साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

डार्बिनको क्रमविकास र वेदको निचोड

सृष्टिको आदिमा सिर्जित ८४ लाख भिन्न जीवहरू आजसम्म तिनै छन्, तिनैका कार्बनकपी मात्रै छन् र अनादिसम्म त्यस्तै र तिनै रहनेछन्, यदि मान्छेका कुकृत्यले सृष्टिको पूर्णतालाई विकृत पारेनन् भने ।

Chovar Blues Mobile Size

‘जातिको उत्पत्ति र क्रमविकासको सिद्धान्त ।’ यो ‘चार्ल्स डार्विन’ को ‘विचार-सङ्ग्रह’ हो। यसैको आधारमा मान्नेहरूले उनलाई जीव क्रमविकासको ‘पिताजी ‘मान्छन्। वास्तवमा यो उनको जिज्ञासाले कोरलेको ‘बतासे अण्डा’ हो।’सबैलाई थाहा छ- बतासे अण्डा’बाट चल्ला कोरलिन्नन्। यस्ता अण्डाले शरीरसँग त सम्बन्ध राख्छन् किन्तु मस्तिष्क र हृदयसँग यिनीहरूको कुनै सम्बन्ध हुँदैन। मस्तिष्क र हृदयसँगको सम्बन्धबिनाका तथ्यहरू तर्कका लागि मात्र काम लाग्छन्। यिनीहरूमा सत्यता भनेको पूर्ण आन्तरिक परावर्तनका कारण मरुभूमितिर देखिने मृगतृष्णाजस्तै हो।

विज्ञानहरूको ‘महासङ्ग्रह’ भनेको केवल वेद हो। यो म हिन्दू भएकोले भनेको होइन। विज्ञान आस्था र विश्वासबाट टाढा हुन्छ। अतः यसमा हिन्दू, मुश्लिम, क्रिश्चियन, बौद्ध ,जैन आदि धार्मिक आस्था र विश्वासहरूले कुनै भूमिका खेल्दैनन्। ‘यी तत्त्वहरूले भूमिका खेल्छन्’ ,यदि कसैले यस्तो भन्छन् भने तिनीहरुमा वैदिक चेष्टाको अभाव रहेछ भनेर बुझ्न सकिन्छ। धार्मिकतामा ज्ञान र विज्ञानको अभाव हुनुहुँदैन। धार्मिकतामा यी दुवै अभावलाई पूरा गर्ने एकमात्र शास्त्र ‘वैदिक शास्त्र ‘ मात्रै हो। मात्रै- वैदिक शास्त्र ।

विज्ञान बुझ्न ज्ञान चाहिन्छ। वेद भनेको ज्ञानको अनन्त गहिराइ, उचाइ, लम्बाइ र चौडाइ लगायत बाँकी सम्पूर्ण अवयवहरूको बृहत् शब्दकोश हो। यो ज्ञान र विज्ञान दुवैको अपरिमित ब्रह्माण्ड हो। यसलाई बुझ्न व्यक्तिमा दिव्यदृष्टि चाहिन्छ। दिव्यदृष्टिका लागि दिव्यज्ञान चाहिन्छ। दिव्यज्ञानको मुहान भनेको वेदै हो। जसलाई बुझ्न सत्संग चाहिन्छ। शुद्ध परिवेश, सात्विक आहार, पवित्र धाम र प्रकृतिहरूको विहार ,ऋषिमुनिजस्ता सर्वज्ञानी गुरु र आध्यात्मिक विचार चाहिन्छ। अनि क्रमशः नित्य साधना, साधनाका लागि सङ्कल्प, सङ्कल्पका लागि दृढ इच्छाशक्ति र इच्छाशक्तिका लागि उत्कट जिज्ञासा चाहिन्छ। यी तत्त्वहरूको अनुशासनमा नरही वेद बुझिँदैन। यी तत्त्वहरूको अभावमा वेदलाई बुझें भन्नू संसारमा उज्यालो जुनकीरीले बनाएको हो भन्नुजस्तै हो।

