालाई समय दिएर कुनै कुरा सिकाउने मौका पाउँदैनन् ।

***

यस्तै एउटा घटना म झलझली सम्झिन्छु । आजभन्दा छ/सात वर्षअघि हामी एक मित्रको घरमा भेटघाटको लागि गएका थियौँ । उक्त मित्रकी छोरी पनि त्यही घरमा बस्थिन्। उसकी सानी छोरी रहिछिन् यस्तै पाँच छ वर्षकी। ती नानी आफू पनि नर्स भएको कारणले हस्पिटलको ड्युटीमा जाँदा जाँदै नानीलाई आफूसँगै स्कुलसम्म छाड्ने गरेकी रहिछन् । हामी पुग्दा उनी आफू पनि ड्युटीमा जान र नानीलाई पनि तयार गर्ने हतारोमा रहिछिन् । नानी सानै भएकीले अलिक अटेरी गरेर यताउति भागी रहेकी थिइन् । उनलाई निक्कै नानीले दुःख दिई रहेकी थिइन् । हतार भएर छोरीलाई ती नानीले अङ्ग्रेजीबाट बोलाउँदै तयार गर्दै थिइन् । खाली अङ्ग्रेजीबाट बोलाएको र बोलेको सुनेर म पनि आफ्नै भाषालाई प्राथमिकता दिने मान्छे, बिचैमा प्वाक्क बोलिहालेँ । -“नानी किन तिमीले छोरीसँग खाली इङ्लिसबाट कुरा गरेको ?आफ्नै नेपाली भाषा सिकाउनु पर्दैन ? इङ्लिस त स्कुलमै सिकी हाल्छन् नि !

मेरो प्रश्नले उसले हैरान भए झैँ गरेर भनी, “आन्टी के गर्नु ? यो त बाध्यता हो हाम्रो पनि । घरको काम पनि भियाउनु पर्छ। ड्युटी पनि जानै पर्‍यो। नानीलाई स्कुल पठाउन तयार गर्नै पर्‍यो। हतार हुन्छ आफूलाई । नानीलाई नेपालीबाट भन्दा नबुझेर दोहोराइरहनु पर्छ। समय नभएपछि हतारमा अङ्ग्रेजी बोल्न, बोलाउन कर लागेको हो। नेपालीबाट भनौँ भने हतारमा कुरै बुझ्दैनन् त्यसैले पनि अङ्ग्रेजी बोल्न कर लाग्छ । अब नेपालीमा नानीहरूसँग मज्जाले दिनभर बोल्ने भनेको त हामी सबैको छुट्टी हुँदा मात्र हो।”

हुन पनि मैले त्यो समय तिनीहरूको जुन हतार देखेँ त्यही मनन गरेँ र सोचेँ साँच्चै बाध्यता पनि रहेछ।

जस्तै -हामीले कान्छी छोरीकी नातिनी १ वर्ष भएपछि नेपाल लग्यौँ। हुन त नानी प्रस्टै बोल्न सक्ने त थिइन तर पनि हाम्रो कुरा बुझ्थी। हामीले लगभग १ वर्ष हामीसँग नेपालमा राख्यौँ । उसको बोली त ढिलै फुट्यो तर पनि नेपाली भाषा पुरै बुझ्थी। पछि अस्ट्रेलिया पुर्यायौं। नानीलाई उता डे केयरमा राखे छोरी,ज्वाइँले । त्यसपश्चात दिनभर डे केयरमा अङ्ग्रेजी नै बोल्ने, बोलाउने भएकाले नानीले अङ्ग्रेजी भाषा नै बोल्न सुरु गरिछ । अहिले पाँच वर्ष पुरा पुगी उसले नेपाली भाषा बोल्न बिर्सी तर आमा बाउले नेपालीबाट बोलेको भने बुझ्छे। ऊ अङ्ग्रेजीबाट मात्र कुरा गर्छे । यसो हुनु पनि समय र परिस्थितिको खेल हो । यसर्थ पनि विदेशमा बस्ने बालबच्चाहरूको लागि उनीहरूको हजुरबा,आमा उनीहरूको साथ हुन जरुरी छ । तर सबैको भाग्यमा यस्तो कहाँ जुर्छ ? यदि हामी पनि हाम्री नातिनी अहिंशाको साथमा भएको भए पक्कै पनि उसले नेपाली भाषा फरर बोल्थी ।

