साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

पैसा पाइयो भने आमा बेच्ने ?

मसँगको काम फत्ते भएछि क्रिस्टोफर डेस्मन टेटुको भनाइ सुनाउँदै बिदा भए – “जब अफ्रिकामा मिसनरीहरु आए, तिनीहरुसँग बाइबल थियो र हामीसँग जमिन । तिनीहरुले भने – आँखा बन्द गरेर प्रार्थना गर । हामीले त्यसै गर्यौं । आँखा खोल्दा तिनीहरुसँग जमिन र हामीसँग बाइवल थियो ।”

Chovar Blues Mobile Size

कुनै बेलायती गोरेले आधा फ्रेन्च वा जर्मनी मिसाएर ”ब्रोकन” अंग्रेजी बोल्ला ? बोल्दैन । तर हामी नेपाली बोल्छौ। हामी नेपाली भन्छौँ, अंग्रेजी मिसाएर ”ब्रोकन” नेपाली बोल्छौ । त्यसैमा गर्व गछौँ । नेपाली भएर नेपालभित्रै पूरा नेपाली बोल्न जान्दैनौँ । यो कस्तो दुर्भाग्य हो !

नेपालीका दुर्भाग्यका कथा लामा छन् । हरेक क्षेत्रमा छन् । नव नेपाल निर्माण सुरु भएपछि दुर्भाग्यका कथाले झन् तीब्रता लिएका छन् । त्यसैको शृङ्खला हो – गाडीको नम्बर नेपालीको सट्टा अंग्रेजीमै राख्ने निर्णय ।

नेपालमा अझै लगभग ३३ प्रतिशत निरक्षर छन् । कम्तिमा एक भाषामा लेखपढ गर्न सक्नेलाई साक्षर भनिन्छ । यसको अर्थ ६७ प्रतिशत नेपालीले देवनागरिक अक्षर र अङ्क लेखपढ गर्न सक्छन् भन्ने बुझिन्छ । यदि त्यसो नभएर अंग्रेजी अक्षर र अङ्क मात्र बुझ्नेलाई साक्षर भनिन्छ भने गणतन्त्र नेपालले ठूलै छलाङ मारेछ भन्ने बुझ्नु पर्ला ।

नेपालीहरू अंग्रेजीमा साक्षर हुँदैन थिए भने प्रधानमन्त्री, मन्त्री र यातायात विभागका हाकिमले इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्ने निर्णय किन गर्थे होलान् त ? यदि होइन भने उनीहरु बेलायतमै जन्मे हुर्केका मान्छे हुन पर्यो । यदि त्यसो हो भने डडेल्धुरा र डोटी कहिलेदेखि बेलायत भएछ ? २०७५ भदौ ५ मा त्यो निर्णय गर्दा डडेलधुरामा जन्मेका शेर बहादुर प्रधानमन्त्री र डोटीमा जन्मेका वीर बहादुर यातायात मन्त्री थिए ।

राजेन्द्र कार्की (क्यानडा)

नेपालको संविधानको धारा ७ स्पष्ट लेखिएको छ – “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।” सरकारी कामकाजको भाषाभित्र सरकारका दस्तावेज, चिठ्ठी पत्रदेखि सार्वजनिक सूचना र साइन बोर्डसमेत पर्दछन् । गाडीको प्लेट नम्बर पनि सार्वजनिक साइन बोर्ड नै हो ।

अन्तर्राष्ट्रिय प्रचलनको गुड्डी हाक्नेहरु भन्लान् कि संसारका धेरै देशमा गाडीको प्लेट नम्बर अङ्ग्रेजीमा लेखिन्छ । हो, अंग्रेजीमै लेखिन्छ । किनकि अफ्रिकालगायत विश्वका अधिकांश देश कुनै न कुनै बेला बेलायत र अन्य युरोपियन देशका उपनिवेश थिए । उनीहरुको सरकारी कामकाजको भाषा अंग्रेजी हो । त्यही भएर उनीहरु अङ्ग्रेजीमा लेख्न बाध्य छन् ।

सरकारी काम काजको भाषा र गाडीको प्लेट नम्बरको भाषा प्रायः फरक हुँदैन । चीन, कोरिया, जापान लगायतका देशका गाडीका प्लेट नम्बर अङ्ग्रेजीमा लेखिएका छैनन् । ती देशका सरकारी कामकाजका भाषामै लेखिएका छन् ।