जीवनपानी

अतः वेद, उपनिषद् र पुराणहरूमा कसैले सत्यताको शङ्का गर्नैपर्दैन। यिनीहरूले टुप्पो र फेद नदेखिएको जिन्दगीलाई कल्पवृक्ष र कामधेनु बनाइदिन्छन्। खासमा यिनीहरूले हामीले बाँच्नैपर्ने जिन्दगीलाई जिन्दगी बनाइदिन्छन्। यी शास्त्रले जगतका फगत कुरा गर्दैनन्। यी हाम्रा प्राचीन ऋषि-महर्षिहरूद्वारा प्रयोगसिद्ध ज्ञानमार्फत् आविष्कारित पवित्र विज्ञानहरू हुन्। र, यिनीहरूमा सङ्कलित हरेक ऋचाहरू नियान्ताले आफ्नो प्रयोगशालामा जीवाजीवका लागि गरेका वैज्ञानिक अनुसन्धान र दुर्लभ आविष्कारहरू हुन्। प्रयोगात्मक ज्ञान र विवेकका चमत्कारिक प्रविधिहरू हुन् जुन ,जुनसुकै कल्प र महाकल्पभरि नवीन रहिरहन्छन्।

sagarmani mobile size

हाम्रो वैदिक मङ्गलाचरणले हामीलाई सारमा यही बताउँछ:-

ॐ पूर्णमद: पूर्णमिदं पूर्णात्पूर्णमदुच्यते।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।

अर्थात् ‘ईश्वरको परम सत्ता (परब्रह्म) पूर्ण छ। यो सृष्टि उनैको सृष्टि हो। अतः यो सृष्टि पनि पूर्ण छ। त्यही पूर्णबाट यो पूर्ण भएको छ। यस पूर्णलाई त्यो पूर्णबाट झिकिदिँदा बाँकी पनि पूर्ण नै रहन्छ।’ अतः परब्रह्म भनेको महान् पूर्णता र सम्पूर्ण सृष्टिको सम्पूर्णता हो। सृष्टिको सर्वोच्च कारण र सर्वस्व हो। यसमा कुनै सन्देह छैन। यस्तो पूर्ण सृष्टिको सृष्टि अपूर्णहरूबाट हुनै सक्दैन। जो पूर्ण छ उसैबाट मात्र यस्तो सृष्टिको सिर्जना संभव हुन्छ। त्यो पूर्ण भनेको ईश्वर हो, परमात्मा हो, परब्रह्म हो। यसर्थ यो पूर्ण सृष्टि उनै पूर्णको पूर्णाकार हो। यो पूर्णमा पूर्णता जोडे पनि, गुने पनि, घटाए पनि, विभाजन गरे पनि पूर्ण नै हुन्छ। उक्त मङ्गलाचरणको यो सार चेतनाको परमोचाइबाट परमधाम निवासी पुरुषोत्तमक‍ो दिव्यज्ञान र दिव्यदृष्टिका दिव्य लेन्सहरूले खिचेको तस्बिर हो। यो हाम्रा सूक्ष्मदर्शक, दूरदर्शक र क्यामेराका लेन्सले देखेका र खिचेका रिपोर्ट ,टिपोट वा तस्बिर केही होइन।

‘वेदको ऐतिहासिक अनुसन्धान ‘। यो ईसाई पण्डित ‘प्रोफेसर हीरेन’द्वारा लिखित पुस्तकको नाम हो। यो पुस्तकमा उनले “वेद संस्कृत विश्वकै प्राचिनतम् महान् ग्रन्थ हो। जसले मनुष्यमात्रको उन्नति र उन्मुक्तिका लागि आफ्नो आश्चर्यलाग्दो हतियारमा, दिव्य प्रकाश स्तम्भको अर्थ दिने सामर्थ्य राख्छ” भनेर उल्लेख गरेका छन्। यस्तै फ्रान्सेली ‘मोन्स लियोन डेल्बोस’ले पेरिसमा आयोजित ‘अन्तर्राष्ट्रिय साहित्यिक संघ’मा आफ्नो निबन्ध पढ्ने क्रममा भनेका थिए- ‘ऋग्वेद’ मनुष्यजगतकै उच्चतम् विकासको ऐना र सर्वाधिक आदर्शको कल्पना हो।

