
आउनुस् एकछिन केही तिता बात गरौँ। कति मिठो मात्रै सुन्नु ? मधुमेहको बिगबिगी छ। मिठा कुरामा फसाउने साहित्यकारसँग सावधान रहनुहोला।
साहित्यकारहरु सफेद झुट बोल्छन्, लेख्छन र बेच्छन्।
उनीहरु मान्छेमा त्याग र समर्पण भएको लेख्छन्।
“आमा”लाई भगवान बनाउन खोज्छन्।
विशेषत मैले पनि तीन सन्तानलाई नौ नौ महिनासम्म कोखमा राखेर, बमन र पेटको जलन पचाएर, पिडायुक्त प्रसववेदना सहेर, छ-छ महिना सम्म स्तनपान मात्रै गराएर नहुर्काएको भए आज खुलेआम वर्तमानका एवम इतिहासका साहित्यकारहरुलाई मैले लगाएको यो आरोप मिथ्या हुनेथियो।अनुभव को प्रमाणिकताका साथ भन्दैछु, यो आरोप सत्य हो।
म एक आमा हुँ। मेरी एक आमा पनि यो लेख पढ्दै हुनुहुन्छ।सम्भवत उहाँलाई चित्त दुख्न सक्छ। तर म यथार्थ कुरा भन्दै छु।म एक मानव हुँ, एक नारी हुँ, म आमा हुँ तर म भगवान होइन। मेरी आमा पनि एक मानव,एक नारी हुन् भगवान् होइनन्। साहित्यकारहरुले आमालाई जबर्जस्ती ममताकी खानी, निस्वार्थ प्रेमकी पर्याय र देवीको संज्ञा दिएर कता कता बहकाउन खोज्दैछन्। ताकि एउटी नारी आफू भगवान हुने मोहमा मख्ख परेर, सन्तानको रेखदेख गर्ने जिम्मेवारी एक्लै लिएर, सारा इच्छा चाहानाको बली चढाएर, पुरुषलाई घरेलु जिम्मावारीबाट उन्मुक्ति दियोस्। कतै यो पितृसत्तात्मक समाज स्थापनाकालमा पुरुषवर्गबाट भएको सुनियोजित षड्यन्त्र त हैन ? तत्त्कालीन साहित्यकारहरुमा पनि पुरुषकै बाहुल्यता जो थियो।
एउटी नारी केवल नारी जस्तै जीवन बाँच्न जन्मिएकी हुन्छे। भोक, प्यास जस्ता शारीरिक आवश्यकता सँगै रहर, सामर्थ्य, सिकाइ र विवेक जस्ता मानसिक विशेषताले भरिँदै जान्छे। त्यही आवश्यकताको उपज ऊ शारीरिक सम्वन्ध, यौनिक सम्भोगमा सहभागी हुन्छे। उमेर, अङ्ग र रसायन मिलेमा सन्तान गर्भमा आउनु प्राकृतिक कुरा हो। गर्भनिरोधका उपायहरु नहुँदा बर्षेनी सन्तान जन्माउनु नारीको बाध्यता थियो। त्यसलाई पनि उनीहरु जीवनको नियमित प्रक्रिया मानेर अभ्यस्त र सन्तुष्ट नै थिए। दर्जनौँ सन्तान जन्माएर पनि आधा गुमाएका वा एउटै सन्तान पनि बचाउन नसकेका आमाहरु पनि प्रशस्तै भेटिन्छन् समाजमा।
सन्तान इच्छित र अनिच्छित दुबै हुन सक्छन्। लालन पालन बाध्यता वा रहर दुबै हुन सक्छ। सन्तानको इच्छा राख्नेले पनि स्वार्थकै लागि जन्माउन चाहन्छन्, ताकि घर सुनसान नहोस्, चाडबाड रमाइलो होस्। समाजका कसैले सन्तान नभएकोमा हेप्न नपाओस, बुढेसकालमा साहारा होस, इत्यादि इत्यादि। अझ कसैलाई त आफ्नो शारीरिक परिवर्तन बढेको पेट, बगेको स्तनको अनुभव लिन पनि आमा बन्न रहर लाग्छ। आफ्नो शारीरिक क्षमताको प्रदर्शन वा अङ्गहरुको पूर्णता महसुस गर्न पनि नारीहरु आमा बन्न लालायित हुन्छन्।