भाषा मर्दाको पीडा सयौं वर्षपछिका पुस्ताले समेत भोग्नु पर्दो रहेछ । कोलम्बसले उपनिवेश जमाएको छ सय वर्षपछि पनि डोमिनिकन रिपब्लिकनकी मेरी सहकर्मी मेरिना त्यो पीडाबाट मुक्त हुन सकिनन् । आँखाभरि आँसु पार्दै क्यानडाको भ्यांकुभरस्थित इगिंलिस वे नजिकैको प्रशान्त महासगारको किनारको फलैचामा बोल्दा उनी निक्कै भावुक भएकी थिइन् । उनका आँखा रसाएका थिए ।

मेरिना भन्थिन् – “भाषा भनेको मुटु हो र संस्कृति भनेको रगत हो । मुटु र रगत विहीन शरीरको के काम ? भाषा र संस्कृति पहिचान हो । भूमिले मात्र मान्छेको स्वाभिमान हुन सक्दो रहेनछ । भाषा र संस्कृति एक पटक मरेपछि सदाका लागि मर्दो रहेछ ।”

मेरिना डोमिनिकन रिपब्लिककी टाइनो मूलकी आदिवासी हुन् । क्रिस्टोफर कोलम्बसले क्यारेवियन तथा दक्षिण अमेरिकी भूमिमा सुरु गरेको पहिलो स्पेनिस उपनिवेश हो – डोमिनिकन रिपब्लिक ।

मेरिना सिख पन्जावीहरुलाई देख्दा अचम्म मान्थिन् । पहिलो पटक टाउकोमा बानेको टर्वन र लामा दाह्री भएका सिखहरु क्यानाडामा देख्दा उनलाई अचम्म लागेछ ।सोचिछन् – “यो संसारमा अर्को छुट्टै संसार पनि रहेछ ।”
भ्यांकुभर आएपछि सिखहरुले मनाउने वैशाखी हेर्न गएकी रहिछिन् । छुट्टै पोशाक र संस्कारमा सजिएर हरेक वर्षको अप्रिल १३ वा १४ मा मनाइने बालीनाली भित्र्याउने पर्व वैशाखी उनलाई अद्भूत लागेछ ।

सडक वा कार्यालय जहाँसुकै पनि सिखहरु छुटै र अद्वितीय भेषमा गर्वसाथ देखिन्छन् । पहिरनले नै सिखलाई चिनाउँछ । उनीहरुको भेष मात्र छुट्टै छैन, भाषा पनि छुट्टै छ र संस्कृति पनि छुट्टै छ । मेरिनालाई कताकता मनमा लाग्दो रहेछ – मेरो पनि यस्तै छुट्टै पहिचान र संस्कार भएको भए कस्तो हुन्थ्यो होला ! बेलाबखत उत्तेजित हुँदिरहिछन् र आफैंलाई प्रश्न गर्दिरहिछन् – अङ्ग्रेजको त्यति लामो उपनिवेशकालमा पनि कसरी इन्डियनले आफ्नो भाषा, धर्म र संस्कृति बचाउन सकेका होलान् ? फेरि मेरा पुर्खाहरूले चाहिँ किन बचाउन नसकेका होलान् ?

मेरिना र म लगभग तीन महिनासँगै काम गर्यौं । सँगै लन्च खादै गर्दा कुनै दिन मेरी सखीको फोन आयो । पछि सोधिन् – “कुन भाषा बोलेको ?”

“नेपाली ।”

“तिम्रो पनि आफ्नो छुट्टै भाषा छ ?” उत्तेजित हुँदै भनिन् र त्यसपछि उनी जुरुक्क उठेर हिँडिन् ।

उनलाई नेपालको बारेमा थप जान्ने उत्सुकता जागेछ । गुगल सर्च गरिछन्। दुई ठूला राष्ट्रबीचको एउटा सानो देश, जुन देशको आफ्नै छुट्टै भेषभूषा, भाषा र संस्कृति रहेछ। त्यति सानो देश, त्यसमा पनि कहिल्यै कसैको उपनिवेश भएको रहेनछ। उनी छक्क परिछन् ।