अर्का ईसाई पण्डित ‘डब्ल्यु. डि. ब्राउनले वैदिक धर्मको उत्कृष्टता ‘नामक आफ्नो पुस्तकमा वेदको निकै सुन्दर महिमागान गरेका छन्। उनले लेखेका छन्- ‘वैदिक धर्मले केवल एउटा मात्र परमेश्वर(परब्रह्म)को पहिचान गराउँछ। यो एक पूर्णतः वैज्ञानिक धर्म हो जहाँ धर्म र विज्ञान हातेमालो गर्दै अगाडि बढ्छन्। यो धार्मिक सिद्धान्त विज्ञान र दर्शनमा आधारित छ।’ उनको यो भनाइ शतप्रतिशत सत्य हो। वास्तवमा उनलाई वेदले र वेदलाई उनले राम्ररी अध्ययन गरेकै हुन्। उनको उक्त अध्ययनको निचोडबाट वेदको महत्त्व र यसको उच्च यथार्थलाई प्रष्ट बुझ्न सकिन्छ।

यस्ता कयौं ईसाई विद्वानहरू- ह्युस्टन स्मिथ, रसेल वालेस (उनी प्रशिद्ध जीव वैज्ञानिक चार्ल्स डार्विनका डाक्टर थिए), रेवरेण्ड मौरिस फिलिप आदि छन् ,उनीहरूले पनि वेदको अध्ययन गरेका थिए।उनीहरूले आफ्नो अध्ययन पश्चात् वेदको प्रशंसा मुक्तकण्ठले गरेका छन्।

प्रशिद्ध गणित तथा भौतिकशास्त्री ‘सर आइज्याक न्युटन’ले आफ्नो गणितशास्त्र र भौतिकशास्त्रको अध्ययन, अनुसन्धान र आविष्कारका क्रममा भनेका छन्- ग्रह, उपग्रह लगायतको सौर्य-मण्डल र आकाशगंगाजस्ता असङ्ख्य तारामण्डलहरूको यो अनन्त ब्रह्माण्ड जति सुन्दर छ उति नै पूर्ण अनुशासित छ। यो देख्दा यस्तो लाग्छ कि यो पूर्ण ब्रह्माण्ड पक्कै पनि कुनै न कुनै अलौकिक शक्ति वा त्यस्तै कोही पूर्ण सामर्थ्यवान गुमनामीको देन हुनुपर्छ। यस्तो निष्कर्षमा पुग्ने उनको हातमा त्यतिबेला वेद परेको हुन्थ्यो भने उनले माथिको वैदिक ‘मङ्गलाचरण ‘बारम्बार जप्ने थिए र उनको सम्पूर्ण वैज्ञानिक अध्ययन,अनुसन्धान र आविष्कार वेदमा केन्द्रित हुनेथियो भन्दा मैले बोलेको बोली पक्कै खेर जाँदैनथ्यो। तर दुर्भाग्य,उक्त समयमा उनका हातले र दिमागले वेदको स्पर्श गर्न पाएनन्।

सत्यमा सन्देहहरू हुँदैनन्। यसर्थ सृष्टिको आरम्भ र अन्त परमानन्दले परिपूर्ण छ। जीवहरूमा दुःखको अनुभव गराउनु उनै यो पूर्ण सृष्टिका स्रष्टाको इच्छा हो। यो उनैको जीवलाई ईश्वरीय सुखको अभिज्ञान गराउने उद्देश्य र कला हो। यो महान् रहस्यलाई वेदका मननशील चिन्तकले मात्र बुझ्न सक्छन्। बाँकीले त मात्रै अक्षर उच्चारण गर्ने हुन्। तिनै महान् चिन्तकका अनुसार यो सम्पूर्ण ब्रह्माण्ड उनै पूर्ण स्रष्टा- परब्रह्मको सृष्टि हो ।जो पूर्णतः पूर्ण छ।

