“कवि हुनु भनेको बैँसको उत्ताउलोपना हो ।” – के.पी. शर्मा ओली

उठानः

रमेश प्रभात

यही २०७९ पुस ६ गतेदेखि १० गतेसम्म पोखरामा १० औँ संस्करण ‘नेपाल लिटरेचर फेस्टिभल’ चलिरहेको छ । म चितवनको मान्छे चाहेर पनि जान सकिरहेको छैन । काठमाडौँमा भएका केही फेस्टिभलमा आक्कलझुक्कल पुगेको बाहेक त्यो महाकुभ्ममा स्नान गर्न पाएको छैन । यतिबेला प्रत्यक्ष त्यहाँ पुग्न नपाउँदा पनि चिन्ता छैन । साथीहरुले राखेको फेसबुक लाइभ र फेस्टिभलको आधिकारिक पेज तथा युटुबबाट हेरेर चित्त बुझाइएकै छु । जसरी पनि त्यसलाई हेर्नु त हो ।

अँ साँच्ची, के भयो भने फेस्टिभल हुन्छ ? त्यो चाहिँ मैले राम्ररी बुझेको छैन । बहस मात्र चलाउनुर्छ ? कि कविता पनि सुनाउनुपर्छ ? अथवा नेता नै बोलाउनुपर्छ ? अनि थप केके गर्नुपर्छ ? हामी चितवनबासी अनभिज्ञ छौँ ।

अलिकति चितवनका कुराः

भन्न त चितवनले आफूलाई शिक्षा, स्वास्थ्य, कुखुरापालन, माछापालन, मौरीपालन लगायतका विभिन्न कुराको हब मान्ने गर्छ । यहाँ विभिन्न साहित्यिक संघसंस्था पनि खुलेका छन् । भरतपुर महानगरपालिकाभित्र प्रज्ञाप्रतिष्ठान नामको एउटा संस्था पनि खुलेको छ । त्यसलाई पार्टीको भर्तीकेन्द्रभन्दा कत्ति पनि फरक पारिएको छैन । यो गणतन्त्रमा मेयर कुलपति हुने र सदस्य सचिवचाहिँ महानगरको कर्मचारी हुनेगरी बनेको संस्थाबाट के साहित्यको विकास होस् । हुन पनि आजसम्म त्यसले सम्झनलायक एउटा कार्यक्रम गरेको छैन ।

मेरो पनि चाहना हो, चितवनमा एउटा लिटरेचर फेस्टिभल होस् । खै, आजसम्म गर्न सकिएको छैन । बरु वर्षमा एक पटक देश विदेशबाट साहित्यकार बोलाएर कवि डाँडा साहित्य समाजले भेला गराई बहस चलाउँछ । यत्तिमा हामी एल्.बी. क्षेत्रीलाई धन्यवाद दिन्छौँ । त्यो त फेस्टिभल होइन होला नि ? बाँकी यहाँ केही भएका छैनन् ।

के भए कवि भइन्छ ? 

कवि एल्.बी. क्षेत्री कविता वाचन गर्नुअघि सधैँ भन्ने गर्छन् –“म कवि होइन, मात्र कविता कोर्ने मान्छे हुँ ।” साँच्चै कवि हुन के हुनुपर्ने रहेछ ? यो कुराले मलाई त्यतिबेलादेखि नै छोएको थियो । यसको अलिकति जवाफ नेपाल लिटरेचर फेस्टिभलको दसौँ संस्करणको दोस्रो दिनमा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीको बहसबाट पाएजस्तो लाग्यो ।

कवि हुने सन्दर्भलाई उनले यसरी अर्थ्याएछन्ः “कवि हुनु भनेको बैँसको उत्ताउलोपना हो ।”

जताततै उनका बारेमा प्रतिगमनकारी भन्ने मात्रै सुन्ने र पढ्ने गरेको । उनलाई प्रमुख वक्ता किन बनाइएछ ? म अचम्मित छु । आयोजकले उनीभन्दा कविता बुझेका अर्को नेता भेटेनछन् कि क्या हो । नरहरि आचार्य, गगन थापा, रामचन्द्र पौडेल उनीहरुको नजरमा किन परेनछन् ? त्यसो त ओलीले भूमिगत कालमा कविता पनि लेखेका रहेछन् । त्यही भएर उनलाई छानेछन् कि ? कि यहाँ पनि टुक्का जोडेर हसाउँछन् भनेर हो ?

