कुनै प्रेम कथा बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ त्यति नै कुरूप । यस्तै पर्दापछाडिकाे कथा कान्तिपुर पब्लिकेसन्सकाे साप्ताहिकमा हामीले फेला पार्याैं । पाठक पात्रकाे रूपमा प्रकाशन भएकाे उक्त कथा आज पनि उत्तिकै सान्दर्भिक भएका कारणले हामीले प्रणय दिवसकाे अवसर पारेर प्रकाशन गरेका छाैँ । 

आख्यान विभाग, साहित्य पाेस्ट 

 

प्रश्न : अश्विनी दाइ ! नमस्कार । मेरो नाम रमेश क्षेत्री हो । म कतारको मरुभूमिमा एकजना इस्लाम धर्मावलम्बीको इमान्दार कामदार भएर काम गरिरहेको छु । यो देशमा इस्लाम धर्मलाई धेरै महत्व दिइन्छ । धेरै वर्ष बसेका कारण मलाई यो धर्मका धेरै कुरा राम्रो लाग्छ । तै पनि म हिन्दु हुँ भन्ने कुरालाई भने बिर्सन्न र आफ्नो रीतिरिवाज राम्रैसँग मान्दछु पनि । धेरै वर्षदेखि निरन्तररुपमा म साप्ताहिक पढ्दैछु । नेपालमा हुँदा साप्ताहिक नपढी मेरो चित्त बुझ्दैनथ्यो । यहाँ आएपछि केही वर्ष यो पत्रिका पढ्न छुटे पनि अहिले इन्टरनेटबाट निरन्तर पढ्छु । आजभोलि तपाईंका विचार फेसबुकबाट पनि निरन्तर पढ्न थालेको छु । विशेषगरी प्रेम र यौनका विषयमा तपाईंको प्रस्ट खालको विचारले मलाई केही सोधूँ सोधूँ लागेको हो । त्यो के भने तपाईंले प्रेमको प्रसङ्गमा मोनालिसा, कृष्ण जस्ता अनेक पाैराणिक तथा सांस्कृतिक विषय तथा पात्रहरू  उभ्याउनु हुन्छ । तर ताजमहललाई आफ्नो लेखमा छुटाउनु हुन्छ । मेरो विचारमा ताजमहल प्रेमको सबैभन्दा ठूलो नमूना हो भनेर कतारमा पनि भन्ने गरिन्छ । मैले पनि त्यस्तै कुरा पढेको थिएँ । तपाईंले ताजमहललाई महत्व नदिनुको कारण के होला ?

उत्तर : रमेशजी, तपाईंको प्रश्न मलाई निकै मार्मिक लागेकाले विस्तारमा उत्तर दिन चाहन्छु । आशा छ, यसलाई अनावश्यक भावुकता र बौद्धिकता पस्कन खोज्यो भन्ने अर्थमा लिनुहुने छैन ।

१. भारतमा एकजना सायर थिए, साहिर लुधियानावी वा यस्तै नाम गरेका ।

उनले एउटा सायर लेखेका छन्, “शाहजहाँ, ताजमहल बनाके तुम्ने उडाया है मजाक हम गरिवोका, प्रेमका” ।

अर्थात शाहजहाँले त्यो बेला नै करोडौं रुपियाँ राज्यकोषको पैसा खर्च गरेर ताजमहल बनाएका थिए । उनले २८ देशबाट बहुमूल्य ढुङ्गा बटुलेर त्यसलाई शोभायमान बनाए । २१ वर्ष लगाएर बनाइएको ताजमहलमा प्रत्येक दिन १ हजार व्यक्तिले काम गरे  । विश्वका उत्कृष्ट कालिगडहरुले त्यसलाई आजको रुपमा ढालेका हुन्  । त्यत्रो भव्यता, खर्च गराइको तरिका देखेर साहिर लुधियानाले भनेका छन्, ‘ताजमहल प्रेमको प्रतीक त होला तर यसले गरिबको प्रेमको अपमान गरेको छ । के प्रेम प्रर्दशन गर्ने बस्तु हो ?’

कतै न कतै म शाहिर लुधियानाको भनाइसँग सहमत छु । हामी धेरै नेपाली श्रीमती र प्रेमिकालाई नेपालमा मिठो–मसिनो केही दिन नसकेर विदेशिएका छौँ र हाम्रो प्रेम विपनाका सुस्केरा र रातका सपनाहरुमा मात्र सम्भव भएको छ । गरिब भएकै कारण हाम्रो प्रेम अस्वीकार भएको छ भने हामीले ताजमहललाई किन आदर्श मान्ने ?

२. शाहजहाँ मुगल बादशाह जहाँगीरका साइलो सन्तान थिए । उनी आफ्नो जेठो छोरालाई राजा बनाउन चाहन्थे । तर शाहजहाँले आफ्नो बुवालाई कैद गरेर दाइहरुलाई मारेर राजा भएका थिए । जो सच्चा प्रेमी छ, उसले आफ्नो आमाको पतिलाई आमाबाट कसरी अलग्गै राख्न सक्छ ?

मुमताज  एउटा मेला किनमेलमा गएकाे बखत  शाहजहाँले भेटेका थिए । त्याे बेला उनी भर्खरै विवाहित नवदुलही थिइन् ।  जब  शाहजहाँले उनलाइ मन पराए, उनकाे पतिलाई  कुनै बाहानामा आफ्ना सैनिकलाई मार्न लगाए । त्यसपछि उनले शाहजहाँलाई विवाह गरेका हुन् । शाहजहाँको नाम अर्जमद बानो बेगम थियो । अर्काले राखेको जुठो नाम भन्दै उनले नाम परिवर्तन गरी मुमताज राखे । प्रेम गर्ने मानिसले अर्काका श्रीमानलाई मार्न लगाएर त्यसलाई विवाह गर्छ ? उसको पुरानो नाम परिवर्तन गर्छ ? प्रेम स्वतन्त्रता हो कि बन्धन ?