डार्बिनको ‘जीवको उत्पत्ति र क्रमविकासको सिद्धान्त ‘सृष्टिको यो महान् पूर्णतामाथिको शङ्का हो। निकृष्ट सन्देह हो। पूर्ण सत्यतामाथिको शङ्का पूर्णतः असत्य हुन्छ। यसर्थ सृष्टिको पूर्ण सिद्धान्तमा उनको यो सिद्धान्त ‘हमजायगा’को जुत्तामा ‘ऐनाको अनुहार देखिन्छ’ भनेजस्तै हो। भन्नेले हो भन्दिनुपर्छ, पत्त्याउनेले पत्त्याइहाल्छ। बाँकीले हो !हो ! भनिहाल्छन्। यस्तै हुन् यस्ता कतिपय सिद्धान्तहरू! यहाँ हात्ती र हात्तीछाप चप्पलका कहानीहरू जति पनि पाइन्छन् !

एउटा प्रचलित भनाइ छ- कहिलेकाहीँ लाटाको खुट्टा बाटामा पर्छ। त्यस्तो हुने भनेको कहिलेकाहीँ मात्रै हो। ती कहिलेकाहीँका कुराजस्तै हुन् -यी सिद्धान्तहरू। नियान्ताको सृष्टि पूर्ण विकासको उत्कृष्ट उदाहरण हो। पूर्ण सृष्टिमा विकासको क्रम नै हुँदैन। डार्बिनले जीवको विकासलाई अध्ययन गरे। उनले समयको कालखण्डमा सरल जीवहरू क्रमशः विकसित हुँदै नयाँ र जटिल जीवहरूमा रुपान्तर हुन्छन् भने। त्यतिबेला उनले वेद अध्ययन गर्न पाउँथे भने सायद उनी वेदका ऋचाले भनेका तथ्यलाई बेवास्ता गरेर जीवविकासको पछाडि त्यसरी कुद्दैनथे होला। यस क्षेत्रमा उनले अध्ययन नै गर्दैनथे होला। यसको अध्ययनमा खर्चेको समय पक्कै उनले वेदाध्ययनमा खर्चिन्थे। तर उनको अगाडि वेद नभएकै जाती भयो। किनकि उनको क्रमविकासको अध्ययनले आखिर वेदका ऋचाभन्दामाथि कुनै आविष्कार र सिद्धान्त छैनन् भन्ने यथार्थलाई बुझ्न सहज बनाइदियो। वेदशास्त्रको वैज्ञानिक उच्चतालाई अझ अग्लो र फराकिलो पारिदियो। यसर्थमा डार्बिनलाई हामीले अनन्त बधाई दिनैपर्छ। मिथ्या सिद्धान्तले वेदका महान् ऋचालाई कहिल्यै तुच्छ बनाउन सक्दैनन्। अतः वैदिक विज्ञान र उक्त विज्ञानका अध्येता हाम्रा ऋषि-महर्षिहरूको ज्ञानमा म रत्तिभर पनि शङ्का गर्न चाहन्नँ।

त्रिकालदर्शी भनेको त समयमात्रै हो। समयका आँखाले बाहेक कसले देखेको छ?-सृष्टिको यो रहस्यमय आदि,अनादि र वास्तविकतालाई? अतः आदि अघिको अव्यक्तदेखि अनादिपछिको अव्यक्तलाई देख्ने भनेको समयमात्रै हो। हामीले देख्ने, सुन्ने र भोग्ने भनेको त व्यक्त दुनियाँको सूक्ष्मातिसूक्ष्म अंश मात्र हो। यति जाबो अंशमा हामीले पत्ता लगाउने सत्य भनेको सत्यक‍ो सङ्क्षिप्त भ्रममात्रै हो। सत्यचाहिँ होइन। आखिर जीवन भनेकै भ्रमको सङ्ग्रह न हो।
भ्रमबाट जन्मिने भनेका भ्रममात्रै हुन्।