अँ  कतिपय हामीले कुरै नबुझी विदेशमा बस्नेहरूले आफ्ना सन्तानलाई आफ्ना भाषा, संस्कार, रीतिरिवाज बिर्साए भन्ने गर्छन् तर त्यसो होइन। विदेशमा बस्ने नेपालीहरूले आफ्ना बालबच्चाहरूलाई आफ्ना चाडपर्व,कला संस्कृतिबारे परिचित गराउन हरेक चाड पर्वहरू धूमधामले मनाउने गर्दछन्। आफ्ना बालबच्चाहरूलाई हरेक पर्वहरूमा एकर्काका घरमा लैजाने, कार्यक्रमहरू देखाउने गर्दछन्। प्राय:सबै केटाकेटीहरूलाई नेपाली चाड पर्वबारे जानकारी हुन्छ नै। त्यही हो देश गुनाको भेष, कपाल गुनाको केश भने झैँ उनीहरूको बोलीचाली र लवजमा अङ्ग्रेजी टोन नै आउँछ त्यो उनीहरूको परिवेश र परिस्थितिको नियति हो।

विदेशमा बसेता पनि हरेक नेपालीहरूलाई आफ्नो देश, भाषा, संस्कृतिबारे चिन्ता र चाख भने हुन्छ त्यसैले पनि नेपालीहरू मिलेर विभिन्न संघ, संस्था खोल्ने गर्दछन्  जसमा नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्य हुन्छ। ती संघ, संस्थाहरूमा आफ्ना अभिभावकहरू सहभागी हुँदा आफ्ना बालबच्चाहरूलाई पनि सहभागी गराउनाले उनीहरूलाई पनि निक्कै नेपाली कला, संस्कृतिबारे ज्ञात हुन्छ।

विदेशका शिशुहरूले अङ्ग्रेजी बोल्न सक्ने हुनु र बानी हुनु भनेको मुख्य कारण विशेष टिभीका कार्टुन सोहरू नै हुँदा रहेछन्। यो मेरो आफ्नै नातिनीहरूको अनुभव हो। यहाँ अमेरिकामा मेरा छोरीहरूका नानीहरू छन् जो स्कुल, डे केयर नगई नै अङ्ग्रेजी प्रस्टै बुझ्ने र बोल्ने भई सकेका छन्। कार्टुन हेरेरै कतिपय कुराहरू सिक्छन् जुन व्यवहारिक पनि हुन्छन्। यतातिर बनाइएका कार्टुनहरूमा घर परिवारको दैनिकीदेखि लिएर  नानीबाबुहरूले उठेदेखि नसुतेसम्म गर्नु पर्ने दैनिकी, खानपान, सिक्नु पर्ने सारा कुराहरू कार्टुनमा नै देखाइएका हुन्छन्। ती कार्टुन हेरेर नै सबै कुराहरू सिक्न सक्छन् यताका  बालबच्चाहरूले ।

आफ्ना नानी बाबुहरूले नेपाली भाषा सिकुन्, बोल्न र पढ्न, लेख्न जानुन् भनेर पहिलादेखि नै नेपाली कम्युनिटीहरूले नेपाली पाठशालाहरू खोलेर आ-आफूले नै शनिवार, आइतबारको दिन छुट्टीको मौका गरेर आ-आफ्ना बालबच्चाहरूलाई पढ्न पठाउने वा आफूहरूले पनि एक दुई घण्टाको समय पाठशालालाई दिएर बालबच्चाहरूलाई नेपाली पढाउने, बोल्न र लेख्न सिकाउने गरेका छन्।