मेरिनालाई कोलम्बसले आफ्नो भाषा र सस्कृति मारेकामा साह्रै पीडा थियो । त्यति सानो देश नेपालको छुटै भेष भाषा छ भन्ने थाहा पाउँदा उनलाई लागेछ – संसारको शिर सगरमाथाको देशलाई कसैले हराउन सकेन । भाषा कसैले मार्न सकेन । त्यत्रो संसार विजय गर्ने अङ्ग्रेजसँग लडाइँ लडेर नेपालीले भूमि जोगाए । भाषा जोगाए । भेषभूषा र धर्म संस्कृति जोगाए । नेपालीहरू कति गौरवान्वित होलान् । तर त्यो गौरवमा धमिरा लागिरहेको छ । धमिराले भित्र भित्रै खाइरहेका छन् ।

धमिराले २०६८ सालमा राष्ट्रिय पोशाकको सूचीबाट दौरा-सुरुवाल र साडी-चोलीलाई हटाइदिए । फेरि अंग्रेजीमा गाडीको प्लेट नम्बर राख्ने अभियान थालेका छन् ।

कुनै पनि देश र समाजको भाषा र संस्कृति मारेपछि अयातित भाषा र धर्मले ठाउँ लिने रहेछ । त्यसपछि त्यो समाज पहिचान विहिन हुँदो रहेछ । मान्छेका नाम पनि आयातितकै हुने रहेछन् । नाम कुनै कुनै रुपमा भाषा, धर्म र संस्कृतिसँग जोडिने रहेछ ।

दक्षिण अमेरिका र अफ्रिकाका अधिकांश देशमा जुन युरोपियन देशले उपविनेश जमाए, त्यही देशको भाषा सरकारी काम काजको भाषा भएको छ । भारतमा सरकारी कामकाजको भाषा अंग्रजी र हिन्दी छ । किनकि भारत बेलायतको उपनिवेश भएकोले अंग्रेजी सरकारी कामकाजको भाषा हुन गयो । तथापि अधिकांश भारतीय र अफ्रिकनहरु घरमा अंग्रेजी वा युरोपेली भाषा बोल्दैनन् । आफ्नै मातृ भाषा बोल्छन् ।

अफ्रिकाका जति पनि मान्छे भेट्छु । उनीहरु अधिकांशको नाम युरोपियन र क्रिस्चियन नाम हुन्छन् । नामले मात्र उनीहरु युरोपियन हुन् कि अफ्रिकी भनेर छुट्याउन सकिँदैन । कि त उनीहरुको बोली सुन्न पर्यो कि त देख्नै पर्यो ।

युरोपियनले अफ्रिकाको भूभाग त छाडे, तर भाषा र संस्कृतिले अझै छाडेको छैन । त्यसैले अफ्रिकीहरु भाषिक दासताको जन्जिरमा छन् । युरोपको भाषा संस्कृतिमा अफ्रिकी स्वाद हुन सक्दैन । अफ्रिकी स्वादको लागि अफ्रिकी भाषा सस्कृति नै चाहिन्छ । गुन्द्रुक भातले नेपाली जिब्रोमा जुन स्वाद दिन्छ, बर्गरले कहाँ त्यो स्वाद दिन्छ र !

एक हप्ताअगाडि क्रिस्टोफर जोनसन इमेल आयो । उनको इमेल देख्दा उनी ब्रिटिश वा स्कटिस होलान् भन्ने ठानेको थिए ।

क्रिस्टोफर मलाई भेट आए । तर उनी नाइजेरियन रहेछन् । लामो कुराकानी भयो । उनी भन्दै थिए –“अफ्रिकामा बोलिने अंग्रेजी अंग्रेजी होइन । ब्रोकन अंग्रेजी हो । हामी घरमा अंग्रेजी बोल्दैनौ ।“इन्डियन र चाइनिजको आफ्नै भाषा र संस्कृति छ । उनीहरुको प्रगतिको त्यो एक मुख्य कारक रहेछ । हामी अफ्रिकीको भाषा संस्कृति मारियो । त्यही भएर हामी पछि पर्यौं ।”