उनले कविहरुलाई पनि दनक दिन छोडेनछन् । कवि हुनु भनेको उत्ताउलोपना हो भनेर कवि सधैँ जवान हुने कुरा गरेछन् । साँच्चै हो, जवान नै नयाँ नयाँ कुरा सोच्न, विचार गर्न र लेख्न सक्छ । बुढेसकाल त आराम गर्नका लागि हो । हाम्रो चितवनका बयोवृद्ध कवि प्रेमविनोद नन्दनले पचहत्तर वर्ष कटेपछि लेखेको गजलको एउटा शेर सधैँ सम्झन्छु मः

“किन सोध्छौ मेरो उमेर सत्तरी कि सत्र ?
सक्छौ भने लेख मलाई अझै प्रेमपत्र ।”

साँच्चै बुढो हुनु भनेको उमेर बढ्नु मात्रै होइन नि । हाम्रो देशमा शेर बहादुर देउवा, रामचन्द्र पौडेल, के.पी. शर्मा ओली, डा. बाबुराम भट्टराई कहिल्यै बुढा हुँदैनन् । उनीहरुमा सदा युवाजोश र जाँगर छ, हैन र ? हामी कति पचास पनि नपुगेकाहरु मेरो कपाल फुल्यो, आँखा कमजोर भयो, सुगर बढ्यो, प्रेसर बढ्यो, थकाइ मात्रै लाग्छ भन्दै म त बुढो भएँ भन्न थाल्छौँ । यो चाहिँ पक्का बुढ्यौलीको लक्षण हो । बुढ्यौलीमा सोच्ने क्षमता कमी आउँछ पक्का हो ।

के.पी. ओलीले व्यङ्ग्यात्मक शैलीमा बोल्ने हुँदा स्वभवतः उनी अभिधाभन्दा पनि लक्षणा र व्यञ्जनाको प्रयोग बढी मात्रामा गर्छन् । कविका सम्बन्धमा उनले दिएको माथिको अभिव्यक्तिमा पनि त्यही कुराको छनक पाउन सकिन्छ । कविता उत्ताउलोपना होइन, न कवि बैँसले मातेको मान्छे । त्यसो भए उनले त्यसो किन भने होलान् त ? युवा उमेरमा विभिन्न खालका सोचाइ आउँछन् जुन कविका लागि आवश्यक हुन्छ । त्यस्तै उत्ताउलोपनाको सम्बन्ध रसवादसित छ । साहित्य रसविहीन हुन सक्दैन । यसर्थ उनले व्यङ्ग्यार्थमा यसो भनेको हुनुपर्छ । नत्र त गालीसिवाय के भयो र ?

बैठानः

नमरी बाँचे कालले साँचे धेरै कुरा देख्न र सुन्न पाइन्छ भनेर बुढापाकाले भन्दै आएका हुन् । कालान्तरमा तिनै युवा बुढा हुन्छन् र माटामा बिलाउँछन् । केही सम्झनयोग्य काम गरे उनीहरुलाई पछिल्ला पुस्ताले पनि सम्झन्छन् नत्र त तीन पुस्तासम्म तर्पण दिँदा मात्र सम्झने हुन् । साहित्य यीभन्दा फरक कुरा हो । हामी कालिदास, वेदव्यास, होमर, शेक्सपियर, भानुभक्त सबैलाई सम्झिरहेका छौँ । तिनीहरुले बैँसको उत्ताउलोपनालाई ठिक पार्न पक्कै कविता लेखेनन् होला । युवा उमेरमा चाहिँ पक्कै लेखे होलान् । अझ त्यति मात्र नभएर बाँचुञ्जेल आफूलाई युवा सम्झेर भने लेखे होलान् । नत्र त कविता त्यति सस्तो विषय कहाँ हो र ?