मेरी आमाले भन्नुहुन्थ्यो –
मुर्कट्टाले `छल्छ´
मुर्कट्टाले जिउँदै मुटु कलेजो खान्छ।
केटाकेटी म, नबुझेर फेरि सोध्थेँ
आमा मुर्कट्टा कस्ता हुन्छन्?
`टाउको नभएका मान्छेजस्ता हुन्छन्´
आमाको जवाफ हुन्थ्यो ।
नदेखेसम्म नपत्याउने म कहिल्यै पत्याइनँ
आमाका कथाजस्ता लाग्ने कुरा ।
आमा, जानुभयो
म आमा बनेँ।
म फेरि छोरीलाई कथाजस्तो लाग्ने
यथार्थ दोहोराउँदैछु
छोरी `मुर्कट्टादेखि सदा सावधान रहुनू´
नादान मेरी छोरी मजस्तो गरी सोध्छे
आमा मुर्कट्टा कस्ता हुन्छन्?
छोरी !
मुर्कट्टाहरु
पिठ्युँमा आँखा
छातीमा कान
मुखमा मलद्वार
र
दिमागमा लिङ्ग भएका
हेर्दा `मान्छेजस्तै´ देखिने हुन्छन्।
एकदिन
ड्युटीबाट फर्केपछि मेरी डाक्टर छोरी भन्छे –
“पोस्टमार्टमका लागि आएका
मुर्कट्टाले `छलेका´ बालिकाहरूको
क्षतविक्षत शरीर देखेर मन विक्षिप्त छ ।
मलाई बिहे गर्न कर नगर्नुस् आमा
मलाइ डर लागिरहेछ,
कतै मेरो कोखबाट पनि मुर्कट्टा जन्म्यो भने ?”
(कवि- राधिका कल्पित)
कवि राधिका कल्पितको यो कविताले आज फेरि मेरो मन आन्दोलित भएको छ । बलात्कारका यी अमानवीय घटनाहरू कति सुन्नु परेको । पुरुष सत्तालाई नै कलंकित पार्ने गरि मुठीभर यस्ता नरपिशाचहरूको अस्तित्व सखाप पार्न किन नसकेको ? अब नसोचौँ यस्ता बलात्कारीहरूको बारेमा । कानुन, नीति, नियम किन चाहियो आखिर यस्ता पिशाचहरूका लागि ? सभ्य समाजमा कात्तिके कुकुरहरू छाडा छोड्नु मूर्खता हो । यस्ता कुकुरहरूलाई कि विष सेवन गराएर, कि त सामुहिक रूपमा गोली ठोकेर ठेगान लगाउनु पर्छ ।
बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई माफी होइन दण्ड दिनु पर्छ । कडा कानुन नभएर नै यस्ता घटनाहरू बारम्बार दोहोरिरहेका छन् । मानव अधिकारको वकालत गर्दै जीवित छोडिएका बलात्कारीहरूबाट खोइ त उपलब्धि ? भर्खरै जेलको सजाय काटेर आएको बलात्कारीले जेलबाट निस्कन नपाउँदै अठार महिनाकी नानीलाई केरा घारीमा लगेर अङ्गभङ्ग पारेर बलात्कार गर्यो, मार्यो । कसको रगत उम्लेन होला त्यो दृश्य देख्दा ? त्यस्ता पातकीहरूलाई मार्न चाहिँ किन हिच्किचाहट गरेको ?
किन संवेदनशील भएको ? किन कठोर भन्दा कठोर निर्णय लिन नसकेको ? यदि समयमै सामुहिक रूपमा बलात्कारीहरूलाई भयानक, डरलाग्दो र पीडादायी मृत्यु दण्ड दिने हो भने बलात्कारका घटना कम हुन्थे । बिडम्बना एक पछि अर्को घटना घटिरहँदा पनि हातमा दही जमाएर बस्नु परेको छ । धिक्कार छ हामी सबैलाई । साँच्चै भन्नू पर्दा फितलो कानुनको बर्को ओडेको भएर नै यस्ता घटनाहरू पुर्णरूपमा समाधान हुन नसकेका हुन् । पढ्नु र पर्नु नितान्त फरक परिवेश हो । त्यसैले त होला यो समस्याको समाधान हुन नसकेको । लैंगिक हिंसाका मुद्दाहरू समाचार मात्र बन्ने हो त ? लेख्नको लागि मात्र लेख्ने यस्ता घटनाहरू ? म बिथोलिएको छु । कसरी समस्याको समाधान गर्ने आत्तिएको छु ?
