राजा होस् वा रङ्क हरेकको आ-आफ्नै जीवन कथा हुन्छ। त्यस अर्थमा हरेक व्यक्तिको जीवन आफैँमा एउटा रोचक ग्रन्थ हो । हरेक कथाहरू आफैँमा आकर्षक र महत्वपूर्ण हुन्छन्। जन्मदेखि मृत्युसम्म व्यक्तिले भोग्ने अनुभव अनि यसबीचमा जोडिने अनेक आयामका सम्बन्धहरूको उतारचढावभित्र अनेक पात्र र कथा लुकेका हुन्छन् ।

भलै आत्मकथा लेख्ने सौभाग्य सबैले नपाउलान्, त्यो अवसर पाए पनि लेखूँ कि नलेखूँ भन्ने प्रश्न मनमा उब्जिन् सक्छ। म पनि त्यस्तै दोधारमा पर्दा पर्दै “मैले नदेखेको सपना” नामक आत्मकथा लेख्न पुगेँ र प्रकाशित पनि भयो। मेरो अनुभव के छ त? यो छोटो लेखमार्फत तपाईंहरू माझ प्रस्तुत गर्न चाहेँ।

दुई शब्द “आत्म” अर्थात् “आफै” र “कथा” मिलेर आत्मकथा बनेको छ। अर्को शब्दमा भन्नुपर्दा आफ्नो कथा आफैले लेख्नुलाई ‘आत्मकथा” भनिन्छ। यो व्यक्तिको आत्म चित्रण र आत्म समीक्षा समेटिएको दस्ताबेज हो। जर्मन फिलोसोफर जर्ज मिच ले भने जस्तै यो एउटा “विशेष प्रकारको साहित्य मात्र होइन ज्ञानको साधन पनि हो”।

केही बर्षअघि देखि “तँ आत्मकथा लेख न” भनेर मैले माग्दै नमागेको सल्लाह मेरा केही साथीहरू र आफन्तहरूले बेला बेलामा दिई रहेका थिए। मेरो भने दश मनमा एक मन पनि त्यस्तो विचार आएको थिएन। भैदियो के भने २-४ जनाले बेला बेलामा यो विषय कोट्याउँदा कोट्याउँदै लेख्नु पर्छ कि क्याहो भन्ने बीउ दिमागमा छरिइसकेछ।

छोराछोरीको हकमा उनीहरूलाई एउटै कथा बारम्बार सुनाइसकेको छु। खासगरी बाल्यकालको मेरो सङ्घर्ष सुनेर अलि मेहनत गर्छ्न कि भन्ठान्छु। अहिले त मेरो कहानी सुन्नु अगावै, ‘हो हो हामीलाई थाह छ, तपाईंले स्कुल जाँदा पनि उकालो र स्कुलबाट फर्किंदा पनि उकालो चढ्नु परेको थियो” भनेर मेरो जवान छोरो उल्टै मलाई जिस्काउन थालेको छ। यद्यपि उनीहरू अझ विस्तृत जानकारीको भोको छन्।

अमेरिकन वा युरोपियनलाई कुनै पनि नेपालीको जीवनकथा सुनाए अचम्म नमान्ने कुरै भएन। उदाहरणको लागि म सानो छँदा फाली भएको काठको हलो जोत्थें भन्दा अचम्म मान्छन् किनकि १५० वर्षअघि नै उनीहरूले त्यो उपकरणलाई बिदा गरिसकेका छन्।

अरूले प्रोत्शाहन गरे भन्दैमा पौडी खेल्न नजान्ने मान्छेले महासागरमा हाम्फाल्ने कुरा पनि आएन। किन लेख्ने मनलाई सोधेँ। म सेलेब्रिटी पनि हैन। मेरो समकालीन दौँतरीमाझ हेर्दा खासै केही लछारपाटो लगाए जस्तो पनि लाग्दैन। ५८ बर्षको उमेरमा लेख्न अलि चाँडो भएन र? धेरै जसो मानिसहरूले अवकाश पाए पछि लेख्छन्, मेरो त अवकाश पनि भएको छैन। जागिरको र जिन्दगीको व्यस्तता ज्युँको त्युँ छ। मलाई लेख्न कहाँ आँउछ र ?