मसँगको काम फत्ते भएछि क्रिस्टोफर डेस्मन टेटुको भनाइ सुनाउँदै बिदा भए – “जब अफ्रिकामा मिसनरीहरु आए, तिनीहरुसँग बाइबल थियो र हामीसँग जमिन । तिनीहरुले भने – आँखा बन्द गरेर प्रार्थना गर । हामीले त्यसै गर्यौं । आँखा खोल्दा तिनीहरुसँग जमिन र हामीसँग बाइवल थियो ।”

पूर्वी अफ्रिकाका देशहरु भाषा संस्कृतिमा अलि समृद्ध रहेछन् । अधिकांशको नाम पनि अफ्रिकन पाराकै छ । पूर्वी अफ्रिकी देश इथोपिया नेपालजस्तै कहिले पनि उपनिवेश भएको रहेनछ । त्यसैको बदलामा युरोपियनले इथोपियाबाट इरिटियालाई टुक्रयाएर छुट्टै देश बनाए । इथोपियाको अहमारिक सरकारी काम काजको भाषा हो भने इरिटियाको ट्रिगिनिया हो ।

भाषा र संस्कृतिमा पराधीन बनाएपछि त्यो मुलुक वा समाज स्वतः पराधिन बन्दो रहेछ । त्यहाँ भौतिक रुपमा आक्रमण गर्न आवश्यक पर्दो रहेनछ । अहिले पश्चिमा शक्तिहरुको ध्यान दक्षिण अमेरिका र अफ्रिकामा छैन, एसियामा छ ।

युरोपछि एसिया मात्र एक महादेश हो, जहाँका अधिकांश देशमा आफ्नै भाषा, संस्कृति र रीतिरिवाज छन् । आवरणमा जुनसुकै राजनैतिक रङ्ग दिए पनि विश्वमा भएका र भइरहेका झगडा वा युद्दको मुख्य जड नै एक भाषा र एक धर्मको अभियान हो । युक्रेनको पछिल्लो युद्ध पनि त्यसैको निरन्तरता हो । आवरणमा नेटो र पुटिन जोडिए पनि युक्रेनको युद्धको कडी डोनवास क्षेत्रका रसियन भाषी हुन् ।

अमेरिकी महादेशका लगभग सबै भाषा मारिए र मरे । एसिया अफ्रिकाका पनि अब धेरै भाषा मरिसके । नेपाली भाषा मार्ने अभियान तीब्र बनेको छ।

विश्वमा अझै धेरै भाषा छन्, तर ती भाषाका आफ्ना छुट्टै अङ्क छैनन् । अंग्रेजी अङ्कलाई ती भाषीहरूले सापटी लिएर प्रयोगमा ल्याएका छन् । तर नेपाली भाषाको अक्षर र अङ्क दुवै छ । यस्तो समृद्ध भाषालाई मार्ने पछिल्लो दुष्प्रयास हो – अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट ।

बहुराष्ट्रिय निगम र कम्पनीका ठेकेदार मार्फत यो दुष्प्रयास कार्यन्वयन हुँदैछ । एउटा ठेकेदारले पैसा दियो र अर्को ठेकेदारले काम फत्ते गर्दैछ । लगानी र कमिशनको पोको बोकेर ठेकेदार किन्न आए । किन्न पर्ने जतिलाई किने। न्यायलय पनि बाँकी राखेनन्। तर प्रश्न किन्नेको होइन। बेच्नेको हो । के पैसा पाइयो भने आमा बेच्ने ?
भाषाजस्तो संवेदनशील विषयमा सबैभन्दा पहिले राजनैतिक दल बोल्नु पर्ने हो । तर बोल्दैनन् । किन ? आफैं धामी आफैं बोक्सी भएर बेला कुबेला एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) र सपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) को नाटक मन्चन गर्छन् । आफ्ना राजनैतिक स्वार्थका विषयमा महिनौं सदनमा हंगामा मच्चाउछन् ।
सभामुख महोदयलाई एउटा प्रश्न छ । सभामुख महोदय, के तपाईंलाई जानी नजानी अंग्रेजी बोल्दा स्वाद लाग्यो ? तर तपाईंको हरिबिजोक देख्दा देख्नेलाई स्वाद लागेन। अंग्रेजी तपाईंको भाषा होईन । तपाईंले जान्ने पर्छ भन्ने छैन। तर तपाईंले जान्दिन भन्न सक्नु पर्थ्यो । त्यही भएर सरकारलाई नेपालीमा गाडीको प्लेट नम्बर राख्न रुलिङ्ग गर्नुहोस् ।

‘गाईले राडी खायो” भन्ने जन भनाई नेपालको न्याय प्रणालीमा पुरानो हो । चोलेन्द्र शमशेरले त्यही भनाईलाई निरन्तरता दिए । तर चोलेन्द्रले गाईमा फैसला साटे पनि नेपालीमा नलेख्नु त भनेको छैन होला नि ?