अगाडि सरेर यो समस्याको कसले समाधान गर्छ ? यो पनि गहन प्रश्न छ । के नीति निर्माण र कार्यान्वयन तहमा आसिन व्यक्तिहरूको दैलोमा चट्याङ खसेपछि मात्र घैँटोमा घाम लाग्छ ? केही औषधि गर्दा पनि ठिक नभएका कात्तिके कुकुरको जमातलाई मास्दा मानव सभ्यता जीवित रहन्छ भने किन नमास्ने ? अब ढिलो भैसकेको छ । बलात्कारीहरूलाई मार्ने कानुन यथाशीघ्र बनाऊ र कार्यान्वयन गराऊ । किन र कसले बलात्कारीहरूलाई संरक्षण गर्दै आएको छ ? यस्ता व्वाँसाहरूप्रति किन मानवता देखाउनु पर्यो मानव अधिकारकर्मीहरूले पनि ? बेकारमा किन झ्यालखानामा ठाउँ साँगुरो पार्ने ? खुल्ला ठाउँमा लगेर ठोकौंअब अति भयो । श्रीकृष्णले पनि शिशुपाललाई सयवटा गल्तीसम्म माफ गरिदिए एकसय एक पुगेको दिन सुदर्शन चक्र उठाए । धर्म र सत्यको रक्षार्थ यहाँ पनि अब सुदर्शन चक्र उठ्नुपर्छ ।
कुनै अंङ्गमा क्यान्सर लागेको थाहा पाउने बित्तिकै त्यो अंङ्ग काटेर फालेमा बाँकी शरीर स्वस्थ रहन्छ भने । हामी चाहिँ कहिलेसम्म यस्ता क्यान्सररूपि बलात्कारीहरूलाई जोगाएर राख्ने ? एउटा सडेको आलुले पुरै बोराको आलु खराब पार्छ । त्यसैले जति सक्दो यो दुर्गन्धलाई समाजबाट हटाउनु पर्छ । अत्याचारले सीमा नाघ्यो, जुलुम भैसक्यो । हाम्रो समाजको यो भयावह दृश्य देखेर छोरीहरूले आमाको गर्भमा नै आत्महत्या गरे भने ? कहाँ पुग्छ सभ्यता ?
वास्तवमा यो मुर्कट्टाहरूको सहरमा मस्तिष्कमा लिङ्ग लिएर हिँडेको एक झुन्ड छ । जसले विचार उत्पादन गर्ने ठाउँमा वीर्य उत्पादन गर्दैछन् ।
जबजब मस्तिष्कमा हर्मोनहरू अनियन्त्रित हुन थाल्छन्, नशानशामा कामवासना ओतप्रोत हुन्छ । त्यसपछि ऊ मानव रहँदैन, केवल ऊ एक बलिस्ठ र कामुक लिङ्ग मात्र बन्न पुग्छ । तीव्र आशक्तिले पुरुषत्व नामेट हुन्छ । पुरुष हुनुको धर्म बिर्सन्छ । पिता हुनुको कर्तव्य भुल्न पुग्छ । गुरु हुनुको भाव मर्छ ।
मस्तिष्कमा मौलाएको लिङ्गको न आँखा हुन्छ न विवेक, न मस्तिष्क । हुन्छ त केवल पोखिन खोजेको दुर्गन्धित वीर्य । कामवासनामा छताछुल्ल पार्न नपाएको वीर्यको उन्मादले सिकार गर्न पुग्छ निर्दोष बालिका, किशोरी र वृद्धाहरूलाई। बलात्कृत महिलाहरूको योनी र स्तन मात्र चिथोरिदैनन् त्यहाँ मन, मस्तिष्क, भावना, संवेदना जम्मै धुजाधुजा पारिन्छ । कामवासनाको आगो निभाउनका खातिर कसैको जीवन समाप्त पार्न सक्छ ईश्वरको सर्वोच्च रचनाले ? छ्या : कस्तो घिनलाग्दो आचरण, कति कुरूप मस्तिष्क छि: छि :। यस्तो घृणित सोच बोकेका मानवहरू मानव कुलमा चाहिँदैन त्यसैले यिनीहरूको अस्तित्व समाप्त पार्नै पर्छ ।