अनि सोचेँ, समय निकालेर र मेहनत गरेर लेखेँ भने, एउटा दस्ताबेज बन्छ। म मरेपछि पनि ति शब्दहरू मर्दैनन्। सन्तान दरसन्तानले कथमकदाचित मेरो बारेमा जान्न चाहे भने त्यो अवसर पाउनेछन्। मनमा यस्तै कुराहरू खेलिरहे। बिस्तारै मेरो दिमागमा छरिएको त्यो बीउले मलजल पाउन थालिसकेछ। अब पछि हट्ने सम्भावना कम देखिन थाल्यो।

लेख्न बसेँ। जीवनमा देखेका वा भोगेका कुराहरू शब्दमा उतार्न त गाह्रो हुने रहेछ। उसो त मेरो नितान्त व्यक्तिगत पारिवारिक, सामाजिक, प्रोफेसनल, आर्थिक, व्यापारिक र अन्य अनुभवहरू क्रमैबद्ध रूपमा सम्झेर लेख्नु पनि एउटा चुनौती नै थियो मेरा लागि किनकि मैले डायरी कहिल्यै लेखिन। सबै कुरा सम्झनु पर्ने भयो। यो क्रममा के थाहा पाएँ भने कतिपय घटना वा परिघटनाहरू मानसपटलबाट सदाका लागि मेटिइसकेका रहेछन्। त्यस्तै दुई जना बीचको कहानी छ भने, दुवैले सही सलामत सम्झेको हुन सक्छ,दुवै जनाले बिर्सेको हुन सक्छ, एकजनाले सम्झेको अनि अर्कोले बिर्सेको हुन सक्छ, एक जनाले सम्झेको सही र अर्कोले सम्झेको गलत हुन सक्छ अथवा दुवै जनाले सम्झेको गलत हुन सक्छ। लेखकको काम सकेसम्म थप श्रोतको सहायताले जाँच पडताल गर्नु पर्ने हुनेरहेछ, सही कुरा लेख्नको लागि।

पाठकको चाहनालाई ध्यानमा राखी लामो कथामध्ये के समावेश गर्ने के नगर्ने भन्ने समस्या पर्दो रहेछ। अनि, मेरा पाठक को हुन् त ? मेरो घर परिवार ? मेरा गाउँले छिमेकीहरू?, मेरा साथीहरू ? किताब किनेर पढ्ने बौद्धिक जमात ? वा विद्यार्थीहरू? आदि इत्यादि। यी सबै समुदायको चाहनाले ध्यानमा राखेर कसरी लेख्ने? कुन कुरा लेख्दा पाठकलाई बौद्धिक खुराक मिल्दछ र कुन कुरा बकम्फुसे गफ लाग्न सक्छ? सारांशमा भन्नुपर्दा सबै किसिमका पाठकहरूलाई समेटेर र आफ्नो कथालाई पनि नमारी स्वविवेकले लेख्नुपर्ने रहेछ।

आत्मकथा साहित्यिक विधा पनि हो। 0साहित्यिक भाषामा लेख्न आफूलाई भुटीभाङ आउँदैन। सोचेँ मैले जे जानेँ त्यही लेख्छु, साधारण बोलीचालीको भाषामा। जति लेख्न जाने त्यति लेख्न हिम्मत गरेर लेख्न सकेकोमा मेरो हाई स्कुलमा नेपाली पढाउने ‘पण्डित सर” लाई सम्झेर मुरीमुरी धन्यवाद दिएँ। त्यसो त् “घोस्ट राइटिङ” को व्यवस्था गर्न पनि सकिन्थ्यो तर आफ्नो कथा आफैले लेखे जस्तो नहुन सक्छ। कसैकसैले “घोस्ट राइटिङ”लाई नैतिकतासँग पनि जोड्ने गरिन्छ किनकि अरूले गरेको कामको क्रेडिट आफूले लिन ठिक हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्छ।