फैसलापछि नेपाली भाषा र सहित्यसँग सम्बन्धित संघ सस्था चुप चाप देखिन्छन् । चुपचाप बस्नु हुँदैन । नेपाल प्रज्ञा प्रतिष्ठान र विश्वविद्यलयका नेपाली भाषा विभागले यो गल्ति सच्याउने अभियानको नेतृत्व गर्नु पर्छ। राजनैतिक पार्टी र तिनका नेतालाई गल्ति सच्याउन दवाब दिनुपर्छ । हालसम्म जे जति दवाब दिएको छ, त्यतिले पुगेन।

नागरिक समाजले पनि यस्तो संवेदनशील विषयमा बोल्नु पर्छ। सञ्चार जगतले पनि दवाब दिनुपर्छ । नेपाली भाषा मर्दा सबै भन्दा ठुलो नोक्सान नेपाली भाषी संचारकर्मीलाई नै हुने हो । चेतना भया।

अन्तर्राष्ट्रय नेपाली साहित्य समाज (अनेसास) पनि चुपचाप छ । अनेसास अलि स्थापित र धेरै देशमा सञ्जाल भएको संस्था हो । अंग्रेजीमा नम्बर प्लेट राख्ने कार्य रोक्न अभियान चलाउन सक्छ । दवाब सृजना गर्न सक्छ र गर्नु पनि पर्छ। देश बाहिर हामी नेपाली हौ भने चिनाउने मुख्य आधार नै नेपाली भाषा र भेष हो ।

गैरआवासीय नेपाली संघ (एनआरएन) यस मुद्दामा हराएर बसेको छ । एनआरएनले पनि यो निर्णय सच्याउन अभियान चलाउनु पर्छ । तीन हो कि चार जना (?) अध्यक्ष भएको यो संस्थालाई पार्टीका झोलेहरुले बेहाल बनाएका छन् । संघको भाषा साहित्य समितिको हालत झनै बेहाल होला ! तर अरु बेला फुटेपनि यो बेला जुटेर दवाब दिन जरुरी छ ।

अहिले संसारमा डिकोलोनाइजेसनको अभियान सुरु भएको छ । विश्वका धेरै देशमा उपनिवेश पहिलेका बचे खुचेका भाषालाई जोगाउने अभियान चलेको छ । भारतमा हिन्दीलाई राष्ट्रभाषा बनाउने अभियानमा नरेन्द्र मोदी र भारतीय जनता पार्टी लागेका छन् । यो विषय भारतको राजनीतिक बहसको केन्द्रमा छ । तर नेपाल चाहिँ उल्टो दिशामा गएर नेपाली भाषालाई मार्ने अभियानमा छ ।

नेपाल सयौँ भाषाभाषीको फूलवारी हो । ती फूलका थुँगालाई एउटै मालामा उनेर संरक्षण गर्नुपर्छ । उन्ने अभियान सुरु पनि भएको छ । तर त्यो अभियानले मूर्तरुप लिन नपाउँदै माला चुढाएर हुर्कदै गरेको नेपाली भाषाको रुखलाई ढाल्ने अभियानलाई रोक्नु पर्छ ।

अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य नेपाली भाषालाई विस्थापित गर्ने आधिकारिक सरकारी अभियान हो । यो ‘बुढी मरी’ भन्ने भन्दा पनि ‘काल पस्यो’ भन्ने चिन्ता हो । त्यो कालले नेपाली भाषालाई त खान्छ खान्छ, सँगसँगै नेपालमा भएका सबै भाषालाई स्वाट्टै निलिदिन्छ ।

प्रतिक्रिया
Loading...