आज पुनः सुस्मिताको हृदय विदारक आवाजले हामी सबैलाई भावुक र क्रान्तिकारी बनाएको छ । निर्मला पन्तको त्यो कहालीलाग्दो घटनाले न्याय नपाउँदै कैयौं निर्मलाहरू बलात्कृत हुनु पर्यो । कैयौं कोपिलाहरू फक्रन नपाउँदै निमोठिए । कति फूलहरू लछारिर, पछारिए, किचिपिचि पारिए । आज पनि मुटुमा कैयौँ घाउहरू आलै रहेछन् पुनः सुस्मिताको आवाजले आकुलव्याकुल पार्यो र जम्मै खाटा बसेका घाउ उप्किए । मस्तिष्कमा सुनामी आएको छ । रातको निद्रा र भोक हराएको छ ।
माइतीघर मन्डला चिच्याएको छ न्यायका लागि । आवाज अब आगो भएर चारैतिर फैलिएको छ । सुस्मितालाई सलाम छ, सम्मान छ । त्यो नारकीय जीवनबाट मुक्त भएर मानसिक चोट र घात सहेर पनि जुरुक्क उठेर खुट्टा टेक्दै बोलेकोमा गर्व छ । सुस्मिता तिमीलाई अवश्य न्याय मिल्छ । तिम्रो साहसलाई अरू पीडित चेलीहरूले पनि नजिर बनाउने छन् । घर घरमा लुकेर बसेका लैंगिक हिंसा अन्याय र अत्याचारका घटनाहरू बाहिर आउनै पर्छ । यो सामाजमा मुर्कुट्टाहरूको चिहान खन्नै पर्छ ।
तिम्रो धैर्य र सहनशीलता अटल बनोस्, सुस्मिता । जुन विश्वास र हिम्मतका साथ हामी माझ आएकी छौँ तिमीले अब पछाडि फर्केर हेर्न नपरोस् । तिम्रो आत्मसम्मानमा आँच नआओस् । तिमीले अब कमजोर विक्षिप्त हुनु नपरोस् । यस्ता लैङ्गिक हिंसाको मुद्दाको सन्दर्भमा तुरुन्तै छानबिन र कारवाही प्रक्रियामा जाने र पीडितको मनोबल उच्च राख्न मनोवैज्ञानिक परामर्श र कानुनी उपचार तिमीले पाउनै पर्छ । राज्यले दिनै पर्छ ।
मानसिक पीडा के हो ? भोग्नेलाई मात्र थाहा हुन्छ । सुस्मिताले जुन मानसिक यन्त्रणा सहेर उभिएकी छिन् त्यो चानचुने कुरा होइन । त्यो कलिलो उमेरमा यौन हिंसालाई झेल्नु कति कष्टप्रद थियो होला हामी अनुमान गर्न सक्छौं ? सायद कमजोर मुटु हुनेहरूले अर्कै गन्तव्य रोजी सकेका हुने थिए । तिमी धन्य रहिछौ सुस्मिता ढिलै भए पनि आफ्नो पीडा पोखिदियौ ।
स्याबास् । अरू चेलीहरूले पनि आफूमाथि यदि घरेलु हिंसा या यौनजन्य हिंसा भएको छ भने निर्भीक भएर आवाज उठाउनु पर्छ । सामाजिक संजालमा सुने “यतिका वर्ष किन यो कुरा लुकाइन्” हे प्रभु! त्यो कलिलो उमेर, हाम्रो पारिवारिक संरचनालाई कस्तो नजरअन्दाज गरेर प्रश्न गरेको ? को हो दोषी किन छुट्याउन नसकेको ? सुस्मितालाई प्रश्न गर्नुभन्दा अगाडि हाम्रो सामाजिक धरातलमा एकचोटि प्रश्नकर्ताले आफ्नै खुट्टाले टेक्नै पर्छ अनि बल्ल ओठ खोल्नु राम्रो हुन्छ ।
लैंगिक हिंसाको मुद्दामा उजुरी गर्दा हक म्यादको दायरा पनि फेरिनु पर्छ किनकि नेपाली समाजको संरचना र सोचले धेरै पीडितहरू उजुरी गर्ने साहस बटुल्न या यो मुद्दा उजुरी गर्नुपर्छ भन्ने निर्णयमा पुग्न पनि निकै समय लाग्ने रहेछ । त्यसैले यो समय हकबन्दीलाई परिमार्जन गर्नु पर्ने देखिन्छ ।