दिनदिनै अनुशासन कायम गर्दै हरेक दिन केही न केही लेखेँ। सुरुमा निकै जोश तथा जाँगरका थियो। आधाआधी लेखेपछि हतोत्साहित भएँ। बेकारमा यस्तो दुख किन गर्ने बरु बीचैमा हापिदिन्छु भन्ने सोच आयो। लेखेर के नै लछारपाटो लाग्ने हो र? बरु लेख्ने समयमा अरू केही कुरा गरेर रमाउँछु भन्ने लाग्यो। १-२ दिन लेख्न छाडिदिएँ तर सकिनँ । फेरि लेख्न सुरु गरेँ। जब अन्तिमअन्तिम पुग्न आँटेको थियो, उत्साहित भएर बेलुका सुत्नुअघि थप २ घण्टा लेख्न थालेँ। यसरी छ महिनामा एउटा किताब बन्दो रहेछ।

अब विज्ञहरूलाई शुद्धाशुद्धि हेरिदिन अनुरोध गरेँ, साथीभाइहरूलाई पढेर प्रतिक्रिया दिन भनेँ। सात जनाको टिप्पणी र सुझावहरूलाई दोहोर्याई तेहर्याई सम्पादन गरेँ। जति सुकै सम्पादन गरे पनि केही त्रुटिहरू हटाउन नसकिने रहेछ। धेरै चोटी पढेपछि आफ्नो आँखाले गल्तीहरू देख्न छोड्दा रहेछन्। अन्तिम अन्तिम तिर त त्यो पाण्डुलिपि हेर्न पनि मन नलाग्ने हुँदो रहेछ। केही समय पछि किताब प्रकाशित भयो। जब किताब प्रकाशित भएर हात लाग्यो, हर्षको सीमा रहेन।

आत्मकथा प्रकाशित भए पछि २-४ कुरा नलेखेको भए पनि हुने रहेछ र केही कुराहरू थपेको भए पनि हुने रहेछ जस्तो लाग्यो। आफैले पढ्दा कतिपय ठाउँहरूमा जे सोचेँ दुरुस्तै त्यस्तै लेख्न सकिनछु। छोटो अनुभवले के देखायो भने मैले लेखेको भन्दा पाठकले पढ्दा अर्कै अर्थ पनि लगाउने रहेछन्। तैपनि ती कुराहरू पछिल्ला संस्करणहरूमा परिमार्जित होलान् भन्ठान्छु।

मेरो कथा पढेर युवाहरू प्रेरित हुन सकून भन्ने मेरो चाहना छ। आत्मकथा लेख्नु आफ्नो विरासत जोगाउने तरिका पनि हुन सक्नेरहेछ। भविष्यका पिँढीहरूले चाहेमा मेरो अनुभवबाट लाभान्वित हुन सक्छन्। खासगरी मेरो परिवार र साथीहरूले मेरो बारेमा जान्ने अवसर हुने रहेछ। किताब पढेर, “सानोमा दुख पाएको त थाहा थियो तर मेरो भाइले यति प्रगति गरेको भने थाहा थिएन” भनेर मेरो आफ्नै दिदीले भन्नुभयो।

आत्मकथा लेख्दा आफूले आफूलाई चिन्ने मौका पनि मिल्ने रहेछ। केही पुराना कुराहरूले सताइरहेको भए, पहिलो चोटि खुलेर लेख्दा हल्का महसुस हुने रहेछ। अनि आफ्नै उपलब्धिहरूलाई, चाहे ती साना हुन् वा ठुला, सङ्कलन गरेर हेर्दा मनमनै गर्व लागेर आउँछ। ओहो कहाँबाट कहाँ पुगिएछ जस्तो लाग्दो रहेछ। त्यसैले म भन्छु हामी सबैले सकेसम्म आत्मकथा लेखौँ।

(लेखक ड्युक विश्वविद्यालय, अमेरिकाका एड्जन्क्ट प्रोफेसर हुन् ।