आमा बन्ने चाहाना राख्नुमा, श्रीमानसँगको सम्बन्ध नटुटोस्, सासुससुराले माया गरून, अझ छोरा जन्माएर वंश धानिदिएको महानता प्रकट गर्दै, आफ्नो अधिनता कायम गर्न सकूँ भन्ने जस्ता नितान्त व्यक्तिगत स्वार्थहरु हाबी पनि हुन सक्छन्। यस्तो अवस्थामा त्यो स्वार्थी व्यक्ति”आमा”लाई महान् वा भगवान परिभाषित गर्न कहाँ मिल्छ ? बाँकि रह्यो लालनपालनको कुरा, साथमा भएका जीवजन्तु सबैलाई त मान्छेले लालन पालन गर्छ, छोराछोरी त अवश्य गर्नेभयो। मानवीय स्वभाव नै हो माया गर्नु त, दशैँमा बलि चढाउने राँगा, पाठा, खसीलाई त मायाले हुर्काउँछ मान्छे।
सबैलाइ एउटै तुलोमा जोख्नु पनि सही नहोला। हो मैले महान आमाहरु पनि देखेकी छु। सडकमा अलपत्र बालक लगेर पालनपोषण गरिदिएका। अस्पताल मा बेवारिसे छोडिएका शिशुहरु अँगालेका। आफ्ना सन्तान नहुनेले मात्र हैन, सन्तान हुँदाहुँदै पनि मात्र ममता र समर्पणले सहारा विहीन शिशुलाई अपनाएका धेरै आमाहरुलाई मेरो सम्मान छ। आफ्ना सन्तानको पेट पाल्न र उज्जल भविष्य दिन अहोरात्र खटिनुभएका समस्त आमाबुबासँग क्षमायाचना गर्दै म मुख्य मुद्दा उठान गर्दैछु।
१• परिवार नामक संस्थाअगाडि बढाउन सन्तान रुपी सदस्य अनिवार्य हुन्छ र दम्पतीले सन्तान जन्माएर र हुर्काएर संस्थागत दायित्व निर्वाह गरेका हुन् कुनै महान कार्य गरेको मान्न सकिन्न।
२• आफ्नो इच्छानुकूल व्यवहार नगर्ने सन्तानलाई परिवार नामक संस्थाबाटै निस्कासन गर्ने परिपाटी परम्परादेखि चल्दै आएको हो र चलिरहेछ।
३• निस्वार्थ प्रेम कहिल्यै कसैले आफ्नो सन्तानलाई गरेको हुँदैन, हर प्रेमको हिसाबकिताब मनले गनिरहेको हुन्छ।
४• सन्तान हुर्काउने क्रममा बिताएका अनिदा रातहरुको पैचो सन्तानले ‘म’ अशक्त र वृद्ध हुँदा तिर्नेछ भन्ने आश र भरोसा हुन्छ।
५• यदि कुनै सन्तानले आमाबाबाको भरोसा तोड्छ भने, त्यो परिवार नामक संस्थाप्रतिको गद्दारी हो।
६• कोही आमाबुबाले सन्तानको माया र हेरचाह पाउँदैनन् भने त्यो उनीहरुको लगानी र संस्था डुबेको मान्नुपर्छ।
सन्तानलाई गरेको माया र पसिनाको “लगानी”लाई निस्वार्थ माया गर्ने, महान, भगवान जस्ता नाम र दर्जा दिएर झ्वाम्म पचाउन खोज्ने ; र आमाबाबालाई प्रशंसाको शब्दजालमा अल्झाउने साहित्यकारहरु झुटा हुन्।
बा आमा कुनै भगवान होइनन्। स्वार्थको लागि सन्तान जन्माएका हुन्, फिर्ता हुने लालसामा र मानवीय कर्तव्य सोचेर खानपान शिक्षा स्वास्थ्य सेवा दिएका हुन्।” तिम्रो दुधको भारा तिर्न सक्दिनँ, तिमि महान्, मेरो भगवान” भनेर गुणगान गाएर आमाबुबा झुक्याउन नखोज्नु, आफूमा गरिएको लगानी उनीहरुलाई ब्याजसहित फिर्ता दिनुपर्छ।”हामीले जन्माइदिनुस् भनेर अनुरोधमा जन्माएका हुन् र” भन्ने तर्क गरेर पन्छिन मिल्दैन।
यति भनिरहँदा “खोलो उँधो मात्रै बग्छ। सन्तान खुसि भए, हामिलाई केही चाहिएन” भनेर फोस्रो महानता देखाउने र आफूलाई भगवानकै तुलोमा जोख्न खोज्ने महान् अभिभावकहरुलाई चित्त दुख्न सक्छ। तर क्षमा गर्नुस् त्यतिकै महान हुनुहन्थ्यो भने तपाईंलाई आफ्नै बंश र आफ्नै कोखको सन्तानको चाहना हुन्थेन। साँच्चै महान भए, अन्य अभिभावक विहीन बालबालिकालाई साथ र सहारा दिन सक्नुहुन्थ्यो, कि कसो ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