हे चेली हो, गुप्ताङ्गमा मात्र लिङ्ग हुनेहरूसँग त्यति डर हुँदैन जति मस्तिष्कमा लिङ्ग हुनेहरूसँग हुन्छ । हरेक क्षेत्रमा मस्तिष्कमा लिङ्ग धारण गरेका जत्थाहरू निर्धक्क हिँडेका छन् । कतै छोएर, कतै आँखाले हेरेर, कतै बोलेर भुतप्रेतभन्दा पनि डरलाग्दा, भयावह रूप धारण गरेका मुर्कट्टाहरूलाई चिन्न बढो गाह्रो छ । काम वासनाले गनाएका ती बोकाहरूलाई के छोरी, के बुहारी, के नातिनी, के देवी, के भगवती ? कसैलाई बाँकी राख्दैनन् । महामारीबाट बरू हामी मुक्त हुँदैछौँ । तर यो बलात्कारजस्तो जघन्य अपराधबाट हाम्रो समाजले मुक्ति कहिले पाउला ?
आफ्नै पिताले छोरीलाई वर्षौँसम्म घरभित्रै बारम्बार बलात्कार गर्न सक्छ ? कामवासनाको पिचास जागृत भएपछि ती धुन्धुकारीहरूले छोरीचेलीमा केवल योनी मात्र देख्छन् । हजुरबाले नातिनी नभन्ने । पिताले पुत्री नभन्ने, भ्राताले बहिनी नभन्ने, यो कस्तो मानसिक दरिद्रता हो ? दुधे नानी र लाम्टा सुकेकी हजुरआमालाई देखेर कुनै पुरुषको जनेन्द्रिय जाग्छ भने त्यो कस्तो पुरुषत्व होला ? सोच्दा पनि घिन लाग्छ । शरीरभरि ह्वार्ह्वारर्ती आगो बल्छ । रगत उम्लिन्छ । अझ मान्छेको घिनलाग्दो सोच देखेर क्वाँक्वाँ रुन मन लाग्छ । छोरी मान्छे भएर यसो गर्नु हुँदैन थियो यो लगाएर यस्तो भएको भन्ने बकम्फुसे कुरा सुन्दा दिक्क लाग्छ ।
महिलाहरू कुन क्षेत्रमा काम गर्छन् ? कस्तो कपडा लगाएका छन् ? कसरी हिँडेका छन् ? कसरी बोल्छन् आदि जम्मै वाहियात कुरा हुन् । यदि सुस्मिता ग्ल्यामर क्षेत्रमा लागेको भएर बलाकृत भएको भन्ने मान्यता यदाकदा छ भने निर्मलालाई सम्झिए पुग्छ । उत्ताउलो भएर छोटाछोटा लुगा लगाएर हिँडेको भएर बलात्कार भएको भन्ने भ्रम भए चाउरी परेका गाला र सुकेको लाम्टा माथिको झम्टा सम्झिए पुग्छ ।
अन्त्यमा वीर्य विसर्जित गर्न उत्तेजित भएका कात्तिके कुकुरहरूलाई यथाशीघ्र कारवाही होस् । निर्मलाहरू स्वतन्त्र भएर बाँच्न पाऊन् । हजुरआमा र आमाहरूले कालन्तरमा आफ्नै नाति र छोरालाई जन्मने बितिकै दुधको कराहीमा चोपलेर मार्नु नपरोस् । आफ्नै आमाले छोराको जन्ममा खप्परमा हात राखेर कोखलाई सपाप्नु नपरोस् । सुस्मिताले जस्तै कुनै छोरीले पीडा लुकाएर औषधि सेवन गर्न नपरोस् । आफ्ना जीवनमा घटेका तमाम घटनाहरूलाई आफन्तहरू माझ निर्धक्कसँग राख्न सकुन् । सचेत बाआमाको जमात होस् । पीडितलाई यथाशीघ्र न्याय मिलोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।