३. जुन बेला मुमताज शाहजाँहाकी पत्नी भएर दरवार भित्रिइन्, त्यो बेला उनले दुइटी युवतीसँग विवाह गरिसकेका थिए । प्रेम गर्नेले विवाह किन गर्नुपर्यो ? त्यो पनि दुइटी सौतामाथि ? ठिकै छ, दुइटी विवाह गरेपछि मुमताजसँग शाहजहाँको मन बस्यो रे, त्यस्तो हुन सक्छ । आश्चर्य तब हुन्छ, जब शाहजहाँले मुमताजलाई विवाह गरेपछि पनि उनले अरु तीन वटी महिलासँग विवाह गरेको कुरा इतिहासमा पढ्नुपर्छ । यो मुमताजलाई गरेको प्रेमको अपमान होइन ?

४. मुमताजले शाहजहाँबाट १३ जना सन्तान जन्माइन् । मुमताज शाहजहाँकी प्रेमिका हुन् कि उनको यौन सन्तुष्ट गर्ने खेलौना ? प्रेममा बसिभूत हुँदा यौनसम्बन्ध अचानक घट्न सक्छ । त्यो पनि लामो अन्तरालमा । जुन प्रेममा बिहान–बेलुका खाना खाएजस्तो यौन घटित हुन्छ, त्यो प्रेम हुनै सक्तैन । के मुमताज सन्तान जन्माउने मेसिन हुन् ?

५. मुमताजको मृत्युको कथाले मन झन् द्रबित बनाउँछ । जब म मुमताजको मृत्युको कथा पढ्छु, आँखा रसाउन थाल्छ । कारण, मुमताजको मृत्यु शाहजहाँको १४ औं सन्तान जन्माउन नसकेको प्रसव पीडाको कारण भयो । मुमताज ३७ वर्ष भैसकेकी थिइन् । बच्चा जन्माउँदा जन्माउँदा उनको शरीर हाडछाला भैसकेको थियो । शाहजहाँकै कारण उनले १४ औं बच्चाको गर्भधारण गरिन् र जन्माउन नसकेको अवस्थामा मृत्युवरण गरिन् । एउटी महिलाको यो भन्दा दारुण अवस्था के हुनसक्छ ? यस्तो अवस्थामा शाहजहाँले पश्च्याताप गर्दै बनाएको ताजमहललाई कसरी प्रेमको प्रतीकको रुपमा लिन सकिन्छ ? यो त शाहजहाँको पापको प्रायश्चित गर्ने माध्यम मात्र हो ।

६. शहजहाँले मुमजातको सम्झनामा ताजमहल बनाए र उनको शवलाई त्यहीँ ‘दफन’ गरे । तर पीडा त्यो बेला हुन्छ, जब उनले ताजमहल बनाउने उत्कृष्ट कालिगडहरुको हात काटिदिए । ती कलाकारले दोस्रो ताजमहल बनाउन नसकून् भनेर उनले त्यसो गरेका थिए  भन्ने इतिहासकारहरूकाे दाबी छ । प्रेम गर्ने व्यक्ति कलाप्रेमी पो हुन्छ । जो नयाँ कला निर्माण नहोस् भन्ने चाहन्छ र निर्दयीपूर्वक कलाकारको हात काटिदिन्छ, त्यस्तो व्यक्ति कसरी प्रेमी हुनसक्छ ?

७. जो सच्चा प्रेमी हुन्छ, ऊ सधैं प्रसन्न चित्तमा रहन्छ । उसले गर्वका साथ आफ्नो प्रेमलाई अमर बनाउने काम गर्छ । शाहजहाँको बुढेसकाल अत्यन्तै शोकमा, पीडा र क्रन्दनमा बित्यो । शाहजहाँले जसरी बुवालाई बन्दी बनाएर, आफ्ना दाइहरुलाई मारेर राजा भएको थियो, ठिक त्यसैगरी उसका छोराहरुले उसलाई बन्दी बनाएर राम्रोसँग खान पनि नदिई आजन्म कैद गरेर राखे । कैद गर्नेमा मुमताजकै छोराहरु थिए ।

आफ्नो आमाको प्रेममा ताजमहल बनाउने बुवालाई छोराहरुले किन कैद गरे होलान् ? किनभने छोराहरुलाई थाहा थियो, उसको बुवाले उसकी आमालाई प्रेम गरेको थिएन, केवल यौनदासी बनाएको थियो । रमेशजी, जब जब ताजमहल मेरो आँखामा आउँछ, मलाई त्यसभित्र मुमताजको पीडादायी चित्कारको याद आउँछ । मलाई माफ गर्नुहोस्, साहिर लुधियाना र धेरै अन्वेषकहरुको राय पढेपछि मैले ताज महलको कुरा गर्न छाडेको हुँ । पहिले ताजमहलका पीडादायी किस्सा सुन्थे मात्र, अहिले इन्टरनेटका माध्यमबाट गहन खोज गर्न थालेपछि थाहा भयो, ताजमहलले साँच्चै नै प्रेमलाई गरिबहरुका लागि मात्र होइन, सम्पूर्ण प्रेमीहरुको अपमान गरेको छ ।