जीवविकासमा जीवाश्म र अन्य आधारहरू भनेका त पाकेका फलहरू केरा, नास्पति, स्याउ, आँप, मेवा, कटहर आदिको स्वाद कस्तो हुन्छ भन्दा गुलियो हुन्छ भनेझैं मात्रै हो। तर यी सबै गुलियोहरूमा न गुलियो एउटै हुन्छ न त तिनीहरूको बोटको भित्रीबाहिरी संरचना नै उस्तै हुन्छ। अतः अलिअलि गुलियो मिल्दैमा यी सबै फलफूलहरूलाई एउटै हुन् भन्न कहाँ पाइन्छ र? “न गुण मिल्छ न सुँड मिल्छ “भनेझैं यिनीहरू फलफूल वर्गमा पर्ने अलगअलग वनस्पतिहरू हुन्। गुलियोलाई आधार मानेझैं ती सबै वनस्पतिहरू एउटै हुन् भन्न थालियो भने के हुँद‍ो हो यो अनन्त जगतको उत्पत्तिको यथार्थताको इतिहास ? यदि वेदलाई पन्छाएर डार्बिनको सिद्धान्तलाई मात्र अध्ययन गर्ने हो भने अन्ततः भविष्यको प्राङ्गणमा अनेकौं गन्जगोलहरूले तमासा देखाउने छन्!

सृष्टिको आदिमा सिर्जित ८४ लाख भिन्न जीवहरू आजसम्म तिनै छन्, तिनैका कार्बनकपी मात्रै छन् र अनादिसम्म त्यस्तै र तिनै रहनेछन्, यदि मान्छेका कुकृत्यले सृष्टिको पूर्णतालाई विकृत पारेनन् भने ।

सृष्टिको आरम्भमा भएका मकैका बोट आज पनि तिनै हुन्। यिनीहरू क्रमविकासको अर्थमा कुनै लेउका विकसित रूप होइनन्। अनि पिपलका बोटहरू तुलसीका वा अन्य कुनै झारका विकसित रूप होइनन् । यहाँ ८४ लाख जीव वनस्पति कसैलाई पनि विकासको जरुरतै छैन। त्यो नै उनीहरूको विकसित रूप हो। अमिबा एककोषिय सूक्ष्म जीव हो। तर यसको अर्थ यो होइन कि ऊ अविकसित छ र अपूर्ण छ। विकसित हुन बाँकी नै छ। अमिबाका लागि योभन्दा पूर्ण र विकसित रूप अर्को हुनै सक्दैन। फेरि अमिबालाई अक्टोपस, डाइनोसर , माछा बन्दै जानुपर्ने र त्यसपछि अन्तिममा मानिस बन्नुपर्ने जरुरतै छैन। अमिबालाई आफूबाहेक अरू बन्नु नै छैन। ऊ अरू बन्नका लागि पृथ्वीमा सृष्टि भएकै होइन।

८४ लाख जीव वनस्पति सबै ईश्वरका पूर्ण स्वरूप हुन्। ईश्वरको स्वरूप पूर्ण विकसित हुन्छ। अमिबा पनि ८४ लाख पूर्ण जीवहरू मध्येको १ पूर्ण जीव हो। ईश्वरीय स्वरूप हो।

डोरीमा सर्पको झझल्को हुनु अज्ञानको पुरस्कार र सत्ताको भ्रान्ति अर्थात् विवर्त उपहार हो। मलाई यत्ति थाहा छ र मलाई यत्ति नै काफी छ।

अस्तु !

प्रतिक्रिया
Loading...