कतिपय स्वदेशमा बस्नु हुनेहरू भ्रममा हुनुहुन्छ कि “विदेश पसेर विदेशमा बस्ने नेपालीहरूले विदेशकै ढाँचामा छोरा,छोरीलाई ढाले। नेपाली बोल्न कर गरेनन्। आफ्ना सन्तानले  अङ्ग्रेजी बोल्दा नै दङ्ग परे ” । तर त्यो मात्र यहाँहरूको भ्रम हो। चाहेर पनि कसैले त्यो प्रक्रियालाई रोक्न सक्दैनन् किनकि उनीहरूको वातावरण,परिवेश नै त्यस्तै हुन्छ जहाँ इङ्ग्लिसकै प्रभाव हुन्छ र बुझ्न, बोल्न करै लाग्छ।

केही समय यतादेखि म पनि भर्जिनियाको एक नेपाली स्कुल नव दुर्गा स्कुलमा जुम मार्फत अनलाइन कक्षामा नेपाली बोल्न, पढ्न र लेख्न सिकाई रहेकी छु। जसमा नानी बाबुहरू निक्कै छन्। छ /सात वर्षदेखि बाह्र, चौध वर्षसम्मका बाल बालिकाहरू छन्। उनीहरू नेपाली पढ्न, बोल्न ज्यादै उत्साहित देखिन्छन्। हरेक आइतबार बिहान दश बजे एक दिन जुम मार्फत कक्षा सञ्चालन हुन्छ। ती नानी बाबुहरूका आमा/बुवाहरू पनि आ -आफ्ना नानी बाबुहरूलाई नेपाली पढ्न,बोल्न सिकाउनलाई उत्साहित देखिनु हुन्छ र आफूहरू  पनि आफ्ना नानी/बाबुहरूसँगै कक्षा सञ्चालन भएको समयमा बसेर गाइड गर्नु हुन्छ। अमेरिकामा हरेक राज्यमा नै नेपाली कम्युनिटीहरूले नेपाली कक्षा सञ्चालन गरेका छन्।

ती नानी, बाबुहरू नेपाली पढ्न इच्छुक छन् र प्रयास पनि गर्छन् तर उनीहरूको लवज भने पक्का अमेरिकनहरूकै जस्तो हुन्छ। जसरी अमेरिकनहरूले नेपाली बोल्दा प्रोनाउन्स गर्छन् उनीहरूको पनि त्यस्तै नै हुन्छ। तर पनि उनीहरू प्रयासरत छन्। आफ्नो भाषा, बोल्न, पढ्न र सिक्न। उनीहरूका अभिभावकहरू पनि प्रयासरत छन् आफ्ना सन्तानहरूलाई नेपाली भाषा,पढ्न,बोल्न र लेख्न सक्ने बनाउन। तर त्यही हो जस्तो ठाउँ, परिवेश उस्तै बानी, व्यवहार त हुन्छ नै तर जे जस्तो भए पनि घरमा आफ्ना अभिभावकहरूले नेपाली भाषाबाट नै बोल्ने बानी गराएमा उनीहरूले केही मात्रामा सिक्छन् नै र विशेष घरमा नेपालबाट आउनु भएका हजुरबा, हजुरआमा हुनु भएमा नेपाली बोल्नलाई प्रवासमा भएका बालबच्चाहरूलाई झनै ठुलो  आधार बन्न सक्छ। अन्त्यमा आफ्नो बालबच्चालाई आफ्नो भाषा, कला, संस्कृति, संस्कार सिकाउने मुख्य कर्तव्य त आफ्नै बाबुआमाको नै हुन्छ। यो पनि मुख्य जिम्मेवारी हो अभिभावकहरूको।